तुलसीपुरका विद्यालयले स्वास्थ्य र शिक्षामा छुट दिने
दाङ । दाङ तुलसीपुरका विद्यालयले यातायात मजदुरका छोराछोरीलाई पठनपाठनमा छुट दिने भएका छन् । अखिल नेपाल यातायात मजदुर सङ्घको पहलमा केही विद्यालयले उनीहरुलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् । सङ्घका केन्द्रीय उपमहासचिव घनश्याम डाँगीले तुलसीपुरका केही विद्यालयले छुट दिन लागेका जानकारी दिए । तुलसीपुस्थित डिभाइन टेम्पल एकेडेमी, ज्ञान ज्योति फाउन्डेसन, सगरमाथा बालबाटिका इङ्लिस स्कुल, आदर्श एकेडेमी, पिएण्डपी पाठशाला, राप्ती पब्लिक इङ्लिस बोर्डिङ स्कुल, त्रिमूर्ति हिमचुली इङ्लिस बोर्डिङ स्कुललगायतले मजदुरका छोराछोरीलाई पठनपाठनमा १५ देखि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेका जनाइएको छ । मजदुरी गरेर छोराछोरी पढाउनेहरूको अवस्था निकै नाजुक हुने भएकाले उनीहरूको हरेक शुल्कमा छुट दिनका लागि आफूहरूले पहल गरेको सङ्घका प्रदेश संयोजक उदयबहादुर विकले बताए । ‘हामी सबै मजदुरी गरेर कमाउन हो’, उनले भने, ‘यातायात मजदुरको अवस्था निकै दयनीय छ, त्यसैले हामीले मजदुरका छोराछोरीलाई पढाउनका लागि पहल गरेका हौँ ।’ त्यस्तै तुलसीपुरका केही अस्पतालमा उपचारमा पनि केही छुटको व्यवस्था गरिएको सङ्घका जिल्ला अध्यक्ष छविप्रसाद बस्नेतले बताए । राप्ती लाइफ केयर अस्पताल र तुलसीपुर सिटी अस्पतालले उपचारमा पनि केही प्रतिशत छुट दिन थालेका छन् । जिल्लाका सबै विद्यालय तथा अस्पतालमा छुटको व्यवस्थाका लागि समेत छलफल भइरहेको उनले बताए । रासस
सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाले घडेरी बेच्दै, प्रतिआना कति ?
काठमाडौं । काठमाण्डौ उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाले घडेरी बिक्री गर्ने भएको छ । आयोजनाले रिङरोड, एकान्तकुनाबाट करिव डेढ किलोमिटर दुरीमा रहेको ललितपुर महानगरपालिका २५ (साविक सैंबु ३) स्थित विकसित घडेरी प्लटहरु बिक्री गर्ने भएको हो । आयोजनाले २०३.४४ र १७१.७२ वर्गमिटरको क्रमशः अर्थात् ०-६-१-२.३७ आना र ०-५-१-२.४१ आना क्षेत्रफल भएको दुई वटा घडेरी बिक्री गर्ने जनाएको छ । आयोजनाका अनुसार प्रतिआना न्यूनतम २६ लाख ५० हजारका दरले ०-६-१-२.३७ आना जग्गाको मूल्य १ करोड ६९ लाख ५५ हजार ३३२ रुपैयाँ र ०-५-१-२.४१ आना जग्गाको मूल्य १ कोड ४३ लाख ११ हजार ६८७ रुपैयाँ रहेको छ । खरिद गर्न इच्छुकले ३० दिनभित्र लक्ष्मी निवास मानभवन ललितपुर (जिल्ला प्रशासन कार्यालय, ललितपुर परिसर भित्र) शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । विकसित घडेरी प्लट खरिद गर्दा ३ हजार शुल्क तिर्नुपर्नेछ । साथै, साथ आफूले कबोल गरेको अंकको कम्तीमा १० प्रतिशत रकम दाखिला गर्नुपर्ने जनाएको छ । शिलवन्दी बोलपत्र ३१ औं दिनको १ बजे जिल्ला आयुक्तको कार्यालय ललितपुरमा खोलिने छ ।
नेपालको चिया उद्योग धरासायी र व्यवसायी सङ्कटमा
काठमाडौं । नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन् । नेपाली चिया व्यवसायीले भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय भए पनि निकासीमा समस्या उत्पन्न भएको गुनासो गरेका हुन् । उनीहरूले नेपाली चिया भारत निकासीमा देखिएको अवरोध हटाउन ‘जिटुजी’ पहल गर्नसमेत आग्रह गरेका थिए । नेपाली चियाको गुणस्तरका विषयमा भारतीय व्यवसायी र मिडियाबाट सिर्जना गरिएका भ्रमहरूको सप्रमाण खण्डन गर्नुपर्नेमा व्यवसायीको जोड छ । ‘नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रवद्र्धन’ सम्बन्धमा महावाणिज्य दूतावास र नेपाल चिया उत्पादक सङ्घद्वारा आज झापाको काँकडभिट्टामा आयोजित अन्तक्र्रियामा नेपाली व्यवसायीले चिया निर्यातमा अवरोध उत्पन्न भइरहेको गुनासो सुनाएपछि महावाणिज्यदूत पौडेलले पछिल्लो समय देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली चियाले भारतीय चिया बजारलाई ध्वस्त पारेको भनी भारतीय मिडियामा भइरहेको दुष्प्रचार गलत भएको जनाउँदै उहाँले नेपाली चिया र भारतको दार्जिलिङको चियाको आ–आफ्नै लोकप्रियता रहेको स्पष्ट पारे । उनले अहिलेसम्म नेपाली चिया भारतीय बजारमा निर्भर रहेको हुँदा अब वैकल्पिक बजार खोज्नसमेत चिया व्यवसायीलाई सुझाव दिए । ‘अब भारत बाहिर पनि बजार खोज्नुपर्छ, दक्षिण एसियाका अन्य छिमेकी, खाडी मुलुक र युरोप पनि हाम्रो बजार बन्नसक्छ,’ उनले भने । चिया उत्पादक तथा व्यवसायीले नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन हुने चियाको भारत निकासीलाई सहज बनाउन भारतीय सरकारसँग जिटुजी तहबाट पहल आवश्यक रहेको बताएका थिए । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार अग्रवालले नेपालको चियाबारेमा भारतमा दुष्प्रचार भइरहेको गुनासो सुनाउँदै यसलाई चिर्न नेपाल सरकार र मिडियाको सहयोग चाहिएको बताए । ‘नेपाली चिया कमसल गुणस्तरको छ भनेर भारतमा प्रायोजित प्रचार भइरहेको छ, यसलाई रोकिनुपर्छ, अर्कातिर नेपाली चियाको निर्यातमा भारतले ४० प्रतिशत भन्सार कर लगाउने तयारी गरिरहेकामा हामी चिन्तित भएका छौँ,’ उनले भने । भारतले नेपालको चियामा ४० प्रतिशत भन्सार कर लगाएमा नेपाली चिया भारतमा नबिक्ने र प्रतिस्पर्धामा टिक्न नसक्ने उहाँको भनाइ थियो । अहिलेको शून्य भन्सार नीति कायम राख्नका लागि भारत सरकारसँग नेपाल सरकारले जिटुजी छलफल चलाउनुपर्ने उनले भने । चिया उत्पादक किसन सरियाले नेपालबाट उत्पादित चियाको गुणस्तर प्रमाणपत्रलाई भारतमा मान्यता नमिल्ने हुँदा निर्यात व्यवसायीले कोलकातामा नमूना पुर्याएर भारतीय प्रयोगशालाको रिपोर्ट ल्याउनु परिरहेको बताए । नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त खाद्य प्रयोगशाला स्थापना गरिनुपर्ने र नेपालको प्रयोगशाला जाँचलाई भारतमा मान्यता दिइनुपर्ने उनको धारणा थियो । नेपाल चिया उत्पादक सङ्घका उपाध्यक्ष आदित्य पराजुलीले भारतीय चिया बोर्ड नै नेपालको चिया रोक्ने कानुनी व्यवस्था लागू गराउन लागिपरेको जनाउँदै नेपाली चियामा कुनै मिसावट नभएको बारेमा भारतीय पक्षलाई आश्वस्त तुल्याउन आवश्यक रहेको बताए । भारतीय बजार गुम्यो भने नेपालको चिया उद्योग धरासायी हुने जोखिम औँल्याउँदै उनले यसमा आश्रित लाखौँ मजदुर, किसान, उद्योगी र व्यवसायी सङ्कटमा पर्ने चेतावनी दिए । भारतमा नेपाली चियाका बारेमा भइरहेका नकारात्मक प्रचार र भ्रमलाई चिर्न कोलकतामै कार्यक्रम सञ्चालन गर्न उनले सुझाव दिए । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले चियाको निर्यातमा गैरभन्सार अवरोध हटाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै नेपाली मिडियाले पनि चियाका बारेमा विश्वबजारमा फैलाइएका नकारात्मक भ्रम चिर्न सघाउनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले चियाको निर्यातका लागि भारतीय निर्भरता कम गर्न र अन्य मुलुकमा पठाउनेबारेमा विकल्प खोज्न चिया व्यवसायीलाई सुझाए । चिया निर्यातमा संलग्न व्यवसायी रोशनकुमार अग्रवालले नेपालले भारतीय चियाको आयातलाई न्यूनीकरण र स्वदेशी चियाको संरक्षण गर्दै जाने नीतिअन्तर्गत भन्सार महसुल ३० बाट बढाएर ४० प्रतिशत बनाएपछि भारतीय पक्ष चिढिएको बताए । चिया उत्पादक तथा भारतीय चिया बोर्डले नेपाली चियालाई समेत भन्सार शुल्क लगाउने तयारी गरिरहेको जानकारी पाएको उनले बताए । भारतले चियामा भन्सार शुल्क लगाएमा नेपाली चियाको निर्यातमा नकारात्मक असर पर्ने उनको भनाइ थियो ।रासस
जनउत्थान सामुदायिकको लाभांश आज पारित हुँदै
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सभा आज बस्दैछ । लघुवित्तको वार्षिक साधारण सभा आज चैत २६ गते होटल न्यू ईरा, बुटवल रुपन्देहीमा बिहान ११ बजे शुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, हाल कायम रहेको अधिकृत पूँजी २५ करोड रुपैयाँ रहेकोमा ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । साथै, लघुवित्तको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताप पनि पारित गर्नेछ । संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १० गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि भइ लाभांश प्राप्त गर्न सक्नेछन्।
अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित
काठमाडौं । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो । माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न जिल्ला सम्मेलनका क्रममा ती जोडीलाई सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले बताए । माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो । ‘विद्यमान अवस्थामा उहाँहरूलाई ताकत दिन हौसला प्रदान गर्न गरिएको छ,’ अध्यक्ष नेपालीले भने । कार्यक्रममा दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीलाई समेत सम्मान गरिएको छ । पार्टीले समाजमा विभेद भइरहेकै समयमा प्रोत्साहन गर्ने उद्देश्यले यो काम गरिएको दलित मुक्ति मोर्चाका अध्यक्ष नेपालीले दावी गरे । जुम्ला गुठीचौर गाउँपालिका निवासी उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताए । समानता समानुपातिकको मूल एजेण्डा माओवादी सूत्रधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको उनको भनाइ छ । सङ्घीयता, समानुपाति र समावेशीमा माओवादी केन्द्रले नै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहनसहित सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज भण्डारीको भनाइ छ । कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियारले दलितले बनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउने प्रवृत्ति अब हट्दै जानुपर्ने भन्दै सम्मान कार्यक्रमका लागि जुम्ला माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गरे ।
सिद्धार्थ बैंकले २ जना सेयरधनीको सेयर बेच्दै
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको करिब १ लाख बढी सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी रजनी प्रधानको नाममा रहेको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
यूनिलिभर नेपालले १ करोडका पुराना समान बिक्री गर्दै
काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले पुराना सामाग्री (स्क्र्याप) बिक्री गर्ने भएको छ । कम्पनीले १ करोड रुपैयाँ मूल्य बराबरका स्क्र्याप बिक्री गर्ने भएको हो । कम्पनीको मकवानपुरको हेटौडा–३ बसामाडी स्थित उद्योग लगायत हेटौडा औद्योगीक क्षेत्र र हेटौडा उपमहानगरपालिका ११ मा उद्योग संचालनको क्रममा निस्कने १ करोड रुपैयाँ बराबरको स्क्र्याप सामान बिक्री गर्ने भएको हो । जसमा खाली ड्रम, स्क्राप डोलोमाइट पाउडर, स्क्राप इमुल्सन लिक्वीड, स्क्राप एनएपआइएल, एबिएसआइएल एडिडिओएन पाउडर स्क्राप परफ्युम लगायतका सामाग्री रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी बैशाख १८ गतेदेखि भदौ १४ गतेसम्म बोलपत्रको माध्यमबाट सम्झौता गरि बिक्री गर्ने जनाएको छ । उक्त सामानहरू खरीद गर्न इच्छुक फर्म वा संघ संस्थाले बोलपत्र प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको ईमेलमार्फत चैत ३० गतेसम्म बोलपत्र फारम माग गरि बैशाख ३ गतेसम्म फाराम पठाउनु पर्नेछ । साथै, बैशाख १४ गतेसम्म युनिलिभर नेपाल लिमिटेडको सिटि स्क्वायर विल्डिङ नयाँ बानेश्वर काठमाण्डौमा रहेको कर्पोरेट कार्यालयमा बैशाख १४ गतेसम्ममा कुरियर मार्फत पठाई सक्नुपर्नेछ । साथै ५० हजार रुपैयाँ धरौटी स्वरूप जम्मा गरेको भौचर समेत संलग्न गरि पेश गर्नु पर्नेछ । बोलपत्र स्विकृत भएमा धरौटी वापत अतिरिक्त ९ लाख ५० हजार रुपैयाँ जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।
नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत १९ गते आइतबारदेखि चैत २४ गते शुक्रबारसम्म आइमएई जनरल इन्स्योरेन्स, विन नेपाल लघुवित्त, महिला लघुवित्त र युनाइटेड इन्स्योरेन्स गरी ४ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आइमएई जनरल इन्स्योरेन्स ६ प्रतिशत बोनस वापतको १० लाख २० हजार ९९०.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस वापतको ६७ हजार ६५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस वापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो यस्तै, युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत बोनस वापतको ५ लाख १४ हजार ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।