विकासन्युज

शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका मुद्दाका विषयमा कार्ययोजना पेश गर्ने निर्णय गरे । ‘शिक्षामा हाम्रो धेरै लगानी छ, प्रतिफल नआएको हैन, आइरहेको छ । तर लगानीअनुसारको प्रतिफल देखिँदैन, अब प्रतिफलको विस्तार, सुधार र सुदृढिकरणका काम अघि बढाउनेछौँ,’ उनले भने । मन्त्री राई गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचमा सुनसरी–१ बाट निर्वाचित हुनुभएको थियो । मन्त्री राई विसं २०४८ र २०५१ सालमा खोटाङ्बाट नेकपा(एमाले) पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

अर्थमन्त्रीको पपुलिष्ट प्रतिवद्धता : सेयर बजार र घरजग्गाप्रति ‘ग्रीन सिग्नल’

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएसँगै साँझ सिंहदरबार पुगेर मन्त्रीको पदभार ग्रहण गरेका हुन् । सवा ३ बजे मन्त्रीको सपथ लिएका उनी राष्ट्रपति कार्यालयबाट सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेका थिए । उनलाई मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष, बीमा प्राधिकरण अध्यक्ष लगायत अर्थमन्त्रालय मातहतका उच्च ओहदाका कर्मचारीले स्वागत गरे । स्वागतसँगै उनी सिधै अर्थमन्त्रालयको सूवर्ण हलमा पुगे । उनले बधाई थाप्दै धारणा राख्न सुरु गरे । काँग्रेसभित्र पनि लामो रस्साकस्सीकाबीच अर्थमन्त्री बनेका उनको अर्थमन्त्रालयको इन्ट्रीलाई धेरैले चासोका रुपमा हेरेका छन् । देशको अर्थतन्त्र सन्तोषजनक नभएको र लगानीको वातावरण बन्न नसकेको भन्दै उद्योगी व्यवसायीसँगै बैंकरहरुले पनि गुनासो गरिरहेका छन् भने सेयर बजारसँगै घरजग्गा व्यवसायमा पनि एक किसिमको मन्दी आएको छ । यो बेला अर्थमन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका अर्थमन्त्री महतको इन्ट्रीलाई धेरैले गहन रुपमा हेरेका छन् । धेरैले अर्थमन्त्रालयमा उनको प्रवेशले अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरेका छन् भने कतिपयले उनी उर्जामन्त्री हुँदा खासै राम्रो ‘पफर्मेन्स’ गर्न नसकेकोले अर्थमन्त्रालय पनि हाँक्न नसक्ने धारणा राखिरेहका छन् । तर, उनी अर्थशास्त्रमा विद्यावारिधि गरेको व्यक्ति भएको र अर्थतन्त्र सम्बन्धि राम्रो ज्ञान भएको हुन सक्ने भन्दै यो संकटकाबीच प्रभावकारी काम गर्न सक्ने अपेक्षा धेरैको छ । शुक्रबार अर्थमन्त्रीको रुपमा पदभार सम्हालेका उनले अर्थतन्त्रका सबै क्षेत्र तथा निकायलाई छुने प्रयास गरेका छन् । सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकलाई मिलेर काम गर्न आग्रह गरेका छन् भने बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदरको विषयमा पनि आफ्नो धारणा राखेका छन् । धेरैले अहिलेको मुख्य समस्या र चुनौतिका रुपमा बैंकको ब्याजदरलाई लिएका छन् । उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदरलाई नै मुख्य मुद्दा बनाएर विरोध गरिरहेका छन् । तर, अर्थमन्त्री महतले त्यही विषयलाई टपक्कै टिपेर ब्याजदर घटाउनका लागि आफुले पहल गर्ने धारणा राखेका छन् । उनको यो अभिव्यक्तिले उद्योगी व्यवसायीको ‘मन छुन’ मद्दत पुर्याउन सक्छ । अर्थात् सुरुमै उनीप्रति उद्योगी व्यवसायीको ‘पोजिटिभ्स भाइव्स’ उत्पन्न हुन सक्छ भन्नेमा उनी राम्रोसँग जानकार रहेको बुझिन्छ । उनले आफु कर नबढाउने पक्षमा रहेको संकेत पनि देखाएका छन् । उनले करको दरभन्दा पनि दायरा बढाउने आफ्नो मख्य प्राथमिकतामा रहने धारणा राखेका छन् । लगानी भित्र्याएर राजस्वको दायरा बढाउने, राजश्व संकलनका लागि सरकारले उद्योगी व्यवसायीलाई करकाप नगर्ने उनको भनाइ छ । अहिले अर्थमन्त्रालय आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट निर्माणमा छ । अर्थमन्त्री महतले पहिलो दिनमै कर नबढाउने संकेत गरेपछि यसले पनि थप सकारात्मक चर्चा हुन सक्छ भन्नेमा उनी विश्वस्त देखिन्छन् । ‘संकटमा रहेको अर्थतन्त्र बचाउन जस्तोसुकै निर्णय पनि लिन सक्छु, अहिले ब्याजदरको विषयमा व्यापक चर्चा भएकोले ब्याजदर घटाउन पहल गर्नेछु, अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि दायरा बढाउन तर्फ मेरो ध्यान हुनेछ,’ उनले भने । यस्तै, अहिले धेरैको ध्यान सेयर बजार र घरजग्गा व्यवसायमा पनि देखिएको छ । लगानीकर्ताहरुले सेयर बजारमा १४ खर्ब बढी गुमाएको बताइरहेका छन् भने घरजग्गा व्यवसायमा पनि मन्दी आउँदा यसको असर सबै क्षेत्रमा परेको बताइने गरिन्छ । यी दुई क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका पीडा र दुःखहरु सुनिनसक्नु छ । यी दुवै क्षेत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले चिन्ता व्यक्त गरेका छन् । अर्थमन्त्री डा. महतले घट्दै गएको सेयर बजारर र घरजग्गा व्यवसायमा आएको मन्दीले लगानीकर्तालाई निराश बनाउँदै गएको र अब विभिन्न निकायको सहकार्य र समन्वयमा काम गर्ने बताएका छन् । यसअघिका अर्थमन्त्री र गभर्नरहरु सेयर बजार र घरजग्गा व्यवसायलाई अनुत्पादक क्षेत्र भनेर लगानी गर्न दुरुत्साहन गर्थे । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले समेत यसअघि सेयर बजारप्रति नकारात्मक टिप्पणी गरेका थिए । प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेको अभिव्यक्ति एकताका निकै चर्चामा आएको थियो । उनले पुँजी बजारलाई बढाएर केही सीमित पुँजीवादीको हातमा अर्थतन्त्र पुर्याउने खेल सेयर बजार भएको बताएका थिए । अहिले उनै प्रचण्ड नेतृत्व सरकारको अर्थमन्त्री महत बनेका छन् । अर्थमन्त्री महतले भने यी दुई क्षेत्रप्रति ‘ग्रिन सिग्नल’ देखाएका छन् । उनको यो ग्रिन सिग्नलले पनि लागनीकर्तालाई पक्कै पनि खुसी बनाउन सक्ने धेरैको अपेक्षा तर उनले आज राखेका धारणा सुरुमै सबैको ध्यान तान्न र आफुप्रति सकारात्मक दृष्टिकोण बनाउनका लागि हुन सक्ने शंसय धेरैमा छ । गभर्नरसँग सम्बध बढाउने प्रयास सरकारको मुख्य आर्थिक सल्लाहकार राष्ट्र बैंक हो । पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नर महाप्रसाद अधिकारीले साथ नदिएको विषय पनि उत्तिकै चर्चामा छ । परिणाम स्वरुप गभर्नर अधिकारीलाई शर्माकै प्रस्तावमा शेरबहादुर देउवा नेतृत्वको सरकारले निलम्बन समेत गर्यो । तर, पछि सर्वोच्च अदालतलले उनलाई राष्ट्र बैंकमै फर्कायो । अर्थमन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ नमिलेको भन्दै धेरैले आलोचना समेत गरे । त्यसपछि अर्थमन्त्रीका रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आएपछि अर्थतन्त्र सुधार भएको सूचक राष्ट्र बैंकले पनि सार्वजनिक गर्यो । अहिले अर्थमन्त्रीका रुपमा महत आएपछि उनले सुरुमै गभर्नर अधिकारीको सहयोग मागेका छन् । उनले अधिकारीसँग मिलेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसहित सबै निकायले एक आपसमा समन्वय गरेर काम गर्नु पर्ने बताए । अहिले अर्थतन्त्रका देखिएको निराशालाई आशामा बदल्न सबैले सहकार्य गर्नु पर्ने उनको धारणा छ । ‘एक्लैले केही गर्न सकिँदैन, सबैसँग सहकार्य गरेर अगाडि बढ्छु, वर्तमान समस्या समाधानका लागि मलाई सबैको सहयोग आवश्यक छ, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ, राष्ट्र बैंकको पनि मलाई सहयोग चाहिन्छ, हामीले मिलेर काम गर्नु पर्छ,’ अर्थमन्त्री महतले भने । उनले कार्यक्रममै कुनै पूर्वाग्रह नराखी काम गर्ने पनि बताएका छन् । ‘कुनै पूर्वाग्रह नराखी काम गरौं, सबैलाई समस्या छ, यी विभिन्न समस्या समाधानका लागि सबैले सहकार्य गरेर काम गरौं,’ उनले सोही वाक्यलाई दोहोर्याए । अर्थमन्त्री महतले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई मिलेर काम गर्न आग्रह गरे लगत्तै उनीसँग व्यक्तिगत भेटघाट पनि गरेका छन् । उनले अर्थ सचिव र राजस्व सचिवलाई सँगै राखेर गभर्नर अधिकारीसँग छलफल गरेका हुन् । यसले पनि उनले अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंककै सहयोग चाहेको बुझिन्छ । धेरैले उनले आज पदवहालीपछि राखेको धारणालाई पपुलिष्ट बन्ने बाटोका रुपमा पनि चित्रण गरेका छन् ।

६७५ कर्मचारीलाई निकाल्दै गर्दै स्याटेलाइट लन्च कम्पनी ‘भर्जिन अर्बिट’

वासिङ्टन । रिचार्ड ब्रान्सनले स्थापना गरेको ‘स्याटेलाइट लन्च’ कम्पनी भर्जिन अर्बिटले आफ्ना ८५ प्रतिशत कर्मचारीलाई हटाउने घोषणा गरेको छ । क्यालिफोर्नियास्थित कम्पनीले अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनलाई दिएको जानकारी अनुसार कम्पनीले खर्च घटाउन करिब ६७५ जनालाई जागिरबाट विदा गर्न लागेको हो । रोजगारी कटौतीको काम अप्रिल ३ सम्ममा पूरा हुने बताइएकाे छ । बेलायती भूमिबाट अन्तरिक्षमा पहिलो रकेट प्रक्षेपण गर्ने प्रयास असफल भएपछि भर्जिन अर्बिटलाई यस वर्षको सुरुमा ठूलो धक्का लागेको थियो । कम्पनीले बेलायती अन्तरिक्ष एजेन्सी र कोर्नवाल स्पेसपोर्टसँग मिलेर नौ वटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने अभियानको आयोजना गरेको थियो । यस महिनाको सुरुमा, कम्पनीले धेरै दिनको लागि प्रक्षेपण स्थगित गरी वित्तपोषण वार्ताहरू गरेको थियो र रणनीतिक अवसरहरूको खोजी गरेको थियो । तर बिहीबार भएको सर्वदलीय बैठकमा प्रमुख कार्यकारी अधिकृत डान हार्टले आफ्ना कर्मचारीलाई ‘निकट भविष्यका लागि’ काम बन्द गर्ने बताएका थिए । सीएनबीसीलाई प्राप्त एक रिपोर्टमा हार्टले भने, ‘दुर्भाग्यवश, हामी यस कम्पनीको लागि स्पष्ट मार्ग प्रदान गर्न कोष सुरक्षित गर्न सक्षम भएका छैनौं ।’ न्यूयोर्क स्टक एक्सचेन्जमा भर्जिन अर्बिटको सेयर बिहीबार साँझ १६ प्रतिशतले घटेर ३४ सेन्टमा झरेको थियो ।

युनाइटेड-अजोड इन्स्योरेन्सबीच अन्तिम मर्जर सम्झौता, अध्यक्षमा श्रेष्ठ, स्वाप रेसियो कति ?

काठमाडौं । मर्जर प्रकृयामा रहेका युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौता भएको छ । गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । श्रोतका अनुसार दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको हो । अर्थात अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । दुई कम्पनी मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने छ । जसको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् भने सीईओको भने हालसम्म टुंगो लागि नसकेको श्रोतले बतायो । सम्भवतः युनाइटेडको तर्फबाट सीईओ हुने सम्भावना प्रवल रहेको बुझिन्छ । त्यस्तै, हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ (५ प्रतिशत बोनसपछि) पुगेको छ । अजोडको एक अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी छ । १०० बराबर ८२.५ को स्वाप रेसियोमा मर्ज भएसँगै बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी करिब एक अर्ब ९० करोड रुपैयाँ पुग्ने छ । अन्तिम सहमति पत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीले अब करिब डेढ महिनाभित्रमा एकीकृत कारोबार गर्ने योजना बनाएका छन् । ‘सबै काम समयमै सकिएमा आगामी बैशाख अन्तिम साताभित्र एकीकृत कारोबार गर्छौं होला,’ सम्बद्ध श्रोतले विकासन्युजसँग भन्यो । यसअघि अजोड इन्स्योरेन्स प्रभु इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति भएको थियो । तर अन्तिम घडीमा स्वाप रेसियोमा कुरा नमिलेपछि दुई कम्पनीबीचको मर्जर भाँडिएको थियो । त्यसको लगत्तै अजोड र युनाइटेडबीच एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो ।

गृहमन्त्रीको पहिलो निर्णय : मन्त्री र सचिवले लिँदै आएको सुराकी परिचालन खर्च रोक्ने

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् । उनले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषद्मा लाने बताए । यस्तै, मन्त्री श्रेष्ठले मिटरब्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।  

नयाँ वर्षमा एलजीका सामान किन्दा ३५ प्रतिशतसम्मको क्यासब्याक

काठमाडौं । एलजीले नयाँ वर्षमा नयाँ अभियान शुभकामना जीवनभरको जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा क्यासब्याक र पक्का उपहार योजना लिएर आएको छ । उपहार योजना अन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स्ले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म बढी क्यासब्याक र पक्का उपहारहरु प्रदान गरेको छ । एलजी होम इन्टरटेन्मेन्ट अन्तर्गतको योजनामा विश्वकै उत्कृष्ट एलजी ओलेड टिभी, एलजी युएचडी टिभी, वाइरलेस स्पीकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरुले ३५ प्रतिशतसम्म बढी क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओभन वा एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर वा गिफ्ट सेट, एलजी डबल डोर ९३६० लिटरसम्म रेफ्रिजेरेटरको खरिदमा फ्यान, ह्यान्ड ब्लेन्डर वा कुकर पाउँनेछन् । यस्तै, एलजी फ्रन्ट लोड वाशिङ मेसिन ९१० केजी र माथिको खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन ९९ केजी सम्मको खरिदमा डिटरजेन्ट पाउडर, एलजी टप लोडरटिक्न टब वाशिङ मेसिनको खरिदमा केटल वा नन स्टीकी फ्राइ प्यान, एलजी डिस वासरको खरिदमा डिसवासर किट र एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्रायर प्राप्त गर्न सक्नेछन् । त्यस्तै, एलजी माइक्रोवेभ ओभनको खरिदमा ग्राहकहरुले फ्री खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् । यस अफरमा एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा क्यासब्याक प्राप्त गर्नेछन् । त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले क्रमश ४ हजार रुपैयाँ र ५ हजार रुपैयाँको निशुल्क स्थापना सेवा पाइनेछ । यो योजना चैत्र १२ गते देखि सीमित अवधीको लागि लागु हुनेछ ।

टेलिफोनका ग्राहकको गुनासो सुनुवाइमा गम्भीर बन्न मन्त्री शर्माको निर्देशन

भैरहवा । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलिफोनका विषयमा सेवाग्राहीबाट आउने गुनाप्रति गम्भीर बन्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिएकी छिन् । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाको निरीक्षणपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकाले टेलिकमको सेवा प्रवाह पनि सहज हुनुपर्ने बताइन् । सेवाग्राहीले सेवा नपाउदा गर्ने गुनासो सुनुवाइलाई प्राथमिकतामा राखेर त्यसलाई सम्बोधन गर्नेगरी कर्मचारीलाई प्रशिक्षित गर्न पनि उनले आग्रह गरिन् । आफू मन्त्री भएपछि पहिलो निर्णयको रुपमा राजमार्गको सबै ठाउँमा मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न निर्देशन दिएको स्मरण गराउदै उनले यसको पूर्ण कार्यान्वयनमा जा पनि आग्रह गरिन् । राजमार्गसंगै अस्पताललगायतका समवेदनशील ठाउँलाई प्राथमिकता दिएर सेवा विस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले लुम्बिनी प्रदेशको कति प्रतिशत क्षेत्रमा फोन र इन्टरनेट विस्तार भएको छ र बाकी क्षेत्रमा कहिले पुर्याउन सकिन्छ भनेर अध्ययन गर्न पनि निर्देशन दिइन् । उनले कर्मचारी व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गर्दै कोही दुर्गममा बसिरहने र कोही पहुँचको भरमा सुगममा बस्ने अवस्था रहन नहुने बताइन् । हरेक कर्मचारी म यति समय सुगममा बसे भने यति समय दुर्गम जानुपर्छ भन्ने मानसिकतामा बस्नुपर्नेमा मन्त्री शर्माले जोड दिइन् ।  

अर्थमन्त्रीले सेयर बजार र घरजग्गाको विषयमा मुख खोले

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले घट्दै गएको सेयर बजारको विषयमा चिन्ता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री महतले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या र यसले सेयर बजार र घरजग्गा कारोबारमा सुस्तता आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले आफुले अब अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सबै निकायहरुसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ । उनले वर्तमान चुनौति समाधानका लागि जस्तोसुकै निर्णय गरेर पनि अगाडि बढ्ने बताए । ‘एक्लैले केही गर्न सकिँदैन, सबैसँग सहकार्य गरेर अगाडि बढ्छु, वर्तमान समस्या समाधानका लागि मलाई सबैको सहयोग आवश्यक छ, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ, राष्ट्र बैंकको पनि मलाई सहयोग चाहिन्छ, हामीले मिलेर काम गर्नु पर्छ,’ उनले भने ।