विकासन्युज

निगमकाे प्रवक्ता परिवर्तन, पौडेलले पाए जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगमको प्रवक्ताको जिम्मेवारी रमेश पौडेलले पाएका छन् । निगमको कर्मशियल विभागमा कार्यरत पौडेललाई आइतबारदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिईएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अर्चना खड्काको जिम्मेवारी खोस्दै पौडेललाई प्रवक्ताको जिम्मा दिएका हुन । शनिबार साँझ काठमाडौं–दुबई उडानका विषयलाई लिएर अध्यक्ष अधिकारीले खड्कालाई जिम्मेवारीबाट हटाएको निगमका अधिकारीहरु बताउँछन् । शनिबारको घटना मिडियामा सार्वजनिक गरेको भन्दै प्रवक्ता परिवर्तन गरिएको बुझिएको उनिहरु बताउँछन् ।

लघुवित्तहरुको लाभांश १५ प्रतिशतमा झार्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । राष्ट्र बैंकले गत फागुन १० गते लघुवित्त वित्तीय संस्थाले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गर्दै विभिन्न निर्देशन दियो । लघुवित्तको व्यवसायदेखि सेयरधनीहरुलाई वितरण गर्दै आएको नाफामा राष्ट्र बैंकले कडाइ गर्याे । परिपत्र जारी गरेको दोस्रो दिन (फागुन ११ गते) सेयर बजारमा भारी गिरावट आयो । नेप्सेमा सूचीकृत अधिकांश लघुवित्तको सेयर मूल्य घट्यो । सो दिन नेप्सेमा ४५ वटा लघुवित्तमा नकारात्मक सर्किट लाग्यो भने अरु लघुवित्तको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको थियो । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध सडक आन्दोलनदेखि सदनमा चर्काे आवाज उठिरहेको छ । लघुवित्तका सञ्चालकदेखि कर्मचारीहरुले लघुवित्त विरुद्धको गतिविधिलाई अराजक र गैरकानुनी भन्दै आएका छन् । राष्ट्र बैंकले पनि विभिन्न कार्यक्रमहरुमा लघुवित्तको बचाउमा बोल्दै आएको भएपनि व्यवहारमा भने उल्टो गरिरहेको जानकारहरु बताउँछन् । जसले गर्दा लघुवित्तका लगानीकर्तामा नकारात्मक असर परेको उनीहरुको भनाइ छ । फागुन १० गते जारी गरेको परिपत्रले लगानीकर्तामा पारेको असरमा राष्ट्र बैंकले ‘आगोमा घ्यू’ थप्ने काम गरिरहेको लघुवित्तका जानकारहरु बताउँछन् । पुँजी बजारमा अन्य समूहभन्दा लघुवित्त समूहका संस्थाहरुको सेयर मूल्य उच्च छ । लगानीकर्ताको आकर्षण पनि लघुवित्तमा रहेको सेयर मूल्यले देखाउँछ । तर, राष्ट्र बैंकले लघुवित्त माथि गरेको कडाइका कारण पछिल्लो समय सेयर मूल्यमा गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । जीवन विकास लघुवित्त वित्तीय संस्था एक वर्ष अघि पुँजी बजारको ‘हट केक’का रुपमा कारोबार भइरहेको थियो । लघुवित्त वित्तीय संस्थाहरुको समूहमा सबैभन्दा उच्च मूल्य हुँदा जीवन विकास लघुवित्तका लगानीकर्ताहरु पनि उत्साहित थिए । सेयर मूल्य उच्च भएकै बेला कूल ७३.६८४२ प्रतिशत बम्पर लाभांश घोषणा गरेर सेयरधनीहरुलाई थप हौसला प्रदान गर्याे । जसले सेयर मूल्य झनै माथि पुर्याउन सहजीकरण गर्याे । लघुवित्तले २०७८ को चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ७० प्रतिशत बोनस सेयर र ३.६८४२ प्रतिशत नगद गरी कूल ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जतिबेला लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ५ हजारकै आसपासमा पुगेको थियो । यस्तै, लघुवित्तले दोस्रो पटक गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर र ९.३६ प्रतिशत नगद गरी कूल ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्याे । दोस्रो बजारमा कारोबार आएको २ वर्षमै लगानीकर्तालाई उच्च लाभांश खुवाउने संस्थाको रुपमा चिनाउन सफल जीवन विकास लघुवित्तको लाभांशमा राष्ट्र बैंकले कडाइ गरेपछि सेयर मूल्यमा गिरावट आएको छ । गत फागुन ८ गते लाभांश घोषणा गर्दा लघुवित्तको सेयर प्रतिकित्ता २ हजार ७ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो । तर, फागुन १९ गते राष्ट्र बैंकको निर्देशन भन्दै लघुवित्तले लाभांश दर संशोधन गरेको सूचना सेयरधनीहरुलाई दियो । राष्ट्र बैंकले फागुन १० गते जारी गरेको परिपत्र बमोजिम लघुवित्तले सबै प्रक्रिया पुर्याएर २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद गरी कूल ३३.१५ प्रतिशत स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्याे । राष्ट्र बैंकले लघुवित्तलाई लिखित रुपमै निर्देशन दिएर १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नगर्न निर्देशन दिएपछि पुनःलाभांश घटाउन बाध्य भएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय कुमार मण्डल बताउँछन् । लघुवित्तको सञ्चालक समितिको चैत ९ गते बसेको बैठकले पुनः लाभांश घटाएर प्रस्ताव गरेको छ । अब लघुवित्तले १४.२८५ प्रतिशत बोनस सेयर र ०.७१४ प्रतिशत नगद गरी कूल १४.९९ प्रतिशत मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकको निर्देशनमा लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि स्वीकृति पनि पाइसकेको सीईओ मण्डलले बताए । सीईओ मण्डल लघुवित्तको लाभांश आफूहरुले नघटाएको बताउँछन् । लाभांश नघटाएपछि राष्ट्र बैंकले एजिएम क्लियरेन्स स्वीकृति दिन नमानेपछि घटाउन बाध्य भएको उनले बताए । ‘हामीले कोषमा छुट्याउनु पर्ने रकम छुट्याएर वितरण गर्ने लाभांश घोषणा गरेका थियौं, त्यतिबेला ३७ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति माग्न राष्ट्र बैंकमा पेश गर्यांै, राष्ट्र बैंकले स्वीकृति दिएन, फाइल अड्काएर राख्यो,’ उनले भने, ‘राष्ट्र बैंकले फागुन १० गते सर्कुलर जारी गर्याे, १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्दा ३५ प्रतिशत ग्राहक संरक्षण कोष (सीपीएफ) र १० प्रतिशत सीएसआरमा छुट्याउनु भनेर व्यवस्था गर्याे ।’ राष्ट्र बैंकको सोही व्यवस्था बमोजिम लघुवित्तले लाभांश संशोधन गरेर स्वीकृतिका लागि पठाएको सीईओ मण्डल बताउँछन् । जीवन विकास लघुवित्तले लाभांश घोषणा गर्दा राष्ट्र बैंकका सबै नियम कानुन, परिपत्र पालना गरेको उनको भनाइ छ । तर, राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नगर्न निर्देशन दिएपछि घटाउन बाध्य भएको उनले बताए । ‘फागुन १० को सर्कुलर अनुसार लाभांश वितरणको लागि प्रस्ताव गर्याैं तर, राष्ट्र बैंकले तोकेरै १५ प्रतिशत मात्रै लाभांश वितरण गर्न निर्देशन दियो, राष्ट्र बैंकले भनेपछि हामीले मान्नै पर्छ,’ उनले भने, ‘लाभांश घटेपछि सेयर मूल्य घट्नु स्वभाविक हो, अहिले लघुवित्त क्षेत्रमा चुनौति छन्, यति धेरै राम्रो काम गर्दै गर्दा कसैले पनि राम्रो भन्दैनन्, लघुवित्तमा काम गर्नेलाई तनाव मात्रै छ ।’ अहिले वितरण गर्न नपाएको लाभांश रिजर्भमा रहने र अर्काे वर्ष वितरण गर्न पाइने उनले बताए । राष्ट्र बैंकले लघुवित्त संस्थामाथि चालेका यी कदमले सेयरधनीहरु भने रुष्ट बनेका छन् । जसको प्रत्यक्ष असर पूँजी बजारमा लघुवित्तको सेयर मूल्यमा परेको छ । लघुवित्तको बोनस सेयरमा राष्ट्र बैंकले कैंची लगाएको हुँदा सेयर मूल्य घटेको एक लगानीकर्ताले विकासन्युजलाई बताए । ‘राष्ट्र बैंकले लघुवित्तलाई कडाइ गर्दा लगानीकर्ताको मनोविज्ञान बिग्रिएको थियो, राष्ट्र बैंकको कडाइले लघुवित्त समूहको सेयर प्यानिक सेलिङ भइरहेको छ,’ उनले भने । नेशनल माइक्रोफाइनान्स लघुवित्तका अध्यक्ष केशव प्रसाद आचार्य लघुवित्त वित्तीय संस्थालाई मिटरब्याजीको आरोप लगाएर बदनाम गराइरहेको बताउँछन् । राजनीतिक दलहरुले पनि लघुवित्त विरुद्धको आन्दोलनलाई नै प्रशय दिइरहेको उनले बताए । एउटा लघुवित्तले गरेको गल्तिलाई राष्ट्र बैंकले समग्र लघुवित्तमाथि दोष लगाइरहेको उनको भनाइ छ । ‘लघुवित्त विरुद्धका गतिविधिलाई राजनीतिक दलको बोलीमा लोली मिलाउन थाले, यताबाट राष्ट्र बैंकले कडाइ गर्न थाल्यो, धेरै लाभांश घोषणा गरेका लघुवित्तलाई कडाइ गर्न थाल्यो,’ उनले भने, ‘यदि कुनै संस्थाले गडबढी गरेको, लेखा हेरफेर वा वित्तीय विवरणमा गलत गरेको छ भने कारवाही गर्नुपर्याे, इफिसेन्सी देखाएर नाफा वितरण गरेका लघुवित्तलाई कडाइ गर्नु बजार अर्थतन्त्रमाथिको हस्तक्षेप हो, अहिले राष्ट्र बैंकले ठिक गरेको छैन ।’ ३०÷४० प्रतिशतसम्म लाभांश घोषणा गरेका लघुवित्तलाई राष्ट्र बैंकले लिखित रुपमै १५ प्रतिशत मात्र वितरण गर्नु भनेर पत्र पठाएको उनले बताए । कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था ऐन, राष्ट्र बैंकको परिपत्र तथा कार्यविधि अनुसार लाभांश वितरण गर्दा पनि रोक लगाएको उनको आरोप छ । राष्ट्र बैंकले धेरै लाभांश वितरण नगर भनेर निर्देशन दिनु गलत भएको उनले बताए । ‘कुनै लघुवित्तले बदमासी गरे, १५ प्रतिशतभन्दा बढी ब्याज लिए, साढे १ प्रतिशत बढी सेवा शुल्क लिएका वा भाँडभैलो गरेका लघुवित्तको लाभांश वितरणमा रोक लगाउनु ठिकै हो तर, ऐन, नियम कानुन संगत ढंगले लाभांश वितरण प्रस्ताव गरेको छ भने रोक्नु गलत हो,’ उनले भने । लघुवित्त संस्थाहरु नाफामुखी भएर कारोबार गर्न थालेपछि अहिलेको समस्या आएको उनले बताए । राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्सलाई १५ प्रतिशत लाभांश वितरण गर्नु भनेर निर्देशन दिएको उनको भनाइ छ । ‘लघुवित्त संस्थाहरु दुधले धोएका छैनन्, केही लघुवित्तले गलत गरेका छन्, एउटा लघुवित्तले गरेको गल्तिलाई समग्र लघुवित्त क्षेत्रमाथि दोष दिन थाल्यो, बैंकिङ्ग प्रणालीको सरंक्षण भयो भन्दैमा राष्ट्र बैंक आफ्नै नियम, कानुन र परिपत्रको खिलापमा गएको छ,’ उनले भने, ‘केही पनि भनेको छैन, चिठी लेखेरै १५ प्रतिशत लाभांश वितरण गर भनेको छ ।’ फागुन १० गते परिपत्र आउनु भन्दाअघि केही लघुवित्तले ५०÷६० प्रतिशतसम्म लाभांश वितरण गरेका छन् । तर, फागुन १० को परिपत्र पश्चात् भने १५ प्रतिशत मात्रै वितरण गर्न लगाएर २ किसिमको ‘ट्रिटमेन्ट’ गरेको उनको भनाइ छ । ‘एउटै प्रकृतिका लघुवित्तलाई २ किसिमको ‘ट्रिटमेन्ट’ भयो, जसले मंसिर पुसभित्र वार्षिक साधारणसभा गरे उनीहरुको लाभांश रोकेन, खुरुखुरु स्वीकृति दियो,’ उनले भने, ‘एजिएम क्लियरेन्सका लागि स्वीकृति माग्न गएकोमा रोकेको रोक्यै गर्याे,’ उनले भने । बिना कारण लघुवित्तको लाभांश घटाउनु राष्ट्र बैंकको कदम गैरकानुनी रहेको उनले बताए । नियामक निकाय भएकाले भोलिका दिनमा दुःख दिन सक्ने डरले पनि राष्ट्र बैंक विरुद्ध जान नसकेको उनको भनाइ छ । नेशलन माइक्रोफाइनान्स लघुवित्तका सीईओ रामबहादुर यादव लघुवित्त विरुद्धका गतिविधि रोक्नका लागि राष्ट्र बैंकले लाभांश संशोधन गरेको हुन सक्ने बताउँछन् । ब्याज छुट तथा कर्जा मिनाह हुनुपर्ने माग उठिरहेका बेला उच्च लाभांश वितरण गर्दा नराम्रो सन्देश जाने भएकाले राष्ट्र बैंकले कटौति गरेको हुन सक्ने उनको बुझाइ छ । ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुमध्ये लघुवित्त संस्थाहरुको अवस्था गाह्रो र खराब छ, अहिलेको वस्तुस्थितीलाई मध्यनजर गरेर धेरै लाभांश वितरण गर्दा नराम्रो सन्देश जान्छ भनेर कटौति गरेको हुन सक्छ,’ उनले भने, ‘लघुवित्तको खराब कर्जादर बढ्दो छ भने नाफादर घट्दो छ, अहिले जति लाभांश वितरण गर्ने क्षमता छ त्यति पुरै नगर भनिरहेको छ, भविष्यका लागि जोखिम व्यवस्थापन गर्न जगेडामा राख्न भनेको छ ।’ एकैचोटी धेरै लाभांश वितरण गर्नुभन्दा अहिले कम गरेर रिजर्भमा राख्न राष्ट्र बैंकको सुझाव रहेको उनले बताए । लघुवित्तले कुनै गल्ति गरेर लाभांश संशोधन नगरेको उनले बताए । ‘लघुवित्तको क्षमता हुँदा पनि राष्ट्र बैंकले चिठ्ठी लेखेर पठाएपछि संशोधन गरेको हो, लघुवित्तले कुनै गल्ति गरेर कम गर भनेको होइन,’ उनले भने, ‘रिजर्भ बलियो बनाउनुस्, लाभांश दिने क्षमता बलियो बनाउनुस्, अहिलेको जोखिमलाई साम्य पार्नु पर्ने भनिरहेको छ ।’ नयाँ सर्कुलर अनुसार संशोधन गरेर पठाउँदा पनि राष्ट्र बैंकले आफ्नो सुपरभाइजरी पावर (सुपरभाइजरी अथोरिटी)लगाएर १५ प्रतिशतमै झारेको उनले बताए । यसरी राष्ट्र बैंकले लाभांश कटौति गर्दा लगानीकर्तालाई समस्या परेको उनको भनाइ छ । आज एक छाक मात्रै खाऔं अर्काे दिनको लागि केही पनि चाँहिदैन भन्ने हिसावमा जान नहुने उनले बताए । ‘लाभांश घोषणा भइसकेपछि सेयरधनीहरु म यति लाभांश पाउँछु भनेर ढुक्क भएर बसेका थिए, जसले गर्दा सेयरधनीहरुलाई समस्या र गाह्रो भयो, राष्ट्र बैंकले घटाएपछि हामीले केही गर्न सक्दैनौं,’ उनले भने, ‘सेयरधनीहरुको पक्षबाट समस्या परेको भएपनि समग्रमा राम्रो हो, अहिले संस्था बच्यो भने भविष्यमा पनि लाभांश दिन सकिन्छ, अहिले पनि अधिकांश लघुवित्तको २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने क्षमता छ, अब भविष्यमा निरन्तर पाउन सक्ने अवस्था कायम भयो ।’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले फागुन १० गतेको निर्देशन अनुसार लाभांश संशोधन गरिएको बताए । राष्ट्र बैंकले १५ प्रतिशत नै लाभांश वितरण गर्नु पर्छ भनेर पत्र नकाटेको उनको भनाइ छ । ‘राष्ट्र बैंकको फागुन १० गतेको निर्देशन अनुसार लघुवित्तको लाभांश संशोधन गरेको हो तर, १५ प्रतिशत नै लाभांश वितरण गर्नु पर्छ भनेर पत्र काटेको छैन, विभागले कुनै लघुवित्तलाई काटेको हुन सक्छ तर, निर्देशन अनुसार नै लागू हुन्छ,’ उनले भने ।

सहुलियत दरमा घर र व्यवसायिक कर्जा दिँदै महालक्ष्मी विकास बैंक, महिलालाई विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर खरिद वा निर्माण गर्न र उद्यम गर्न चाहनेलाई विशेष कर्जा योजना ल्याएको छ । बैंकले नयाँ वर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी व्यवसायिक कर्जा ल्याएको हो । जुन सुलभ व्याजदरमा पाइने बैंकले बताएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणीका लागि १२.९९ प्रतिशतको व्याजदरमा कर्जा दिने छ । साथै, नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जानकारी गराएको छ । महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसाय धनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने बताएको छ । र, उक्त छुट सुविधा सीमित समय अवधिका लागि रहेको समेत बैंकले जानकारी गराएको छ । आवास कर्जा योजना अन्तर्गत ऋणीका लागि बैंकले निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने छ । व्यवसायिक कर्जा योजना अन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु बैंकले प्रदान गर्ने छ । हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरकाबीच पनि बैंकले सुलभ ब्याजदरमा सरलिकृत तवरले कर्जा प्रवाह गरिरहेको छ । घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् । त्यस्तै, देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब सात लाख रहेको छ ।

किसान लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । किसान लघुवित्त वित्तीय संस्थाले आज केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । शाखा कार्यालय बलिया, कैलालीले आयोजना गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका २१० वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुले सहभागी जनाएका थिए । उक्त कार्यक्रममा संस्थाका सेयर सदस्य तथा लम्की चुहाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुशिला शाही, लम्की चुहा न.पा. वडा नं.१ का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि नेत्र प्रसाद खनाल, केन्द्रीय कार्यालयको तर्फबाट कर्जा असुली तथा जोखिम व्यवस्थापन प्रमुख टीकाराम उपाध्याय, क्षेत्रीय प्रमुख प्रेम बहादुर थापाको उपस्थिति रहेको थियो । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतिकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवा सुविधाहरुको बारेमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए । कार्यक्रमको सभापतित्व उक्त शाखाका शाखा प्रबन्धक अक्कल बहादुर शाहले गरेका थिए भने कार्यक्रम सञ्चालन शाखाका कर्मचारी नकेन्द्र न्यौपानेले गरेका थिए । उक्त कार्यक्रममा शाखाका सबै कर्मचारीहरुको सहभागीतामा कर्जा असुली तथा जोखिम व्यवस्थापन प्रमुख र क्षेत्रीय प्रबन्धकले वित्तीय साक्षरता सम्बन्धि र केन्द्रका पदाधिकारीहरुको काम, कर्तब्य तथा जिम्मेवारीहरुको बारेमा प्रस्तुति गरेका थिए र सहभागी सदस्यहरुमध्ये ४ वटा उत्कृष्ट केन्द्र र ७ वटा संस्थको कारोबारमा नियमित गरेर आफ्नो आर्थिक सम्वृद्धि गर्ने ऋणी सदस्यहरुलाई सम्मान गरि संस्थाको हालसम्मको प्रगति विवरणको बारेमा सबैलाई जानकारी गराई कार्यक्रम सम्पन्न भएको थियो । संस्थामा हालसम्म ९,३५२ वटा केन्द्र १,१८,०९३ जना सदस्यहरु आबद्ध भई कर्जा तथा बचत कारोबार गरिरहेका छन् भने संस्थाले हालसम्म १३७ वटा शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

केरा बेचेर वार्षिक डेढ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्दै गलेश्वरका किसान

गलेश्वर । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो । सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट दुई गाउँका किसानले वार्षिक डेढ करोड रुपैयाँ आम्दानी गर्दै आएका छन् । खबराका किसानले केरा खेतीबाट वार्षिक एक करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा बिक्रि गर्ने गरेका छन् । यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रूपमा चिनिन थालेका छन् । व्यापारीहरु केरा बगानमै आएर खरिद गर्ने गरेको खबराका किसान शोभत शर्मा सापकोटाले बताए । यहाँका किसानले १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । ‘बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको छ । मैलै १० वर्षदेखि केरा खेती गर्दै आएको छु । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्’, उनले भने । खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान चन्द्रबहादुर कार्कीले बताए । यस क्षेत्रमा केरा खेतीको सुरुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गरेको स्थानीय बताउँछन् । थापा र कार्कीले सुरु गरेको केरा खेती १२ वर्षदेखि व्यवसायिक बन्दै गएको स्थानीयको भनाइ छ । अहिले गाउँनै ढाक्ने गरी खेती गरिएको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान आकर्षित भएका उनको भनाइ छ । खबराका प्रत्येक घरधुरीले व्यावसायिकरुपमा हजारी जातको केराको खेती गरेका छन् । यहाँका किसानले वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका कार्कीले बताए । स्थानीय शोभित सापकोटाले १० वर्षदेखि व्यावसायिक केरा खेती गरेर गाउँमा पक्की घर बनाएका छन् । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको सापकोटाको भनाइ छ । थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ’, बबिता सापकोटाले भने, ‘पाँच रोपनीमा केरा खेती गरेका छौँ । वार्षिक चार देखि पाँच लाखसम्म आम्दानी हुन्छ ।’ उनले १० वर्षदेखि केरा खेती गर्दै आएका छन् । छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ । सापकोटाले भने, ‘केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौंँ राखेर पढाउन पुगेको छ ।’ उनले उत्पादन भएको केरा घरबाटै बिक्री हुने बताए । सापकोटाले भने, ‘केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन एक सय २० रुपैयाँमा बिक्री हुन्छ ।’ खबराका हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गरेका छन् । केरा बिक्री गरेर वार्षिक छ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाए । ‘राम्रो भयो भने केराको एक घारीमा सात सय देखि आठ सयसम्म कोसा हुन्छन्’, उनले भने, ‘एक घारीको चार हजार दुईसय रुपैयाँसम्ममा बिक्री गरेको छु ।’ बेनी नगरपालिका–२ बगरफाँटका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन् । केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको किसान खिमबहादुर कार्कीले बताए । उनले खेतका गह्रामा पाँच सय केराका बिरुवा लगाएका छन् । उनका अनुसार तीन सय केरा घरीले उत्पादन दिन थालेका छन् । किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाएका छन् । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उनले बताए । गत वर्षको जेठमा यहाँका किसानले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पाकेको केरा प्रतिदर्जन एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन हुने गरेको किसानको भनाइ छ । रासस

अर्थमन्त्रीलाई सेयर बजारको ‘इग्नोर’,

काठमाडौं । आइतबार (आज) सेयर बजार बढ्न सक्ने आंकलन धेरैको थियो । देशले नयाँ अर्थमन्त्री पाएसँगै आइतबार धेरैले बजारमा हरियाली आउन सक्ने अनुमान गरेका थिए । त्यो अनुमान यस मानेमा कि शुक्रबार अर्थमन्त्रीका रुपमा कार्यभार सम्हाल्दा अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारप्रति केही सकारात्मक संकेत देखाएका थिए । उनले सेयर बजार घटेर लगानीकर्तामा सुस्तता आएको र आफुले अब सबैले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने बताएका थिए । उनको भनाइको आधारमा लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेर बजार बढ्न सक्ने अनुमान थियो । तर, आइतबार बजार झन घट्यो । यसले पनि अर्थमन्त्री डा. महतलाई सेयर बजारले नचाहेको होकि भन्ने बुझिएको छ । आइतबार सेयर बजार २० अंकले घटेर १८ सय ८८.५५ को बिन्दु कायम भएको छ । बैंकिङ क्षेत्रमा सुधार हुँदै गएको तरलता, बाह्य क्षेत्रमा देखिएको सुधार र ब्याजदर घट्ने संकेतबीच अर्थमन्त्रालयले अर्थमन्त्री पनि पाउँदा धेरैले अब सेयर बजार बढ्ने अनुमान गरेका थिए । तर, त्यस्तो हुन सकेन । नयाँ अर्थमन्त्रीलाई सेयर बजारले ‘इग्नोर’ गरेको छ । आइतबार घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार एक अर्ब २० करोड रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ । दिनभरमा ३२ हजार ४१४ पटकको कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै, टप गेनरको शीर्ष स्थानमा कालिञ्चोक दर्शन रहेको छ । जसको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयर मूल्य १९.३० रुपैयाँले बढेर प्रतिकित्ता २१३.१० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ९.६१ प्रतिशतले घटेर प्रतिकित्ता ८९९.४० रुपैयाँमा झरेको छ ।

ज्योत्सनाको दोहोरो चरित्र, कहिले अन्जनसँग, कहिले रामचन्द्रसँग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको पूर्वाद्धमा उम्मेदवारहरुको सक्रियता बढेको छ । विचार, नीति र कार्यक्रम भन्दा पैसा, पहुँच र शक्तिको आधारमा महासंघको निर्वाचन समूह बन्ने र भत्कने क्रम जारी रहेको छ । यसैबीच महासंघको एसोसिएट समूहको उपाध्यक्ष पदका आकांक्षी ज्योेत्सना श्रेष्ठले पनि दोहोरो चरित्र प्रदर्शन गर्दै निर्वाचन समूहमा फेरबदल गरेकी छन् । फागुन ३० गते पत्रकार सम्मेलन गर्दै ज्योत्सना श्रेष्ठले आफू अन्जन श्रेष्ठको समूहबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । उनले महासंघको कार्यसमितिमा तीन कार्यकाल बिताएको र अब उपाध्यक्षमा उम्मेदवारी दिने बताएकी थिइन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जनको टिमबाट ज्योत्सना, मनिसलाल प्रधान र अरुणराज सुमार्गीले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेको थिए । फागुन ३० गते अन्जन श्रेष्ठकाे समूहबाट उम्मेदवारीकाे घाेषणा गर्दै ज्याेत्सना फागुनमा अन्जनको टिममा रहेर प्रोक्सी संकलन गरेकी ज्योत्सना अहिले रामचन्द्र संघाईको समूहमा प्रवेश गरेकी छन् । आइतबार संघाई समूहको उम्मेदवारी घोषणा कार्यक्रममा राखेको छ । उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाईको समूहबाट जिल्ला नगर समूहको उपाध्यक्षमा सूरकृष्ण बैद्य, बस्तुगत तर्फको उपाध्यक्षमा सुकुन्तराल हिराजन र एसोशिएटतर्फको उपाध्यक्षमा ज्योत्साना श्रेष्ठ उम्मेदवार घोषणा गर्ने तयारी भएको संघाईले जानकारी दिएका छन् । सम्बन्धित समाचार : महासंघ निर्वाचन : यस्तो बन्यो अन्जन श्रेष्ठको टिम

प्रभु लाइफले एक हप्तामै गर्यो मृत्यु दावी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले एक हप्तामै मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले मृत्यु दावी भुक्तानीका लागि बीमितले सम्पूर्ण कागजातसहित निवेदन पेश गरेको एक हप्तामै दावी भुक्तानी गरेको हो । ३ वर्ष अगाडी प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका श्याम कृष्ण तिमिल्सीनाको मृत्यु पश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो । मृतकको निवासमा भएको दावी भुक्तानी कार्यक्रममा चागुनारायण नगरपालिका ८ का वडा अध्यक्ष जनक खत्रीको समेत उपस्थिति रहेको थियो । वडा अध्यक्ष जनक खत्रीले छिटो छरितो तरिकाले दावी भुक्तानी गरेकोमा प्रभु लाइफलाई धन्यवाद दिए । साथै, यसरी जीवन बीमा कम्पनीले चुस्त रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बीमा प्रति विश्वास बढ्ने र आम मानिस आकर्षित हुने औंल्याए । दावी भुक्तानी कार्यक्रममा प्रभु लाइफका तर्फबाट बाग्मती प्रदेश प्रमुख मान बहादुर विष्ट मदनले मृतक बीमितको परिवारलाई बीमा रकम हस्तान्तरण गर्दे मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताए । यदि कदमकदाचित केही भएमा बीमितको परिवारको आर्थिक जोखिम कम गर्न प्रभु लाइफ हरदम तयार रहेको समेत प्रदेश प्रमुख मान बहादुर विष्टले थपे । कार्यक्रममा भक्तपुर शाखा प्रमुख निना श्रेष्ठ, बरिष्ठ एजेन्सी म्यानेजरहरु दिपक न्यौपाने, बबिब दुवाल, नवराज तिमिल्सेना, कमला कटवाल, मिलिना श्रेष्ठ, अन्जना न्यौपाने, ओम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।