विकासन्युज

लक्ष्मी बैंकले स्थापना गर्यो २५ लाखको छात्रवृत्ति कोष

काठमाडौं । लक्ष्मी बैंकले २५ लाखको छात्रवृत्ति कोष स्थापना गरेको छ । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अनुसार २५ लाखको छात्रवृत्ति कोष स्थापना गरेको हो । सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको उपस्थितिमा बैंकको तर्फबाट रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फ बाट नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका हुन् । सो छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयहरुमा अध्ययनरत अमर/सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने छ । छात्रवृत्तिको छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने छ भने लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदान गर्नेछ । यस पहलले लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानलाई अझ विस्तार गर्नुका साथै योग्य छात्राहरुलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने कुरामा बैंकले जनाएको छ । साथै, बैंकले आगामी पाँच वर्षसम्म ७ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ ।

चितवन २ मा रवि लामिछानेको अग्रता

काठमाडौं । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । रवि १४९२ मतसहित अगाडी छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएका छन् । इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।

सेयर बजारमा झिनो अङ्कको सुधार

काठमाडौं ।  यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो । आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय २३ कित्ता सेयर ३३ हजार दुई सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ७५ करोड १३ लाख ३० हजार तीन सय ९३ मा खुम्चिएको छ ।’ आज बैंकिङ, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव १६, होटल तथा पर्यटन समूह ६५ दशमलव ८२, लगानी समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह १९ दशमलव १९ अङ्कले घटेको हो । आज सबैभन्दा धेरै जीवन बीमा समूह ८२ दशमलव १० अङ्क र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ९८ अङ्कले बढेको छ । त्यस्तै विकास बैंक समूह २४ दशमलव ५४, वित्त समूह सात दशमलव १४, जलविद्युत् समूह सात दशमलव २२ र लघुवित्त समूह तीन दशमलव ९५ अङ्कले बढेको छ । त्यस्तै म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार समूह चार दशमलव ४६ र अन्य समूह चार दशमलव ४९ अङ्कले बढेको छ । आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको सेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कालिञ्चोक दर्शनको सेयर मूल्यमा नौ दशमलव ६२ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज कालिञ्चोक दर्शन लिमिटेड पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको आठ करोड ८१ लाख ७८ हजार दुई सय २१ बराबरको एक लाख पाँच हजार छ सय ३६ कित्ता सेयर किनबेच भएको छ ।

चेम्बरद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे सभामुखको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ का विषयमा सभामुख देवराज घिमिरेलाई भेटेर संसदको ध्यानाकर्षण गराएको छ । सोमबार चेम्बरले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ मो निजी क्षेत्रलाई पनि दायरामा ल्याउने व्यवस्थाका विषयमा सभामुख घिमिरेलाई ध्यानाकर्षण गराएको हो । चेम्बरले राष्ट्रिय सभाबाट स्वीकृत भइ प्रतिनिधि सभामा विचाराधिन रहेको विधेयकमा निजी क्षेत्रलाई पनि दायरामा ल्याउने गरेको व्यवस्था नेपालको संविधान अनुकुल नहुने जानकारी गएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल लगायतको टोलीले सभामुख घिमिरेलाई मुलुकको अर्थतन्त्रमा हाल जोखिम रहेका बेला निजी क्षेत्र थप संकुचित हुने जानकारी गराएका छन् । अध्यक्ष मल्लले प्रतिकुल असर पर्ने कानूनी व्यवस्था नगरी उद्योग व्यवसाय प्रवद्र्धन,संरक्षण गरेर निजी क्षेत्रको मनोवल उकास्नु पर्नेमा थप हतोत्साहित हुने वातावरण बनाएको भन्दै वातावरण सहज बनाउन पहल गर्न माग गरेको बताए । उनले सभामुखले व्यवसायीहरुसँगको भेटमा व्यवसायीहरुको मागमा सकारात्मक रहेको बताएका छन् । चेम्बरले निजी क्षेत्रले अनियमिता गरे कारबाही गर्ने छुट्टै नियामक निकायहरुको व्यवस्था रहेको भन्दै अख्तियारको क्षेत्राधिकार भित्र व्यवसायीहरुलाई पार्दा व्यवसायिक निर्णय गर्न कठिन हुने बताएको छ ।

बैंकमा खराब कर्जा बढेसँगै अर्थतन्त्रमा थप चुनौती थपियो : उपाध्यक्ष कोईराला

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौति थपिएको बताएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) समेत रहेका कोईरालाले अघिल्लो असार महिनामा १.२ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा (एनपीए) अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको बताए । मुलुकका ५ वटा बैंकको मुनाफा घटेको तथा ३२ अर्ब बढीको कर्जा प्रवाह र २० अर्बको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतिहरु भोग्नुपर्ने अवस्था देखिएको उनी बताउँछन् । ‘पछिल्लो समय बैंकहरुले धेरै नाफा कमाए भनेर जसरी आम रुपमा चित्रण गरिएको छ, वास्तविकता त्यस्तो प्रकारको छैन, विश्व बैंकिङ क्षेत्रलाई हेर्ने हो भने मुनाफा ८ प्रतिशतको हाराहारीमा हो,’ उनले भने,’५० प्रतिशत बैंकहरुले लागत कस्ट भन्दा पनि कम नाफा गरिरहेका छन्, नेपालका बैंकहरुले पछिल्लो आर्थिक वर्षमा ११ प्रतिशत मुनाफा रहेको अवस्था थियो, अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम हो ।’ उनले भारतमा जिडिपी र कर्जा विस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा रहेको बताए । यस्तै, उपाध्यक्ष कोईरालाले चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रले तिर्ने ८ देखि १० अर्बको हाराहारीमा कर घट्ने बताए । उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्न भन्दा पनि बैंकविरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिएको उनी बताउँछन् ।

प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा आउने भएको छ । नेपालमा उद्घाटन हुने उक्त शाखाको नाम भने नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस रहने जनाईएको छ । काठमाडौंको व्यवसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय रहने उक्त शाखाको उद्घाटन भने बैशाख १३ गते बुधबार हुनेछ । प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ । सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ । प्रोफेश्नल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले भने,‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीहरुलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौं ।’ उनले आफूहरु सधैं राम्रो नतिजा प्रदान गर्न अब्ब भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन् । उनले थपे–‘हामीसँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ । हामी नेपाली विद्यार्थीहरुलाई उनीहरुको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्य प्राप्त गर्न सफल हुनेछौं ।’ शाखाको उद्घाटन कार्यक्रममा सबैको उपस्थिति रहने जनाईएको छ ।

यसरी घटाउन सकिन्छ बैंकहरूको खराब कर्जा

नेपालमा बैंक तथा वित्तीय संस्थाहरु धेरै भएका हुन् । कुनै समय वाणिज्य बैंकको संख्या ३२ वटा थिए । ३२ वटा बैंकले सबै ठाउँमा शाखा खोल्नका लागि कुनै एउटा ठाउँमा शाखा खोल्नै पर्ने हुन्छ । सबै ठाउँमा शाखा खोल्नु बैंकका लागि जरुरी पनि छ । देशको अर्थतन्त्रको आकार हर्ने हो भने एउटै स्थानमा ३२ वटै बैंकका शाखा आवश्यक पर्दैनन् । कुनै ठाउँमा त ३/४ वटा बैंकका शाखा कार्यालय एउटै भवनमा सञ्चालनमा भएका छन् । यो आवश्यक छैन । बङ्गलादेश, पाकिस्तान लगायतका देशहरुमा जनसंख्या र जीडीपीको आकार अनुसार धेरै बैंक छैनन् । नेपालको कूल अर्थतन्त्र ४० अर्ब डलर र ३ करोड जनसंख्या छ । त्यसैले धेरै बैंक तथा वित्तीय संस्था आवश्यक छैनन् । विकास बैंकहरु पनि वाणिज्य बैंक जस्तै हुन् । विकास बैंकहरुले पनि वाणिज्य बैंक सरह नै कारोबार गरिरहेका छन् । केही राष्ट्रिय स्तरका विकास बैंक नयाँ वाणिज्य बैंकभन्दा ठूला छन् । विकास बैंकको पूँजी ४ सय करोडभन्दा बढी पुगेको छ । विकास बैंकलाई पनि जोड्ने हो भने नेपालमा धेरै बैंक तथा वित्तीय संस्थाहरु आवश्यक छैनन् । साथै, बैंक तथा वित्तीय संस्थाहरुले प्रविधि तथा विशेषज्ञतामा खर्च गर्न सकेका छैनन् । जति संख्या छन् सो अनुसारको योगदान पनि दिन सकेका छैनन् । कुनै एउटा सानो सहरमा पनि सबै बैंक तथा वित्तीय संस्थाहरुले शाखा कार्यालय मात्रै खोलेका छन् । जस्तो म्याग्दि, पर्वत, बागलुङ, तनहु, गोर्खा लगायतका क्षेत्रमा शाखा खोल्नु पर्याे भने पोखरामा शाखा नखोली हुँदैन । त्यसकारणले पनि मर्जर जरुरी पनि थियो । मर्ज भइरहेका पनि छन् । बैंक तथा वित्तीय संस्था मर्ज हुँदा साना संस्था पनि आवश्यक पर्छन् । साना संस्थाहरुमा लघुवित्त संस्थाहरु छन् । राम्रोसँग नियमन गर्ने हो भने सहकारी संस्थाहरु पनि छन् । अहिले सहरतिरका बचत सहकारीहरुले गडबड गरेका हुन् । तर, गाउँगाउँमा भएका वस्तुगत सहकारी संस्थाहरुले धेरै राम्रो काम गरेका छन् । गाउँमा भएका सहकारी संस्थाहरुलाई सहयोग र क्षमता विकासमा जोड दिनुपर्छ । सहकारी संस्थाहरु वित्तीय पहुँचका लागि पहिलो संस्था हुन् । दूरदराजका सर्वसाधारण जनताले सबैभन्दा पहिला वित्तीय सेवा सहकारी संस्थाबाट पाउँछन् । ती सहकारी संस्थाहरुलाई बैंकसँग जोडेर सहकार्य गर्न जरुरी छ । सहकारीहरुलाई गाउँगाउँमा काम गर्न पूँजी दिएर सहयोग गर्नुपर्छ । सहकारी संस्थाहरुको क्षमता वृद्धि गराउनु पर्छ । सहकारी संस्थाहरुलाई खातापातादेखि हिसाब किताब सबै गर्न सिकाउनुपर्छ । साथै, सहकारी संस्थाहरुलाई स्रोत साधनको प्रबन्ध व्यवस्था मिलाउनुपर्छ । यसरी सहकार्य गरेर अघि बढ्यो भने सहकारी संस्थाहरुले राम्रो गर्न सक्छन् । त्यसैले साना वित्तीय संस्थाहरुको आवश्यकतासँगै क्षमता अभिवृद्धि पनि गर्न जरुरी छ । तर, वाणिज्य बैंक र विकास बैंकहरु धेरै आवश्यक छैन । यसरी घटाउन सकिन्छ खराब कर्जा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा दर बढेको छ । बैंकहरुको खराब कर्जा घटाउनका लागि अर्थतन्त्र ‘बाउन्स ब्याक’ हुनै पर्छ । अर्थतन्त्र राम्रो नहुँदासम्म खराब कर्जा दर घट्न सक्दैन । अर्थतन्त्र राम्रो हुनु भनेको ब्यापार व्यवसाय नै बढ्नु हो । अहिले उद्योगी व्यवसायीहरुको आत्मविश्वास तल झरेको छ । आत्मविश्वासलाई बढाउन जरुरी छ । मनोबल बढाउने प्रयास भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न थालिसकेको छ । अहिलेका अर्थमन्त्री पनि क्षमतावान हुनु हुन्छ । अर्थमन्त्रीको सल्लाहकारमा राम्रा विज्ञहरु नियुक्त हुनु भएकाे छ । त्यसैले केही न केही सुधार हुने अपेक्षा छ । जादुको छडी नभएपनि वर्षाैदेखिको संरचनात्मक समस्या हल गर्नुपर्नेछ । संरचनात्मक समस्या सुधार गर्न समय लागेपनि तत्काललाई विश्वास जगाउने काम भएको छ । सधैँ तरलता झर्ने मात्रै हुँदैन, माथि पनि बढ्छ । एकचोटी ‘डाउन’ गएपछि ‘अप’ हुनै पर्छ । कार्लमाक्सले पनि अर्थतन्त्र तलमाथि भइरहने बताएका थिए । त्यसकारण नेपाली अर्थतन्त्र आगामी दिनमा सुध्रिन्छ । अर्थतन्त्र सुधार नभएसम्म ऋण असुली हुँदैन । असारसम्म खराब कर्जामा सुधार हुन सक्छ । असारसम्म खराब कर्जामा सुधार नआएपनि नेपालको बैंकिङ्ग क्षेत्र त्यति धेरै ‘डाउन एण्ड आउट’ हुँदैन । यदि असारपछि पनि सुध्रिएन भने मात्रै समस्या आउन सक्छ । द्धन्द्धकालमा पर्यटन व्यवसायले धेरै दुख पाएको थियो । कुनै एउटा क्षेत्र खराब भयो भने अर्थतन्त्रलाई ठूलो असर पर्दैन । जस्तो पुर्वाधार, पयर्टन क्षेत्र । तर, बैंकिङ्ग क्षेत्र नै समस्यामा पर्याे भने अर्थतन्त्रमा ठूलो समस्या उत्पन्न हुन्छ । यदि बैंकले दिएका कर्जा असुली भएन भने बैंकहरु थप नयाँ कर्जा दिन उत्साहित हुँदैनन् । जस्तो कुनै ब्यापारीले पसल खोलेर बसेको छ । पसलमा उधारो धेरै गएको छ । तर, उधारो खाएको मान्छेले पैसा दिएको छैन भने थप उधारो दिन मान्दैन । बरु ब्यापार कम गर्छु उधारो दिँदैन भन्छ । उधारो नदिएका कारण ब्यापार हुँदैन भने नहोस् भन्छ तर फस्ने गरी ब्यापार गर्दैन । अहिले उद्योगी व्यवसायीहरुको आत्मविश्वास घटेको छ । अझै यस्तै अवस्था रहि रहने हो भने बैंकरहरुमा पनि आत्मविश्वास घट्न सक्छ । जब बैंकहरुले कर्जा नै दिएनन् वा कर्जा नै दिन चाहेनन् भने अर्थतन्त्र ‘ग्रोथ’ हुन सक्दैन । साना उद्यमी व्यवसायीले नबुझेको कारण आन्दोलन गरेको हो भन्न मिल्थ्यो । बैंकरहरुले बुझाउन सकेन । साना व्यवसायीहरुलाई बुझाउनु पर्याे भन्न मिल्थ्यो । तर, ठूला ब्यापारिक घरानाहरु नै सडकमा गएर आन्दोलन गरे । सडकमा आन्दोलन गरेपछि बैंकरहरु कर्जा दिन उत्साहित भएनन् । बैंकबाट कर्जा लिएर पछि तिर्दैन भन्न मिल्दैन । बैंकरलाई नै रातदिन सडकमा बसेर गाली गर्ने काम गरे । केही उद्योगी व्यवसायीहरुले त जिन्दगीभर बैंकलाई गाली मात्रै गरेका छन् । यस्तो अवस्था आएपछि आत्मविश्वास बढ्दैन । संस्थागतको ब्याजदर घटाउनु पाप  बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउनु हुँदैन । अहिले पनि व्यक्तिगतभन्दा संस्थागत निक्षेपकर्तालाई २ प्रतिशत कम ब्याज दिइएको छ । यो गलत हो । कर्मचारी सञ्चय कोषमा कर्मचारीको पैसा छ । यदि कर्मचारी सञ्चय कोषको आम्दानी बढी भयो भने कर्मचारीले नै बढी पैसा पाउने हो । यसरी संथागत निक्षेपकर्ताको ब्याजदर घटायो भने सर्वसाधारणको गाँस नै काटेको देखिन्छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाको ब्याजदर कम गर्नु भनेको सर्वसाधारणको गाँस काटे सरह हो । जस्तो जीवन बीमा कम्पनीको आम्दानी बढ्यो भने बीमा गर्ने मान्छेले बढी बोनस पाउँछ । यदि बीमा कम्पनीको आम्दानी घट्यो भने बोनसदर पनि घट्छ । त्यसैले ब्याजदर निर्धारणको जिम्मा बजारलाई छोड्नुपर्छ । यदि संस्थाहरुको सबै पैसा लिएर एउटै ले चलायो भने उसैले ब्याजदर निर्धारण गर्छ । जस्तो भारतमा सञ्चय कोष जस्ता संस्थाहरुको सबै रकम सरकारले उठाएर ब्याज दिन्छ । सरकारी संस्थाको सबै पैसा सरकारले चलाउँछ । तर नेपालमा संस्थाहरुको रकम सरकारले लिँदैन । संस्थाहरुले बैंकमा रकम जम्मा राखेर ब्याज खाने हो । संस्थागत लगानीकर्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अन्य क्षेत्रमा लगानी गर्न पनि दिनु हुँदैन । यी संस्थाको अन्य क्षेत्रमा लगानी गर्ने क्षमता हुँदैन । वर्षाैंदेखि बैंकमा काम गरेका मान्छेहरुको त ढंग नपुगेर कर्जा डुबेको धेरै उदाहरण छन् । त्यसैले सरकारी संस्थाहरुलाई कर्जा दिने संस्था बनाउनु हुँदैन । जबरजस्ती कर्जा दिनुपर्छ, सम्पत्तिमा लगानी गर्नुपर्छ भन्न मिल्दैन किनभने उनीहरुसँग त्यो क्षेत्रमा लगानी गर्ने दक्षता नै हुँदैन । जस्तो संस्थाहरुलाई होटल बिजनेश चल्छ की चल्दैन भनेर जानकारी नै हुँदैन । किनभने उसको कोर बिजनेश त्यो होइन । यदि होटल, सम्पत्ति लगायत अन्य क्षेत्रमा लगानी गरेर त्यो रकम डुब्यो भने कसले व्यहोर्ने हो ? संस्थाहरुले ठूलो रकम लगानी नगरेपनि लगानी गरेको केही रकम समस्यामा छ । कर्मचारी सञ्चय कोषले सोझै कर्जा दिएको धेरै कम छ । तर, जति कर्जा दिएको छ त्यसको केही प्रतिशत रकम समस्यामा परेको देखिन्छ । विगतमा सरकारी बैंकसँग मिलेर दिएको कर्जामा यस्तो समस्या देखिएको हो । अहिले निजी बैंकहरुसँग मिलेर दिएको कर्जामा खासै समस्या नपरेको हुन सक्छ । जस्तो तामाकोशीमा सञ्चय कोष लगायतका संस्थाहरुले लगानी गरेका छन् । वायु सेवा निगमलाई दिएको कर्जा कहिले तिर्ने हो अत्तोपत्तो छैन । तामाकोशीले लगानी फिर्ता गर्न सक्ने अवस्था छैन । आयोजनाको रेभिन्यू तिर्नै सक्दैन । सर्वसाधारण जनताको पैसा भएको सरकारी संस्थाहरुलाई जोखिम भएको क्षेत्रमा लगानी गर्न दिनु हुँदैन । यदि बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउँछन् भने त्यो सरासर गलत हो । नागरिक लगानी, कर्मचारी सञ्चय, सामाजिक सुरक्षा कोष, जीवन बीमा कम्पनी लगायत संस्थागत निक्षेपकर्ताको ब्याजदर र व्यक्तिगत ब्याजदर समान हुनुपर्छ । जस्तो दूरसञ्चार कम्पनीमा सर्वसाधारण जनताको सेयर छ । यदि दूरसञ्चार कम्पनीको आम्दानी घट्यो भने मर्का पर्ने सर्वसाधारणलाई नै हो । सर्वसाधारण जनता बोल्दैनन्, जुलुस निकाल्दैनन्, आन्दोलन गर्दैनन्, प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नरसँग पहुँच छैन भन्दैमा गाँस काट्न पाउँदैन, मार्न पाउँदैन । यहि हो धर्म ? जनताको गाँस काट्ने काम गलत हो । (पूर्व बैंकर कुँवरसँग विकासन्युजका सीआर भण्डारीले गरेको कुराकानीमा आधारित अंश)

सिटिजन्स बैंकका ग्राहकलाई पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल मकवानपुर स्थित पल्पसा प्याराडाइज होमबीच सम्झौता भएको छ । बैंक र प्याराडाइजबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।