विकासन्युज

राष्ट्र बैंकले सुपरिवेक्षण नगरे मर्जरमा गएका बैंकको जोखिम बढ्न सक्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तिय संस्थाको संख्या घटेपनि जोखिम बढ्न सक्ने बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मर्जरमा गएको बैंकको राष्ट्र बैंकले सुपरिवेक्षण नगरे जोखिम बढ्न सक्ने बताए । उनले राष्ट्र बैंकले आफ्नो क्षमतामा वृद्धि गरिरहेको बताए । कोरोनापछि राष्ट्र बैंकले उदार निति जारी गरेका कारण अर्थतन्त्र कोल्याप्स हुनबाट जोगिएको उनी बताउँछन् । राष्ट्र बैंक पूर्ण स्वायत्त भएको हुँदा अर्थतन्त्रमा परेको समस्यामा समाधान भएको बताउँदै उनले भने,’राष्ट्र बैंक पूर्ण स्वायत्त हुन जरुरी छ, २०४६ देखि बजारले ब्याजदर निर्धारण गर्ने भएकोले राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गर्न सक्दैन ।’ यस्तै, उनले सहकारी संस्थालाई तत्काल नियन्त्रण नगरे ओरियन्टल र सिभिल सहकारी संस्था डुबे जस्तै अन्य ठूला सहकारी संस्था पनि डुब्न सक्ने बताएका छन् ।

साढे नौ अर्ब लगानी थप्दै डाबर नेपाल

काठमाडौं । लगानी बोर्ड र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधकरण परियोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि पुनःलगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डको कार्यालयमा आज भएको एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका तर्फबाट ‘बिजनेश हेड’ हरकिरतसिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेको बोर्डका उपसचिव राजुप्रसाद गुरागाईंले जानकारी दिए । उद्योगको क्षमता वृद्धि तथा उत्पादन विविधकरणको लागि बोर्डको ४९औँ बैठकले २०७८ माघ २५ को बैठकले लगानी स्वीकृत गरेको थियो । डाबर नेपालले पेश गरेको क्षमता वृद्धिसम्बन्धी परियोजना प्रस्तावअनुसार नौ अर्ब ६८ करोड रुपैयाँ थप लगानी गर्नेछ । समझदारीपत्रमा हस्ताक्षरपछि डाबर नेपालका वेदीले नेपालमा आर्जित पूँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पूँजी बढाउन पाउँदा हर्षित भएको बताएका थिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपालका तर्फबाट हुन लागेको पुनःलगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास र व्यवसाय विस्तारको प्रचुर स्म्भावनालाई उजागर गरेको बताए । उद्योगमन्त्री रिजालले डाबर नेपालको पुनःलगानीले लगानीकर्ता माझ ठूलो सन्देश प्रवाहित हुने उल्लेख गर्दै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेकाबाट सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर निर्णय लिनसक्ने उल्लेख गरे ।

आइएमईले भित्र्यायो सबैभन्दा धेरै रेमिट्यान्स, बैंकमा हिमालयन अगाडि

काठमाडौं । गत आर्थिक वर्षमा बिप्रेषण कम्पनीहरुमा सबैभन्दा धेरै रेमिट्यान्स आइएमई लिमिटेडले भित्र्याएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइएमई एक्लैले ३१.१२ प्रतिशत रेमिट्यान्स भित्र्याएको थियो । त्यस्तै, सिटी एक्सप्रेसले १४.९२ र प्रभु मनि ट्रान्सफरले १०.९१ प्रतिशत रेमिट्यान्स भित्र्याएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा बैंकहरुतर्फ हिमालयन बैंकले सबैभन्दा धेरै १६.९० प्रतिशत रेमिट्यान्स भित्र्याएको थियो । नेपाल एसबिआई बैंकले १६.७७ र ग्लोबल आइएमई बैंकले १५.६५ प्रतिशत रेमिट्यान्स भित्र्याएका थिए । नेपाल राष्ट्र बैंकले धेरै रेमिट्यान्स भित्र्याउने कम्पनीहरुलाई बिहीबार ६८औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ ।

‘राष्ट्र बैंक र अर्थमन्त्रालयबीच व्यक्तिगत द्वन्द्व बढेकाे छ’

काठमाडौं । नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबीच व्यक्तिगत रुपमा द्वन्द्व बढेको राष्ट्र बैंक नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष राजिव शर्मा रेग्मीले बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंक र अर्थमन्त्रालयबीच व्यक्तिगतभन्दा पनि रचनात्मक द्वन्द्व हुन जरुरी रहेको बताए । यस्तै, उनले कर्मचारीको अभिवृद्धमा राष्ट्र बैंकले कमजोर व्यवस्थापन गरेको आरोप लगाए ।नेपाल रास्ट्र बैंक कर्मचारी बिनिमयावली एकतर्फी रुपमा संशोधन गरिएको बताउँदै उनले भने ‘राष्ट्र बैंकविरुद्ध पहिलोपटक आन्दोलन भएको छ, राष्ट्र बैंक यस विषयमा चुकेको छ ।’ उनले राष्ट्र बैंकले समयमा नीति निर्देशन परिमार्जन गर्न नसके झनै समस्या आउने बताए ।

नेपाल र अष्ट्रेलियाबीच हवाई उडानबारे छलफल

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तार र पर्यटन प्रवद्र्धनका लागि साझेदारिताबारे आज छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका विषयमा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तारका लागि यसअघि नै प्रक्रिया अघि बढिसकेको छ । यसका लागि मन्त्रालयमा कार्ययोजना समेत पेश भइसकेको छ । अष्ट्रेलियामा सिधा उडानका लागि नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘सरकारले वायुसेवा निगमलाई अष्ट्रेलिया उडानका लागि आधिकारिक एयरलाइन्स तोकेको छ’, उनले भने, ‘अष्ट्रेलियामा हवाई उडानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।’ सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । नेपालले हालसम्म ४० मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ । आजै पर्यटनमन्त्री किरातीले ‘इन्टर्नशिप’का लागि फ्रान्स गएका विद्यार्थीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्दै फ्रान्समा नेपालको राम्रो सम्भयता छाडेर आउन आग्रह गरे । ‘अब पर्यटन विश्वविद्यालय चाँडै खोलिदैछ तपाईंहरुको आवश्यकता त्यहाँ पनि पर्छ राम्रो अध्ययन गरेर आउनुहोला । तपाईंहरुले एक वर्ष त्यहाँ सिक्न मात्रै जादै हुनुहुन्न यो देशको राम्रो सभ्यता समेत छाडेर आउनुहुनेमा विश्वास छ’, पर्यटनमन्त्री किरातीले भने । होटल व्यवस्थापन विषय अध्यानरत २४ विद्यार्थीलाई पर्यटनमन्त्रीले विदाई गरेका हुन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथमका विद्यार्थीहरुले फ्रान्सको सेभोलेमा रहेको १०० वर्ष पुरानो विश्वाविद्यालयमा एक बर्ष इन्टर्नशिप गर्नेछन् । साथै फ्रान्सबाट नाथममा इन्टर्नशिप गर्नका लागि भोलि विद्यार्थीहरु यहाँ आउने कार्यक्रम रहेको नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले जानकारी दिए । रासस

विश्वमा प्रतिव्यक्ति अस्पताल बेडको उपलब्धतामा ग्रिनल्यान्ड अगाडि, नेपालमा तीस हजार व्यक्ति बराबर एक बेड मात्रै

फाइल फाेटाे काठमाडौं । विश्वमा प्रतिव्यक्ति अस्पताल बेडको सबैभन्दा धेरै उपलब्धता हुनेमा ग्रिनल्यान्ड अगाडि देखिएको छ भने माली सबैभन्दा कमजोर देखिएको छ । वल्ड स्टाटस्टिक्सका अनुसार ग्रिनल्यान्डमा प्रतिहजार १८.७ बेडको उपलब्धता रहेको छ भने मालीमा प्रतिहजार ०.१ वटा बेडको उपलब्धता रहेको छ । विश्वका ठूला अर्थतन्त्र भएका अमेरिका, चीन र जापानमा अस्पताल बेडको उपलब्धता प्रतिहजार क्रमशः २.९, ४.३ र १३ वटा रहेको छ । नेपालमा भने प्रतिहजार मानिसहरुलाई ०.०३ बेडको मात्रै उपलब्धता अर्थात प्रति ३० हजार मानिसलाई एउटा मात्रै बेडको उपलब्धता भएको तथ्यांकहरुले देखाएका छन् । एजेन्सीको सहयोगमा ।

समता घरेलु लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । समता घरेलु लघुवित्तले ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ । संस्थाले विभिन्न १० पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अनुगमन तथा सुपरिवेक्षण विभाग, जोखिम विभाग, प्रशासन विभाग अन्तर्गत व्यवस्थापकीय अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । साथै, संस्थाले लेखा विभाग, वित्त विभाग, सूचना तथा प्रविधि विभाग लगायतका अन्य विभागमा वरिष्ठ सहायक पददेखि सहायक अधिकृत पदहरुमा १ १ जनाका दरले कर्मचारी माग गरेको छ । प्रशिक्षार्थी देखि अधिकृतसम्मका पदहरुका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । संस्थाको अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएलसी देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुभवि, स्किलफुल तथा क्षमतावान उम्मेदवालाई बढी प्राथमिकता दिइने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाइट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।

एउटाले अर्को मानिससँग डराउनुपर्ने अवस्था आयो : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानिसहरुले आफू सुरक्षित नभएको आभाष गर्न थालेको बताएकी छिन् । बिहीबार गृहमन्त्रालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा वैशाख ७ गते भएको निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी उनले नागरिकले असुरक्षित महशुस गरिरहेको बताएकी हुन् । उनले अहिले मानिसहरु एकले अर्कोसँग डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन् । उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन् । अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकामा सिसि क्यामेर जडान गर्ने प्रक्रिया अघि बढाएको पनि बताइन् । उनले भनिन्, ‘अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट छिटै नै निचोड आउने प्रतिवद्धता पाएका छौँ । महानगरपालिकाले पनि शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेका छौँ । महानगरले पनि महानगरभित्र प्रहरीसँग हरेक ठाउँमा सिसि क्यामेरा राख्ने जडान गर्ने भनेका छौँ । हामीले ८ दिन बितिसक्दा पनि बाहिर नआउनु हामी सबैका लागि हामी यहाँ सुरक्षित छौँ की छैनौँ भन्ने प्रश्न आएको छ ।’ उपप्रमुख डंगोलले महानगरपालिका शान्ति सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर अघि बढीरहेको पनि बताइन् ।