विकासन्युज

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा बैंकले ग्लोबल मनी विक २०२३ अभियान अन्तर्गत देशैभरीका शाखाहरूबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले चैत्र ६ गतेदेखि १२ गतेसम्म उक्त कार्यक्रम गरेको हो । उक्त अवसरमा बैंकका कर्मचारीहरूलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो । वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरूमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको हो । साथै, बैंकले ग्लोबल मनी विक २०२३ को ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ सम्बन्धित विषयवस्तुमा केन्द्रित भई युवाहरूमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो । बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरूमार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । बैंकको सातै प्रदेशमा १३० कार्यालयहरू र १२३ एटिएम सञ्जालहरू सञ्चालनमा छन् ।

सीजीफिन्कोले मेरो करियरमा कोशेढुंगाको काम गर्यो : निर्वाण चौधरी

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्कोले स्थापनाको २० वर्ष पुरा गरेको छ । २०औँ वार्षिकोत्सवको अवसरमा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको श्रेय ग्राहकलाई जाने बताए । अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशेढुंगाको काम गरेको बताउँदै महत्वपूर्ण निर्णयहरू गर्दा कम्पनीबाट आफुलाई प्रोत्साहन मिल्ने गरेको बताए । ‘सीजीफिन्कोले मेरो विजनेश करियरमा खास महत्व राख्छ, मलाई लाग्छ २० वर्ष अघि यसको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आज विप्रेषण उद्योग नेपालको कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ’, उनले भने । विदेशमा काम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय सस्था मात्र नभई सीजीफिन्कोल गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्वपुर्ण योगदान गरिरहेको उनले बताए । कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदर पत्र प्रदान गरेको थियो । जसमा मार्केटिङ जिनियस अवार्डबाट रमेस रेग्मी, रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमा शर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिषकुमार हमाल सम्मानीत भएका थिए । २००३ मा स्थापितसीजी फिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियनमनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिलेचार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ ।

नेप्सेमा दोहोरो अङ्कको सुधार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता सेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ३७ लाख १३ हजार आठ सय ७८ बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ११ दशमलव १४, पाँच दशमलव ४६ र १० दशमलव ३७ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय १५ दशमलव ९१ र उत्पादन समूहको उपसूचक ८१ दशमलव १८ अङ्कले बढेको छ । त्यसैगरी, बैंकिङ समूह तीन दशमलव ७६, होटल तथा पर्यटन समूह १३ दशमलव ७६, जलविद्युत् समूह छ दशमलव ३१ र लगानी समूह शून्य दशमलव ६२ अङ्कले बढेको छ । आज जीवन बीमा समूह २९ दशमलव ५८, म्युचुअल फन्ड समूह शून्य दशमलव ३३, व्यापार समूह २२ दशमलव ८३ र अन्य समूह सात दशमलव ६२ अङ्कले बढेको छ । सुपर माई हाइड्रोपावर, सृजनशील लघुवित्त वित्तीय संस्था र एसियन हाइड्रोपावरको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट देखिनेमा तेह्रथुम पावर कम्पनीको सेयर मूल्य तीन दशमलव १७ प्रतिशतले घटेको छ । कारोबार रकम र सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई जनरल इन्सुरेन्स लिमिटेडको छ करोड १५ लाख १३ हजार बराबरको एक लाख ५८ हजार एक सय ३३ कित्ता सेयर कारोबार भएको छ ।

विराटनगरमा १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

काठमाडौं । विराटनगरमा प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । मंगलबार दिउँसो भएको झडपमा २० भन्दा बढी घाइते भएका छन् । स्थितिलाई सामान्य बनाउन प्रहरीले १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरुले विरोध प्रदर्शन गर्ने क्रममा उग्र भएपछि स्थिती सामान्य तुल्याउन हवाई फायर र आश्रु ग्यास प्रहार गरेको उनले बताए । सयौँको सङ्ख्यामा रहेका आन्दोलनकारीले नजिकैका चारतारे बिग होटेलको कफी हाउसको सिसा पनि फुटाएका थिए । प्रहरीले शान्तपूर्वक आन्दोलनकारीलाई सम्झाउँदा पनि अटेर गरेको र सीमाभन्दा बाहिर जान थालेपछि पहिलोपटक पानीको फोहोरा प्रयोग गरेको थियो । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विराटनगर रोडशेष नजिक आयोजित विरोध ¥याली निकालेको थियो । यसैगरी आन्दोलनकारीले पथरी र बेलबारी क्षेत्रमा पनि प्रदर्शन गरेका थिए ।

८ सय टन जडीबुटी निकासी नहुँदा कुहिँदै

नेपालगञ्ज । व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माका अनुसार यी नाकामध्ये सबैभन्दा बढी नेपालगञ्जबाट जडीबुटी भारत निकासी हुने गरेको छ । ‘यसले जडीबुटी व्यवसायी, व्यापारी र किसानलाई ठूलो मार पर्ने देखिन्छ’, उनले भने । दुई वर्षदेखि निर्यातका लागि प्रशोधन गरेको जडीबुटी लामो समय बोरामा थन्किँदा कुहिने अवस्थामा पुगेको भन्दै व्यवसायीले निकासीको वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष शर्माका अनुसार जटामसी मार्क, अमला, सिकाकाई, तिगेडी, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, अमलवेदलगायत जडीबुटी विभिन्न नाकामा थन्किएको छ । जडीबुटी निकासीबाट राजस्वमा योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । जडीबुटी व्यवसायी सङ्घका महासचिव भानुभक्त रिजालले नेपाली जडीबुटीको ८० प्रतिशत बजार भारत भएकाले निकासीमा हुने अवरोध हटाउने विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा ‘एजेन्डा’ बनाउन आग्रह गरे । व्यवसायी मोहम्मद याकुब अन्सारीले निकासी रोकिएपछि गोदाममा थन्किएको अधिकांश जडीबुटी कुहिन थालेको बताए । भारतको अवरोधले नेपालगञ्जबाट निकासी हुने जडीबुटी निर्यात बर्सेनि घट्दै गएको छ । सङ्घका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालगञ्ज हुँदै ४२ थरीका ४५ लाख १८ हजार सात सय ७७ किलो जडीबुटी निकासी भएको थियो । आव २०७८/७९ मा घटेर ४२ लाख २० हजार दुई सय २८ किलो जडीबुटी भारत निर्यात भएको छ । बाँकेमा जडीबुटीसम्बन्धी १२ उद्योग छन् । नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएका ३० प्रकारका जडीबुटी नेपालगञ्जलगायत नाकाबाट भारत निकासी हुँदै आएको छ । रासस

सनराइज बैंकले गर्‍यो १०० वटा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सनराइज बैंकले १०० वटा वित्तीय साक्षरता कार्यक्रम ‘ग्लोबल मनी’ विक मनाएको छ । सनराइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । देशभरीका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ । बैंकले ग्लोबल मनी विकको यस वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर’ लाई अगाडि राखी बैकिङ्ग सेवा र देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटिएम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

एक सामुदायिक विद्यालय जहाँ ५२ जिल्लाका विद्यार्थी पढ्छन्

काठमाडौं । बर्दिया राधापुर नगरपालिका-९ कि शैलाजा थारु बागलुङको धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । सोही विद्यालयको कक्षा ३ मा बाजुरा जगन्नाथ गाउँपालिका-१ का भविन्द्र विष्ट पनि पढ्छन् । थारु र विष्ट मात्रै होइन बागलुङ रामरेखाको यस विद्यालयमा ५२ जिल्लाका दुई सय ९५ विद्यार्थी अध्ययरत रहेको प्रधानध्यापक रेशमबहादुर श्रीसले जानकारी दिए । विद्यालयमा अधिकांश सुस्तश्रवण भएका विद्यार्थी अध्ययन गरिरहेका छन् । कूल विद्यार्थीमध्ये ९० प्रतिशत बहिरा रहेको प्रधानध्यापक श्रीसको भनाइ छ । बहिरा विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा स्थानीय सरकारले समेत चासो दिन आवश्यक रहेको उनको भनाइ छ । ‘दरबन्दी अनुसारका शिक्षक छैनन्, शिक्षण विधिसमेत फरक हुने भएकाले जनशक्तिको अभाव छ”, उनले भने, ‘हामीलाई १८ जना शिक्षक आवश्यक भए पनि अहिले जम्मा सात जना मात्रै छौँ ।’ विद्यालयले आन्तरिक स्रोतबाट शिक्षक, नर्स, कर्मचारी, ड्राइभर र सुरक्षागार्डको व्यवस्थापन मिलाएको छ । अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराउन सरकारले पनि विशेष प्राथमिकता दिनुपर्ने उनले जोड दिए । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारबाट प्राप्त हुने आवासीय सुविधाका लागि दिइने मासिक रकम पनि पर्याप्त नभएको बताए । ‘चामल प्रतिबोरा एक हजार तीन सय हुँदा मासिक चार हजार दिन सुरु भएको हो’, उनले भने, ‘अहिले प्रतिबोरा दुई हजार पुगिसक्यो तर रकम बढ्न सकेको छैन ।’ प्रधानध्यापक श्रीसका अनुसार हाल कक्षा ९ र १० मा कम्प्युटर इञ्जिनियरिङ समेत पढाइ हुन थालेको छ । प्राविधिक धारतर्फ तीन वर्षे डिप्लोमा कप्युटर इञ्जिनियरिङको पढाइसमेत भइरहेको उनको भनाइ छ । विद्यालयले आठ वर्षदेखि आन्तरिक स्रोतबाटै विद्यालय नर्स कार्यक्रम लागू गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी केबी राना मगरले बताए । रानाका अनुसार विद्यालयमा डोल्पा, कैलाली, अर्घाखाँची, कञ्चनपुर, बाँके, नुवाकोट र झापालगायत विभिन्न जिल्लाबाट बहिरा विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । रानाले विद्यालयले २०६४ सालदेखि अपाङ्गता भएका, अभिभावक तथा समाजबाट अपहेलित भएका विद्यार्थीलाई अध्यापन गराउन सुरु गरेको बताए । विद्यालयले राज्यबाट आउने तलब तथा आवासीय सुविधा बाहेक वार्षिक १९ लाख अतिरिक्त खर्च भइरहेको बताएको छ । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले यस्ता विद्यालय र अन्य सामुदायिक विद्यालयलाई हेर्ने नीति परिवर्तन आवश्यक रहेको बताए । रासस

मर्ज नहुँदै प्रभु महालक्ष्मी इन्स्योरेन्सले सार्वजनिक गर्यो क्यालेन्डर, बीमा प्राधिकरण बस्याे साक्षी

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत्रभित्र ५०० करोड चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिएपछि प्रभु र महालक्ष्मी लाईफ मर्जरको लागि सहमत भएको थियो । २०७९ असार ३० गते मर्जर सम्झौता गरेका दुवै कम्पनीको भारतिय बीमांङ्कीबाट मुल्याङ्कन प्रतिवेदन आउन ढिलो भए पछि एकिकृत कारोबार ढिलो हुन गएको हो । मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुवै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाउन चाहेको बताएका छन् । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमारलाल, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको पनि उपस्थिति रहेको थियो ।