दराजको नयाँ वर्ष उत्सव सार्वजनिक, ७० प्रतिशतसम्म छुट
काठमाडौं । दराजले नयाँ वर्षको अवसरमा ‘नव वर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’ योजना सार्वजनिक गरेको छ । ‘किनौं सबै दराजमा’ भन्ने मुल नाराका साथ आफ्नो प्लेटफर्मममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता र विक्रेतालाई एक आपसमा जोड्ने उद्देश्यका साथ अफर सार्वजनिक गरिएको दराजले जनाएको छ । दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको भन्दै नयाँ वर्ष अफर सार्वजनिक गरिएको बताइन् | यसका लागि नेपाली नयाँ वर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न विक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको उनले जानकारी दिइन् । कम्पनीका अनुसार मेगा गिभ-अवे मा १ लाख ९ हजार ९९९ रुपैयाँ बराबरको रियलमी जीटी २ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भाउचरमा ५००० रुपैयाँसम्मको छुट र प्रि -पेमेन्टमा १००० रुपैयाँसम्म छुट उपलब्ध रहेको छ । दराजका अनुसार नबिल बकैं, ग्लोबल आईएमई, एनआईसीएसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकहरुले प्रि -पेमेन्टमा २० प्रतिशत (१ हजारसम्म)छुट लिन सक्नेछन् | त्यसैगरी, ग्राहकहरूले आईएमई पे मार्फत प्री पेमेन्टमा १० प्रतिशत अधिकतम २०० र इसेवा मार्फत १० प्रतिशत अधिकतम १०० सम्मको छुट पाउन सक्नेछन् । यी अफरहरूको मजा लिन दराज नेपालले आफ्ना ग्राहकहरूलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड प्रयोग गर्नुपर्ने छ ।
माओवादीको सचेतकमा रुपा सोशी चौधरी चयन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन हुनुभएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए । चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । उनी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ । बैठकले संसद्मा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए । सरकारले सदनमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटका सन्दर्भमा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालव ‘प्रचण्ड’ ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पु¥याउन दलहरूसँग भएका छलफलका बारेमा ‘ब्रिफिङ’ गराएका थिए ।
नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने जाजरकोटका एक व्यक्ति पक्राउ
काठमाडाैं । एक व्यक्तिले नक्कली वकिल बनेर ठूलो रकम ठगी गरेका छन् । जाजरकोटको छेडागाड नगरपालिका–१२ का ४९ वर्षीय मानबहादुर सिंहले आफू कानून व्यवसायी हुँ भन्दै ठूलो रकम ठगी गरेको पाइएको हो । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । उनले मुद्दाको पुनरावलोकन गरिदिने र कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यसरी ठगीमा उनले अर्काको लाइसेन्स नम्बर दुरुपयोग गरेको पनि पाइएको उनले बताए । उनले विभिन्न ठाउँमा आफ्नो नाम भरतविक्रम सिंह, भक्तबहादुर सिंह, भरतबहादुर सिंह भनेर चिनाउने गरेका पनि भेटिएको छ । उनले अहिलेसम्म ३१ लाख ठगी गरेको फेला परेको र उनको साथबाट ७० लाखभन्दा बढी रकम उल्लेख गरिएको विभिन्न बैंकका चेक बरामद गरिएको छ । उनको साथबाट सर्वोच्च अदालतबाट जारी भएको वादी नेपाल सरकार प्रतिवादी नारायणशम्शेर जबरा भएको मुद्दाको चैत २९ गतेको तारेखको पर्चा र नारायणशम्शेर जबराले बैंकिङ कसुर मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको पुनरावेदनको प्रतिलिपि पनि बरामद गरिएको छ । यस्तै विभिन्न अदालनबाट जारी भएको तारेख पर्चा पनि बरामद भएको रिजालले बताए । रिजालले उनीमाथि ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिँदै उनीबाट ठगीमा परेको भए सम्पर्कमा आउन पनि अनुरोध गरेका छन् । रासस
महाशिवरात्रि मेलामा घोटाला, कारबाहीका गर्न अख्तियारलाई आग्रह
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । पर्यटनमन्त्री सुदन किरातीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्णय गरिएको हो । पशुपतिनाथ मन्दिर परिसरबाट भेटीघाटी सङ्कलन हुने घ्याम्पो हराएपछि एक छानबिन समिति गठन गरिएको छ । सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले गृहमन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको पर्यटन मन्त्रालयलले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए । विसं २०५० देखि पत्रकारितामा क्रियाशील आचार्य नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष थिए । उनी तत्कालीन जनादेश साप्ताहिकको सम्पादक, जनदिशा राष्ट्रिय दैनिकको प्रधानसम्पादक थिए। क्रान्तिकारी पत्रकारको नेतृत्व गर्दै आएका आचार्य प्रेस सेन्टर नेपालको संस्थापक सदस्य हुन् । माण्डवी गाउँपलिका प्यूठानमा जन्मनुभएका आचार्य क्रान्तिकारी पत्रकार सङ्घको पूर्वसंयोजक थिए । उनले कानुनमा स्नातक गरेका छन् ।
सांस्कृतिक साँझको आयोजना गर्दै ‘खुकुरी एक्स’, प्रवेश शुल्क एक हजार रुपैयाँ
काठमाडौं । खुकुरी एक्स कम्पनीले नेपाली नयाँ वर्ष २०८० को अवसरमा सांस्कृतिक साँझको आयोजना गर्ने भएको छ । खुकुरी एक्सले परम्परागत संस्कृतिलाई लक्षित गर्दै सो साँझको आयोजना गर्ने भएको हो । खुकुरी एक्सले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सांस्कृतिक महोत्सवको आयोजनाको गर्ने जानकारी दिएको छ । खुकुरी एक्सले यही चैत ३० गते सांस्कृतिक साँझको आयोजना गर्ने खुकुरी एक्स इन्टरटेनमेन्ट इभेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिश थपलियाले जानकारी दिए । उनका अनुसार ३० गते हुने ‘न्यु इयर इभ २०८०’ लाजिम्पाटको मल्ल होटलमा हुँदैछ । सीईओ थपलियाका अनुसार कार्यक्रम बेलुका ५ बजेदेखि राति २ बजेसम्म हुनेछ । यो साँझले पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास आयोजक टिमल लिएको छ । खुकुरी एक्स कम्पनीको कार्यक्रममा प्रवेश शुल्क पनि लाग्ने छ । थपलियाका अनुसार प्रवेश शुल्क एक हजार रुपैयाँ छ । त्यसमा नेवारी समुदायको रक्सीको चुस्किको व्यवस्था पनि मिलाइएको छ । ‘न्यु इयर इभ २०८०’ मा लगभग २५ सय मान्छेको उपस्थिति हुने पनि थपलियाले बताए । सो साँझमा ७ वटा विभिन्न नामक ब्यान्डले प्रस्तुति दिने छन् । दिपक बज्राचार्य, परिवर्तन, डान्स, डिजे लगायतको टिमले प्रस्तुति दिने छन् । साथै कालभैरवको पनि नाच रहेको छ । ‘यो साँझ एकदमै रमाइलो हुन्छ, नेपालको परम्परा झल्काउने छ, हामी अङ्ग्रेजी नयाँ वर्षमा जसरी रमाइलो गर्दै आएका छौं, नेपाली नयाँ वर्षमा पनि त्योभन्दा बढी रमाइलो गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेका हौं,’ उनले भने ।
विजय लघुवित्तको २१ प्रतिशत लाभांश पारित, नयाँ सारथीसँग बराबर हैसियतमा मर्ज हुने
काठमाडौं । विजय लघुवित्त वित्तिय संस्थाको प्रस्तावित २१.०५२६ प्रतिशत लाभांश पारित भएको छ । चैत २८ गते सम्पन्न संस्थाको दशौं वार्षिक साधारण सभाले आर्थिक वर्ष ०७८/०७९ को नाफाबाट सेयरधनीलाई २० प्रतिसत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिसत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । यससँगै, संस्थाको कायम जारी तथा चुक्ता पुँजी ३८ करोड ४० लाख रुपैयाँ पुगेको छ । सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने प्रस्तावलाई स्वीकृति दिएको छ । दुई संस्थाबीच सेयर आदान प्रदान अनुपात १ः१ (एक सेयर बराबर एक सेयर) लाई स्वीकृत प्रदान गरेको छ । संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आ.व. २०७८/०७९ को संचालक समितिको प्रतिवेदन, २०७९ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.व.२०७८/०७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ । उक्त साधारण सभाले आ.व. २०७९/०८० मा लेखा परिक्षण कार्य गर्नका लागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।
जग्गा किनबेच गर्दा उठेको राजस्व हिनामिना गरेको भन्दै मालपोतका कर्मचारीमाथि आरोपपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीमाथि आरोपपत्र दायर गरेको छ । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आरोपपत्र दायर गरिएको हो । आर्थिक वर्ष २०७२/७३ मा जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार राजस्वबापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्नेमा कुनै अनुगमन नगरी कार्यकालमा सङ्कलन भएको राजस्व रकममध्ये ९३ लाख ६६ हजार रुपैयाँ प्रतिवादी गुप्तालाई राजस्व हिनामिनामा प्रोत्साहन गरी राजस्व दाखिला नगराएकोमा पोखरेललाई दोब्बर जरिवानासमेतको मागदाबी गरेको छ । त्यस्तै राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी एक लाख ४१ हजार रुपैयाँ प्रतिवादी गुप्तालाई राजस्व हिनामिनामा प्रोत्साहन गरी राजस्व दाखिला नगराएकोमा विश्वकर्मालाई दोब्बर जरिवाना हुने गरी मागदाबी गरेको हो । त्यस्तै, ९५ लाख आठ हजार रुपैयाँ राजस्वको विस्तृत विवरणसहित लेखा शाखामा बुझाउने कर्तव्य निजले उठाएको राजस्व प्रचलित कानुनबमोजिम सो रकम दाखिला नगरी चुहावट गरेकोमा गुप्तालाई दोब्बर जरिवाना हुने गरी मागदाबी गरेको हो । चौधरीले ९५ लाख आठ हजार रुपैयाँ हिनामिना गर्नमा प्रतिवादी गुप्तालाई मद्दत पुर्याइ, आफूसमेत संलग्न भई उठाएको राजस्व दाखिला नगरेकोमा दोब्बर जरिवाना हुने गरी मागदाबी गरेको हो ।