विकासन्युज

सिंगापुरबाट एक करोड डलर ल्याउने राष्ट्र बैंक निर्णय, बाणिज्य बैंकलाई पनि बाटो खुला

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकले सिंगापूरबाट एक करोड अमेरिकी डलर नगद ल्याउने भएको छ । नेपालभित्र नगद डलरको माग अधिक भएको र नेपाल राष्ट्र बैंकसँगको मौज्दात कम हुन लागेपछि राष्ट्र बैंकले सिंगापुरको सीआईएमबी बैंकबाट आफ्नो खाताको डलर ल्याउने निर्णय गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । यसरी नगद डलर ल्याउँदा सिंगापुरबाट त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलसम्मको बीमा र पारवाहन खर्च सिआइएमबीले ब्यहोर्ने भएको छ । यस विषयमा दुई पक्षबीच अनौपचारिक सहमति भएपनि औपचारिक रुपमा सम्झौता बाँकी रहेको उनले बताए । राष्ट्र बैंक र सिआइएमबीबीच सम्झौता गर्नको लागि राष्ट्र बैंकको बैंकिङ्ग कार्यालयका प्रमुख जनकबहादुर अधिकारी सिंगापुर जाने तय भएको छ । दशै लगत्तै सिंगापूरबाट सो परिमाणको नगद डलर ल्याउने लक्ष्यका साथ तयारी भईरहेको छ । अहिले राष्ट्र बैंकसँग करिब ढेड करोड अमेरिकी डलर बराबरको नगद मौज्दात छ । साथै राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई पनि नगद डलर ल्याउन स्वीकृति दिएको छ । निजी क्षेत्रका बाणिज्य बैंकहरु हिमालयन, नविल, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकले विदेशवाट नगद डलर ल्याउने इच्छा गरेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पनि १ करोड अमेरिकी डलर नगद ल्याउने स्वीकृति मागेको राष्ट्र बैंकले जानकारी दिएको छ । निजी क्षेत्रका बाणिज्य बैंकहरुलाई पनि विनियम दर निर्धारण व्यवस्था अन्तरगत कारोवार गर्ने गरी नगद डलर ल्याउन स्वीकृति दिइएको पण्डितले जानकारी दिए ।

एनएमबी बैंकले ‘एक घर एक खाता’ अभियान सञ्चालन गर्ने, राजेश हमाल ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौं, २९ भदौ । एनएमबी बैंक लिमिटेडले ‘एक घर एक खाता’ अभियानलाई प्रर्वद्धन गर्न महान् अभिनेता राजेश हमाललाई प्रवद्र्धक दूत (ब्राण्ड एम्बेस्डर)को रुपमा नियुक्त गरेको छ । यस बैंकले एक घर एक खाता अभियान गत साउनदेखि नै शुरु गरेको छ । एनएमबी बैंक एक घर एक खाता अभियानको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने–‘नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्बद्धक दूतका रुपमा नियुक्त गर्न पाउँदा हामी अत्यान्तै हर्षित भएका छौं, हमालको लोकप्रिय छविले यस अभियानको उदेश्य पुरा हुनेमा हामी विश्वस्त छौ ।’ ‘बैकिङ साक्षरता र समावेशीता प्रवद्र्धन गर्न महान् अभिनेतालाई लिएर हामी गाउँ गाउँमा जाने छौं । विभिन्न कार्यक्रमको आयोजना गरी सर्वसाधारणलाई बैंकमा खाता खोल्न, बचत गर्न र भविष्य सुरक्षीत गर्न अपिल गर्ने छौ’ पौडेलले भने । अभिनेता राजेश हमालले बैंकमा खाता खोल्दा पैसा बचत हुने, व्याज आम्दानी हुने, अन्य बैकिङ सेवाको प्रयोग गर्न सकिने र त्यसबाट अन्य लाभ लिन सकिने विषयको जानकारी धेरै नेपालीलाई नभएको र अझै पनि ६० प्रतिशतभन्दा बढी नेपालीले बैंकमा खाता नखोलेको अवस्थामा एक घर एक खाता अभियानको प्रवद्र्धक दूतको रुपमा आफू काम गर्न मञ्जुर भएको बताए । ‘बैंकले धेरै राम्रो कार्यक्रम ल्याएको छ, बैंकमा खाता खोल्दा बचतकर्तालाई पनि फाइदा हुन्छ, बैंकलाई पनि फाइदा हुन्छ, अर्थतन्त्रलाई पनि फाइदा हुन्छ’ हमालले भने । एमएमबीका रिटेल बैकिङ प्रमुख सुष्मा शर्माले एक घर एक खाता अभियानमा खाता खोल्ने ग्राहकलाई बीमा, रेमिट्यान्स भुक्तानी सेवा लगायत सुविधा दिन सकिने र यो खोता खोल्ने प्रक्रिया सजिलो भएको बताइन् ।

दशैँको अवसरमा सामसुङको क्यासब्याक अफर

काठमाडौं, २९ भदौ । नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा सामसुङले आफ्ना उपभोक्ताहरुका “दशैँ आयो सामसुङ ल्याउँला क्यासब्याक पाउँला” नामक अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत सामसुङका टीभी र होम अप्लायन्सेसको खरिद गर्दा उपभोक्ताले तत्कालै २० प्रतिशतसम्म ईन्ष्टयान्ट क्याशब्याक (नगद फिर्ता) पाउने छन् । सामसुङ नेपालका लागि कञ्जुमर ईलक्ट्रोनिक्सको आधिकारिक विक्रेता हिम ईलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी ब्यापारले आफ्ना उपभोक्ताका लागि यो अफर सार्वजनिक गरेको हो । ईन्ष्टयान्ट क्याशब्याक अफर १५ सेप्टेम्बर देखि १५ नोवेम्वरसम्म वा स्टक रहुन्जेल सम्मका लागि मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सामसुङका टीभी (एसयूएचडी, कर्भ, यूएचडी र एफएचडी), रेफ्रिजिरेटर (सिङ्गलडोर, डबल डोर), वासिङ मेसिन (फ्रण्ट लोड, टप लोड) लगायतका छानिएका उपकरणमा योजना लागु हुनेछ ।

प्रभु मनि ट्रान्स्फर र घोडीघोडा लघुवित्तबीच रेमिटेन्स सम्झौता

काठमाडौं, २९ भदौ । प्रभु मनि ट्रान्स्फर प्रा.लि र घोडीघोडा लघुवित्त वित्तिय सस्था लि. बीच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायब महा प्रवन्धक रामेश्वर सापकोटा तथा घोडीघोडा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत कुन्ना नारायण चौधरीले हस्ताक्षर गरेका छन् । कञ्चनपुर जिल्लाको श्रीपुरमा प्रधान कार्यलय रहेको लघुवित्तको विभिन्न १० वटा जिल्लाको स्वीकृति रहेको छ । हाल लघुवित्तले श्रीपुर बाट मात्र कारोवार संचालन गर्ने र आगामी दिनहरुमा क्रमैसँग कारोवार विस्तार गर्दै जाने योजना रहेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चौधरीले जानकारी गराएका छन् ।

युवाका लागि अवसरै अवसर

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालमा युवा जनशक्तिका लागि अवसरै अवसर भएकाले रोजगारीका लागि आफ्ना छोराछोरीलाई विदेश पठाउने सोच त्याग्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्स र भारतको एलबीइएफ विद्यापिठ ‘स्कुल अफ स्कील’को समन्वयमा ‘लर्ड बुद्ध’ एजुकेसन फाउन्डेसनले विभिन्न क्षेत्रमा कार्यरत व्यवसायी र स्नातक तह उत्तीर्ण विद्यार्थीका लागि क्षमता अभिवृद्धि सम्बन्धी व्यावसायिक तालिमको बुधबार उद्घाटन गर्दै उनले उद्यमशील व्यक्तिले क्षमता देखाउनुपर्नेमा जोड दिएका छन् । “व्यापार व्यवसाय नेवार र थकालीले मात्र गर्छ भन्ने भावना त्याग्नुपर्छ, देशभित्र रहेका अवसरहरु युवाले उपयोग गर्नुपर्छ,” नेपालले भने। दुई प्रतिशत व्याजदरमा ऋण दिए पनि युवा व्यवसाय सञ्चालन गर्न आकर्षित नभएको उनको भनाइ थियो । एलबीइ एफ विद्यापीठ स्कुल अफ स्कीलका संस्थापक अध्यक्ष प्रमानन्द केजरीवालले भारतको समन्वयमा नेपालका स्नातक उपाधि युवालाई दक्षता प्रदान गर्न तालिम प्रदान गर्न लागिएको बताए । मणिपाल फ्लोरको नेसनल सेफ हेडका प्रमुख देवतीर्थ दानरजीले नेपाल र भारतमा युवा शिक्षित भए पनि बेरोजगारीमा बस्नुपर्ने प्रमुख समस्या रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको विकासका लागि दक्ष जनशक्तिको विशेष महत्व रहेको र दक्षता अभिवृद्धि कार्यक्रमबाट प्राप्त सीपबाट विदेशमा गई काम गर्दा पनि पारिश्रमिक बढी पाउने काम युवाले पाउनसक्ने बताए । तालिममा आइटी, आइटीइएस, वित्त, फेसन टेक्नोलोजि, व्यवस्थापन, सर्टिफिकेट इन प्रजेक्ट मेनेजमेन्टलगायत विधामा एक महिनादेखि तीन महिनासम्मका ४५ वटा तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । रासस

फ्लोरिकल्चर एशोसिएसन (फ्यान)को अध्यक्षमा कुमार कसजु

काठमाडौं, २९ भदौ । फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)को अध्यक्षमा कुमार कसजु श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका कसजु अध्यक्षमा निर्बाचित भएका हुन् । फ्यानको २४ औं साधारण सभामा भएको निर्बाचनमा कसजुले संजिब कार्कीलाई ४ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । त्यस्तै, बरिष्ठ उपाध्यक्षमा दिलिप बादे, उपाध्यक्षमा रामजी तिमिल्सेना र सचिबमा बिश्वमणि पोखरेल बिजयी भएका छन् । उपाध्यक्ष र सचिब पद भने निर्बिरोध भएको हो । लामो समय फ्लोरिकल्चर एशोसिएसनमा उपाध्यक्ष तथा मेला संयोजक बनेर काम गरेका कसजुले काठमाडौं नर्सरी मार्फत आफ्नो व्यवसायलाई उत्तिकै रुपमा सफल बनाएका छन् । आन्तरिक कारण देखाएर निवर्तमान अध्यक्ष लोकनाथ गैरेले अध्यक्ष पदबाट राजीनामा दिएपछि फ्यानले लामो समय नेतृत्व पाउन सकेको थिएन । फ्यानको नयाँ बिधान अनुसार यो पटक बरिष्ठ उपाध्यक्ष र सचिब पद थपिएपछि १३ सदस्यीय कार्यसमितीले पूर्णता पाएको छ । फ्यानको अध्यक्ष निर्वाचत भएपछि कसजुले पुष्प व्यवसायको विकास विस्तार तथा व्यवसायीको हकहितका पक्षमा उल्लेख्य काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले फुलको आयात घटाउँदै आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आफ्नो मुल कार्यभार भएको समेत बताएका थिए । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथी तथा कृषि बिकास मन्त्री गौरी शंकर चौधरीले दुई महिना भित्रै किसान आयोग गठन गर्ने घोषणा गरेका थिए । उनले कृषि क्षेत्रको विकासका लागि किसान आयोग गठन गर्न लागेको बताएका हुन् । आयोगले नेपालको कृषि क्षेत्रका समस्याहरुको पहिचान तथा समाधानका लागि भूमिका निर्वाह गर्नेछ । थोरै लागनीबाट सुरु भएको पुष्प व्यवसायले ठुलो फड्को मार्न सक्नुलाई कृषि क्षेत्रको ठुलै उपलब्धिका रुपमा लिनुपर्ने पनि बताएका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले फुलको निर्यातमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । उनले थोरै फुल आयात गरेर महंगा तथा गुणस्तरिय फुल निर्यातमा फ्यानले जोड दिनुपर्ने धारणा राखेका थिए ।

सर्वोत्तम सिमेन्टको ओपिसी र पिएससी सिमेन्ट नेपाली बजारमा

काठमाडौं, २९ भदौ । सौरभ ग्रुप अन्तर्गतको कम्पनी सर्वोत्तम सिमेन्टले ओपिसी र पिएससी सिमेन्ट नेपाली बजारमा ल्याएको छ । आइएसओ १४००१ मान्यता प्राप्त सर्वोत्तम सिमेन्टको दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले जनाएको छ । कम्पनीले डेनमार्कबाट आयातित मसिनरीहरु भिआरएम, क्रस वार कुलर, आइएमसिसि प्रविधिबाट नेपालकै चुन ढुंगा ४५०० व्लेन सम्म (मसिनोपन) को सिमेन्ट उत्पादन गरेको छ । उधोगमा जडित इ.एस.पी, ६ स्टेज प्रिहिटर तथा अन्य अत्याधुनिक प्रविधिले गर्दा उक्त सिमेन्टले कम प्रदुषण गर्ने कम्पनीले जनाएको छ । कम प्रदुषण गर्ने व्यवस्था भएकोले कम्पनीले उत्पादनको नाम नै सर्वोत्तम ग्रीन सिमेन्ट राखेको छ । उधोगले नेपालमा पहिलो पटक थर्मल पावर प्लान्ट जडान गरी विद्युत समेत उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

हरेक महिनाको ७ गतेभित्र प्रगति प्रतिवेदन बुझाउन सबै मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २९ भदौ । प्रधानमन्त्रीको कार्यालयले प्रत्येक महिनाको ७ गतेभित्र कार्य सम्पादनको मासिक प्रगति प्रतिवेदन बुझाउन सबै मन्त्रालयहरुलाई निर्देशन दिएको छ । कार्यालयले सबै मन्त्रालय तथा निकायको एकिकृत खाका तयार पारी प्रधानमन्त्री समक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि मन्त्रालयहरुले चौमासिक रुपमा मात्रै मन्त्रालयगत प्रगति विवरण तयार पार्दै आएका थिए । चौमासिक रुपमा मात्रै मन्त्रालयगत प्रगति विवरण तयार पार्दै आएका मन्त्रालयलाई यो कार्यन्वयन कठिन हुने देखिएको छ । अहिले कतिपय मन्त्रालयले आफ्ना कार्यक्रमहरुको प्रगति विवरण बजेट समीक्षाको बेलामा अर्थात अर्ध वार्षिक रुपमा मात्रै तयार पार्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयले तयार पारको खाकामा राष्ट्रिय गौरवका आयोजना तथा ४० करोड रुपैयाँभन्दा माथिका आयोजनको नियमित अनुगमन प्रधानमन्त्री नेतृत्वको संयन्त्रले गर्ने भएको छ । यस कार्ययोजना अनुसार भए गरेका कार्य सम्पादनको प्रगति प्रत्येक महिना हुने सचिव स्तरीय बैठकमा समीक्षा गरिने छ । उक्त कार्ययोजनको कार्यान्वयनमा अन्तरनिकाय समन्वय तथा सहजीकरणको कार्य प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गर्नेछ । कार्यालकका अनुसार २७ मन्त्रालयलाई गरिएको निर्देशनमा प्रत्येक मन्त्रालयले सबै कृयाकलापको विस्तृत कार्ययोजना ३ दिनभित्र तर्जुमा गर्नुपर्ने छ । यसरी कार्ययोजना तर्जुमा गर्दा आवश्यक बजेट चालू आवमा नपरेको भए थप बजेट निकाशाको लागि अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग समन्वय गरी बजेटको व्यवस्थापन गरिने उल्ले गरिएको छ । कार्ययोजना अनुसार सरकारले चालू आर्थिक वर्ष २०७३/७४ मै सातवटा प्रदेशमा प्रादेशिक विश्व विद्यालय खोल्ने तयारी गरेको छ । प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यस आवभित्र सम्पन्न गर्न सकिने वा शुरु गर्ने मूल कार्ययोजना कार्यान्वयनको खाकामा उल्लेख गरेअनुसार शिक्षा मन्त्रालयलाई सो कार्य तत्काल अघि बढाउन निर्देशन दिइएको हो । सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाको काम तुरुन्त शुरु गर्न मुख्य सचिव सोमनाथ सुवेदीले निर्देश गरेका छन् । सरकारले दुर्गम क्षेत्रका जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकहरुको उपस्थिति सुनिश्चित गर्न प्रत्येक जिल्लामा चिकित्सकको जगेडा दरबन्दी स्थापनका गर्ने कार्यक्रमलाई पनि तुरुन्त अघि बढाउने भएको छ । सबै स्वास्थ्य संस्थामा दरबन्दी बमोजिम तुरुन्तै डाक्टर पु¥याउने अभियान पनि सरकारको छ । साथै जिल्ला शिक्षा अधिकारी र प्रधानअध्यापकवीच कार्यसम्पादन करार गर्ने व्यवस्था गरिने छ । सरकारले सामुदायिक विद्यालयबाट २०७२ को प्रवेशिका परीक्षामा ‘ए प्लस’ ल्याइ सामुदायिक विद्यालयमै अध्ययनरत छात्राहरुलाई ५ हजार प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराउने भएको छ । सीमान्तकृत तथा पीछडिएका वर्गलाई लक्षित गरी आवसिय विद्यालयको निर्माण गरिने चालू आवै सरकारले शुरु गर्ने भएको छ । त्यस्तै सरकारले श्रम तथा वैदेशिक रोजगारका लागि थप ५ देशसँग श्रम सम्झौता गर्न पहल गर्ने भएको छ । विदेशी जेलमा रहेकाहरुलाई नेपाली दुतवासले कानुनी उपचारका लागि सहयोग गर्ने पनि कार्ययोजना खाकामा उल्लेख गरिएको छ ।