विरगंजको सिर्सिया नदी प्रदूषण गर्ने पाँच उद्योगलाई १५ लाख जरिवाना
पोखरीया । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । पटकपटक अनुगमन गरी कारबाहीको चेतावनी दिँदै आए पनि उद्योगले अटेर गरेपछि बाध्य भएर महानगरपालिकाले सिर्सिया नदी प्रदूषित पार्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया थालेको हो । यसैक्रममा तराईवासीको महान पर्व चैती छठपूजाको बेलामा पनि बर्तालुले सिर्सिया नदीको प्रदूषित पानीमै पूजापाठ गरेको दृश्य सामाजिक सञ्जाललगायतमा राखेर मानिसले विरोध जनाएपछि सिर्सिया नदी प्रदूषित गर्ने वीरगञ्जका पाँच वटा उद्योगलाई कारबाही गरी १५ लाख जरिवाना गरेको छ । महानगरपालिकाले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही तीन लाखका दरले १५ लाख जरिवाना गरेको जनाएको हो । महानगरले वडा नं २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा रहेको दुर्गा पल्प एण्ड पेपर प्रालिलाई तीन लाखका दरले जरिवाना गरेको हो । नदी प्रदूषित गरेका पाँच उद्योगलाई आज पत्राचार गर्दै सात दिनभित्र तोकिएको जरिवाना बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गरिएको पौडेलले बताए । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले सिर्सिया नदी वीरगञ्ज सहरकै ‘लाइफ लाइन’ रहेको र नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाही गर्न महानगरले निरन्तर अनुगमन पनि जारी राख्ने बताए । नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, बिन्दवासिनी, रानीघाट, अशोकबाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन् । रासस
एभरेष्ट बैंकद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक
काठमाडौं । एभरेष्ट बैंकले वि.सं २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकले आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको हो । नेपालको कला, संस्कृति, भाषा वेशभूषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रूपमा यस्ता विषयवस्तु समेटेर आफ्नो क्यालेन्डर प्रकाशन गर्दै आएको छ । ‘नेपालका राष्ट्रिय विभूतिहरू’ भन्ने नारासहितको मन्त्रालयका सचिव सुरेश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अनावरण गरेका हुन् । कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीकोसमेत उपस्थिति थियो ।
सरकारको निर्णय : मिटरब्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने
काठमाडौं । सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुनी व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ ।
सर्वोच्च अदालत : २८ हजार ८५२ मुद्दा फर्छ्यौट हुन बाँकी
काठमाडौं । सर्वोच्च अदालतले मुद्दा फर्छ्याैटलाई प्राथमिकताका साथ तीव्रता दिएको छ । अदालतका अनुसार ३६ हजार पाँच सयभन्दा बढी लगत रहेको मुद्दामा सात हजार सात सय मुद्दा फर्छ्याैट भइसकेको छ । ‘अहिले प्रतिइजलास करिब चार हजार मुद्दा पर्ने अवस्था छ तर चालु आर्थिक वर्षमा प्रतिइजलास करिब नौ सयका दरले मुद्दा फर्छ्याैट भएका छन्’, सर्वोच्च अदालतका प्रवक्त विमल पौडेलले भने, ‘यो सङ्ख्या आफैँमा उल्लेख्य ठूलो हो यद्यपि सर्वोच्च अदालतमा भएको मुद्दाको चापको अवस्था हेर्दा उपलब्धि पनि गौण बन्न पुगेको छ.’ अदालतका अनुसार अब २८ हजार आठ सय ५२ मुद्दा फर्छ्याैट हुन बाँकी छन् । ‘नेपालको संविधानअनुसार २१ जना न्यायाधीश हुनुपर्ने व्यवस्था छ तर विगत छ महिनादेखि १६ जना न्यायाधीशले मात्र काम गरिरहनुभएको छ’, प्रवक्ता पौडेलले भने, ‘न्यायाधीशको कमी, बजेट, स्रोत र साधनको कमी भए पनि मुद्दा फर्छ्याैटको कामलाई भने प्राथमिकता राखिएको छ ।’ सर्वोच्च अदालतमा एक वर्षदेखि कामु प्रधानन्यायाधीशले काम गरिरहेका छन् । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया र सर्वोच्च अदालतमा रिक्त न्यायाधीश प्रक्रिया तत्काल गर्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको छैन । मुद्दाको चाप बढ्दै जाने तर न्यायाधीश, स्रोत र साधनको कमीले गर्दा पनि अदालतले सोचेअनुरुप काम गर्न नसकेको प्रवक्ता पौडेलको भनाइ छ । अदालतमा २०६३ र २०६४ सालमा दर्ता भई विचाराधीन रहेका दुई थान मुद्दा फर्छ्याैट भइसकेका छन् । अब सबैभन्दा पुरानामा मुद्दा २०६५ सालमा दर्ता भएका दुई थान बाँकी छन् । सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा चार हजार पाँच सय ३० थान छन् । कूल छ हजार तीन सय ४३ मुद्दा रहेकामा एक हजार आठ सय १३ मुद्दा फर्छ्याैट भइसकेका छन् । त्यस्तै, दुई वर्ष नाघेका १६ हजार आठ सय ३८ मुद्दा छन् । कूल २१ हजार एक सय ६२ मुद्दा रहेकामा चार हजार तीन सय २४ थान मुद्दा फर्छ्याैट भइरहेका छन् । अदालतमा पेसी व्यवस्थापन फाँटमा रहेका मुद्दा सङ्ख्याको अनुपात हेरी सबै फाँटलाई पेसीको कोटा निर्धारण गरिएको छ । सर्वोच्च अदालतमा ४२ वटा मुद्दाका फाँट छन् । अदालतमा कम्तीमा ६ महिनाभित्र कम्तीमा एउटा पेसी तारेख पाउने गरी व्यवस्थापन गरिएको छ । पुराना मुद्दालाई बढीमा दुई महिनाभित्र पेसी तारेख तोकिने व्यवस्था गरिएको छ । इजलास गठन प्रक्रिया गोला प्रक्रियाद्वारा हुने गरेको छ । ‘दैनिक पेसी सूचीको निर्धारण गोला प्रक्रियाबाट हुन्छ’, प्रवक्ता पौडेलले भने, ‘एकदम पुराना, राष्ट्रिय महत्व र शीघ्र फर्छ्याैट गर्नुपर्ने मुद्दा हेर्न नमिल्ने इजसालमा नपरोस् भनेर हेर्न मिल्ने न्यायाधीशहरुको बीचमा मात्रै गोला प्रक्रियामार्फत सुनुवाइ गर्ने गरिएको छ ।’ अदालतमा पाँच वर्ष नाघेका मुद्दालाई प्राथमिकता दिएको प्रवक्ता पौडेलको भनाइ छ । ‘एकपटक पेसी पाएको मुद्दा छ महिना नकटाउने गरी काम भइरहेको छ, पाँच वर्ष नाघेका मुद्दाको हकमा भने दुई महिनाभन्दा पछाडि पेसी जाँदैन’, उनले भने । सर्वोच्च अदालतमा दैनिकजसो मुद्दाको चाप बढ्दै गइरहेको भए पनि भौतिक पूर्वाधार अवस्था भने दयनीय भएको उहाँको भनाइ छ । करिब १०–१५ हजार मुद्दाको लगत मात्र व्यवस्थापन गर्न सकिने क्षेत्रफलमा करिब ४० हजार मुद्दाको व्यवस्थापन गर्नुपर्ने काम चुनौतीपूर्ण भएको उनले बताए । ‘मिसिल सुरक्षित राख्न सक्ने ठाउँ छैन, कोठाभित्र मिसिल राख्न पर्याप्त स्थान नभएपछि कोरिडोरमा मिसिल राख्नुपरेको छ’, प्रवक्ता पौडेलले सर्वोच्च अदालतको भौतिक अवस्थाबारे जानकारी गराउँदै थपे, ‘कर्मचारी बस्नका लागि पर्याप्त स्थान समेत छैन, यस्तो अवस्थामा काम गर्ने वातावरण पनि सहज बनाउन सकिएको छैन ।’ सर्वोच्च अदालतमा मुद्दाको चाप बढ्दै गएपछि सेवाग्राही हिँड्ने बाटोमा मिसिलका दराज, कार्यकक्षमा पनि मिसिल जताजतै राखिएको छ । सर्वोच्च अदालतको नयाँ भवन निर्माणका लागि अझै एक वर्ष जति लाग्ने देखिएको छ । उक्त भवन नबनाउँदासम्म पर्याप्त ठाउँको समेत अभाव देखिएको हो । रासस
एमआरपी मूल्यमै रक्सी बेचेर ग्राहकको मन जित्दै झिर सेकुवा, काठमाडौंमा चर्चित बन्दैछ सञ्जिवको रणनीति
काठमाडौं । तपाईं सस्तो अनि मिठा खानेकुराको खोजीमा रेस्टुरेन्ट कतिको धाउनु हुन्छ ? त्यो पनि सस्तोमा रक्सी पिउने अनि मिठो सेकुवा पाइने ठाउँ । हो, यही उद्देश्यसहित काभ्रेका सञ्जिव कुमार तिमिल्सिनाले सञ्चालनमा ल्याएका छन् ‘झिर सेकुवा’ । शंखमुल करिडोरमा खुलेको ‘झिर सेकुवा’ रेस्टुरेन्टमा बनेका सेकुवाको स्वाद चाख्न काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट सेकुवाका पारखीहरू आउँछन् । रेस्टुरेन्टमा आएका ग्राहको सेवा र मिठो सेकुवा बनाउन दिनरात व्यस्त हुन्छन् सञ्जिव । काभ्रेको भकुन्डेमा जन्मेका सञ्जिव घरका एक्लो छोरो हुन् । एसएलसी (हालको एसईई) सम्मको पढाइ बनेपामा पुरा गरेका उनी थप अध्ययनका लागि काठमाडौंमा छिरेका थिए । काठमाडौंको पिनाकल एकेडेमीबाट १२ कक्षा पास गरे । पढाइसँगै होटलको तालिम लिए । होटलको तालिम सिक्दा सिक्दै उनलाई विदेश जाने मुड चल्यो । १८ वर्षकै उमेरमा उनी यूके गए । ‘त्यतिबेला पनि विदेश जाने अभ्यास निकै थियो, आफन्त र साथीहरु पनि विदेश गइरहेका थिए, मलाई पनि विदेश जाने मोह जाग्यो, यूके गएँ,’ आफु विदेश गएको दिनहरु स्मरण गर्दै उनले भने । उनले प्लसटूमा विज्ञान विषय पढेका थिए । तर, उनको रुची हस्पिटालिटीमा थियो । उनले यूके पुगेर पनि स्नातक तहमा इन्टरनेशनल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट विषय पढे । सानै उमेर, अपरिचित ठाउँ, नयाँ सहर, फरक अनुभवका कारण सञ्जिवलाई विदेशमा धेरै समस्याहरु झेल्नु पर्यो । कामको खोजीमा बितेका ती दिनहरु उनको मानसपटलमा ताजै छन् । लामो समयपछि उनले नान्डोस रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाए । ‘सानै उमेरमा यूके गएँ, पढाई पनि सुरु भयो, त्यहाँको बारेमा खासै जानकारी थिएन, काम खोज्नै ठूलो सकस भोग्नु पर्यो,’ उनले काम खोज्दाका अनुभवहरु सुनाए । सञ्जीवका अनुसार सो रेस्टुरेन्टले कर्मचारीको सीप र क्षमता विकासमा धेरै खर्च गर्थो । चञ्चले स्वभावका सञ्जिव काम गर्नमा पनि निकै फुर्तिला थिए । त्यही देखेर पनि कम्पनीले उनको प्रमोसन गर्दै लग्यो । अन्ततः त्यही रेस्टुरेन्टमा उनले प्रशिक्षकको पनि काम गरे । काम र पढाई एउटै भएकाले पनि उनलाई थप सहज भयो । रेस्टुरेन्टमा काम पाएपछि सञ्जिवले सुरुको जस्तो समस्या भोग्नु परेन । खान बस्न समस्या भएन । युके बसुञ्जेल राम्रो आम्दानी पनि गर्न पनि उनी सफल भए । उनले इन्टरनेशनल हस्पिटालिटी क्षेत्रमा यूकेमा नै स्नातकोत्तर अध्ययन पुरा गरे । अध्ययन पुरा पनि भयो अब आफ्नै देशमा केही गर्नुपर्छ भने सोचमा सञ्जिव पुगे । उनी सन् २०१५ मा नेपाल फर्किए । नेपालमा नयाँ व्यवसाय गर्ने, राम्रो भयो भने नेपालमै बस्ने । फापेन भने विदेश नै फर्किने गरी नेपाल आए । नेपालमा आएको बेला बाजेको सेकुवामा जागिरको अवसर आएको उनले देखे । उनले त्यहाँ काम गरे । ‘आफ्नै व्यवसाय सञ्चालन गर्ने सोच बनाएर नेपाल आएको थिएँ तर नेपालमा पनि काम गरेको अनुभव चाहिन्छ सोचेर बाजेको सेकुवामा काम गर्न थालेँ, उनले भने, ‘त्यहाँ ५ वर्ष काम गरेँ ।’ त्यहाँ अनुभव बटुलेपछि उनी रेस्टुरेन्ट सञ्चालनको तयारीमा जुटे । सेकुवाका परिकार र सस्तोमा रक्सी खुवाउने उद्देश्यसहित सन् २०२१ मा सञ्चालनमा ल्याए ‘झीर सेकुवा’ । आज झिर सेकुवा लोकप्रिय बनेको छ । सबैको रोजाइमा झिर सेकुवा पर्ने गरेको छ । ‘अरु रेस्टुरेन्ट सञ्चालन गरेपछि मेनु बनाउँछन्, मैले रेस्टुरेन्ट खोल्नु भन्दा अगाडि नै मेनु बनाएको थिएँ, रेष्टुरेन्टमा के–के बेच्ने भन्ने विषयमा म स्पष्ट थिएँ, सुरुमा धेरै लगानी गर्नु हुँदैन, सामान्य खोल्नु पर्छ भन्नेमा थिएँ, त्यस्तै गरेँ,’ उनी भन्छन्, ‘अहिले सबैको रोजाइ झिर सेकुवा बनेको छ, खुसी लाग्छ ।’ मिठो सेकुवा, सस्तोमा रक्सी सेकुवाका पारखीहरूलाई मौलिक नेपाली स्वाद पस्कने उद्देश्यका साथ शंखमुल करिडोरमा डेढ वर्षदेखि सञ्चालनमा छ ‘झिर सेकुवा’ । राजधानीमा फरक र नौलो स्वाद पस्किन सफल यो रेस्टुरेन्टमा ग्राहकहरूको पनि भीड लाग्ने गरेको छ । सस्तोमा रक्सी अनि मिठो सेकुवाको स्वाद लिन आउनेहरु दिनप्रतिदिन बढ्दैछन् । झिर रेस्टुरेन्टमा अधिकांश ब्राण्डका रक्सी पनि पाइने उनले बताए । ‘अन्य ठाउँमा धेरै मार्जिन राखेर रक्सी बेचिरहेका हुन्छन्, तर, तर हामीले एमआरपीमा थोरै मूल्य बढाएर बेच्छौं, सस्तोमा मिठो खानेकुरा भएपछि धेरैले मन पराउनु हुन्छ,’ उनले भने । झिर रेष्टुरेन्टमा पाइने सेकुवा पनि अन्य ठाउँको भन्दा सस्तो पनि छ । छिटो सेवा, सामान्य सजावट र आनन्दको बस्ने व्यवस्था भएकाले भएकाले पनि मान्छे यहाँ आउन रुचाउँछन् । मटन, चिकेन, तथा पोर्कका पोलेको मासुका मिठो परीकारहरुको मज्जा झिर सेकुवामा पाइन्छ । एमआरपी मूल्यमै पाइने झिर नै पहिलो रेष्टुरेण्ट भएको उनको दाबी छ । ५० लाख लगानी, सयौंलाई रोजगारी पछिल्लो समय झिर सेकुवाको फ्रेञ्चाइज पनि विभिन्न ठाउँमा खुलेका छन् । काठमाडौंमै ७/८ वटा विभिन्न स्थानमा झिर सेकुवाका शाखा सञ्चालनमा रहेको पनि सञ्जिवले बताए । उनले यो रेष्टुरेन्टमा ५० लाख बढी लगानी भएको बताए । उनका अनुसार कालोपुल, टोखा, इमाडोल, नयाँ बानेश्वर, कलंकी लगायतका ठाउँमा शाखाहरु छन् । उनले अब उपत्यका बाहिर पनि झिरको विस्तार गर्ने योजना छ । आफ्नै लगानीमा उनले भक्तपुर, कोटेश्वर, अनामनगर, मैतीदेवीमा पनि झिर सेकुवा खेल्दैछन् । उनले आफ्नो रेस्टुरेन्टबाट लगभग १८ जनालाई रोजगारी दिएका छन् । र, झिरका शाखाहरुबाट सयौं रोजगारी पाएका छन् । थोरै लगानी, स्तरीय पद्धती, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको झिरलाई फ्रञ्चाइज मोडेलमा लजाने उनको रणनीति छ ।
भक्तपुरको आस्था महिला विद्यालयबाट ६३ वर्षमा एसईई दिँदै चन्द्रलक्ष्मी श्रेष्ठ
भक्तपुर । आस्था महिला विद्यालय भक्तपुरबाट एसर्ईई परिक्षामा ९ विद्यार्थी सहभागी हुदैँछन् । वि.सं. २०६५ सालबाट विद्यालय सुरु गरेको यो वर्ष ११ औं एसईई दिने तयारी गरेको छ । शिक्षाबाट बञ्चित महिलाहरुलाई शिक्षा दिने उद्देश्यले २०६४ सालदेखि सञ्चालित यो विद्यालयमा आफु समस्यामा भएपनि महिलाहरुको पढ्ने धोको पुरा गर्न सक्रिय छ । यो विद्यालय मध्यपुरथिमी गठ्ठाघरमा रहेको छ । यो विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । मनभित्र चाहना र दृढ अठोट भए पढ्नलाई उमेरले छेक्दन भन्ने यहाँका विद्यार्थीहरुले पुष्टि गरेका छन् । २०६५ सालदेखि कक्षा सञ्चालन भएपनि भाडाको घरमा विद्यालय चलिरहेको छ । विद्यालयकी प्रार्चाय विना देउजाका अनुसार यो वर्ष विद्यालयबाट ६३ वर्ष उमेरकी विद्यार्थी चन्द्र लक्ष्मी श्रेष्ठ एसर्ईई परिक्षमा सहभागी हुदैंछिन् । विद्यालयबाट ९ जना एसईई परिक्षामा सहभागी हुदैं छन् । उनीहरु सबै १७ वर्षदेखि ६३ वर्ष उमेरसम्मका रहेका छन् । उनीहरुको परिक्षा केन्द्र आर्दश माविमा परेको छ । यो वर्षको एसईई परिक्षा १७ गते शुक्रबारदेखि सुरु हुदैंछ । यस बर्षको परिक्षामा देशभरबाट ४ लाख ८५ हजार बिद्यार्थी सहभागी हुँदै छन् । प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइदैंछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कक्षा १० को एसईई परीक्षामा साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै उत्तर पुस्तिका र प्रश्न पत्र पठाइ सकिएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
नेशनल लाईफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको ‘घलेगाउँ भ्रमण कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकार सन्दिप क्षेत्रीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब २५० जना बरिष्ठ अभिकर्ताहरुलाई घलेगाउँ भ्रमण गराइएको थियो । घलेगाउँ भ्रमणका क्रममा तहाँको स्थानिय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै मनोरम दृष्य अवलोकन समेत गराईएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुको घलेगाउँ भ्रमण कार्यक्रममा सहभागिता रहेको थियो । साथै, कलाकार सन्दिप क्षेत्रीसंग अभिकर्ताहरुलाई साक्षात्कार गराउने उदेश्यले घलेगाउँ भ्रमण पश्चात पोखरामा प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीज्यूको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो ।
मतदाता संख्या बढ्दै, निर्वाचन खर्च घट्दै
काठमाडौं । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब सात अर्ब ५० करमेड खर्च भएको अनुमान छ भने नेपाल सरकारले सो निर्वाचनका लागि विनियोजन गरेको मध्ये करिब तीन अर्ब ५० करोड फिर्ता हुने देखिएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनसमेतको खर्च विवरण समावेश भई महालेखा परीक्षकले लेखा परीक्षण गरेपछि वास्तविक खर्च थाहा हुनेछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको खर्च विवरण भने यकिन भइसकेको छ । यस वर्षको स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता, २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेकामा कूल पाँच अर्ब चार करोड तीन लाख ९२ हजार खर्च भएको छ । यसअनुसार यो निर्वाचनमा प्रतिमतदाता खर्च दुई सय ८४ भएको देखिएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा मात्रै प्रतिमतदाता खर्च पाँच सय नौ भएको थियो । अनावश्यक खर्चका शीर्षक कटौती गरी मितव्ययी तुल्याइएको प्रवक्ता पौड्यालको भनाइ छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ७२ हजार चार सय २४ मतदाता, १८ हजार पाँच सय ७३ मतदान केन्द्र र सात अर्ब १५ करोड ७७ लाख १९ हजार खर्च भएको थियो । त्यसबेला दुई चरणमा निर्वाचन भएको थियो । यस्तै, २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एक करोड ५४ लाख २७ हजार नौ सय ३८ मतदाता, १९ हजार आठ सय नौ मतदाता र सात अर्ब ८० करोड १४ लाख ४९ हजार खर्च भई प्रतिमतदाता लागत रु पाँच सय छ भएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले निर्वाचन खर्चमा यस वर्ष भएको मितव्ययीताबारे पुष्ट्याइँ माग गरेकामा आयोगले पछिल्ला पाँच निर्वाचनका कूल मतदाता, मतदान केन्द्र, कूल खर्च र प्रतिमतदाता खर्चको हिसाबसहित विवरण उपलब्ध गराएको छ । नेपाल सरकारबाट २०७९ साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति २०७९ साल मङ्सिर ४ गते आइतबार देशैभर एकै चरणमा सम्पन्न गर्ने गरी मिति घोषणा भएको थियो । निर्वाचन सम्पन्न गर्न सामान्यतः एक सय २० दिनको अवधि आवश्यक हुनेमा उपलब्ध एक सय सात दिनको समयसीमाभित्रै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । यस निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सय १० सदस्य गरी कूल दुई सय ७५ सदस्य निर्वाचित भएका छन् । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत तीन सय ३० सदस्य निर्वाचित भएका छन् भने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दुई सय २० सदस्य गरी कूल पाँच सय ५० सदस्य निर्वाचित भएका छन् । यो निर्वाचनमा आयोगले विद्युतीय माध्यमबाट खुला प्रतिस्पर्धामार्फत सामग्री खरिद गरेको छ भने ढुवानी योजना बनाई सुरक्षा निकायसँगको समन्वयमा समयमै ढुवानी गरेको थियो । निर्वाचनमा कूल ७२ निर्वाचन सामग्री प्रयोग भएकामा आयोगबाट ५७ प्रकारका सामग्री खरिद गरी १५ प्रकारका सामग्री जिल्ला र स्थानीयस्तरबाटै खरिद गराएको थियो । आयोगले यस वर्षका निर्वाचनमा मतदाता शिक्षा (घरदैलो कार्यक्रम) मा स्थानीय तहलाई जिम्मेवार बनाएको थियो भने मतदाता शिक्षा कार्यक्रममा विविधीकरण गरिएको (रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, कन्सर्ट, सामाजिक सञ्जाल, कल सेन्टर आदि) बाट दिएको थियो । यस्तै सरोकारवाला (कलाकार, निजी क्षेत्र, गैसस, युवा, सञ्चारमाध्यम) सँग सहकार्य गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको निर्वाचन चिह्न समावेश गरी मतपत्र छपाइ गरेको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरेपश्चात् मतपत्र छपाइ कार्य गरिएको थियो । स्थानीय तह निर्वाचनमा भएका खर्च र प्रतिमतदाता लागतको विवरण प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ राजनीतिक दलले भाग लिएका थिए भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ दलले बन्दसूची पेस गरेका थिए । निर्वाचन सम्पन्न भएपश्चात् १२ राजनीतिक दलले प्रतिनिधिसभामा विजय हासिल गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ नियमावलीअनुरुप निर्वाचन व्यवस्थापनको सिलसिलामा सम्पन्न गर्नुपर्ने विभिन्न कार्य प्रक्रियालाई निर्देश गर्न आयोगबाट विभिन्न मितिमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, मतदान तथा मतगणना निर्देशिका, आर्थिक, अनुगमन निर्देशिका, निर्वाचन आचारसंहिता लगायतका आवश्यक निर्देशिका तथा कार्यविधि जारी गरेको थियो । रासस