नेपालको चिया उद्योग धरासायी र व्यवसायी सङ्कटमा

<p>काठमाडौं । नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन् । नेपाली चिया व्यवसायीले भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय भए पनि निकासीमा समस्या उत्पन्न भएको गुनासो गरेका हुन् । उनीहरूले नेपाली चिया भारत निकासीमा देखिएको अवरोध हटाउन ‘जिटुजी’ पहल गर्नसमेत आग्रह गरेका थिए । नेपाली चियाको [&hellip;]</p>

काठमाडौं । नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन् । नेपाली चिया व्यवसायीले भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय भए पनि निकासीमा समस्या उत्पन्न भएको गुनासो गरेका हुन् ।

उनीहरूले नेपाली चिया भारत निकासीमा देखिएको अवरोध हटाउन ‘जिटुजी’ पहल गर्नसमेत आग्रह गरेका थिए । नेपाली चियाको गुणस्तरका विषयमा भारतीय व्यवसायी र मिडियाबाट सिर्जना गरिएका भ्रमहरूको सप्रमाण खण्डन गर्नुपर्नेमा व्यवसायीको जोड छ ।

‘नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रवद्र्धन’ सम्बन्धमा महावाणिज्य दूतावास र नेपाल चिया उत्पादक सङ्घद्वारा आज झापाको काँकडभिट्टामा आयोजित अन्तक्र्रियामा नेपाली व्यवसायीले चिया निर्यातमा अवरोध उत्पन्न भइरहेको गुनासो सुनाएपछि महावाणिज्यदूत पौडेलले पछिल्लो समय देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली चियाले भारतीय चिया बजारलाई ध्वस्त पारेको भनी भारतीय मिडियामा भइरहेको दुष्प्रचार गलत भएको जनाउँदै उहाँले नेपाली चिया र भारतको दार्जिलिङको चियाको आ–आफ्नै लोकप्रियता रहेको स्पष्ट पारे । उनले अहिलेसम्म नेपाली चिया भारतीय बजारमा निर्भर रहेको हुँदा अब वैकल्पिक बजार खोज्नसमेत चिया व्यवसायीलाई सुझाव दिए ।

‘अब भारत बाहिर पनि बजार खोज्नुपर्छ, दक्षिण एसियाका अन्य छिमेकी, खाडी मुलुक र युरोप पनि हाम्रो बजार बन्नसक्छ,’ उनले भने ।

चिया उत्पादक तथा व्यवसायीले नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन हुने चियाको भारत निकासीलाई सहज बनाउन भारतीय सरकारसँग जिटुजी तहबाट पहल आवश्यक रहेको बताएका थिए । नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार अग्रवालले नेपालको चियाबारेमा भारतमा दुष्प्रचार भइरहेको गुनासो सुनाउँदै यसलाई चिर्न नेपाल सरकार र मिडियाको सहयोग चाहिएको बताए ।

‘नेपाली चिया कमसल गुणस्तरको छ भनेर भारतमा प्रायोजित प्रचार भइरहेको छ, यसलाई रोकिनुपर्छ, अर्कातिर नेपाली चियाको निर्यातमा भारतले ४० प्रतिशत भन्सार कर लगाउने तयारी गरिरहेकामा हामी चिन्तित भएका छौँ,’ उनले भने ।

भारतले नेपालको चियामा ४० प्रतिशत भन्सार कर लगाएमा नेपाली चिया भारतमा नबिक्ने र प्रतिस्पर्धामा टिक्न नसक्ने उहाँको भनाइ थियो । अहिलेको शून्य भन्सार नीति कायम राख्नका लागि भारत सरकारसँग नेपाल सरकारले जिटुजी छलफल चलाउनुपर्ने उनले भने ।

चिया उत्पादक किसन सरियाले नेपालबाट उत्पादित चियाको गुणस्तर प्रमाणपत्रलाई भारतमा मान्यता नमिल्ने हुँदा निर्यात व्यवसायीले कोलकातामा नमूना पुर्याएर भारतीय प्रयोगशालाको रिपोर्ट ल्याउनु परिरहेको बताए । नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त खाद्य प्रयोगशाला स्थापना गरिनुपर्ने र नेपालको प्रयोगशाला जाँचलाई भारतमा मान्यता दिइनुपर्ने उनको धारणा थियो ।

नेपाल चिया उत्पादक सङ्घका उपाध्यक्ष आदित्य पराजुलीले भारतीय चिया बोर्ड नै नेपालको चिया रोक्ने कानुनी व्यवस्था लागू गराउन लागिपरेको जनाउँदै नेपाली चियामा कुनै मिसावट नभएको बारेमा भारतीय पक्षलाई आश्वस्त तुल्याउन आवश्यक रहेको बताए ।

भारतीय बजार गुम्यो भने नेपालको चिया उद्योग धरासायी हुने जोखिम औँल्याउँदै उनले यसमा आश्रित लाखौँ मजदुर, किसान, उद्योगी र व्यवसायी सङ्कटमा पर्ने चेतावनी दिए । भारतमा नेपाली चियाका बारेमा भइरहेका नकारात्मक प्रचार र भ्रमलाई चिर्न कोलकतामै कार्यक्रम सञ्चालन गर्न उनले सुझाव दिए ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले चियाको निर्यातमा गैरभन्सार अवरोध हटाउन सबै लाग्नुपर्ने उल्लेख गर्दै नेपाली मिडियाले पनि चियाका बारेमा विश्वबजारमा फैलाइएका नकारात्मक भ्रम चिर्न सघाउनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले चियाको निर्यातका लागि भारतीय निर्भरता कम गर्न र अन्य मुलुकमा पठाउनेबारेमा विकल्प खोज्न चिया व्यवसायीलाई सुझाए । चिया निर्यातमा संलग्न व्यवसायी रोशनकुमार अग्रवालले नेपालले भारतीय चियाको आयातलाई न्यूनीकरण र स्वदेशी चियाको संरक्षण गर्दै जाने नीतिअन्तर्गत भन्सार महसुल ३० बाट बढाएर ४० प्रतिशत बनाएपछि भारतीय पक्ष चिढिएको बताए ।

चिया उत्पादक तथा भारतीय चिया बोर्डले नेपाली चियालाई समेत भन्सार शुल्क लगाउने तयारी गरिरहेको जानकारी पाएको उनले बताए । भारतले चियामा भन्सार शुल्क लगाएमा नेपाली चियाको निर्यातमा नकारात्मक असर पर्ने उनको भनाइ थियो ।रासस

Share News