विकासन्युज

जनक शिक्षाले छाप्यो १ करोड ३५ लाख थान पुस्तक, चैतसम्म सबै विद्यार्थीको हातमा पुग्ने

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । यस वर्ष कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । कोरोनाको महामारीको समयमा बिग्रिएको शैक्षिकसत्र यस वर्षदेखि वैशाख १ देखि नै सुरु हुने भएपछि केन्द्रले २४सै घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको उनले बताए । उनले भने, ‘यसवर्ष जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको मात्रै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ, एक करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हो, त्यसमध्ये एक करोड ३५ लाख थान अर्थात् ९० प्रतिशत पुस्तक छापिसक्यौँ, अब बाँकीे १५ लाख थान केही दिनभित्रै छपाइ सकेर जिल्ला जिल्ला पठाउछौँ ।’ केन्द्रका प्रबन्ध निर्देशक झाले दैनिक एक लाख २५ हजार थान पुस्तक छपाइ गरिएको जानकारी दिँदै केन्द्रका कारण पाठ्यपुस्तक अभाव नहुने र वितरण प्रणाली प्रभावकारी बनाएर शैक्षिकसत्र सुरु हुनुअगावै जिल्ला जिल्लामा पुस्तक पुग्ने बताए । गत वर्ष दुई करोड थान पुस्तक छापेकामा यस वर्ष कक्षा ४ र ५ को पुस्तक छपाइको जिम्मेवारी सरकारले निजीलाई दिएपछि केन्द्रले कम पुस्तक छाप्ने भएको हो । गत वर्षको २० लाख थान पुस्तक बाँकी रहेको केन्द्रले जनाएको छ । छापिसकेका पुस्तक बाहिरी र दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर शाखा कार्यालयमा पठाउने काम भइरहेको केन्द्रका बजार व्यवस्थापन शाखाका प्रमुख चित्रराज आचार्यले बताए । उनले उपत्यकासहित नजिकका केही जिल्लालाई सबै पुस्तक छपाइ सकेर अन्तिममा वितरण गर्ने बताए । ‘गत वर्ष निर्वाचनको मतपत्र छपाइ भयो । कागज समयमा नआउँदा अभावका कारण छपाइमा केही समस्या आएको थियो । यस वर्ष छपाइमा कुनै समस्या छैन’, उनले भने । चैत २० गतेदेखि पुस्तक बिक्री सुरु हुने र दुई दिनभित्रै पुस्तक जिल्ला जिल्लामा पु¥याउने केन्द्रको दाबी छ । केन्द्रका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा, कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुरमा पुस्तक पठाउनेक्रम जारी छ । लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइ त्यहाँबाट पनि वितरण गर्ने जनाएको छ । केन्द्रका प्रबन्ध निर्देशक झाले भने, ‘यस वर्ष सरकारको योजनाअनुसार नयाँ शैक्षिक सत्रको सुरुआतमा विद्यार्थीको हातहातमा पुस्तक पुग्नेगरी केन्द्रका नौ शाखा कार्यालयमा पुस्तक पु¥याइसकेका छौँ, देशभरका वितरण केन्द्रमार्फत विद्यार्थीको हातहातमा पुस्तक पु¥याउँछौँ ।’ हिमाली र केही दुर्गम पहाडी जिल्लामा पुस्तक पु¥याउन छ दिनसम्म लाग्ने र अन्य जिल्लामा दुई दिनमै पुस्तक पु¥याउने उनको भनाइ छ । झाका अनुसार पुस्तक वितरणका लागि केन्द्रले वितरकसमेत छनोट गरिसकेको छ । पाठ्यपुस्तकको मूल्यवृद्धि भने यस वर्ष पनि नहुने भएको छ । नयाँ पाठ्यक्रम लागू भएका केही विषयको मूल्य निर्धारण आज हुने बताइएको छ । सरकारले निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको एक करोड २० लाख थान पुस्तक छपाइको जिम्मा दिएको छ । नयाँ शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमसमेत लागू हुने भएपछि नयाँ पाठ्य पुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ । रासस

महिला नेतृत्व शिखर सम्मेलन सुरु

काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा दुई दिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार उद्घाटन गरे । परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको सम्मेलन कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेको छ । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको छ । सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुनेछ । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल भईरहेको छ । विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहेको छ । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको छ । सम्मेलनमा उद्यमशीलता प्रबद्र्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिएको छ ।

दुई जहाजलाई एउटै उचाइमा होल्डको अनुमति दिने तीन एटीसीलाई कारवाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीनजना एटीसीलाई कारबाही गरेको छ । गत शुक्रबार बिहान सिमराको आकाशमा नेपाल वायुसेवा निगमको जहाज र एयर इन्डियाको जहाज एउटै एउरस्पेशको लाइनमा उडान गरेका थिए । मलेसियाबाट काठमाडौं आइरहेको निगमको जहाज र एयर इन्डियाको जहाज एउटै एयर स्पेशको लाइनमा उडान गरेको पाइएपछि क्यानले विमानस्थल कार्यालयका तीनजना एटीसीलाई कारबाही गर्ने निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुपरभाइजर, कोअर्डिनेटर र एक अर्का एटीसीलाई शनिबारदेखि कारवाही गरेको हो । उनिहरुलाई शनिबारदेखि सक्रिय जिम्मेवारीबाट हटाउँदै अर्काे सूचना जारी नभएसम्मका लागि कारवाही गरिएको क्यानले जनाएको छ । शुक्रबार बिहान मलेसियाबाट काठमाडौं आएको निगमको जहाजलाई एटीसिले सिमराको आकाशमा १५ हजार फिटको उचाइ र दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजलाई १९ हजार फिटको उचाईमा होल्ड गर्न अनुमति दिएको थियो । तर एयर इन्डियाको जहाज १९ हजार फिटको उचाईका लागि अनुमति दिएकोमा १५ हजार फिटको उचाईमा आएको थियो । एयर इन्डियाको जहाज अनुमति बाहिरको क्षेत्रमा आएपछि नेपाल एयरलाइन्सको जहाज अलर्ट सूचना (आरए) आएपछि जहाज डिसेन्ट गरिएको थियो जसका कारण जहाज दुर्घटनाबाट जोगिएको थियो ।

एनआइसी एशिया लघवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको उप-प्रादेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्याली कार्यक्रम सम्पन्न गरेकाे छ । संस्थाको उप-प्रादेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्याली कार्यक्रम सम्पन्न गरेकाे हाे । विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा संचालन भएको उक्त वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको थियो । जसमा त्यस क्षेत्रमा सेवा तथा कार्यक्रम प्रवाह गर्दै आएका १६ वटा लघुवित्तहरुमा आवद्ध सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम परासीको हाटबजारबाट शुरु भई बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो । यसरी वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्ड सहित भएको उक्त र्याली कार्यक्रमबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोवार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको एनआईसी एशिया लघुवित्तका कर्पोरेट कार्यालयका चिफ विजनेस एण्ड क्वालिटी एस्युरेन्स ईकोसिष्टम अर्जुन श्रेष्ठले बताए । ‘साथी संगै सबल बन्दै’ भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ ।  

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माणमा विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमतावृद्धिका लागि २२०/१३२/३३ केभी, २०० एभिए क्षमताको थप पावर ट्रान्सफर्मर जडान कार्य जारी छ । रामेछापका मन्थली नगरपालिका–१३ साँखे ९फुलासी० स्थित नयाँ खिम्ती सबस्टेसन देखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर छ । रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला भएर जाने नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९३ वटा टावरको जग हालिएको छ । ७३ वटा टावर खडा गरिएको छ । २० किलोमिटर तार तानिएको छ । ६ वटा टावरको जग हाल्ने र ३ वटा टावर खडा गर्ने काम भइरहेको छ । रामेछापमा पर्ने तीन वटा टावरको निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ । दोलखामा पर्ने ८४ वटा टावरमध्ये मेलुङ गाउँपालिका–७ सित्तलीमा निर्माण हुने एक वटा टावर जग्गाधनीको अवरोधका कारण निर्माण हुन सकेको छैन । अधिग्रहण गरिने जग्गाका लागि २०७७को पुसमा प्रति रोपनी १० लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएकोमा त्यसमा असहमति जनाउँदै जग्गाधनीले निर्माणमा अवरोध गरिरहेका छन् । सिन्धुपाल्चोकमा पर्ने ३१ वटा टावरमध्ये १३ वटाको जग हालिएको छ भने ३ वटा खडा गरिएको छ । भौगोलिक रुपमा कठिन तथा जटिल स्थानमा पर्ने बाँकी टावरहरु निर्माणका टावर निर्माणस्थलसम्म पुग्न पहुँच सडक खन्ने काम भइरहेको छ । नयाँ खिम्ती–बाह्रबिसे खण्डको समग्र निर्माण प्रगति ७० प्रतिशत रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालय उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले शनिबार स्थलगत अनुगमन भ्रमण गरी प्रसारण लाइन र सबस्टेसन निर्माण प्रगतिका बारेमा छलफल गरेको छ । टोलीले प्रसारण लाइन निर्माणमा रुख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री तथा उपकरणहरको आपूर्ति, स्थानीयको अवरोध, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा विस्तृतरुपमा छलफल गरेको थियो । टोलीले नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन र सबस्टेसनको काम आगामी साउनभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माणमा संलग्न व्यवसायीहरुलाई निर्देशन दिएको छ । ‘यो आयोजना सम्पन्न भएमा मध्यभोटेकोसीको विद्युत सिधै जोड्न सकिने विकल्प देखिएको छ, निर्माण छिटो सम्पन्न गर्न आयोजनाको दातृ निकायबाट पनि बारम्बार ताकेता आइरहेको छ, वर्षायाम सुरु हुनुभन्दा अघिनै जनशक्ति तथा उपकरणहरु थप गरी निर्माणमा तिब्रता दिनुहोस्, स्थानीय समस्या समाधान गरी आगामी साउनभित्र निर्माण सम्पन्न गरी काम गरौं,’ घिसिङले भने । नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन निर्माणका लागि चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमले ठेक्का पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । यही कम्पनीहरुले नै २२० केभी बाह्रबिसे सबस्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले सबस्टेसन निर्माण आगामी असारभित्र सम्पन्न गर्ने समयसीमा दिएको छ । प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डरमा भारतीय कम्पनी केइसी इन्टरनेसनल लि।ले ठेक्का पाएको थियो । प्राधिकरण र कम्पनीबीच २०७६को जेठमा ठेक्का सम्झौता भएको थियो । तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौ प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न लागिएको हो । प्रसारण लाइनमा नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण रहेको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको २२०/१३२ केभी, १०० एभिए क्षमताको नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तारका लागि काम भइरहेको छ । खिम्ती र लिखू नदी करिडोरमा निजी क्षेत्रका जलविद्युत आयोजनाका विद्युत जोड्नका लागि नयाँ खिम्ती सबस्टेसनको हालको क्षमताले नधान्ने हुँदा क्षमता विस्तार गर्न लागिएको हो । यसका लागि सबस्टेसनमा ६६.६७ एमभिएका ४ वटा, ३० एमभिएका २ वटा र ६/८ एमभिएको १ वटा पावर ट्रान्सफर्मर जडान कार्य भइरहेको छ ।

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ । विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपमहानगरले सो अभियान कार्यान्वयनमा ल्याएको हो । अभियानअन्तर्गत मोहना–अत्तरिया सडकमा काठमाडौँको जावलाखेल ग्रुपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् । सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाएको छ । छ लेन सडकको धनगढी चौराहबाट भन्सारसम्म तारजाली लगाउने काम जावलाखेल ग्रुपले गरेको हो । बोराडाँडीबाट विमानस्थल जाने बाटोसम्म धनगढी उपमहागरले आफ्नै लगानीमा बोटबिरुवा रोपेको जनाएको छ । ‘छ लेन सडकमा वृक्षरोपण लगाउनुका साथै तारजाली लगाउने काम भएको छ’, धनगढी उपमहानगरका इञ्जीनियर उपेन्द्र भट्टले भने। ‘यसमा जावलाखेल ग्रुप, सूर्य नेपाल प्रालि, धनगढी विकास समिति र उपमहानगरको लगानी रहेको छ ।’ सूर्य नेपालले यएरपोर्ट जाने बाटोबाट गोदावरी नगरपालिका अर्थात् सिमानासम्म बोटबिरुवा रोप्ने र तारजाली लगाउने काम गरेको इञ्जीनियर भट्टले जानकारी दिए । छ लेन सडक विभिन्न भागमा विभिन्न प्रजातिका बोटबिरूवा तथा फूलको बोट रोपेका हुन् । उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षरोपण गरिएको नगरप्रमुख गोपाल हमालले बताए । नगरलाई सुन्दर, सफा र हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको उनको भनाइ छ । ‘स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ’, उनले भने । ‘त्यसले गर्दा उपमहागरले वार्षिक दुई हजार बिरुवा रोप्नुका साथै हुर्काउने अभियान बनाएको छ । त्यसमा पनि टि–गार्डसहित हुनेछ ।’ अझ छ लेन सडकको बीच भागमा बिरुवा र दुबो लगाएर हरियाली बनाउने नगरप्रमुख हमालले बताए । छ लेनमात्र होइन निर्माणधीन अवस्थामा रहेका सहिदगेट क्याम्पस रोड सडक, ट्राफिक चौराह क्याम्पस चोकलगायतका सडकमा बिरुवा रोप्ने अभियान छ । उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोगबिना सम्भव नभएको बताए। ‘स्थानीयको सहयोगबिना कुनै पनि काम असम्भव हुन्छ’, उनले भने । ‘बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।’ वृक्षरोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उनले जोड दिए । उपमहानगरले रोपिएका बिरुवा हुर्काउनका लागि साँझ, बिहान सिँचाइसमेत गर्ने गरेको छ । उपमहानगरको सडक हरियाली पार्ने अभियानले स्थानीय पनि हर्षित भएका छन् । सडक मिडियम, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको धनगढी उपमहानगर–२ का नितेश बटालाले बताए। ‘धनगढी उपमहानगरले वातावरणमैत्री सडक बनाउने अभियान चालेको छ’, उनले भने, ‘धनगढी प्रदेशमुकाम भएको हुँदा यसले गर्दा प्रदेशकै गौरव बढ्ने छ ।’ उनले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्वपूर्ण रहेको बताए । उपमहानगरमा नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियालीमात्र होइन, प्लाष्टिकका झोलासमेत निषेध गर्ने अभियान छ । नगर स्वच्छताका लागि जनाउँदै धनगढी उपमहानगरपालिकाले मङ्सिरदेखि प्लाष्टिकका झोला बेच्न र सामान राखेर दिन रोक लगाएको हो । उपमहानगरले प्लाष्टिकका झोला बन्द गरेपछि कपडाका झोला प्रयोग हुन थालेका छन् । रासस

लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय

डुम्रे । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ । बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल भन्छन्, ‘बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ ।’ सर्वजानिक बिदा र शनिबारको दिनमा बन्दीपुरमा आन्तरिक पर्यटकको आवतजावत बढिरहेको उनी बताउँछन् । पूर्वाधारमा सहज व्यवस्थापन नहुँदा पनि केही असर गरेको उनको भनाइ छ । त्यस्तै बन्दीपुरका पर्यटन व्यवसायी काशीनाथ गुरुङ भन्छन्, ‘पहिले–पहिले पर्यटक धेरै आउँथे, फुर्सद नै थिएन ।’ अहिले यहाँ पर्यटक कम मात्रामा आउने गरेको व्यवसायी गुरुङ बताउँछन् । ‘दुई वर्ष कोरोनाले पर्यटक नै शून्य भए, अहिले सिजन हो, आउनुपर्ने जति पर्यटक बन्दीपुर आउन सकेका छैनन्’, उनी भन्छन्, ‘राजमार्ग विस्तार गर्ने क्रममा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले सडकमार्गको यात्रामा समस्या हुँदा पर्यटक घटेको अनुभव गरेका छौँ ।’ सहज यात्रा चाहने पर्यटक हवाईमार्फत सिधा पोखरा जाने गर्दा यहाँ आउने विदेशी पर्यटक घटेका उनको भनाइ छ । अहिले विदेशी पर्यटक ‘प्याकेज’मा मात्रै आउने गरेको बन्दीपुर पर्यटन बोर्डका अध्यक्ष किसान प्रधान बताउँछन् । ‘दुई वर्ष अगाडि प्याकेजबिना पनि पर्यटक आउने गर्दथे, तर अहिले प्याकेजमा मात्रै आउने गरेका छन्’, उनले भने । यस वर्ष सडक विस्तारले पनि केही समस्या भएको उनले बताए । ‘सडक सहज नबन्दा पनि बेसिजनमा आउने पर्यटक भने पक्कै घटेका छन्, राजमार्ग विस्तार सकिएपछि अझै पर्यटक बढ्ने अपेक्षा गरेका छौँ’ उनले भने । अहिले प्याकेजमा भने दैनिक २० देखि २५ विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेका छन् । ‘सिजन तथा बेसिजनमा विदेशी पर्यटक बन्दीपुरमा जतिबेला पनि देखिन्थ्यो, अहिले प्याकेजमा मात्रै आउने गरेका छन्, यसले बन्दीपुरको व्यवसाय पनि घटेको प्रत्यक्ष देखिन्छ’, अध्यक्ष प्रधानले भने । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको बन्दीपुर पर्यटन बोर्डका पूर्वअध्यक्ष एवं होटल व्यवसायी वैश गुरुङ बताउँछन् । परम्परागत पुराना घर, यहाँको रहनसहन, स्वागत–सम्मान, ढुङ्गाले बिछ्याएको बाटोघाटोले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ । विगत दुई वर्षदेखि निर्माण सुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको हो । बन्दीपुर घुम्न आएका अधिकांश पर्यटक उक्त ठाउँका बारेमा चासो लिने गरेका छन् । बन्दीपुरमा अझै पर्यटक वृद्धिका लागि संरचना निर्माणलाई गाउँपालिकाले विशेष प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । कुल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजना छ । विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’को नामकरण गरिएको हो । सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ आउन आकर्षित हुने गर्दछन् । रासस

नारायणकाजीले किन स्थगित गरे आकस्मिक पत्रकार सम्मेलन ?

काठमाडौं । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आइतबार मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गर्ने जानकारी सचिवालयमार्फत् सम्पूर्ण सञ्चार माध्यमलाई जानकारी गराए । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले आकस्मिक पत्रकार सम्मेलन भन्दै पत्रकार सम्मेलनको जानकारी गराए । मन्त्रीले एकाएक पत्रकार सम्मेलनको आव्हान गरेपछि धेरैले यस विषयलाई चासोको रुपमा हेरे । सम्भवतः आइतबार मन्त्रिपरिषद् विस्तार हुने आंकलनसहित अधिकांश सञ्चारकर्मीहरुले यो कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए । तर, पत्रकार सम्मेलन भनिएको केही समयपछि नै तय भएको कार्यक्रम स्थगित भएको सूचना आएको छ । यो सबै विषय नयाँ मन्त्रिमण्डल विस्तारसँग जोडिएको छ । अहिले उप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गरिरहेका श्रेष्ठले सुरुवादेखि नै गृहमन्त्रालयको दाबी गरिरहेका थिए । तर, सत्ता साझेदर दलहरुको पनि चित्त बुझाउनु पर्ने उनी गृहको दाबी छोडेर भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्न आएका थिए । अहिले नेपाली काँग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुसँग गठबन्धन भएको छ । मन्त्रीका लागि विभिन्न राजनीतिक दलबाट विभिन्न व्यक्तिहरुले दाबी गरिरहेका छन् । गृहमन्त्रालय पनि अहिले नेतृत्वविहिन अवस्थामा छ । यही बेला भौतिक पूर्वाधार मन्त्रालय छोडेर गहृमा प्रवेश गर्ने रणनीतिमा नारायणकाजी श्रेष्ठ छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा वरियताक्रम नमिलेको भन्दै उनले सुरुमा असुन्तुष्टि पनि जनाएका थिए । आजको पत्रकार सम्मेलन पनि त्यसको एउटा किस्सा भएको बुझिएको छ । मन्त्री श्रेष्ठ निकट स्रोतका अनुसार सुरुवाती चरणदेखि नै गृह मन्त्रालय दाबी गरेका उनले अध्यक्ष दाहाललाई दबाब दिनका लागि नै पत्रकारसम्मेलन आयोेजन गरेका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले गृह मन्त्रालय श्रेष्ठलाई नै दिने आश्वासन दिएपछि आइतबार बिहानै कारणबश भन्दै पत्रकार सम्मेलन स्थगित गरिएको बुझिएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्वाबहादुर खड्का र नारायणकाजी श्रेष्ठ दुबैको नजर गृह मन्त्रालयमा छ । दुबैले एउटै मन्त्रालयमा दाबी गरेपछि मन्त्रालय बाडँफाडँमा समस्या देखिएको प्रधानमन्त्री निटक स्रोतको भनाइ छ । स्रोतका अनुसार खड्कालाई अर्थ मन्त्रालय र श्रेष्ठलाई गृह मन्त्रालय दिने सहमति भएसँगै श्रेष्ठले आयोजना गर्ने भनिएको पत्रकारसम्मेलन स्थगित गरिएको हो । मन्त्रीको सचिवालयले भने समय अभावका कारण आज आयोजना गर्ने भनिएको पत्रकारसम्मेलन स्थिगत गर्नु परेको बताएको छ । श्रेष्ठका प्रेस संयोजक कमल गिरीले मन्त्रीको समय अभाव र आवश्यक तयारी नपुग्दा स्थगित गर्नु परेको जानकारी दिए ।