विकासन्युज

बजेटमा बैंकको ब्याज एकल अंकमा हुनु पर्ने व्यवस्था गर्नु पर्छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बैंकको ब्याज एकल अंकमा हुनु पर्ने बताएकी छिन् । उनले बैंकको ब्याज एकल अंक हुनु पर्ने गरी बजेटमा नै व्यवस्था हुनु पर्ने बताएकी हुन् । श्रेष्ठले विकासन्युजसँग कुराकानी गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा बैंकको ब्याजदर एकल अंक कायम हुनु पर्ने बताएकी हुन् । ‘व्यवसायीहरूले बैंकको महँगो ब्याज तिर्न सकिरहेको अवस्था छैन, अब सरकारले बजेट ल्याउने दिन नजिकिँदैछ, बजेटमार्फत् नै स्थीर ब्याजदरको नीति अगाडि सारेर एकल अंकमा कायम गर्नु पर्छ,’ उनले भनिन् । उनले ब्याज घटाएर लगानीमैत्री वातावरण सिर्जना गर्नु पर्ने बताइन् । उनले स्टार्टअप एंवम् लघु, घरेलु, साना तथा मझौला उद्यमीका लागि सहज तरिकाले कर्जा व्यवस्था मिलाई नयाँ कार्यक्रमको आवश्यकता रहेको पनि बताइन् । सामानहरू निर्यात तथा आयात गर्दा लाग्ने करमा सहुलियत गर्नु पर्ने उनको भनाइ छ । ‘हामीले उद्योगमा चाहिने कच्चा पदार्थ आयात गरेर ल्याउँछौं, त्यसमा पनि छुटदेखि सहजीकरणको व्यवस्था मिलाउनु पर्याे र अन्यमा भन्दा औद्योगिक क्षेत्रमा एक प्रतिशत ब्याजदर कम भयो भने उत्पादन वृद्धि हुन्छ, नयाँ उद्योगलाई पनि थप सहज हुन्थ्यो,’ उनले भनिन् । यस्तै, उनले औद्योगिक क्षेत्रमा बेला–बेला हुने लोडसेडिङलाई हटाउनु पर्ने उनको भनाइ छ । उनका अनुसार कर सम्बन्धी नीति नियम पनि स्पष्ट हुने गरी बनाउन आवश्यक छ । बजेटमा आएको कार्यक्रमको कार्यान्वयन फितलो भएको उनको भनाइ छ । सरकारले समयमा खर्च गर्न नसक्दा बजारमा पैसाको अभाव भएको र यसले अर्थतन्त्र नै समस्यामा परेको उनले बताइन् । ‘निजी क्षेत्रले देशको अर्थतन्त्र सुधारका लाग ठूलो भूमिका खेल्दै आएको छ, देशको आर्थिक अवस्था बारे सबैलाई थाहा छ, यसको सुधार र अर्थतन्त्रलाई चलायमान हुने खालको कार्यक्रम आगामी बजेटमा आवश्यक छ, सरकार र निजी क्षेत्रको सहकार्य गरी अगाडि बढ्ने हो भने अर्थतन्त्रमा पनि सुधार ल्याउन सकिन्छ,’ उनले भनिन् ।

जहाजमा चरा ठोक्किएको हल्ला अहिलेसम्म प्रमाणित भएको छैन : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको हल्ला अहिलेसम्म प्रमाणित नभएका बताएका छन् । सामाजिक संजालमा स्ट्याट्स राख्दै उनले सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको हल्ला अहिलेसम्म प्रमाणित नभएका बताएका हुन् । मन्त्री किरातीले नकारात्मक हल्ला गर्ने बानी छोड्न पनि सबैलाई आग्रह गरेका छन् । ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं, कागले कान लग्यो भनेर कागलाई खेद्नुभन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ,मेरो आमाले भन्नु हुन्थ्यो,’ उनी लेख्छन् । यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको बताएको छ ।

७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिला पक्राउ

काठमाडौं । धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ । ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ । जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारी साहको झोला तलाशी गर्दा यी नक्कली नोटहरु बरामद गरेको हो । महिलाले कालो रङको झोला बाकेर यताउती हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो । निज महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय, भारतीय १६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । उनले उक्त नक्कली नोट एक लाख बराबर ७ लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताए । निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ ।

राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ : डा. वाग्ले

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा स्वर्णिम वाग्लेले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई एकसाथ चिर्नुपर्ने अवस्था आएको बताएका छन् । मुख्य निर्वाचन कार्यालयबाट विजयीको प्रमाणपत्र लिए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आज दमौलीको खुलाचौरमा आयोजित सभामा उनले भने–’राजनीति सही दिशामा छैन्, दूषित बन्दै गएको छ, यसलाई सङ्ल्याउनुपर्छ ।’ राजनीतिलाई सङ्ल्याएर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने डा वाग्लेको भनाइ थियो । राष्ट्रिय जीवनका विभिन्न पाटा ठप्प रहेका उल्लेख गर्दै उनले ती सबै कुरालाई खुकुलो बनाउँदै अन्तरनिहीत सम्भावनालाई प्रष्फुटनका लागि राजनीतिलाई सही दिशामा ल्याउनुपर्नेमा उनले जोड दिए । एक व्यक्तिको प्रयासले मात्रै देशको विकास गर्न नसकिने उल्लेख गर्दै डा वाग्लेले यसका लागि सबै राजनीतिक दल एकै स्थानमा रहेर जिम्मेवारका साथ काम गर्नुपर्ने समय आएको उल्लेख गरे । ‘रास्वपा छ महिनामा राष्ट्रिय पार्टी बन्न सफल भएको छ, राजनीतिमा यसले एक किसिमको झिल्को दिएको छ । यसले पराम्परागत दललाई सुध्रिन बाध्य बनाएको छ’, उनले भने । युवाका आकांक्षालाई पूर्णरुपले आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नरहेको वाग्लेको भनाइ थियो । उनले भने,’देशका विकृति विसङ्सङ्गतिलाई चिर्न तनहुँले ठूलो सन्देश दिएको छ’, उनले भने । तनहुँवासीले गर्ब गर्ने किसिमले इमान्दार र जिम्मेवार भएर काम गर्ने डा. वाग्लेले प्रतिवद्धता व्यक्त गरे । रासस

बारा २ को मतगणना पुनः सुरु

काठमाडाैं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो ।

‘धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने’

काठमाडौं । नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ । सर्लाहीको हरिवनमा हिजो र आज भएको एसोसिएसनको केन्द्रीय बिस्तारित बैठकमा ‘फ्रेस मिल्क’मा लगाइएको अन्तःशुल्क हटाउन पहल गर्ने, दूधको मूल्यवृद्धि पश्चात छुर्पिको मूल्य बढ्दा बिक्रीमा भएकाले समस्या समाधानका लागि पहल गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । बैठकमा प्रदेश र जिल्ला समितिलाई अझ सक्रिय बनाइ हरेक क्रियाकलाप अगाडि बढाउने, दुग्ध सङ्कलन केन्द्रले विद्युत महसुलमा पाउँदै आएको छुटलाई निरन्तर दिइनुपर्ने विषयमा छलफल गरिएको उनको भनाइ छ । उनका अनुसार बैठकमा नेपाल डेरी एसोसिएसनलाई महासङ्घमा लैजाने विषयमा पनि छलफल भएको थियो । ‘गण्डकी प्रदेशमा छुर्पी र पनिरमा भ्याट नलाग्ने भनि भएको निर्णय स्वागत गर्दै अब अन्य प्रदेशमा पनि सोहीअनुसार पहल गर्ने निर्णय बैठकले गरेको छ’, महासचिव हेमचन्द्र खनालले भने । वैशाख १२ गतेदेखि १४ गतेसम्म मधेस प्रदेशको हरिवनमा हुन लागेको डेरी तथा कृषि औजार मेलाको सन्दर्भमा एसोसिएशनको बिस्तारित बैठक एवं प्रदेश र जिल्ला समितिका पदाधिकारीलाई एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सातै प्रदेशका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव एवं जिल्लाका अध्यक्षको सहभागिता रहेको केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल जानकारी दिए । साथै अध्यक्ष दाहाल र महासचिव खनालले प्रशिक्षण दिएका थिए । बैठकमा विगतका भएका निर्णयमाथि समीक्षा, आय तथा व्ययको फछ्र्यौट, दूधको मूल्य वृद्धिका कारण परेको असरको समीक्षा, आगामी दिनमा प्रदेशअनुसार मूल्य निर्धारण गर्दा सहज हुने विषयमा पनि छलफल भएको थियो । एसोसिएसनको आगामी बिस्तारित बैठक लुम्बिनी प्रदेशमा गर्ने निर्णय भएको छ । रासस

१५ दिनभित्र पोलमा रहेको अनावश्यक तार हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरले पोलमा छोडिएका अनावश्यक तार हटाउन सेवा प्रदायकहरुलाई १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केवुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन निर्देशन दिएको हो । सेवा प्रदायकहरुले १५ दिनभित्र तार नहटाए १६ दिनपछि महानगरको कार्य समूहले आफैँ तार हटाउने र यसबाट हुने असुविधाको जिम्मेवारी हुने प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए । ‘हामीले पत्र पठाइसकेका छौँ, १५ दिनको अवधि तोकेर भोलि सार्वजनिक सूचना जारी गर्छौँ, त्यस अवधिमा पनि तार हटाउने काम भएन भने १६ दिन महानगरले कार्य समूह गठन गरेर अनावश्यक तार हटाउने काम थाल्नेछ, यसबाट लाभग्राहीमा असुविधा भए त्यसको जिम्मेवार सेवाप्रदायकले लिनुपर्नेछ,’ उनले भने । धेरै पटक सरोकारवाला कार्यालयका अधिकारीसँग बैठक बसेर प्रतिकुल अवस्थालाई अनुकुल बनाउन अनुरोध गर्दा पनि अपेक्षा गरिएको समयमा नतिजा नआएपछि पत्र पठाएको अधिकारीले बताए । ‘दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक हुन्, टाँङ्दै जाँदा उब्रिएको तार पोलमा गुजुल्टो पारेर राख्ने गरिएको छ, यसले पोलले क्षमताभन्दा धेरै भार बोकिरहेको छ, तार धेरै भएपछि पोल लड्न सक्ने र तारमा आगो लागेर दुर्घटना हुन सक्ने खतरा उत्तिकै छ,’ उनले भने । महानगरले सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु दूर सञ्चार प्राधिकरण, सीसीटिभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल ९आईएसपीएएन० लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध पनि गरेको छ ।

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायीका अनुसार तोलामा ४ सयले सुनको मूल्य बढेको हो । नेपाली बजारमा बढेको सुनको मूल्य अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजारमा कारोबार भइरहेको छ । साथै चाँदीको मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।