जनउत्थान सामुदायिकको लाभांश आज पारित हुँदै
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १२ औं वार्षिक साधारण सभा आज बस्दैछ । लघुवित्तको वार्षिक साधारण सभा आज चैत २६ गते होटल न्यू ईरा, बुटवल रुपन्देहीमा बिहान ११ बजे शुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, हाल कायम रहेको अधिकृत पूँजी २५ करोड रुपैयाँ रहेकोमा ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । साथै, लघुवित्तको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताप पनि पारित गर्नेछ । संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १० गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि भइ लाभांश प्राप्त गर्न सक्नेछन्।
अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित
काठमाडौं । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो । माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न जिल्ला सम्मेलनका क्रममा ती जोडीलाई सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले बताए । माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो । ‘विद्यमान अवस्थामा उहाँहरूलाई ताकत दिन हौसला प्रदान गर्न गरिएको छ,’ अध्यक्ष नेपालीले भने । कार्यक्रममा दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीलाई समेत सम्मान गरिएको छ । पार्टीले समाजमा विभेद भइरहेकै समयमा प्रोत्साहन गर्ने उद्देश्यले यो काम गरिएको दलित मुक्ति मोर्चाका अध्यक्ष नेपालीले दावी गरे । जुम्ला गुठीचौर गाउँपालिका निवासी उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताए । समानता समानुपातिकको मूल एजेण्डा माओवादी सूत्रधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको उनको भनाइ छ । सङ्घीयता, समानुपाति र समावेशीमा माओवादी केन्द्रले नै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहनसहित सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज भण्डारीको भनाइ छ । कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियारले दलितले बनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउने प्रवृत्ति अब हट्दै जानुपर्ने भन्दै सम्मान कार्यक्रमका लागि जुम्ला माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गरे ।
सिद्धार्थ बैंकले २ जना सेयरधनीको सेयर बेच्दै
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको करिब १ लाख बढी सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी रजनी प्रधानको नाममा रहेको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
यूनिलिभर नेपालले १ करोडका पुराना समान बिक्री गर्दै
काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले पुराना सामाग्री (स्क्र्याप) बिक्री गर्ने भएको छ । कम्पनीले १ करोड रुपैयाँ मूल्य बराबरका स्क्र्याप बिक्री गर्ने भएको हो । कम्पनीको मकवानपुरको हेटौडा–३ बसामाडी स्थित उद्योग लगायत हेटौडा औद्योगीक क्षेत्र र हेटौडा उपमहानगरपालिका ११ मा उद्योग संचालनको क्रममा निस्कने १ करोड रुपैयाँ बराबरको स्क्र्याप सामान बिक्री गर्ने भएको हो । जसमा खाली ड्रम, स्क्राप डोलोमाइट पाउडर, स्क्राप इमुल्सन लिक्वीड, स्क्राप एनएपआइएल, एबिएसआइएल एडिडिओएन पाउडर स्क्राप परफ्युम लगायतका सामाग्री रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी बैशाख १८ गतेदेखि भदौ १४ गतेसम्म बोलपत्रको माध्यमबाट सम्झौता गरि बिक्री गर्ने जनाएको छ । उक्त सामानहरू खरीद गर्न इच्छुक फर्म वा संघ संस्थाले बोलपत्र प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको ईमेलमार्फत चैत ३० गतेसम्म बोलपत्र फारम माग गरि बैशाख ३ गतेसम्म फाराम पठाउनु पर्नेछ । साथै, बैशाख १४ गतेसम्म युनिलिभर नेपाल लिमिटेडको सिटि स्क्वायर विल्डिङ नयाँ बानेश्वर काठमाण्डौमा रहेको कर्पोरेट कार्यालयमा बैशाख १४ गतेसम्ममा कुरियर मार्फत पठाई सक्नुपर्नेछ । साथै ५० हजार रुपैयाँ धरौटी स्वरूप जम्मा गरेको भौचर समेत संलग्न गरि पेश गर्नु पर्नेछ । बोलपत्र स्विकृत भएमा धरौटी वापत अतिरिक्त ९ लाख ५० हजार रुपैयाँ जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।
नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत १९ गते आइतबारदेखि चैत २४ गते शुक्रबारसम्म आइमएई जनरल इन्स्योरेन्स, विन नेपाल लघुवित्त, महिला लघुवित्त र युनाइटेड इन्स्योरेन्स गरी ४ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आइमएई जनरल इन्स्योरेन्स ६ प्रतिशत बोनस वापतको १० लाख २० हजार ९९०.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस वापतको ६७ हजार ६५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस वापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो यस्तै, युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत बोनस वापतको ५ लाख १४ हजार ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
मर्जरलाई अन्तिम रुप दिन नेरुडे र मिर्मिरेले डाके विशेष सभा, स्वाप रेसियो १:१ अनुपात
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएका छन् । नेरुडे लघुवित्तको सञ्चालक समितीको चैत २४ गते र मिर्मिरे लघुवित्त सञ्चालक समितीको चैत १६ गते बसेको बैठकले बैशाख १० गते साधारण सभा बोलाएका हुन् । दुवै लघुवित्तको सभाले एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । दुवै लघुवित्त एक आपसमा मर्जर भएपश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुनेछ । साथै लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १२ मा र कर्पोरेट कार्यालय काठमाडौं र ललितपुर महानगरपालिका बाहेक काठमाडौं उपत्यका भित्र रहने प्रस्ताव पारित गर्नेछ । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त १ः१ सेयर स्वाप अनुपात रेसियोमा मर्ज हुनेछन् । दुवै लघुवित्तबीच गत चैत १८ गते मर्जर सम्बन्धी अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३८ करोड, २५० शाखा कार्यालय, ३ लाख सेवाग्राही पुग्नेछ । साथै, लघुवित्तको निक्षेप ६ अर्ब २५ करोड रुपैयाँ, कर्जा लगानी १९ अर्ब रुपैयाँ र कर्मचारी संख्या १ हजार ३ सय पुग्ने मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशीले जानकारी दिए । मिर्मिरे लघुवित्तबाट मर्जर समिति संयोजक सन्तोष फुयालले लघुवित्त क्षेत्रमा दुवै लघुवित्तबीच बिग मर्जरको रहेको बताए । दुवै संस्थाबीच गत पुस ११ गते एक आपसमा गाम्भे तथा गाभिने गरी प्रारम्भिक सम्झौता भएको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले स्कारपियो बेच्दै
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ वटा सवारी साधन बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका २ वटा कार बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीको नाममा रहेका बा १६ च ७८३७ नम्बरको रेनाल्ट क्विड मोडलको कार र बागमति प्रदेश ०१२६ च ८५८५ नम्बरको महिन्द्रा स्कारपियो मोडलको जीप बिक्री गर्ने जनाएको छ । सवारी साधन जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम विक्री गरिने कम्पनीले बताएको छ । सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति तथा फर्मले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाउँमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फारम प्रतिकोटा पत्र २ हजार रुपैयाँ बुझाई कम्पनीको व्यवस्थापन विभागबाट खरीद गर्न सकिनेछ ।
सहकारी क्षेत्र अब बदनामी हुन नपरोस् : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठ्यारो परेको बेलामा जोगाउने सहकारी भएको बताएका छन् र तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताएका हुन् । ‘अहिले सहकारी क्षेत्र जति बदनाम भएका छन, अब बदनामी हुन नपरोस,’ उनले भने । उनले बैंक, व्यापारी, उद्योगी समस्यामा भएको अवस्थामा साना पुँजी भएका सहकारी समस्यामा पर्नु स्वभाविक भएको भन्दै सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले सहकारीले अनुदानको अपेक्षा गर्न नहुने बताए । थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ । कुल जनसङ्ख्याको ६० प्रतिशत जनसङ्ख्यालाई कृषि क्रान्तिमा जोड्न सके मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने उनको भनाइ छ । ‘खाना पाउनु मानिसको पहिलो अधिकार हो, अब सहकारीले खाद्य सुरक्षामा जोड दिनुपर्छ,’ उनले भने ।