विकासन्युज

व्यवसायीक समस्यालाई बलियो बनाउन उपाध्यक्षमा मेरो उम्मेदवारी : हेमराज ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले अहिले देखिएको व्यवसायीक समस्या समाधान र महासंघ भित्र वस्तुगत संघलाई बलियो बनाउन आफुले उम्मेदवारी दिएर अघि बढेको बताएका छन् । ‘अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुग्दा पनि महासंघले उठाएको जायज मागलाई सम्बोधन गर्न सरकारले चासो दिएन,’ वस्तुगत संघका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘महासंघको पुरानो साख जोगाएर उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि मैले वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु ।’ महासंघ संचालनमा बस्तुगत संघ र बस्तुगततर्फबाट निर्वाचित भएर गएका केन्द्रिय सदस्यहरुको ठूलो भुमिका रहेको भन्दै सोही अनुरुप सम्माजनक व्यवहार गरिनुपर्ने उनको भनाई थियो । ‘प्रायःजसो वस्तुगत संघ केन्द्रमा भएका कारणले पनि महासंघको हरेक गतिविधिमा वस्तुगततर्फबाट निर्वाचित भएर गएका केन्द्रिय सदस्यहरुको ठूलो भुमिका रहँदै आएको छ,’ उनले भने, ‘तर महासंघमा बस्तुगत परिषद्लाई एसोसिएट्सभन्दा कम अर्थात २० प्रतिशतमात्रै मतभार तथा सोही अनुरुप कम अधिकार दिइएको छ ।’ आफु निर्वाचित भएर गएसँगै विधान संसोधनमार्फत बस्तुगत संघको अधिकार तथा मतभार वृद्धि गर्न लविङ गर्ने उनको प्रतिवद्धता थियो । हाल महासंघले वस्तुगत संघहरुको क्षमता अभिवृद्धिमा चासो नदिएको भन्दै आफु उपाध्यक्षमा निर्वाचित भएर गएसँगै सो विषयमा समेत काम गर्ने बताएका छन् । आफु महासंघमा वस्तुगततर्फतबाट केन्द्रिय सस्दय भएर विभिन्न समितिको जिम्मेवारी लिँदा बस्तुगत संघको हकहितमा थुप्रै काम गरेको जानकारी दिँदै उपाध्यक्ष भएपछि वस्तुगत संघको अधिकार र दायरा ठूलो बनाउने काम गर्ने उनको प्रतिवद्धता थियो । ‘नेपालमा वास्तविक रुपमा उद्योग व्यवसाय संचालन गरेर देशको अर्थतन्त्र चलायमान बनाउने भनेको बस्तुगत संघमा आवद्ध रहेका साथिहरुले हो,’ उनले भने, ‘महासंघको ब्रेन भनेको बस्तुगत संघ हो तर त्यसको सदुपयोग गर्न सकिएको छैन ।’ नेपालमा मौलिक वस्तुहरु उत्पादन गरी निर्यात गरेर देशमा डलर भित्र्याएर अर्थतन्त्रमा योगदान दिने काम बस्तुगतसँगले गर्दै आएको भन्दै यसको विकास र प्रवद्र्धनमा सरकारले विशेष चासोका साथै सोही अनुरुप सुविधा दिनुपर्ने उनको तर्क थियो । अहिले महासंघमा आवद्ध वस्तुगत संघको राय सुझाव मात्रै लिएर कार्यान्यवनमा लैजाने हो भने देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सहज हुने बताए । ‘अहिले वस्तुगत संघको सुझाव न राज्यले सुनेको छ न त महासंले नै,’ वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार ढकालले भने, ‘व्यवसायीक समस्यालाई सम्बद्ध सरोकारवाला निकायमा पुर्याएर समाधान गर्नकै लागि उपाध्यक्ष भएर महासंघमा जान लागेको हुँ ।’ विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी र रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्य वृद्धि हुन पुग्दा उद्योगी व्यवसायीहरु मारमा परेको समेत उनले जानकारी दिए । ‘अहिले कच्चा पदार्थको मूल्य बढ्दा नेपाली उद्योगहरुको उत्पादन लागत बढ्न गई उत्पादन समेत नबिक्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘एकतर्फ मागमा आएको गिरावट अर्कोतर्फ बजारबाट उधारो नउठ्दा बढी समस्या थपिएको छ ।’ यस्ता विषयमा समेत सरकार र अन्य सरकारवाला निकायले सुनुवाई गरी समस्या समाधान गर्नुपर्ने उनको भनाई छ ।

दुई खर्ब पूँजी भएका सहकारीले ७ खर्बसम्म लगानी गरे : डा. पोखरेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले दुई खर्ब पूँजी भएका सहकारीले ७ खर्बसम्म लगानी गरेको बताए । मंगलबार काठमाडौंमा देशको वर्तमान अवस्थाको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले बैंक, सहकारीको लगानी अनुत्पादक क्षेत्रमा भएको भन्दै नितिगत रुपमा सुधार गरे अहिलेको अवस्था ठिक हुने बताए । यस्तै, डा. पोखरेलले वैदेशिक मुद्रा आयतका लागि विविधता गर्न जरुरी रहेको पनि बताएका छन् । ‘रेमिट्यान्स मात्रै भन्दा पनि पर्यटन, आयोजनामा लगानी बढाउनु पर्नेछ, फजुल खर्छ कम गर्न राजनीतिक हस्तक्षेप हुनपर्छ,’ उनी भन्छन् ।

लघुवित्तलाई पूँजी बजारमा कारोबार गर्न दिएर गलत गरियो : अर्थविद् वाग्ले

काठमाडौं । अर्थविद् अच्युत वाग्लेले लघुवित्तलाई पूँजी बजारमा कारोबार गर्ने दिएर धितोपत्र बोर्डले गलत नितिगत व्यवस्था गरेको बताए । मंगलबार काठमाडौंमा देशको वर्तमान अवस्थाको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले यस व्यवस्थाले अहिले पूँजी बजारमा खेल्ने हतियारको रुपमा प्रयोग भइरहेको बताए । यस्तै, उनले विपन्न वर्ग कर्जा बैंकको शाखा कार्यालयबाटै दिने व्यवस्था गर्नुपर्ने बताए । ‘बैंकबाट ७-८ प्रतिशतमा सापटी लिएर १५ प्रतिशतमा कर्जा दिनु सरासर गलत हो,’ उनले भने । वाग्लेले अवैध वस्तुहरु बजारमा छ्यापछ्याप्ती भएको बताए । ‘भन्सारमा ३ सय रुपैयाँ देखाएको जुत्ता बजारमा ३ हजार बढीमा बिक्री हुन्छ,’ उनले भने ।

झापाका किसानलाई शत्प्रतिशत अनुदानमा ‘डिप बोरिङ’

झापा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सातवटै वडा र भद्रपुर नगरपालिकाको १, २ र ३ मा यसै वर्षदेखि परियोजना लागू भएको हो । झापा भूमिगत सिँचाइ परियोजनाका इन्जिनियर भूविक्रम नेम्बाङका अनुसार कचनकबल र भद्रपुरका १० वटा वडामा शत्प्रतिशत अनुदानमा एक सय ७१ वटा ‘डिप बोरिङ’ स्थापना गरेर आठ हजार पाँच सय बिघा जग्गामा बाह्रैमास सिँचाइ सुविधा पुर्याइने कार्यक्रम छ । परियोजना सञ्चालनका लागि नेपाल सरकारले यसै वर्ष शिवसताक्षी नगरपालिका–१० माईधारमा आयोजनाको कार्यालय र भद्रपुरमा फिल्ड कार्यालय स्थापना गरेर परियोजनाको कार्य धमाधम भइरहेको उनले बताए । ‘यो शत्प्रतिशत अनुदानमा आधारित कार्यक्रम हो, यसमा किसानले केही पनि लगानी गर्नु पर्दैन’, परियोजनाका बारेमा जानकारी दिँदै इन्जिनियर नेम्बाङले भने, ‘नदीको सिँचाइ नपुगेका उर्वर जग्गामा सिँचाइको सुविधा पुर्याएर कृषिको उत्पादकत्व बढाउन योगदान पुर्याउन सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको हो ।’ आयोजनाबाट सिँचाइ सुविधा लिन ५० देखि ६० बिघा जग्गाका किसानले आपसमा मिलेर उपभोक्ता समिति गठन गर्नुपर्ने र त्यसलाई कार्यालयमा दर्ता गराउनुपर्ने हुन्छ । सम्बन्धित वडा कार्यालयबाट ल्याएको सिफारिसका आधारमा उपभोक्ता समितिले माग गरेबमोजिम आयोजनाले सिँचाइ कार्यक्रम सञ्चालन गर्ने प्रावधान छ । चालु आर्थिक वर्षमा कचनकबलको वडा नं १ र ३ तथा भद्रपुरको वडा नं ३ का उपभोक्ता समितिको मागबमोजिम ३५ स्थानमा ‘डिप बोरिङ’ खन्ने कार्य अघि बढाइएको र अर्को वर्ष थप स्थानमा पनि सिँचाइ सुविधा पुर्याइने उनले जानकारी दिए । ‘केही स्थानमा ‘डीप बोरिङ’को काम सकेका छौँ, परीक्षणका लागि पानी फ्याँक्ने कार्य भइरहेको छ,’ इन्जिनियर नेम्बाङले भने, ‘एउटा बोरिङको पानीले ६० बिघासम्म सिँचाइ हुन्छ । एक सय ३० मिटर गहिराइबाट पानी निकालेका छौँ ।’ प्रति सेकेन्ड २० लिटरका दरले ‘डीप बोरिङ’बाट पानी आइरहेको उनले बताए । आयोजनाले किसानलाई सामूहिक रुपमा सुविधा उपलब्ध गराउने भएकाले परियोजनामा किसानको सहकार्य बलियो हुने देखिएको छ । सरकारका तर्फबाट ‘डिप बोरिङ’ खन्ने कार्य सकेपछि हाइटेन्सन लाइनबाट बिजुलीको सुविधा पुर्याउने र खेतखेतमा पानी वितरणका लागि पाइप बिछ्याउने कार्य गरिने छ । विद्युतीकरण, पाइप विस्तार र २५ देखि ५० केभिएसम्मको ट्रान्सफर्मर जडानको सम्पूर्ण लागत आयोजनाले नै ब्यहोर्ने इन्जिनियर नेम्बाङले बताए । खेतमा पानी पटाउन सहज होस् भनेर हरेक चार बिघा जग्गामा एउटाका दरले पानीको पोइन्ट राखिने परियोजनाले जनाएको छ । किसान उत्साही आकाशे वर्षाको भरमा सिँचाइमा निर्भर स्थानीय किसान अब विद्युत्बाट चल्ने भूमिगत सिँचाइ आयोजना गाउँमा आएपछि उत्साही भएका छन् । कचनकबल गाउँपालिका–१ सोमबारेकी भागिरथा अधिकारीले आफ्नो वडामा नै आठवटा जल उपभोक्ता समिति गठन भइसकेको बताए । कचनकबलमा धान, मकै र तोरी गरी नियमित तीन बाली खेती हुने गरेको छ । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएपछि किसानले व्यावसायिक तरकारी खेती गर्ने तयारी गरिरहेको समेत उनले जानकारी दिए । ‘निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीतर्फ जाने सोचाइमा छन् यहाँका किसान,’ अधिकारीले भने, ‘सरकारले ल्याएको भूमिगत सिँचाइ परियोजनाले जीवनस्तर उकास्ने आशा गरेका छौँ ।’ उनी सोही वडाको सोमबारे जल उपभोक्ता समितिको अध्यक्ष छन् । अधिकारीको क्षेत्रमा परियोजनाले डिप बोरिङ, ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको कार्य गरेको छ भने विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाभर परियोजना विस्तार नेपाल सरकारले कचनकबल र भद्रपुरमा मात्र भूमिगत सिँचाइ परियोजना लागू गर्ने योजनाका साथ कार्यारम्भ गरेको भए पनि स्थानीयवासीको माग बढेपछि जिल्लाभर विस्तार गरिने भएको छ । झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन दुई महिनाअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेको बेला मन्त्रिपरिषद्को बैठकले परियोजनालाई झापा जिल्लाभर विस्तार गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आयोजनाले हाल कचनकबल र भद्रपुरसहित अन्य पालिकाहरुबाट समेत उपभोक्ता समितिहरुको माग सङ्कलन गरिरहेको र विभिन्न पालिकाबाट मागबमोजिम १२ वटा स्थानमा ‘डिप बोरिङ’ थपिने इन्जिनियर नेम्बाङले बताए । रासस

बैंकले ऋण नदिएपछि जनता मिटरब्याजीकहाँ पुगे : पूर्व राजदूत उपाध्याय

काठमाडौं । पूर्व राजदूत दिप कुमार उपाध्यायले बैंक तथा वित्तिय संस्थाले ऋण नदिएपछि पिडितहरु मिटरब्याजीसँग ऋण माग्न पुगेको बताएका छन् । मंगलबार काठमाडौंमा देशको वर्तमान अवस्थाको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पिडितहरुलाई मिटरब्याजीले महिनाको ७ प्रतिशत र वर्षको ३६ प्रतिशतसम्म ब्याज लिएको बताए । यस्तै, उनले अर्थतन्त्रको अहिले अवस्था ठिक छ भनिरहेका बेला झनै चिन्ताजनक बन्न पुगेको बताए । ‘एउटै व्यक्ति बैंकर, कृषक, उधोगी, व्यावसायी छन्, विभिन्न संस्थाहरुले बैंकमा पूँजी राखेर ब्याज खाने प्रवृत्ति बढेको छ,’ उनले भने । उनले फोर्स मर्जर गराएर दिर्घकालमा के फाइदा हुन्छ भन्ने प्रश्न राखे ।      

घरजग्गा बेचेर पुँजी वृद्धि गर्दै नेपाल इन्स्योरेन्स, स्वीकृतिका लागि पुग्यो प्राधिकरण

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । कम्पनीले काठमाडौंको न्यूरोडको भवन, नारायणगढ, वीरगञ्ज र विराटनगरको जग्गा बेच्न नेपाल बीमा प्राधिकरणसँग सहमति मागेको हो । कमलादीको जग्गा भने मुख्यालय बनाउन आवश्यक हुने भन्दै बिक्रीमा राखेको छैन । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले दुई साताअघि नै जग्गा तथा सेयर बेचेर पुँजी वृद्धि गर्ने निर्णय गरेको एक सञ्चालकले बताए । जग्गा तथा भवन बेच्नुपूर्व बीमा प्राधिकरणको सहमति लिनुपर्ने नीतिगत व्यवस्था भएकोले स्वीकृतिको लागि प्राधिकरणमा प्रस्ताव गरिएको उनले विकासन्युजलाई बताए । सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने प्रस्ताव आएमा स्वीकृत दिने बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । तर अहिलेसम्म उक्त प्रस्ताव प्राधिकरणमा नगएको उनले बताए । ‘चारै ठाउँको जग्गा बेच्नु पर्दैन, बेच्न राख्ने बित्तिकै सबै बिक्छ भन्ने पनि हुँदैन’ कम्पनी सम्बद्ध स्रोतले भन्यो- ‘जुन जग्गामा राम्रो मूल्य आउँछ, त्यो बेच्छौं, आवश्यक पर्दा कुमारी बैंकको सेयर पनि बेच्न सकिन्छ ।’ कम्पनीले कुमारी बैंकको सेयर पनि बिक्री गर्ने निर्णय गरेको छ । उक्त सेयर बेचेर करिब १० करोड रुपैयाँ आम्दानी हुने कम्पनीको अनुमान छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ । स्वाप नमिलेपछि मर्ज हुन सकेन नेपाल इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स तीन वटैलाई आपसमा मर्ज हुन बीमा प्राधिकरणले लिखित निर्देशन दिएको थियो । प्राधिकरणमा भएको उपस्थितिमा तीन कम्पनीका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल पनि भएका थिए । उक्त बैंठकमा तीन वटै कम्पनीको सेयर स्वाप रेसियो बराबरी गर्ने प्रस्ताव आईएमई र प्रुडेन्सियलले गरेका थिए । तर नेपाल इन्स्योरेन्सले आफूसँग भएको अचल सम्पत्तिको मूल्याङ्कनका आधारमा नेपाल इन्स्योरेन्सको १०० बराबर अन्य दुई कम्पनीको ७० देखि ७५ मात्र हुने दावी गरेपछि मर्जको कुरो मिलेको थिएन । नेपाल इन्स्योरेन्समा नेपाल बैंकको १५ प्रतिशत सेयर छ । नेपाल बैंकमा ५१ प्रतिशतभन्दा बढी सरकारको लगानी छ । यसरी सरकारी लगानी रहेको कम्पनीको सम्पत्तिको मूल्याङ्कन पारदर्शी रुपमा नगरी मर्जमा जान नसकिने नेपाल बैंकमा प्रतिनिधिले अडान लिएपछि तीन कम्पनीबीच मर्ज हुन सकेको थिएन ।

आन्तरिक पर्यटक तान्दै दाङको चरिङ्गे दह

दाङ । घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । यस दहले पर्यटकलालाई आकर्षण गर्न सफल भएको स्थानीयको भनाई छ । वरिपरि घनाजङ्गलले घेरिएको यो दहले पर्यटकहरुको मन जित्दै गएको छ । दहमा विशेषगरी शनिबार र बिदाका दिन पिकनिक खान तथा घुमफिर गर्न जानेहरुको चहलपहल हुन्छ । केही वर्षपहिले यस दहको बारेमा सुइँको पनि सुनिँदैन थियो, न त दह हेर्न लायक नै थियो । सानो पोखरीमा मात्रै सीमित ‘चरिङ्गे’ अहिले ठूलो दह बनेको छ, स्थानीयवासी कमला पोख्रेलले भनिन् । उनले थपिन्, ‘चरिङ्गे दहलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र संरक्षण गर्नुपर्छ भन्ने स्थानीयवासीको सोच र प्रयासकै कारण यो पोखरी अहिले दहमा परिणत भएको हो ।’ दह संरक्षण र पर्यटकीय क्षेत्र बनाउन भन्दै स्थानीयवासीले सुरुमा संरक्षण समिति गठन गरे । सोही समितिले दह संरक्षणका लागि विभिन्न निकायसँग आर्थिक सहयोग जुटाउनाका साथै जनश्रमदानका लागि स्थानीयवासीमा उत्प्रेरणा जगाउने काम गरे पनि पछिल्ला वर्षमा स्थानीय सरकारले त्यति चासो नदिँदा पूर्वाधार निर्माणले गति लिन नसकेको स्थानीयवासी थानेश्वर पुनले भने । ‘पर्यटकीय क्षेत्रका रुपमा परिचित यो दह स्थानीयवासीको अथक परिश्रम र मेहनतले यहाँसम्म आएको हो तर स्थानीय सरकारले भने यसलाई त्यति चासो दिएको छैन’, उनले भने । दह अहिले आन्तरिक पर्यटकका लागि आकर्षक र सुन्दर ठाउँ बन्न पुगेको छ । ‘दह अवलोकन गर्न पुगेका तुलसीपुर निवासी लिला सापकोटाले चारैतिर वनजङ्गल तथा शान्त ठाउँमा रहेको दहको मनोरहम दृश्यले सबैलाई लोभ्याउने उल्लेख गरे ।’ उनले भने, ‘अष्ट्रेलियामा अध्ययनरत आफ्नी छोरी पाँच वर्षपछि घरमा आएको मौका छोपी सपरिवार यहाँ घुम्न आएका हौँ । दह रमणीय ठाउँमा रहेछ तर पूर्वाधार विकास भने भएको रहेनछ ।’ दहसम्म पुग्ने बाटो पक्की र त्यहाँ नजिकमा चमेना गृह, खानेपानीको उचित प्रबन्ध, दहको वरिपरि पर्खाल र त्यहाँ केही उत्खनन गरेमा पर्यटकलाई सहज हुने र बाह्य पर्यटक पनि तान्न सकिने सापकोटाको भनाइ थियो । दह संरक्षण र विकासकै लागि शुल्क लिने गरिएको स्थानीयवासीले बताए । उनीहरुका अनुसार बीच जङ्गलमा गुप्प परेको चरिङ्गे दह अहिले फराकिलो भएको छ । दह वरिपरिको झाडी फालिएको छ । त्यसैगरी पिकनिक स्पट निर्माण गर्नाका साथै दहको उत्तरतर्फ एउटा मन्दिरसमेत बनाइएको छ । दहको उत्तरीतर्फ रहेको डाँडोबाट दहमा झरेको माटो फालेर चौडा पारिएको छ । उक्त डाँडोबाट खसेको माटोले दहको क्षेत्रफल साँघुरो बनाएकामा स्थानीयवासीले नै श्रमदान गरी केही वर्षपहिले माटो फालेपछि अहिले तीन हेक्टर क्षेत्रफलमा दह फैलिएको छ । दह संरक्षण समितिका संयोजक कमल पोख्रेलले दह संरक्षणका लागि यहाँका बासिन्दाको धेरै श्रमदान र विभिन्न सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए । पछिल्ला वर्षमा भने स्थानीय सरकारले दहको संरक्षणका लागि खासै चासो नदिएको उनको गुनासो थियो । गत वर्ष जिल्ला वन कार्यालयले उपलब्ध गराएको २० लाख रुपयाँले दहको चारैतिरको भागमा पर्खाल लगाइएको थियो तर यस वर्ष घोराही उपमहानगरपालिकाले दहसम्म पुग्ने बाटो पक्की गर्नका लागि बजेट विनियोजन गरेको भन्ने सुन्नमा आए पनि कति बजेट र कहिलेबाट काम सुरु गर्छ भन्नेबारेमा कुनै जानकारी नभएको संयोजक पोख्रेलले बताए । दहलाई जिल्लाकै पर्यटकीयस्थलका रुपमा विकास गर्न सबैको सहयोग अति आवश्यक रहे पनि बजेट अभावका कारण अति आवश्यक पूर्वाधार निर्माण गर्न पनि नसकिएको उनले बताए । यसअघि दह संरक्षणका लागि साबिक जिल्ला विकास समिति, नेपाल पर्यटन विकास बोर्ड, चरिङ्गे दह सामुदायिक वन समूह र त्यहाँ रहेका पाँचवटा महिला समूहले पनि दह संरक्षणका लागि सहयोग जुटाएका थिए । दह संरक्षणका लागि जुटेका रामपुर–६ र ७ का जनताले दहलाई नै आयस्रोतको गतिलो माध्यम बनाउन केही समयअघि व्यावसायिकरुपमा माछा पालन पनि गरेका थिए । तीन वर्षअघि एक याममा दहमा गरिएको माछापालनबाट एक लाख रुपैयाँ आम्दानी भएको उनीहरुले बताए । उक्त दह सदरमुकाम घोराहीदेखि करिब १५ किलोमिटर पूर्व उत्तरमा पर्छ । रासस

‘वर्ल्ड हेल्थ डे’को दिन नर्भिकले प्रोस्टेट उपचार प्याकेजमा ३० प्रतिशत छुट दिने

काठमाडौं । यसवर्षको विश्व स्वास्थ्य दिवस (वर्ल्ड हेल्थ डे) को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ । आउँदो चैत २५ गते शनिबारको दिन पारेर नर्भिकले विशेष छुटसहितको जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । यो कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ । साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ । यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन (पिएसए) को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ । शनिबार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ । अस्पतालको अनुसार कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् ।