मिटरब्याज पीडितलाई न्याय दिनबाट सरकार कुनै हालत पनि पछि हट्दैन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिनबाट सरकार पछि नह्टने प्रतिवद्धता व्यक्त गरेका छन् । आईतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले मिटरव्याज पीडितहरुलाई न्याय दिलाउने काम टार्नका लागि उच्च स्तरीय आयोग बनाएको भनेर नसोच्न पनि सांसदहरुलाई पटकपटक आग्रह गरे । यो समस्यालाई विषयान्तर गर्न अब नदिइने र पीडितलाई सरकारले न्याय दिनका लागि संकल्प लिएको उनको भनाई थियो । उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न सांसदहरुलाई अपिल गरे । उनले भने, ‘मिटर ब्याजसम्बन्धि समस्या समाधान गर्ने भनेको अहिले पीडितहरुलाई त्यो पीडाबाट मुक्त गर्नु र उनीहरुलाई न्याय दिलाउनु हो । आयोग चाँही मिटरब्याजी समस्या समाधानका लागि नेपालमा मिटरव्याजी समस्या पनि छ । यसका कारण यो हो, यसको समधान गर्नका लागि यो यो गर्न सकिन्छ भनेर जनरल आयोग यो होइन । यो आयोग पीडितहरुबाट उजुरी लिएर छानबीन गरी पीडित र पीडिकहरुको छानबीन गरेर सत्य प्रष्ट गरिदिएर त्यसको आधारमा उपयुक्त कारबाहीका लागि सिफारिस गर्नका लागि हो । ’ उपप्रधानमन्त्री श्रेष्ठले मिटर ब्याज असुल गर्ने कुरालाई आर्थिक अपराध वा कसुरको रुपमा लिएर कानुन निर्माणका लागि सरकारले मन्त्रीपरिषदबाट कानुन संशोधनको प्रक्रिया पनि अघि बढाईसकेको बताए । उनले मिटरव्याज पीडितलाई न्याय दिनका लागि सत्य पत्ता लगाउन सरकारले सो सम्बन्धमा छानवीन गर्न उच्च स्तरीय आयोग बनाउनु परेको पनि स्पष्ट पारे ।
घटेको बजारमा एनआईसी एशियाको सर्वाधिक कारोबार, कालिञ्चोक दर्शनमा पोजेटिभ सर्किट
काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.०५ प्रतिशतले घटी हो । घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन दिनभर कारोबारमा आएका २६० स्क्रीप्समध्ये बैंकको सबैभन्दा धेरै हो । सो दिन २६० स्क्रीप्सको एक अर्ब २० करोड रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ । दिनभरमा ३२ हजार ४१४ पटकको कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै, टप गेनरको शीर्ष स्थानमा कालिञ्चोक दर्शन रहेको छ । जसको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयर मूल्य १९.३० रुपैयाँले बढेर प्रतिकित्ता २१३.१० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ९.६१ प्रतिशतले घटेर प्रतिकित्ता ८९९.४० रुपैयाँमा झरेको छ ।
कालोपत्र गुणस्तरहीन भएपछि भोजपुरका स्थानीयले गरे विरोध
फाइल फोटो भोजपुर । सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका-५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले लापरबाही ढङ्गले काम गरेको स्थानीयले आरोप लगाएका छन् । बोखिम-पिप्ले-खाल्डे-आहाले-दधिपुर-सल्लेनी सडक आयोजनाको साढे चार किलोमिटर सडक कालोपत्रमा गुणस्तरहीन भएको स्थानीयले जनाएका छन् । सडकलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक-पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको स्थानीयवासी तथा भोजपुर-५ बोखिमका वडा सदस्य नीरकुमार फुँयालले बताए । ‘सडक कालोपत्रको काममा लापरबाही गरिएको छ,’ उनले भने, ‘कामलाई गुणस्तरीय ढङ्गले गर्न भन्दा पनि निर्माण कम्पनीका प्रतिनिधिले वास्ता गरेनन् । सबबेस नै राम्ररी नलगाई अलकत्रा हालेको अवस्था छ ।’ सडकको नाली, छेउभित्तामा पर्खाल तथा कजवेलाई व्यवस्थित नगरीकनै कालोपत्र थालिएको उनले बताए । कालोपत्र गर्नुअघि बिछ्याएको बेससमेत गुणस्तरहीन रहेको उनको भनाइ छ । ‘राज्यको पैसाको दुरुपयोग भएको छ, निर्माण कम्पनीले हतारमा गुणस्तरहीन काम अघि बढाएको देखिन्छ,’ उनले भने, ‘निर्माण क्रममा भत्किएका नाली, पर्खाल तथा कजवे निर्माण नगरी कालोपत्र थालिएको छ, बिछ्याएको बेस हातले कोट्याउँदा भत्किन्छ, यो कामलाई सुधार नगरे हामी थप काम गर्न रोक्छौं ।’ स्थानीयवासीको गुनासोपछि जिल्ला प्रशासनले उक्त सडकको अनुगमन गरेको छ । पूर्वाधार विकास कार्यालयका इञ्जीनियरसहित सडक अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले निर्माणलाई गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा स्थानीयवासीले गुनासो गरेबजोजिम नै सडक निर्माणमा लापरबाही गरेको पाइएको उनले बताए । ‘काम गुणस्तरहीन भएको स्थानीयवासीको गुनासोपछि मैले दुईपटक अनुगमन गरेँ,’ उनले भने, ‘अनुगमन गर्दा स्थानीयवासीले भनेझैँ सडकमा राम्रो कनम भएको देखिएन, राज्यको रकम सही ढङ्गले सदुपयोग हुनुपर्छ, स्थानीय नागरिकले उठाएको सवाल उचित छ, सबैले यसरी नै आफ्नो क्षेत्रको विकासमा ध्यान दिने हो भने धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ ।’ अनुगमनका क्रममा निर्माण व्यवसायीका प्रतिनिधि भने उपस्थित थिएनन् । कामलाई गुणस्तरीय तवरबाट गर्न स्थानीयले सुझाव दिँदासमेत निर्माण कम्पनीले बेवस्ता गरेपछि स्थानीय आक्रोशित भएको जनाइएको छ । सडकमा बिछ्याएको सवबेसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्र लगाएको स्थानीयको आरोप छ । निर्माणका क्रममा भत्किएका नाली, कजवेलगायत मर्मत नगरी कालोपत्र हालेको देखिएको छ । कामलाई गुणस्तर तवरबाट गराउनेमा कम्पनीको ध्यानाकर्षण गराउने इञ्जिनियरहरूले बताएका छन् । सवबेसको काम भइरहेकाले अब पहिलो बेस र दोस्रो बेसको काम गर्न बाँकी रहेको इञ्जीनियरको भनाइ छ । निर्माणमा केही त्रुटि देखिए पनि स्थानीयले भनेजस्तो गुणस्तरहीन काम नभएको इञ्जिनियर आरएन सुवेदीले बताए । ‘आफ्नो क्षेत्रमा भइरहेको काम गुणस्तरीय बनाउन स्थानीयले देखाएको चासो स्वागतयोग्य छ,’ उनले भने, ‘हामीले अहिले प्राइम कोडको काम अनुगमन गरिरहेका छौं, यहाँ देखिएका कमजोरी सुधार गरेर बाँकी कामलाई थप गुणस्तरीय बनाउन ध्यान दिन्छौं ।’ सडक ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत नेपाल सरकारको भ्याटसहित नौ करोड ७२ लाख लागतमा कालोपत्र थालिएको हो । रौताहा-रामसागर विल्डर्स जेभी काठमाडौंले २०७८ भदौमा सम्पन्न गर्ने गरी काम जिम्मा लिएको थियो । तर तोकिएको अवधिमा काम सम्पन्न नभएपछि त्रुटि सच्याउने अवधि एक वर्ष थप गरिएको छ । रासस
मार्चमा भित्रिए एक लाख पर्यटक, सबैभन्दा धेरै भारतबाट
काठमाडौं । गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । सो अवधिमा सार्क राष्ट्रबाट ३३ हजार ४५४, अन्य एशियाली राष्ट्रबाट १५ हजार ६४३, यूरोपबाट २३ हजार २६५, ओसियन राष्ट्रबाट तीन हजार ९५८ जना पर्यटक नेपाल आएका छन् । साथै क्यानडाबाट एक हजार ७०७, अमेरिकीबाट नौ हजार ५५७ का साथै मिडल इस्टलगायतका देशबाट १० हजार ३७५ पर्यटक नेपाल भित्रिएका छन् । यस अवधिमा सबैभन्दा धेरै भारतबाट २५ हजार ९११ पर्यटक नेपाल आएका छन् । जबकी गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ जना पर्यटक आएका थिए । अमेरिकाबाट गत वर्षको सोही अवधिमा चार हजार ८९६ पर्यटक आएकोमा यसपटक नौ हजार ५५७ जना पर्यटक आएका छन् । मार्च महिनामा भारत, अमेरिका, यूके, जर्मनी र श्रीलंकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । कोरोना महामारीपछि नेपालमा भित्रिने पर्यटकको सङ्ख्या सुधारोन्मुख अवस्थामा छ । रासस
कुलेखानी-फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द
फाइल फोटो मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको भीमफेदी-कुलेखानी-फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ । सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो मार्ग हुँदै चल्ने साना तथा ठूला सवारीसाधनका लागि यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो मार्ग हुँदै चल्ने सवारीसाधन भीमफेदी-मार्खु-चित्लाङ हुँदै काठमाडौं जाने आउने गरिरहेको प्रहरीले जनाएको छ । कुलेखानी-फाखेल मार्ग बन्द रहेकाले सो क्षेत्र हुँदै यात्रा नगर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ । रासस
लालपूर्जा नपाएका सुकुम्वासीको गुनासो : चुनावमा भोट बैंक बनाए, अहिले वास्ता गर्दैनन्
फाइल फोटो बाँके । बाँकेका भूमिहीन, दलित सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन,दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने करिब ५७ हजार सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनको कारण राष्ट्रिय भूमि आयोगले भूमिहीन,दलित सुकुम्वासी र अव्यवस्थित सुकुम्वासीहरूलाई जग्गाको लालपूर्जा वितरण गर्न ढिलाई भएको जनाएको छ । जग्गा र जग्गाको लालपूर्जा पाउनका लागि सडक आन्दोलन गर्दा समेत सरकारले वास्ता नगरेको गुनासो गरे । खजुरा गाँउपालिका वडा नं ६ बस्ने घनसारा थारा मगरले वर्षौंदेखि बसोवास गर्दै आएका तर लालपूर्जा नपाएका कारणले घरयासी काम लगायत बालबालिकाहरूको शिक्षामा समेत प्रत्यक्ष असर परेको बताए । उनले वडामा भूमिहीन सुकुम्वासीहरूको बसोवास मात्र रहेको र हलसम्म कसैले पनि लालपूर्जा नपाएको बताए । उनले चुनावको बेला सुकुम्वासीहरूलाई भोट बैंकको रूपमा प्रयोग गर्ने र चुनाव जितेपछि फर्केर नहेर्ने गरेको बताए । उनले २०४५ सालदेखि बसोवास गर्दै आएको सम्पूर्ण बस्तीका कसैले पनि अहिलेसम्म जग्गाको लालपूर्जा नपाएको बताए । त्यस्तै, सुकुम्वासी बस्तीमा बस्ने सोमान रोकाया २०३८ सालदेखि बसोवास गर्दै आएपनि अहिलेसम्म लालपूर्जा नपाएको बताए । उनले उक्त बस्तीमा बसोवास गर्दै आएका आर्थिक स्थिति राम्रो भएका मानिसहरूले २०४६ सालमा प्रतिकट्ठा ११ हजार रूपैयाँका दरले तिरेर लालपूर्जा बनाए पनि दैनिक छाक टार्न नसक्नेहरुले अहिलेसम्म लालपूर्जा नपाएको गुनासो गरे । उनले लालपूर्जा नभएका कारणले आफ्ना बालबच्चाहरूलाई शिक्षा दिन नसकेको र वैदेशिक रोजगारमा समेत पठाउन नसकिएको बताए । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाँकेका अध्यक्ष श्रवणकुमार यादवले सुकुम्वासीहरूलाई वन ऐन र सरकारका केही नीतिगत कारणले लालपूर्जा वितरणमा ढिलाई भएको बताए । उनले बाँकेको ८ पालिकामध्ये ५ गाउँपालिकाले तथ्यांक उपलब्ध गराइसकेको बताए । उनले डुडुवा गाँउपालिका, नरैनापुर गाँउपालिका र नेपालगञ्ज उपमहानपालिकाको तथ्यांक हालसम्म उपलब्ध नभएकाले समस्या आएको बताए । बाँकेमा अधिकांश गाउँपालिकाहरू वन क्षेत्रमा पर्ने र गाँउपालिकाले समयमा नै तथ्याङ्क उपलब्ध नगराएको बताए । उनले वन कार्यालयले क्षेत्र तोकेर भूमि आयोगलाई काम गर्न दिए सुकुम्वासीहरूलाई तत्काल लालपूर्जा उपलब्ध गराउन सकिने बताए ।
बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त भइसकेकाले अब सम्वद्ध पक्षसँग छलफल गरी आयोजना अगाडि बढाइने स्पष्ट पारे । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधामन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले आगामी बजेटमा आयोजनाका सम्बन्धमा स्पष्ट व्यवस्था गरेर नै अगाडि बढाइने बताए । आयोजनाका बारेमा गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणापत्रमासमेत स्पष्ट रुपमा लेखिएको, सत्ता गठबन्धनमा आवद्ध दलको समेत स्पष्ट दृष्टिकोण रहेकाले कुनै द्विविधा नराख्न प्रधानमन्त्रीले विश्वास दिलाएका गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । सरकारले सो आयोजना निर्माणका लागि कम्पनी स्थापना गरिसकेको भए पनि काम भने प्रभावकारी हुनसकेको छैन । कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको कामा लामो समयदेखि अगाडि बढ्न सकेको छैन । ‘प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी खुसी भएका छौँ, स्थानीयबासीको आशङ्कासमेत हटेको छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘आयोजनाको बजेट रकमान्तर भएका विषयमा स्थानीयले गुनासो गरेका थिए ।’ उनले प्रधानमन्त्रीले स्पष्ट कार्ययोजनाका साथ आयोजना अघि बढाउने प्रतिबद्धता जनाएको बताए । प्रधानमन्त्रीले सो अवसरमा आयोजना अगाडि बढाउन स्थापना गरिएको कम्पनीलाई समेत अब गति दिन र त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई आवश्यक निर्देशन दिइने बताइएका थिए । सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार पारेको थियो । जसमा सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने गरी कम्पनी स्थापना गरेको थियो । कम्पनी स्थापनाको निर्णय गर्ने तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजनाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका भुसाल पनि प्रधानमन्त्रीसँगको भेटमा सहभागी थिए । रासस
समस्याग्रस्त अर्थतन्त्र सुधार्छु, निजी क्षेत्रको मनोबल घट्न दिन्न : अर्थमन्त्री डा. महत
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्रलाई सुधार्ने प्रतिवद्धता गरेको छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटवार्तामा बोल्दै उनले आफ्नो पहिलो उक्त प्रतिवद्धतालाई पुरा गर्न निजी क्षेत्रको साथसहयोग चाहिने समेत बताएका हुन् । गत शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएका डा. महतले यसको लागि निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाए । ‘तपाईंहरुको मनोबल घट्न दिन्न, तपाईंहरुसंग निरन्तर संवादमा रहन्छु, मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिवद्धता पुरा गर्न तपाईंहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु,’ अर्थमन्त्री डा. महतले महासंघसंगको भेटवार्तामा भने । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिए । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ पनि गरेका थिए । भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव उनको थियो । सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन पनि उनले सो अवसरमा जोड दिए । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिए । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनको आग्रह थियो । अहिले सरकारसंग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्थाको चित्रण गर्दै उनले यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने सुझा दिए । यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनको जोड थियो । नवनियुक्त अर्थमन्त्रीसँगको भेटमा अध्यक्षले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्याउने सुुझाए । अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरुसंग पहल गर्नुपर्ने बताउँदै स्थानीय दाताहरुसंग पनि सम्मेलन गर्न आग्रह गरे । निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गर्न अध्यक्षले जोड दिए । राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए ।