घरजग्गा र शेयर बजारमा खुकुलो नीति बनाउन सिविफिन सकारात्मक
काठमाडौं । घरजग्गा र शेयर बजारमा खुकुलो नीति बनाउन सिविफिन सकारात्मक देखिएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिबिफिनका अध्यक्ष पवन गोल्यानले सो बताएका हुन् । उनले आज शेयर बजार बढेको प्रसंग राख्दै अर्थको संरचना र व्यवस्थाबाट शेयरबजारलाई टाढा राख्न नसकिने बताए । ‘अर्थको संरचना र व्यवस्था छ सेयर बजारलाई टाढा राख्न सकिँदैन, हिजोको कुराले आज शेयर बढ्यो । मनोविज्ञानले असर गर्छ’, अध्यक्ष गोल्यानले भने । उनले ब्याज कम भयो भने घरजग्गा र शेयर दुबै क्षेत्रमा सहज हुने भन्दै सोमबार प्रधानमन्त्री र गभर्नरसँगको छलफलमा सो दुवै क्षेत्रमा खुकुलो नीति बनाउने विषयमा छलफल भएको बताए ।
ग्याँस विस्फोटबाट हुने अवस्थाको समाधान गर्दै म्याजिक लक
काठमाडौं । एसएलआर टेक्नो एण्ड ट्रेडले भारतीय कम्पनी म्याजिक लक डीसी सँग सम्झौता गरेको छ । कम्पनीले जोखिम न्यूनिकरण गर्ने उद्देश्यले उक्तबाट सफल परीक्षण पश्चात उत्पादित म्याजिक लकूको नेपालका लागी आधाकारीक तथा विशेष वितरकको रूपमा सम्झौता गरेको हाे । भारतमा उक्त म्याजिक लकलाई आजको मितिमा घरायसीको साथसाथै व्यापारिक क्षेत्रमा समेत उत्तिकै रुचाइएको छ कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार अध्ययन र खोजको आधारमा, सामन्य तह ८०५ प्रमाणित एलपीजी सम्बन्धित भयावह घटनाहरू रेगुलेटर र चुलोसंग जोडिने पाइपको हुने ग्याँस चुहावटका कारण हुने गर्छ। बढ्दो आधुनिकरण र व्यस्तताको कारण सचेत र चनाखो रहँदा रहँदै यस्ता घटनाहरू भइरहेको र यसको केही हदसम्म न्यूनिकरणको प्रयास सँधै भइरहेको देखिन्छ । भारतमा यहि खोज र प्रयासको दौरान विकास भएको म्याजिक लकडी सीका यस उत्पादनले सबै प्रयोगकर्ताले खोजेको पाइपबाट ग्यास लिक भई त्यसबाट भइरहेको मानविय र भौतिक क्षति व्यहोर्नुपर्ने समस्याको समाधान प्रदान गरेको पाइएको छ। भारतीय समकक्षबाट प्राप्त गरेको यस उत्पादन सम्बधिको जानकारी र देशकै सर्वश्रेष्ठ एलपीजी वोतलर र एलपीजी को उपभोकको रुपमा यस प्रालिले गरेका गहिरो अनुसन्धान र सफल परिक्षणको आधारमा प्रालि यस उत्पादनको प्रयोगले समस्त एलपीजी प्रयोगकर्ताहरूलाई पाइपबाट हुने लिकेज र त्यसबाट हुने धनजनको हानीबाट सुरक्षा प्रदान गर्ने कम्पनीको भनाई रहेको छ । न्यूनतम लागतमा अधिकतम सुरक्षा प्रदान गर्ने यस उत्पादनले, छिट्टै बजार मात्र नलिई, धेरै नेपालि जनताको विश्वास जित्ने कुरामा प्रालि विश्वस्त रहेको छ । नेपाली बजारमा उपलब्ध गराई हरेक घर, फिस, होटल, र रेस्टुरेन्ट , कल कारखाना, विद्यालय आदि इत्यादि स्थानलाई सुरक्षित बनाउदै अघि बढ्यको यस प्रा.लिले यो उत्पादनलाई अनलाईन (फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब तथा अफलाईन स्टोर देश भरका ग्याँस तथा एफ एम सी जी डीलरहरू मार्फत ग्राहक सामु पुर्याउने तयारी गरेको छ । एस. एल. आर टेक्नो एण्ड ट्रेड प्रा. लिमिटेड जुन एस.जी. ग्रुप आन्तार्गत पर्दछ जसले एल.पी.जी. बोटलिङ, अटोमोबाइल, हाइड्रोपावर, बैकिङ्ग, चिया, पेट्रोलियम उत्पादन वितरण आदि जस्ता विभिन्न क्षेत्रहरूमा संलगन रहेको छ। यस कम्पनी को मुख्य दक्षता एलपीजी बोटलिङ समूहको हो जसमा ७ (सुगम, सहारा, साइपाल, प्रिमा, कामाख्या, त्रिसुल) विभिन्न ग्यास ब्रान्डहरू हाल देशभर मुख्य समूह एभरेष्ट ग्यास संसार अन्तर्गत सञ्चालन भइरहेका छन् जसले नेपालमा सबैभन्दा ठूलो एलपी ग्यास प्रदायक बनाएको छ।
न्यायाधीश भुवन गिरी पक्राउ
काठमाडौं । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । वैवाहिक करणीको आरोपमा उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यही चैत २२ गते न्यायपरिषदमा कार्यरत न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियाे । न्ययाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माग गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो । न्यायाधीश गिरीविरुद्ध उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको मुद्दा हालेकी थिईन । गिरीकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
कोरोना संक्रमित एकको मृत्यु
काठमाडौं । कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंगलबार दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु ) मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि। १।१६ देखा परेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १० प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउनका लागि प्रयोगकर्ताहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । एक जनाले एक चोटी मात्र छुट पाउने बैंकले जनाएको छ । बेैंकको अनुसार दराज नेपालसँग गरिएको यो सहकार्य योजना चैत्र २८ देखि वैशाख १ गतेसम्म मान्य रहनेछ । ग्लोबल आइएमई बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
साखः ग्रुपको रिकिशी कम्पोष्ट मल नेपाली बजारमा, भविष्यमा किसानलाई सित्तैमा उपलब्ध गराउने
काठमाडौं । लामो समयदेखि स्टिल, हाउजिङ तथा पेन्टिङ व्यवसाय गर्दै आएको साखः ग्रुपले फोहोरबाट कम्पोष्ट मलको उत्पादन गरी बजारमा ल्याएको छ । ग्रुपले व्यवसायिक रूपमा उत्पादन गरेको यो मल जापानी ‘सीएनबीएम’ प्रविधिबाट तयार गरिएको हो । साखः ग्रुपले रिकिशी दाईची कम्पोष्ट फर्टिलाईजर एण्ड एग्रो कम्पनीले रिकिशी कम्पोष्ट प्रा.लि. को सहकार्यमा रिकिशी ब्राण्ड कम्पोष्ट मल बजारमा ल्याएको हो । स्वदेशमै मल उत्पादन गरी बिक्री वितरणको तयारी गरिएको यो मल फोहोर लगायतका कच्चा पदार्थबाट तयार हुने कम्पनीले बताएको छ । ‘सीएनबीएम’ कम्पोष्ट मल वातावरणमैत्री भएको क्योटो विश्वविद्यालय जापानबाट प्रमाणित भइसकेको पनि कम्पनीकी प्रबन्ध निर्देशक उषा गिरीले बताइन् । उनका अनुसार जापानी ‘सीएनबीएम’ प्रविधिबाट तयार भएको यो मलले माटोको उर्वराशक्ति जोगाउँदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने क्षमता राख्छ । जापानको प्रविधिलाई साखः ग्रुपले प्रत्यक्ष अध्ययन अनुसन्धानपछि मात्र बजारमा ल्याइएको जनाएको छ । ‘हामीले नेपाली माटोमा सुहाउँदो खेर गएको कुहिने फोहोरलाई सदुपयोग गरेर रिकिशी कम्पोष्ट मल बजारमा ल्याएका छौं, यो मलले रासायनिक मलको बर्षेनी अभाव हुने समस्याबाट पनि मुक्त गर्न सक्ने हाम्रो विश्वास छ’, उनले भनिन् । यो मलको प्रयोगका कारण सरकारले दिने अनुदानको ठूलो धन राशी पनि बचत हुने उनको भनाइ छ । ‘सरकारबाट वर्षेनी रासायनिक मलमा उपलब्ध गराउने अनुदानको केही अंश मात्र उपलब्ध गराउने हो भने किसानलाई यो मल सित्तैमा उपलब्ध गराउन सकिने अवस्था सिर्जना हुन्छ’, ‘उनले भनिन्, ‘कम्पोष्ट मल रासायनिक मल भन्दा धेरै सस्तो छ, किसानलाई सर्वसुलभ ढङ्गले यो मल उपलब्ध हुने छ’, उनले भनिन् । कम्पोस्ट मल देशव्यापी बनाउने योजना रहेको साखः ग्रुपका अध्यक्ष तथा निर्देशक किरणप्रकाश साखःले बताए । उनका अनुसार देशभरमा अपार माग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै निजी क्षेत्र तथा स्थानीय तहसँग सहकार्य गर्दै सो मलको उत्पादन बढाउँदै लैजाने योजना कम्पनीले बनाएको छ । किन प्रयोग गर्ने रिकिशी कम्पोष्ट मल ? यो मल जापनिज प्रविधि तोकोजाइबाट तयार हुन्छ । यो मललाई निजी क्षेत्र र स्थानीय तहसँग सहकार्य गरी उत्पादन वृद्धि गर्ने योजनामा कम्पनी छ । यो मलको सबल पक्ष भनेको देशको माटो सुहाउँदो हो । जापानी प्रविधि भए पनि नेपालकै स्रोत साधनको उपयोग गरेर मल तयार गरिने शाखः बताउँछन् । अहिले ठिमी र भक्तपुर नगरपालिकासँग सहकार्य गरी यो मल उत्पादन भइरहेको छ भने कम्पनीले आफ्नै लगानीमा दुधौलीमा पनि उत्पादन गर्दै आएको छ । साखःका अनुसार यो मलको प्रयोगबाट रासायनिक मलबाट प्राप्त हुने उत्पादन सरह नै उत्पादन हुन्छ । त्यसैले पनि कम्पनीले नेपालमा रिकिशी कम्पोस्टले कृषि क्षेत्रमा उल्लेख्य सुधार गर्न सक्ने निष्कर्षसहित व्यवसायिक उत्पादन बजारमा ल्याएको जनाएको छ । कम्पोष्ट मल एक प्रकारको प्राकृतिक र जैविक मल हो । जसलाई पातहरू घाँसको काँपहरु, घरायसी फोहोर, रातो माटो, भुस, भुस जस्ता जैविक सामग्री बाट बनाइन्छ । यो मलले माटोको स्वास्थ्य र उर्भर शक्ति सुधार गर्न पनि मद्दत गर्ने बताए । कम्पनीका अनुसार दुधौली, थिमी, पाँचखाल र राप्तीमा यसका शाखाहरु स्थापना गरिएका छन् ।
बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति, संस्थागतको ६ प्रतिशत गर्न लविङ
काठमाडौं । बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग गरेको भेटमा बैंकको निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने सहमति भएको हो । यससँगै मंगलबार सिविफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा सिविफिनका वरिष्ठ अध्यक्ष भोजबहादुर थापाले अर्थमन्त्री र गभर्नरले अब ब्याजदरलाई ९.९ प्रतिशतमा व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको बताएका छन् । सोही सम्मेलनमा बोल्दै सिविफिनका अध्यक्ष पवन गोल्यानले पनि बैशाखदेखि निक्षेपको व्याजदर घट्ने बताएका छन् । ‘भारतमा ६ प्रतिशत ब्याजदर छ, नेपालमा ११ प्रतिशत छ, हामीले ९.९ प्रतिशत हुनुपर्ने माग राखेका छौं, अहिले ब्याज बढी भएपनि निक्षेप बढेको छैन, थप प्रष्ट पार्दै उनले भने- ‘बैशाखदेखि ९.९ प्रतिशत हुन्छ, जेठपछि ८ प्रतिशत हुन्छ ।’ उनका अनुसार बैशाखदेखि संस्थागतको ब्याजदर ६ प्रतिशत हुने छ । यससँगै निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि घट्ने छ र ऋणीलाई राहत हुने भएको छ ।
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र
काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ रुपैयाँ ग्रस व्यापार गरेको छ । विदेशीतर्फ कन्नड चलचित्र ‘केजिएफ च्याप्टर २’ले छ लाख ७७ हजार ६ सय ९९ टिकेट बिक्री भएबापत १९ करोड २९ लाख १३ हजार सात सय ५८ रुपैयाँ ग्रस कमाएको छ । नेपाली र विदेशीतर्फ सर्वाधिक कमाई गर्ने यी दुई चलचित्र हुन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्सअफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए । तथ्याङ्क अनुसार यस वर्षभरमा प्रदर्शन भएका चलचित्र शिवानीको पाँच वटा टिकट मात्रै बिक्री भएका छन् । जसबाट चलचित्रले पाँच सय २० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । ‘सबै चलचित्र भवनमा बक्सअफिसको प्रविधि जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ । केहीले नियतवश पनि गरिरहेका हुन्छन् । तर बोर्डले यसमा अनुमगन बढाएको छ’, अधिकृत पाण्डेले भने, ‘हामीसँग रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका हौँ ।’ बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक व्यापार गर्ने सात नेपाली चलचित्र यसप्रकार छन् । कबड्डी ४ : द फाइनल म्याच ‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ रुपैयाँ ग्रस व्यापार गर्न सफल भएको छ । बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ । छक्का पञ्जा ४ हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलोपर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरे । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेका छन् । गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएबापत १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैयाँ ग्रस व्यापार गरेको छ । प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको चलचित्रमा पिताको विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी राजालाई खराब स्वभाव र शैलीको नेताका रुपमा चित्रण गरिएको छ । हेमराज विसीले निर्देशन गरेको चलचित्रमा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ । प्रेम गीत ३ ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा प्रदर्शन भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठ लगायतको अभिनय छ । प्रेम कथानक चलचित्रको पहिचान बनाएको शृङ्खलाबाटै अभिनेता खड्का अहिलेको उचाइमा पुगेको हो । चलचित्रले नेपाली भाषामा दुई लाख ६९ हजार सात सय ४४ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ४४ टिकेट रुपैयाँ बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार तीन सय ६७ रुपैयाँको ग्रस व्यापार गरेको छ । महापुरुष सर्वाधिक कमाई गर्ने चौथो चलचित्र ‘महापुरुष’ बनेको छ । चलचित्रले दुई लाख ४७ हजार पाँच सय १७ टिकेट बिक्री भएबापत सात करोड ३८ लाख ९० हजार ६ सय ७० रुपैयाँको ग्रस व्यापार गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा एक्लो जीवन बिताइरहेका अभिभावकको कथा र चाहनालाई देखाइएको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ र निर्माता दीपेश खत्री छन् । दुई नम्बरी दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको पाँचौँ नम्बरमा छ । चलचित्रको एक लाख ४१ हजार ६ सय ३९ टिकेट बिक्री भएबापत तीन करोड ८४ लाख ७३ हजार पाँच सय २० रुपैयाँको ग्रस कलेक्सन भएको छ । मित्रताको कथामा आधारित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ लगायतले अभिनय गरेका छन् । भुटानी अभिनेत्री उगेन छोदेनले ‘दुई नम्बरी’ मार्फत नेपाली चलचित्रमा अभिनयको सुरुआत गरेका थिए । फूलबारी रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा छैटौँ स्थानमा छ । अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन् । चलचित्रले एक लाख २६ हजार एक सय ९० टिकेट बिक्री भएबापत तीन करोड ५२ लाख ८९ हजार चार सय ५९ रुपैयाँको ग्रस व्यापार भएको छ । अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारलाई कथा बनाइएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको छ । झिङ्गेदाउ ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गर्नुभएको चलचित्र ‘झिङ्गेदाउ’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीको सातौँ स्थानमा छ । बोर्डको विवरणअनुसार चलचित्र एक लाख २२ हजार दुई सय ९० टिकेट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजार दुई सय २३ रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायतले अभिनय गरेका छन् । स्वर्गीय भीमनिधि तिवारीको सोही नामको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ मा प्राचीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ । देउरानी-जेठानीको सामान्य झगडाबाट परिवारमा आउने आरोहअवरोहलाई प्रस्तुत गरिएको चलचित्रमा आमा र दुई दाजुभाइको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ । रासस