काठमाडौं । विराटनगरमा प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । मंगलबार दिउँसो भएको झडपमा २० भन्दा बढी घाइते भएका छन् ।
स्थितिलाई सामान्य बनाउन प्रहरीले १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।
विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरुले विरोध प्रदर्शन गर्ने क्रममा उग्र भएपछि स्थिती सामान्य तुल्याउन हवाई फायर र आश्रु ग्यास प्रहार गरेको उनले बताए ।
सयौँको सङ्ख्यामा रहेका आन्दोलनकारीले नजिकैका चारतारे बिग होटेलको कफी हाउसको सिसा पनि फुटाएका थिए । प्रहरीले शान्तपूर्वक आन्दोलनकारीलाई सम्झाउँदा पनि अटेर गरेको र सीमाभन्दा बाहिर जान थालेपछि पहिलोपटक पानीको फोहोरा प्रयोग गरेको थियो ।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विराटनगर रोडशेष नजिक आयोजित विरोध ¥याली निकालेको थियो । यसैगरी आन्दोलनकारीले पथरी र बेलबारी क्षेत्रमा पनि प्रदर्शन गरेका थिए ।