प्रहरी र शिक्षकले पाउन छाडे तलब, धरौटी रकमबाट खर्च चलाउँदै सरकार
काठमाडौं । सरकारको आम्दानीभन्दा खर्च बढी हुन थालेसँगै कर्मचारीहरुले तलब समेत पाउन सकेका छैनन् । सरकारले निजामती कर्मचारीहरुका लागि चैत महिनाको सेवा सुविधा भुक्तानी गरेता पनि नेपाल प्रहरीको रोकिएको छ । केही जिल्लामा प्रहरीको सेवासुविधा भुक्तानी भएपनि केही जिल्लामा रोकिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । ‘अन्य कर्मचारीहरुको सेवा सुविधा भुक्तानी भएतापनि नेपाल प्रहरीको रोकिएकाे छ, केही प्राविधिक कारण सेवासुविधा रोकिएको हो, हामी छिटै भुक्तानी गर्ने तयारीमा छौँ’, स्रोतले विकासन्युजलाई भन्यो । धरौटीबाट खर्च गर्दै सरकार सरकारसँग खर्च गर्ने पैसा नभएपछि धरौटीमा राखिएका रकम खर्च हुन थालेको छ । ‘चालु आर्थिक वर्षमा नै सरकारको आम्दानीभन्दा खर्च बढी भएको छ, खर्च धान्नका लागि पछिल्लो समय ठेकेदार तथा म्यानपावर कम्पनीले राखेको धरौटी रकमबाट खर्च गर्नुपरेको छ’, महालेखा स्रोतले भन्यो । तर महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनाल कर्मचारीका लागि तलब खुवाउनै नसक्ने अवस्था नआएको दाबी गर्छन् । ‘हामीले विभिन्न कोषको रकम खर्च गरेर भएपनि कर्मचारीको तलव सुविधा भुक्तानी गरेका छौँ, केही प्राविधिक कारण तलब रोकिएको होला, तर सरकारसँग पैसा नै नभएर रोकिएको भन्नु गलत हो’, उनले भने । उनले नयाँ भर्ना भएका नेपाल प्रहरीका केही कर्मचारीको तलब रोकिए पनि अन्य कर्मचारीको नियमित रुपमा भुक्तानी भैरहेको बताए । ‘पछिल्लो समय नयाँ भर्ना भएका नेपाल प्रहरीका केहीको तलब रोकिएको हो, गृह मन्त्रालयबाट निर्णय गरेर उक्त समस्या समाधानको प्रयास भैरहेको छ, अन्यको रोकिएको छैन्’, उनले भने । यस्तै, सरकारले शिक्षकलाई दिदैँ आएको बिरामी बिदा तथा औषधि उपचार खर्च समेत रोकिएको छ । चैत महिनामा भुक्तानी हुनुपर्ने उक्त रकम रोकिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले शिक्षक कर्मचारीको सेवा सुविधा तथा औैषधि र उपचार खर्च तीन/तीन महिनामा भुक्तानी दिदैँ आएको छ । चैत महिनामा आउनुपर्ने सेवासुविधा आएपनि उक्त खर्च बापतको पैसा नआएको लेखापालहरु बताउँछन् । बजेट नपुगेपछि २२ हजारभन्दा बढी शिक्षकको पेन्सन रोकिएको छ । अर्थले दिएको बजेट अपुग भएपछि पूर्व शिक्षकको चैत महिनाको पेन्सन रोकिएको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ । मासिक रुपमा साढे ५ अर्ब बजेट आवश्यक पर्नेमा रकम अपुग भएपछि मुख्य शहरका पूर्व शिक्षक कर्मचारीको पेन्सन रोकिएको कार्यालयका प्रमुख बिष्णुप्रसाद खरेलले जानकारी दिए । चालु आर्थिक वर्षको बजेट बनाउँदा पुरानै स्केलमा बनाईएको र पेन्सन बढ्दा अपुग भएको उनको भनाइ छ । उनका अनुसार हाल ५० हजार पूर्व शिक्षकले पेन्सन पाउँदै आएका छन् । कर्मचारीको तलब काटेर पुँजीगत खर्च बढाउनुपर्छ महालेखा नियन्त्रकका कर्मचारीहरु भने सबै कर्मचारीको सेवा सुविधा कटौती गरेर भएपनि पुँजीगत खर्च बढाउनुपर्ने बताउँछन् । ‘अहिले कर्मचारीको सेवा सुविधाका लागि मात्र खर्च भएको छ, अन्य कामहरु लगभग ठप्प जस्तै छ, सबै सेवा सुविधा कटौती गरेर निर्माणका काममा जोड दिनुपर्छ,’ स्रोतले भन्यो, ‘मन्त्री, सांसद तथा कर्मचारीको सेवा सुविधा कटौती गरेपछि मात्र विकास निर्माणका कामले गति लिन्छ, काम नै नगरी तलब खाने प्रवृत्तिकाे अन्त्य गर्नुपर्छ ।’
प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलको विभिन्न सेवामा छुट
काठमाडौं । प्रभु बैंक र सौभाग्य हस्पिटलबीच सम्झौता भएको छ । प्रभु बैंक र कैलालीको सौभाग्य हस्पिटलबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटलका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । बैंक र सौभाग्य हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार बैंकका ग्राहकले सौभाग्य हस्पिटलमा ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट हुने भएको छ । साथै प्याथोलोजी, एक्स्–रे, युएस्जी, एन्डोस्कोपी, नर्मल बेड, एच्डीयु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयुरएन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट पाइनेछ । सम्झौता अनुसार सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था छ ।
रवि लामिछाने गत मंसिरको निर्वाचनमा भन्दा थप बढी मतान्तरले विजयी हुने
काठमाडौं । रास्वपाका सभापति तथा चितवन २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका उम्मेदवार रवि लामिछाने गत मंसिरमा भएको निर्वाचनमा भन्दा थप बढी मतान्तरले बिजय हुने सम्भावना देखिएको छ । पछिल्लो सार्वजनिक मतपरिणामसम्म आइपुग्दा लामिछानेले ४५ हजार आठ सय ४२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धि जित नारायण श्रेष्ठले आठ हजार चार सय २५ मत मात्रै प्राप्त गरेका छन् । त्यसैगरी तेस्रो प्रतिस्पर्धीको रुपमा रहेका रामप्रसाद न्यौपानेले आठ हजार तीन सय ३० मत मात्रै प्राप्त गरेका छन् । अहिलेसम्म लामिछाने ३७ हजारभन्दा धेरै मतले अगाडि छन् । अब मतगणना गर्न १२ हजार भन्दा कम रहेको र लामिछननेले शुरुवाती देखि प्राप्त गर्दैै आएको मत वृद्धिको प्रवृत्ति हेर्दा उनी मंसिरको तुलनामा थप बढी मतान्तरले बिजयी हुने सम्भावना देखिएको हो । गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा लामिछनेले ४९,२६४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४,९८३ मत प्राप्त गरेका थिए । त्यस्तै, नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४.६६७ मत प्राप्त गरेका थिए ।
यूनाइटेड इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले आगामी बैशाख २५ गते विशेष साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्गकेटमा उक्त सभा बोलाएको हो । सभाले अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने कम्पनीको प्रस्तावलाई पारित गर्दै छ । दुई इन्स्योरेन्स बराबर हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियो अनुपातमा मर्जरमा जान लागेका हुन् । त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी बैशाख १३ गते बुक क्लोज गर्ने भएको छ ।
तपाईंहरुले मलाई तनहुँ हुँदै मुलुककै मुहार फेर्न मतदान गर्नुभएको हो- वाग्ले
काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उपनिर्वाचनमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफूलाई मतदाताले प्रदान गरेको मत मुलुककै मुहार फेर्नका लागि प्रदान गरेको बताएका छन् । उनले मतदाता र सम्पूर्ण सहयोगी तथा सुभेच्छुकहरुलाई धन्यवाद दिँदै सो बताएका हुन् । ‘यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु’, डा. वाग्लेले भनेका छन्, ‘यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं। १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।’ उनले अनय पार्टीका नेता तथा कार्यकर्ता र मतदाताहरुसँग पनि तनहुँ र मुलुकको अर्थतन्त्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताएका छन् । बधाई शन्देशमा डा. वाग्लेले लेखेका छन्, ‘देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु ।’
भूकम्पको आठ वर्षमा पनि बनेन गोरखा स्मृति उद्यान
गोरखा । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र चार सय ७१ जनाको निधन भएको थियो । भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण ग¥यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इञ्जीनियर पुरुषोत्तम पङ्गेनीले जानकारी दिए । सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी रहेको छ । ‘स्मृति स्तम्भ मण्डला निर्माणको काम पूरा भइसकेको छ’, उनले भने, ‘त्यसबाहेक मण्डलामा चिप्स राख्ने, रङरोगन गर्नेलगायतका काम पनि सम्पन्न भएको छ ।’ उनले पार्कस्थलमा पुग्ने चार सय मिटर सडक कालोपत्र गरिएको, पर्खाल, क्यानटिन पार्क, टिकट काउन्टर निर्माणको काम पनि सकिएको जानकारी दिए । उद्यानभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र हुनेछ । त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थलसमेत निर्माण गरिएको इञ्जीनियर पङ्गेनीले जानकारी दिए । सरकारी स्वामित्वको झन्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उनले बताए । उद्यानमा रहने स्मृति स्तम्भ भने भूकम्पमा परी मृत्यु भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने इञ्जीनियर पङ्गेनीको भनाइ छ । ‘अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाहरूको नाम लेख्न बाँकी रहेको छ’, इञ्जीनियर पङ्गेनीले भने, ‘गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।’ उद्यान निर्माणको जिम्मा स्वच्छन्द/होम निर्माण जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा उद्यान निर्माणको काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीसँग आयोजनाले अहिलेसम्म पाँचपटक म्याद थप गरिसकेको उनले बताए । पछिल्लोपटक थपिएको म्यादअनुसार अब ठेकेदार कम्पनीले यही असारसम्म उद्यान निर्माणको काम सम्पन्न गरिसक्नु पर्नेछ । उनले मन्त्रालयले भूकम्पका कारण मृत्यु भएकाहरूको नाम उपलब्ध गराएमा पछिल्लोपटक थपिएको समयभित्र भने ठेकेदार कम्पनीले काम सम्पन्न गर्न सक्ने अवस्था रहेकोसमेत जानकारी दिए । ठेकेदार कम्पनीले कोरोना जोखिम, भौगोलिकलगायतका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको दाबी गरेको उनले बताए । उक्त उद्यान निर्माण सम्पन्न भएपछि बारपाकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । ‘बारपाक यसै पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा रूपमा लिइन्छ’, उनले भने, ‘झनै भूकम्प स्मृति उद्यान निर्माण सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा झनै ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।’ निर्माणमा ढिलाइ हुँदा सुरुमा १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ रुपैयाँ पुगेको उनले जानकारी दिए । बारपाक सुलीकोटमा सार्वजनिक बिदा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ । गाउँपलिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । बारपाक सुलीकोटको वडा नं १ र २ स्थित बारपाक केन्द्रबिन्दु भएर विस २०७२ वैशाख १२ गते आजकै दिन सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो । गोरखा भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले पालिकाले सोही दिनको सम्झना तथा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको स्मृतिमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए । बिदाको दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ । भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज विशेष कार्यक्रम आयोजनासमेत गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने उनले जानकारी दिए । रासस
विदेश निर्यात हुने पानीको गुणस्तर मापदण्ड पारित
काठमाडौं । गुणस्तर परिषद्को १०८औँ बैठकले विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको सो मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा आइतबार बसेको बैठकले पारित गरेको हो । विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्ने गर्दछ । मापदण्ड पारित भएसँगै अब पानी विदेश निर्यात गर्ने बाटो खुलेको छ । परिषद्को सोही निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागका प्रवक्ता ज्योती जोशी भट्टले जानकारी दिए । विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्यसचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ । विभागका महानिर्देशक दीनानाथ मिश्रले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरेर पारित गर्ने प्रावधान रहेको बताए । विभागको प्राविधिक परिषद्ले धेरै वस्तुको गुणस्तर पारित गरे पनि नेपाल गुणस्तर परिषद्को बैठक समयमा बस्न नसक्दा कतिपय गुणस्तर पारित हुनसकेका छैनन् । पानीको गुणस्तर मापदण्ड पारित भएसँगै अब मूलको पानीको विदेश निर्यात हुने र विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८/७९ मा १५ गुणस्तर पारित गरेको थियो । रासस
नेप्सेमा राष्ट्र बैंकको १० अर्बको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकको १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको जनाएको छ । राष्ट्र बैंकले गत चैत २२ गते १० अर्ब रुपैयाँ बराबरको २०८५ ‘६’ नामक ऋणपत्र बिक्री गरेको थियो । राष्ट्र बैंकले ८.८७ प्रतिशत ब्याजदर कायम रहेको सो ऋण पत्रको अवधि ६ वर्ष रहेको छ । राष्ट्र बकले बिक्री गरेको सो ऋणपत्रको साँवा भुक्तानी वि.सं. २०८५ चैत २२ गते हुने जनाएको छ ।