माई खोला हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माई खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख ८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज बैशाख १२ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बरारबको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ७६ हजार ४७९ कित्ता सामुहिक लगानी कोष, ३० हजार ५८८ कित्ता कर्मचारी र बाँकी १२ लाख ६९ हजार ४११ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगार रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेर बाँडफाँट पनि गरिसकेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
फ्लाई दुबईको जहाज त्रिभुवन विमानस्थलमा अवतरण नगर्नुको कारण
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो । विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा करिब ११ मिनेट जहाज होल्ड गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए । टावरका एटीसीले पाइलटसँग निरन्तर ‘कम्युनिकेसन’ गरिरहेका थिए । पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्य जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरियो । राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म विमानस्थमा अन्य जहाजको उडान रोकेर अवतरणको तयार गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् । दमकलसहित भेहिकल, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलायो । काठमाडौँमा किन जहाज अवतरण गरिएन भनी सोधिएको जिज्ञासामा प्राधिकरणका सहायक प्रवक्ता भुलले जहाजको सबै पार्टपूर्जा जाँच गर्दा ठीक रहेको र जहाज गन्तव्य पुग्छ भन्ने पाइलटले निर्णय लिएपछि उक्त जहाज गन्तव्यतिर लागेको बताए । ‘पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ, युनाइटेड अरब इमिरेट्स (युएई)मा जहाज दर्ता भएकाले उतै अवतरण गर्ने निर्णय भएको हुनसक्छ, दुवै देशमा उडान गर्ने जहाज हो समस्या आएन भने दुबईमा नै जहाज अवतरण हुन्छ,’ उनले भने । यस्तो किसिमको घटनामा जहाज काठमाडौँमा अवतरण गर्न सहज हुन्छ ? भन्ने थप जिज्ञासामा सहायक प्रवक्ता भुलले त्यस किसिमको सबै क्षमता विमानस्थलमा रहेको र कथमकदाचित जहाज अवतरण गर्नुपरेको भए विमानस्थलमा अवतरण गर्न सकिने उनले बताए । ‘जहाज अहिले इण्डियन एयर स्पेसमै छ, जहाजको इञ्जिनको कम्प्रेसर स्टल भएर ठूलो आवाज आएको हो कि भन्ने आशङ्का गरिएको छ, यसको विस्तृत जानकारी आएको छैन,’ सहायक प्रवक्ता भुलले भने । जहाजका सम्बन्धमा नेपालको एटीसीसँग सोधपुछ गर्न सक्छन् । नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर जहाज दुबईमै अवतरण गर्ने भएकाले दुबईको सिभिल एभिएसन अथोरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । जहाजमा आगो लागेको इञ्जिन बन्द गरिन्छ । सिङ्गल इञ्जिनमा जहाज उड्छ तर गति कम हुन्छ । गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिए । विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट)सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताए । जहाजको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र पछि दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले जहाज गन्तव्यमै सामान्यरूपमा अवतरण भएको विमानस्थलले उल्लेख गरेको छ । उक्त जहाजमा १६७ यात्रु सवार रहेका थिए ।
तनहुँ–१ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी
काठमाडौं । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए । यसैगरी राप्रपाका शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले ५, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले १६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन् । निर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो भने १ हजार १८१ मत बदर भएको थियो । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।
पर्यटनमन्त्री भन्छन् : जहाज सुरक्षित आफ्नो गन्तब्यमा जाँदैछ, चिन्ता नलिनु होला
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किँरातीले जहाज सुरक्षित रुपमा आफ्नो गन्तब्यमा गइरहेको बताएका छन् । सोमबार काठमाडौंबाट दुबईका लागि उडेको विमानमा आगलागी भएपछि आकाशमै फन्को मारिरहेको समाचार बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फ्त यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्, ‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तब्यतिर जाँदैछ, कोहि चिन्ता नगर्नु होला, सबैलाई शुभयात्रा ।’ जहाजमा १२० नेपालीसहित १६७ जना यात्रु रहेका छन् ।
तेल सक्न आकाशमै फन्को मार्दैछ जहाज, फोर्स ल्याण्डिङ गरिने
काठमाडौं । काठमाडौंमा दुबईका लागि उडेको विमानमा आगलागी भएपछि आकाशमै फन्को मारिरहेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार तेल सक्नका लागि जहाज आकाशमै घुमिरहेको हो । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा एक्कासी आगलागी भएपछि आकस्मिक अवतरण गराउने तयारी भइरहेको छ । तर, अवतरण गर्न सकिएको छैन । आगलागी भएको फ्लाइ दुबइको जहाज त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्न प्रयास गरिरहेको छ। अहिले पाइलटले जहाजलाई सुरक्षित अवतरणको प्रयास गरिरहेका छन। अहिले जहाज काठमाडौं-धादिङको आकाशमा २० हजार फिटमाथि घुमिरहेको छ। एउटा इञ्जिनको सहायताले उरिहेको जहाजमा प्रर्याप्त तेल रहेको बताइएको छ । जहाजमा १२० नेपालीसहित १६७ जना यात्रु रहेका छन् ।
काठमाडौंबाट दुवईका लागि उडेको जहाजको इञ्जिन फेल
काठमाडौं । काठमाडौंमा दुबईका लागि उडेको विमानमा समस्या आएको छ। जहाजमा एक्कासी आगलागी भएर ठूलो आवाज निस्किरहेको छ । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गराउने तयारी गरिएको छ । जहाजको इञ्जिन फेल भएकाे हुन सक्ने बुझिएकाे छ । जहाज अहिलेसम्म आकाशमै छ । जहाजमा १२० जना यात्रु रहेका छन् ।
समृद्धि फाइनान्सले ल्यायो ग्यास किन्दा क्यास पाउने योजना
काठमाडौं । समृद्धि फाइनान्सले ‘ग्याससँगै क्यास योजना’ नामक नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । जसमा समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्युआर प्रयोग गरी ग्यासको खरिद बिक्री कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले ५० र विक्रिेताले १० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन । त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानिको जार खरिद गर्दा खरिदकर्ताले ५ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन । उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।
साढे ९ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
काठमाडौं । कानूनअनुसार सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । भ्रष्टाचार निवारण ऐन, २०५९ ले पनि सो व्यवस्था गरेको छ । राष्ट्रिय सतर्कताकेन्द्रका अनुसार उक्त व्यवस्थाको बर्खिलाप गर्दै नौ हजार पाँच सय ९० कर्मचारीले आर्थिक वर्ष २०७८/७९ मा सम्पत्ति विवरण नबुझाएको पाइएको छ । सङ्घीय सरकार मातहतका छ हजार छ सय ४६ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । यस्तै, स्थानीय निकायका एक हजार नौ सय १७ कर्मचारीले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।राष्ट्रिय सतर्कता केन्द्रले कानूनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई पाँच हजार जरिवाना समेतका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेको छ । निजामतीतर्फका तीन हजार चार सय ५३, नेपाल प्रहरीका एक सय १३, विद्यालयका शिक्षकले एक हजार एक सय ५८ र अन्य राजनीतिक नियुक्ति र करारतर्फका एक हजार नौ सय २२ ले सम्पत्ति विवरण बुझाएका छैनन् । केन्द्रले आज सार्वजनिक गरेको विवरणअनुसार आव २०७८/०७९ मा सात लाख १९ हजार एक सय ५७ जना अर्थात् ९८ दशमलव ६८ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन् । आव २०७८/०७८ मा सम्पत्ति विवरण बझाउनेको सङ्ख्या छ लाख ८१ हजार दुई सय १५ जना अर्थात् ९७ दशमलव७९ प्रतिशत रहेको थियो ।