विकासन्युज

नेपालमा कारोना सङक्रमण बढ्दै, खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन् । काठमाडौं उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् । अहिले काठमाडाैंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ । यस्तै काठमाडौंका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् । केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ । मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ ।

सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ काे बिक्री खुला

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को इकाईहरु आइतबारबाट सर्वसाधारणको लागि खुला गरिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन भएको यो छैठौं सामुहिक लगानी कोष योजनाको आकार एक अर्ब बीस करोड रहेको छ । र यसको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ रहेको छ । सिद्धार्थ बैंकले न्यूनतम एक करोड २० लाख इकाई तथा सिद्धार्थ क्यापिटलले न्यूनतम ६० लाख इकाई बीज पूँजीको रुपमा लगानी गर्नेछ भने सर्वसाधारणका लागि १० करोड २० लाख ईकाइ सार्वजनिक रुपमा बिक्रीका लागि निष्काशन गरेको जनाएको छ । यस योजनामा न्यूनतम १०० ९एक सय० इकाई र अधिकतम एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ ।

करोडौं रुपैयाँले बढ्यो अदुवा, अलैँची र प्लाइउडको निर्यात

झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार मूल्य बराबरको एक करोड २५ लाख ४७ हजार छ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ । गत आव २०७८/७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार मूल्य बराबरको ५३ लाख ७४ हजार पाँच सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार मूल्य बराबरको एक करोड एक लाख ७८ हजार एक सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो । यसैगरी चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट पाँच अर्ब ८४ करोड ४६ लाख ७२ हजार मूल्य बराबरको ७२ लाख २१ हजार तीन सय ७४ केजी अलैँची भारत निर्यात भएको छ । गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट तीन अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उक्त आवको १२ महिनामा भने चार अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो । मेची भन्सार कार्यालयले जनाएअनुसार चालु आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना)मा नेपालबाट एक अर्ब १० करोड ९१ लाख मूल्य बराबरको तीन करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ । गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट २९ करोड सात लाख चार हजार मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो । पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ । रासस

चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशिलको सूचिमा

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उहाँको भनाइ छ । ‘सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशिल छन्’, उनले भने, ‘राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ ।’ निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने भन्दै उहाँले अहिलेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि सुरक्षा योजना बनाइ गृहकार्य अघि बढाइएको उनको भनाइ छ । ‘जनताले सुरक्षित महशुस गर्ने गरी सुरक्षाकर्मी परिचालन हुन्छ, सबै मतदान स्थलमा वैशाख ७ गतेभित्र सुरक्षाकर्मी पुगिसक्नुहुन्छ’, उनले भने । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ६९५ जना मतदाता छन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलापछि रिक्त भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ । रासस

अर्बपति सासंद चौधरीले पनि बुझ्छन् मासिक ९ हजार मर्मत सम्भार सुविधा

काठमाडौं । नेपालको एक मात्रै डलर अर्बपति हुन् विनोद चौधरी । उद्योग व्यवसायमा एकपछि अर्को सफलतापछि नेपाली राजनीतिमा प्रवेश गरेका उनी अहिले सासंद छन् । उनी संसदमा सबैभन्दा ढबी सम्पत्ति भएको सांसदका रुपमा परिचित छन् । फोर्ब्सका अनुसार अहिले उनको सम्पत्ति १ अर्ब ८० करोड डलर छ । उनी विश्वका धनाढ्यहरुको १६ सय ४७ औं अर्बपतिको सूचीमा छन् । अर्बपति सांसद भएपनि उनले सांसदका रुपमा मासिक ९ हजार रुपैयाँ घर मर्मत सम्भार सुविधा बुझ्ने गरेका छन् । उनले सरकारी ढुकुटीबाट मासिक रुपमा सांसदले पाउने ९ हजार रुपैयाँ घर मर्मत सम्भार सुविधावापत बुझ्ने गरेको संसद सचिवायलयले जनाएको छ । संसद सचिवालयका अनुसार काठमाडौंमा घर हुने सांसदले मासिक ९ हजार रुपैयाँ मर्मत सम्भार सुविधा बुझ्ने गरेका छन् भने काठमाडौंमा घर नहुने सासंदहरुले घरभाडाका लागि १८ हजार रुपैयाँ सुविधा बुझ्ने गरेका छन् । अहिले काठमाडौंमा घर भएर पनि ९ हजार मर्मत सम्भार सुविधा नबुझ्ने सांसद भने सुनिल शर्मा छन् । उनी मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

होटल सेभेन स्टारको संस्थागत सल्लाहकारमा नेशनल एकेडेमी

काठमाडाैं । नेशनल एकेडेमी फर फाईनान्सियल सर्भिसेज(एनएफआरएस) र सौराहास्थित होटल सेभेन स्टारबीच सम्झाैता भएकाे छ । दुई कम्पनीबीच संस्थागत सल्लाहकारको सेवा लिने दिने विषयमा द्विपक्षिय सम्झाैता भएकाे हाे । उक्त सम्झाैतामा एनएफआरएसको तर्फबाट संस्थापक अध्यक्ष रमेश कुमार भट्टराई र होटल सेभेन स्टारको तर्फबाट प्रबन्ध संचालक माधव दवाडिले हस्ताक्षर गरेका छन् । बैशाख पहिलो हप्ताबाट संचालन गर्ने तयारीमा रहेकाे एनएफआरएसले बैंक तथा वित्तिय संस्था तथा सबै प्रकारका उधोग व्यवसायलाई काउन्सेलिङ्ग, कन्सलटेन्सि र कोचिगं (तालिम) प्रदान गर्ने उद्देश्य राखेको छ ।

नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडौं । नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाइने भएको छ । नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा अब १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने भएको हाे । उक्त अफर नेपाल भरी रहेका नेपाल पे क्युआरका सम्पूर्ण मर्चेन्टहरुमा २०७९ चैत्र २६ गते देखि २०८० बैशाख २ गतेसम्म प्राप्त गर्न सकिन्छ । विभिन्न मर्चेन्टहरुमा स्टाटिक क्युआर, डिपार्ट्मेन्ट स्टोरमा डाइनामिक क्युआर इ–कमर्श पोर्टलमा क्युआर गेटवे तथा पिओएसमा उपलब्ध रहेको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्टआइपिएसबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । नयाँ वर्ष २०८० मा नेपाल भरी रहेका २ लाख ३५ हजारभन्दा बढी नेपाल पे क्युआर मर्चेन्टहरुमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । हाल नेपाल पे क्युारको सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरुमा उपलब्ध रहेको छ । नेपा पे क्युआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्युआर स्क्यान गर्ने अप्सनमा गई नेपाल पे लोगोे रहेको यकिन गर्नुपर्ने हुन्छ । हाल नेपाल पे क्युारको सुविधा अधिकांश बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरुमा उपलब्ध रहेको छ । नेपा पे क्युआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्युआर स्क्यान गर्ने अप्सनमा गई नेपाल पे लोगो रहेको यकिन गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।

‘आकर्षक घर बनाउन चाइनिज इट्टा नै प्रयोग गरौं, भक्तपुरका उद्योग मर्ज गर्नु पर्छ’

काठमाडौं । ठूला–ठूला संरचना अथवा घर बनाउनका लागि आवश्यक निर्माण सामाग्रीको रूपमा लिइन्छ ‘इट्टा’ । गुणस्तर इट्टा अहिलेको आवश्यकता पनि हो । संरचना तयार गर्नका लागि पनि ठूलो संख्यामा इट्टाको आवश्यकता पर्छ । सो विषयलाई मध्यनजर गर्दै गोर्खा रेड ब्रिक्स कम्पनीले नयाँ र आधुनिक प्रविधिको प्रयोग गरी लामो समयदेखि चाइनिज इट्टाको उत्पादन गर्दै आइरहेको छ । आधुनिक प्रविधिकाबाट उत्पादित चाइनिज इट्टा ठूला–ठूला संरचनाका साथै उपत्यका भित्र निर्माण भएका धेरै घरहरूमा यसको प्रयोग भएको पाइन्छ । आकर्षक डिजाइनका यस्तो इट्टा वि.सं. २०७६ सालदेखि काभ्रेबाट उत्पादन सुरु भएको थियो । अहिले गोर्खा चाइनिज इट्टाको प्रयोग गरेर घर तथा संरचना बनाउनेका संख्या बढ्दो छ । गोर्खा चाइनिज इट्टाको बजार, यसको माग मूल्य र गुणस्तरीयता लगायको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । सुरुमा गोर्खा चाइनिज इट्टाको विषयमा कुरा गरौं, चाइनिज इट्टाको उत्पादन कसरी सुरु गर्नु भयो ? म यही क्षेत्रमा लागेर काम गर्न थालेको दुई दशक बढी भइसक्यो । पहिला हामी परम्परागत तरिका भट्टाबाट इट्टाको उत्पादन गर्दै आएका थियौं । लामो समयसम्म स्थानीय इट्टा उत्पादन गर्ने उद्योग पनि सञ्चालन गर्यौं । तर, अब परम्परागत इट्टा उत्पादनले हुँदैन । अब हामीले यसको वैकल्पिक उपाय खोज्नु पर्छ भन्ने लाग्यो । । जुन उत्पादन वातावरणमैत्री तथा धुलोधुवाँ रहित उद्योग होस् भन्ने भयो । त्यही सिलसिलामा इट्टा उत्पादन गर्ने चाइनिज प्रविधि भेटायौं । जुन हाम्रो सोच अनुरूपको थियो । सो प्रविधिलाई हामीले आत्मसाथ गर्यौं । र, २०७४ सालदेखि काभ्रेमा इट्टा उत्पादन गर्ने कारखानाको बनाउनका काममा जुट्यौं । कारखाना निर्माणको काम सम्पन्न भएपछि २०७६ सालदेखि इट्टाको उत्पादन सुरु गरेका हौं । गोर्खा रेड ब्रिक्स कम्पनीबाट यसलाई सञ्चालन गर्यौं । चीनमा उत्पादन हुने जस्तै इट्टा हामीले नेपालमै उत्पादन गर्न थाल्यौं । चीनको प्रविधिबाट इट्टा उत्पादन भएकोले यसलाई चाइनिज इट्टाको नाम दिएका हौं । स्थानीय इट्टा भन्दा गुणस्तर इट्टा उत्पादनमा गर्दै आइरहेका छौं । तपाईंहरुको उद्योगबाट दैनिक कति इट्टा उत्पादन हुन्छ ? क्षमता कति हो ? हाम्रो इट्टा उद्योग दिनहुँ सञ्चालनमा हुन्छ । प्रतिदिन एक लाख ५० हजार इट्टा उत्पादन गर्न सक्ने क्षमता फ्याक्ट्रीमा छ । गत वर्षको तुलनामा अहिले इट्टाको उत्पादन घटाएका छौं । अहिले माग कम छ । अहिले हाम्रो क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छौं । माग आयो भने उत्पादन बढाउँछौं । तपाईंहरुले सुरुमा उत्पादन गरेको स्थानीय इट्टा र चाइनिज इट्टामा फरक के छ ? स्थानीय र चाइनिज इट्टामा धेरै फरक छ । स्थानीय र चाइनिजमा उत्पादनदेखि गुणस्तरसम्मको कुरामा फरक पाइन्छ । चाइनिज इट्टा वातावरणमैत्री छ । र, यो इट्टा उत्पादन सहजै तरिकाले गर्न सकिन्न । थोरै जनशक्तिले पनि धेरै इट्टाको उत्पादन गर्न सकिन्छ । हेर्दा आकर्षक देखिने यो इट्टा गुणस्तरका हिसाबले पनि नम्बर वान छ । चाइनिज इट्टा एउटै साइजमा उत्पादन हुन्छ । जसले गर्दा संरचना निर्माणमा सहज हुन्छ । र, हाम्रो इट्टाको साइज पनि ठूलो छ । स्थानीय इट्टा उत्पादन गर्न समय लाग्छ । एउटै भट्टाबाट २/३ वटा साइजको इट्टाको उत्पादन हुन्छ । स्थानीय इट्टामा लोगो देख्नु हुन्छ । तर, हाम्रो इट्टा प्लेन छ । जसले गर्दा सिमेन्ट कम लाग्छ । धेरै स्थानीय इट्टाको उद्योगहरू बर्खाको समयमा बन्द हुन्छ । तर, हाम्रो उद्योगबाट बाह्रै महिना इट्टाको उत्पादन गर्न सकिन्छ । त्यसैले गर्दा यसमा धेरै फरक पाइन्छ । बजारमा इट्टाको माग कम छ भन्नु भयो, माग कम किन भयो, मान्छेहरुले घर बनाउन छोडेका हुन् ? बजारमा इट्टाको माग छ । तर, गत वर्षको तुलनामा भन्दा अहिले कम छ । अहिलेको आर्थिक मन्दी तपाईँहरू सबैलाई थाहा भएको विषय हो । बैंकले ऋण दिँदैनन् । दिए पनि महँगो ब्याजमा मान्छेले ऋण लिन मान्दैन । प्रायः ठूलादेखि सानासम्मको आयोजना ऋण लिएर नै बन्छ । महँगो ब्याज ऋण लिएर मान्छे घर पनि बनाउन मान्दैन पनि सक्दैन । त्यसैले पनि इट्टाको माग कम भएको हो । हाम्रो उत्पादन धेरै जसो सरकारी संरचना बनाउन प्रयोग हुन्छ । सरकारी निकायले ठेकदारलाई पैसा पनि दिएको छैन । सरकारी निकायले ठेकदारलाई पैसा नदिएपछि पैसा हामीले पनि पाउने कुरा भएन । त्यसैले अहिले हामी पनि इट्टा कम पठाउने र रकम उठाउने तर्फ लागेका छौं । मान्छेले चाइनिज इट्टा किन प्रयोग गर्ने ? निर्माण छिटो र आकर्षक डिजाइनको घर बनाउनु छ भने यो इट्टाको प्रयोग गर्नु पर्छ । अहिले नेपाली बजारमा धेरै रुचाइएको इट्टा मध्येको चाइनिज इट्टा हो । स्थानीय इट्टा प्रयोग गरेर घर बनायौं भने हामीले घर बाहिर प्लास्टर गर्नु पर्छ । तर, हाम्रो इट्टा प्रयोग गरेर बनाइएका घरमा प्लास्टर गर्नु पर्दैन । तर, कोठामा चाहिँ गर्नुपर्छ । खर्च कम हुन्छ भने थोरै इट्टामा धेरै ठाउँमा प्रयोग गर्न सकिन्छ । यो हेर्दा पनि सफ्ट छ । घर बनाउँदा अहिले धेरै जसोले चाइनिज इट्टाको प्रयोग गर्छन् । यस इट्टाको प्रयोग गरेर बनाएको घरमा रङ लगाए पनि हुन्छ नलगाए पनि हुन्छ । स्थानीय इट्टाको तुलनामा यो इट्टा प्रयोग भएर बनेका संरचनाहरूको फिनिसिङ पनि राम्रो हुन्छ । रङ लगाउन नपर्ने भएपछि खर्च पनि कम हुने भयो । चाइनिज इट्टा प्रयोग गरेर घर बनाउँदा कति समय लाग्छ, एउटा घर बनाउन कति इट्टा आवश्यक पर्छ ? स्थानीय इट्टाको तुलनामा चाइनिज इट्टा प्रयोग गर्दा थोरै भए पनि इट्टा कम लाग्छ । यस विषयमा अध्ययन पनि गरेका थियौं । हाम्रो इन्जिनियरले निकालेको डाटा अनुसार एक वर्ग मिटरमा लोकल इट्टा भन्दा ४०÷५० वटा कम चाइनिज इट्टाको प्रयोग हुन्छ । यो इट्टाको प्रयोग गरी घर कति समयमा बनाउन सकिन्छ भनेर कुराको भर चाहिँ ठेकदारमा पर्छ । कस्तो अनि कत्रो घर बनाउने हो त्यो अनुसार इट्टाको खपत हुन्छ । यती नै लाग्छ भनेर चाहिँ भन्न सकिने अवस्था छैन । चाइनिज इट्टाको मूल्य कति पर्छ ? स्थानीय इट्टाको तुलनामा यो इट्टा महँगो भयो भन्ने गुनासो पनि छ नी ? लोकल इट्टाको तुलनामा हाम्रो इट्टाको मूल्य थोरै महँगो छ । अहिले हामीले काठमाडौंमा प्रति इट्टा २१ रुपैयाँमा उपलब्ध गराउँछौं । फ्याट्रीमै लिन आए १९ रुपैयाँमा दिन्छौं । तपाईंले अहिले कति वटा प्रोजेक्ट लिएर काम गरिराख्नु भएको छ ? हाम्रो इट्टा सरकारी निकायका भवन बनाउँनमा प्रयोग हुन्छ । अहिलेसम्म धेरै सरकारी प्रोजेक्ट लिएर काम गरिसकेका छौं । गर्ने क्रम पनि जारी छ । हाम्रो इट्टाको प्रयोग भएर अहिलेसम्म लगभग ८० वटा प्रोजेक्ट तयार भइसकेका छन् । सिंहदरबार भित्र निर्माण हुँदै गरेका भवनमा पनि चाइनिज इट्टाको प्रयोग भइरहेको छ । तपाईंले उत्पादन गरेका इट्टाहरू कुन–कुन ठाउँमा पुग्छ ? हामीले उत्पादन गरेको इट्टा प्रायः उपत्यकामा नै खपत हुन्छ । कहिले काहीँ पोखरा इटहरी लगायत ठाउँमा पनि पुग्छ । पछिल्लो समय उपत्यका बाहिरबाट माग आइरहेको छ । अहिले हामी उपत्यकामा नै लक्षित छौं । यस्तो किसिमको उद्योग अन्य ठाउँमा पनि खोल्ने योजना बनाउनु भएको छ कि छैन ? हामीले अहिले यस्तो योजना बनाएको छैनौं । हामीले अझै पनि आवश्यक ग्राहक पाइरहेका छैनौं । अहिले हामीले यही उद्योगबाट उत्पादित इट्टाले माग धान्न सक्छौं । देश भरको माग यही उद्योगले धान्न सक्छ । नेपालमा यस्ता इट्टाका ठूला उद्योग खोली सञ्चालनमा ल्याउने सम्भावना कतिको छ ? सम्भावना छ । अहिले भक्तपुरमा साना ठूला गरी करिब ५०/६० वटा इट्टा भट्टा छन् । तिनीहरू सबैलाई समेटेर मर्ज गरी ४÷५ वटा इट्टाका ठूलो उद्योग सञ्चालन गर्यो भने राम्रो हुन्छ । किनभने म्यानपावर पनि कम लाग्छ । उत्पादन पनि बढी हुन्छ । नयाँ तथा ठूला उद्योग इट्टाका अवश्य खोली सञ्चालनमा ल्याउन सकिन्छ । र, इट्टाका व्यवस्थित उद्योग सञ्चालन गरी ल्याउन सके इट्टा उत्पादन बाह्रै महिना सञ्चालनमा पनि ल्याउन सकिन्छ । अहिले नेपाल इट्टाको उत्पादनमा आत्मनिर्भर पनि छ । अहिले इट्टा उत्पादनमा तपाईंहरुले भोग्नु परेका समस्याहरु के–के हुन् ? सरकारले स्थानीय इट्टा उद्योगलाई टनेलमा जानु पर्छ भन्ने नीति ल्याएको छ । सरकारले निति दिन्छ तर कार्यान्वयन गर्न गाह्रो छ । सरकारी कर्मचारीहरूमा यो क्षेत्रको विज्ञता कम छ । यो एउटा दुःखको कुरा हो । हामीले कम्पनी दर्ता गरेर सरकारी निकायबाट निरीक्षण तथा अनुगमन गर्न आउँदा उनीहरुले हामीलाई यो के कस्तो हो भनेर सोध्छन् । हामीलाई चाहिँ उनीहरूले सिकाउनु पर्ने हो । सरकारी निकायका कर्मचारीहरुलाई पनि इट्टाको विषयमा ज्ञान हुन जरुरी छ ।