गण्डकीमा सरकार गठनका लागि आह्वान
गण्डकी । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार तीन दिन (वैशाख १४ गते दिनको ४ बजे) भित्रमा सरकार गठनका लागि आह्वान गरेकाे प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस धारामा कुनै पनि दलको स्पष्ट बहुमत नभएका अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था छ । यसअघि वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो ।
स्थानीय तहबाटै श्रम स्वीकृति शुरू
दोधारा चाँदनी । कञ्चनपुरमा स्थानीय तहबाटै श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । यहाँका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले श्रम स्वीकृति प्रदान गर्न थालेका छन् । नगरपालिकाले वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएका हुन् । सोमबार भीमदत्त नगरपालिकाले दुईजना स्थानीयलाई श्रम स्वीकृत प्रदान गरेको छ । वडा –९ का आनन्द सिंह रावत र वडा नं ८ भवान सिंह भण्डारीलाई नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति प्राप्त गरे । श्रम स्वीकृति लिनका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको सेवाग्राही बताउँछन । ‘काठमाडौँ पुग्न बढी खर्चिलो झन्झटिलो हुन्थ्यो’, भीमदत्त नगरपालिकाका उप–प्रमुख नीलम लेखक जोशीले भने, ‘स्थानीय तहबाटै श्रमस्वीकृति पाउन थालेपछि धेरै नै सहज भएको छ ।’ पालिकाबाटै श्रम स्वीकृत आनन्द सिंह रावतले छिटो सेवा पाएकामा खुसी व्यक्त गरे । ‘पहिला श्रम स्वीकृत लिन काठमाडौँ जानुपर्ने, त्यहाँ आउँदा जाँदा धेरै खर्च हुन्थ्यो’, रावतले भने, ‘अहिले घर छेउबाटै छोटो समयमा सेवा लिन पाउँदा खुसी लागेको छ ।’ भीमदत्त नगरपालिकाका रोजगार संयोजक मीनबहादुर महराले सरकारले गरेको व्यवस्थाअनुसार स्थानीय तहबाटै सेवा सुरु गरिएको बताए । गत चैत १६ गते मन्त्रिस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । ‘सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेको छ’, महराले भने, ‘विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।’ रासस
एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन : विष्णु रिमाल
धादिङ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आउनुभएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खबरदारी गर्ने बताए । अर्थतन्त्र सङ्कटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रुपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ । फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको उनले बताए । उनले भने, ‘यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।’ रासस
पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह
गण्डकी । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गलाई भेट गरी पोखराबाट चीनका विभिन्न सहरमा सिधा उडान गर्ने व्यवस्था मिलाइदिनका लागि अनुरोध गरेको हो । सो क्रममा कोरला नाका छिटो खोल्नका लागि विशेष पहल गर्न पनि राजदूतसँग अनुरोध गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । भेटघाटमा पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिराज तिमल्सिना, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापति, ओभरसिज चाइनिज नेपाल एसोसिएसनका अध्यक्ष, सचिव लगायतको उपस्थिति थियो । पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउनका लागि पनि आफूहरू प्रतिबद्ध रहेको उक्त अवसरमा जानकारी गराइएको थियो ।
बजेटमा रोजगारलाई प्राथमिकता दिन काँग्रेस संसदीय दल बैठकको सुझाव
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् । सोमबारबाट संघीय संसद भवनमा शुरु भएकाले पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् । बैठकपछि मंगलबार सञ्चारकर्मीहरसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको जानकारी दिए । उनले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । उनले बजेटका सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरुले आफ्नो राय दिएको र पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्ने अधिकांश सांसदहरुले माग राखेको बताए । ‘महिला, आदिवासी, जनजाती दलित, पिछडीएको क्षेत्र, पिछडीएको वर्ग, युवा लगायतका क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदहरुले सुझाव दिएका छन्, बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्,’ उनले भने । त्यस्तै नेपाली काँग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभुत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताए । उनले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहनाअनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको बताए । सांसद केसीले देशको आर्थिक अवस्था कमजोर भएपनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको बताए । ‘मुलुकमै रोजागारी सिर्जना गर्न, मुलुकको उत्पादन वृद्धि र उत्पादनलाई बजारसम्म लैजाने वातावरण हुनुे ग्यारेन्टीसहितको बजेट निर्माण हुनुपर्ने माग आएको छ,’ उनले भने ।
मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए । उनले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने, ‘मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।’ यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ । उनले भने, ‘यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।’ पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उनले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए । उनले भने, ‘ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।’ अर्को प्रसङ्गमा उनले सरकारलाई गरेको समर्थन कतिपय अवस्थामा औचित्य नदेखिएको जस्तो आफूले पाएको बताए । यसबारेमा राजधानी फर्किएलगत्तै समीक्षा गरेर निर्णय गरिने उनको भनाइ थियो । लामिछानेले भने, ‘के भयो के भएन, त्यसका आधारमा सरकारलाई दिएको समर्थनको निरन्तरता दिने/नदिने बारेमा निर्णय गर्छौं’, उनले थपे, ‘अहिले त्यत्ति औचित्य देखिएको छैन ।’ रासस
महानगरको डोजरले पुरानो बसपार्कको सडकपेटीको प्रहरी बिट हटायो
काठमाडौं । काठमाडौं महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ । मंगलबार महानगरपालिकाले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडकपेटीको प्रहरी बिट हटाएको हो । महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो । पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।
चितवन-२ मा भारी मतान्तरले विजयी भए रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ मा भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । लामिछानेले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।