विकासन्युज

कालीगण्डकी करिडोरको कामले जगाएको आशा, रफ्तारमा हुन थाल्यो काम

बलेवा । कालीगण्डकी करिडोरको मालढुङ्गा–रुद्रवेणी खण्डमा भइरहेको कालोपत्रको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम धमाधम हुँदा सर्वसाधारणमा आशा जागेको हो । कोरिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजना पाल्पाले मालढङ्ंगादेखि रुद्रवेणीसम्म तीन खण्डमा कालोपत्रको काम गरिरहेको छ । गुल्मीको रुद्रवेणीदेखि हर्मिचौर सम्मको १४ किलोमिटर खण्डमा कालोपत्रको काम अन्तिम चरणमा छ । आगामी वर्ष यो खण्डको कालोपत्र सकिने आयोजना कार्यालय पाल्पाका प्रमुख शङ्कर पौडेलले बताए । बागलुङको मालढुगादेखि बलेवा विमानस्थलसम्मको १० किमी सडक कालोपत्रका लागि संरचना बनाउने काम भइरहेको छ । निर्माण व्यवसायी खड्का कृष्ण जेभीले सम्झौता भएको छ महिनाको अवधिमा २५ प्रतिशत काम सकेको पौडेलले बताए । दुई वर्षको समयावधी पाएको कम्पनीले निर्धारित समयमा काम सक्नेगरी संरचना निर्माणको काम गरिरको छ । बलेवा विमानस्थलदेखि हर्मिचौरसम्म सबैभन्दा लामो दुरीको खण्ड छ । ४४ किमी खण्डमा एकै पटक काम सुरु भएको हो । यहाँ १२ प्रतिशत भौतिक प्रगति छ । यो खण्डको कामले समेत समयमा नै तीव्रता पाएको पौडेल बताउनुहुन्छ । करिडोरले सदरमुकाम बागलुङ बजारदेखि बलेवा क्षेत्र र जैमिनी नगरलाई प्रभाव पार्छ । यो सडक कालोपत्र हुँदा जिल्लाको दक्षिण क्षेत्रलाई बुटवल भैरहवाहुँदै भारतीय नाका पुग्न सहज हुने स्थानीयवासी बताउँछन् । बागलुङ र गुल्मीको केही क्षेत्र मात्रै समेट्ने ५४ किलोमिटर खण्ड कालोपत्र गर्न झण्डै पाँच अर्ब खर्च हुँदै छ । दश किलोमिटर खण्ड खड्का कृष्ण जेभीले दुईवर्ष र ४४ किलोमिटर खण्ड कालिका कन्स्ट्रक्सनले तीन वर्षभित्रमा कालोपत्र सक्ने सम्झौता छ । ‘करिडोरमा भइरहेको कामले छिट्टै कालोपत्र सडकको यात्रा गर्न पाउँछौंँ,’ जैमिनी–८ छिस्तीका राजेन्द्र शर्मा भन्छन्, ‘बागलुङ–गुल्मीसँग जोडिएको छिस्ती पुग्न सडकले सहज बनाउँछ ।’ कालीगण्डकी करिडोरको निर्माण भएसँगै सुदूरपूर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखिरहेका छन् । करिडोरले रुरुक्षेत्र, सत्यवती, कालीगण्डकी गाउँपालिकालाई समेट्दै बागलुङ जोडेको छ । कालीगण्डकी नदिका तटमा रहेका धार्मिक तथा पर्यटकीयस्थललाई जोडेर चीन र भारत जोड्ने भएकाले सर्वसाधारण उत्साहित भएका हुन् । करिडोरको बागलुङ मालढुङ्गादेखि बुटवलसम्मको सबै खण्डमा काम चलिरहेकाले अबको दुई वर्षमा कालोपत्र सडकमा यात्रा गर्न सकिने आयोजना कार्यालयले जनाएको छ । कूल चार सय ३५ किलोमिटर लम्बाइ रहेको यो आयोजनाको मालढुङ्गा–बेनी–जोमसोम सडकखण्डअन्तर्गत एक सय १० किलोमिटर सडकपर्छ भने बाँकी सडक गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा पर्छ । करिडोरहुँदै पालिका मुकाम र गाउँबस्तीमा पुग्ने सडकको स्तरोन्नतिमा समेत स्थानीय तहले ध्यान दिन थालेका छन् । करिडोर कालोपत्र हुँदा पहुँच मार्ग विस्तार गरेका स्थानीय तहका मुकाममा कालोपत्र सडक पु¥याउन सहज हुनेछ । रासस

इम्बोस्ड नम्बर : अब प्रदेशको नाम नेपालीमा, अन्य यथावत

काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिए । ‘जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ, नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ, त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ’, उनले भने । इम्बोस्ड नम्बर आपूर्ति गर्न बङ्गलादेशको कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ । पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नेगरी विसं २०७३ मा सम्झौता भएको थियो । सरकारले इम्बोस्डमा राख्ने भाषा टुङ्गो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन । ‘नम्बर प्लेटमा देवनागरी लिपि राख्नका लागि उनीहरुको सिस्टममा परिवर्तन गर्नुपर्ने रहेछ’, इन्जिनियर थापाले भने, ‘उनीहरुले त्यसका लागि तयारी गर्दैछ, अब छिट्टै सुरु हुन्छ, हामीले सोहीअनुसार तयारी गर्न भनेर सम्बन्धित ‘पार्टी’लाई निर्देशन दिएका छौँ ।’ विविआइएनअन्तर्गतका बङ्गलादेश, भूटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरुको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरिएको उनको भनाइ थियो । भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले सुनाए । यही वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर नेपालीमा, नेपाली तथा अङ्ग्रेजीमा र अङ्गे्रजीमा गरी तीनवटै विकल्पमा छपाइ गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र केही समयमै लागू हुने जानकारी गराएका थिए । गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा छपाइ गर्न पाउने निर्णय गरेको थियो । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा इम्बोस्ड नम्बर देवनागरीमा छपाइ गर्ने विषयलाई अगाडि बढाइएको बताएका थिए । ‘त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौँ । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौँ’, उनले भनेका थिए । सरकारले अङ्ग्रेजीमा इम्बोस्ड नम्बर छपाइ गर्न अनिवार्य गरेको भन्दै नेपाली भाषा बचाउ अभियन्ताले विरोध जनाउँदै आएका थिए । धेरै पटक सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुँदै आएको थियो । यसअघि इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुँदै आएको थियो । निर्देशनको पर्खाइमा विभाग सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यससम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरु रहेको बताए । ‘देवनागरी लिपिमा छाप्ने भन्ने भयो, तर कुनकुन अक्षर र अङ्क देवनागरीमा छाप्ने भन्ने स्पष्ट भएको छैन’, उनले भने, ‘मन्त्रालयबाट निर्देशन आएपछि मात्रै काम सुरु हुन्छ ।’ विभागले अहिले पुरानै व्यवस्थाअनुसार इम्बोस्ड छपाइ गरिरहेको छ । ‘अङ्ग्रेजीलाई अमान्य भनेको होइन, इम्बोस्ड नम्बरका लागि प्राप्त ‘अर्डर’ अनुसार प्लेट छपाइ भइरहेको छ’, सूचना अधिकारी पनेरुले भने । हालसम्म करिब तीन लाख इम्बोस्ड नम्बर छपाइ भएको छ । रासस

साना किसान विकास लघुवित्त र नेपाल कृषि सहकारीले पाए अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी संघ केन्द्रीय लिमिटेडले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । दुवै संस्थाहरुले आफ्नो उद्देश्य अन्तर्गतको क्षेत्रमा सफलतापूर्वक कार्यसम्पादन गरेवापत उक्त अवार्ड प्राप्त गरेका हुन् । अर्थमन्त्रालय र एसियाली विकास बैंक (एडिबि) ले यही वैशाख ८ गते संयुक्त रुपमा आयोजना गरेको कन्ट्री पोर्टफोलियो रिभ्यु मिटिङबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कार्यान्वयन गरेको ग्रामिण उद्यम कर्जाले बेस्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेको हो । साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत कार्यक्रम कार्यान्वयन गर्ने गरी नेपाल सरकार र एसियाली विकास बैंकबीच डिसेम्बर १०, २०१९ मा ग्रामिण उद्यम लगानी परियोजनामा सम्झौता भएको थियो । उक्त परियोजनाले नेपालका मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा सहज पहुँच सुनिश्चित गरी कृषि उद्यमको विकासको प्रभावकारी परिणाम दिएको जनाइएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई सञ्चालन गरिएको उक्त कार्यक्रमबाट अहिलेसम्म नौ सय ३० वटा व्यक्तिगत र ३० वटा सामूहिक परियोजनाहरुमा दुई अर्ब ३० करोड रकम लगानी भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले जनाएका छन् । त्यस्तै, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले सहकारी संस्थाको क्षमता विकास, सुशासन र संस्थागत विकासका साथै साना किसानहरुको कृषि र आर्थिक मुद्दाहरुलाई सम्बोधन तथा वकालत गर्दै कृषि क्षेत्रमा योगदात गरेबापत एफएओ एवार्ड फर पार्टनरसिप २०२३ प्राप्त गरेको छ । यहि अप्रिल २४ मा इटलीको रोममा भएको अन्तर्राष्ट्रिय समारोहकाबीच संघलाई फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) अफ युनाइटेड नेसनले संघलाई उक्त एवार्ड प्रदान गरेको हो । एफएओले अवार्डको निमिक्त आह्वान गरेको प्रतिस्पर्धामा नेपाल लगायत विश्वभरीका संस्थाले गरेको नोमिनेसनमा नेपालले प्रथम एवार्ड प्राप्त गरेको हो भने दोस्रो अवार्ड लेबनानको संस्थाले प्राप्त गरेको छ । अवार्ड प्राप्त गरेको विषय जानकारी गराउन बिहीबार काठमाडौंमा आयोजना गरिएको संयुक्त कार्यक्रममा नेपाल कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक र साना किसान विकास लघुवित्त वित्तीय संस्था संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले संस्थालाई थप जिम्मेवारी प्राप्त भएको अनुभव भएको विचार व्यक्त गरेका थिए ।

नेपाल इटली चेम्बरको उपाध्यक्षमा राजवंशी, विभिन्न समिति गठन

काठमाडौं । नेपाल इटली चेम्बर अफ कमर्सको उपाध्यक्षमा रुपक राजवंशी चयन भएका छन् । सोमबार बसेको नेपाल इटली चेम्बरको दोस्रो बैठकले रिक्त उपाध्यक्ष पदमा राजवंशीलाई चयन गरेको हो । लामो समयदेखि शिक्षा क्षेत्रसँग आवद्ध राजवंशी सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपलसमेत हुन् । नेपाल इटली चेम्बर अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा बसेको यो वैठकले विभिन्न विषयगत समिति पनि गठन गरेको छ । बैठकले कार्यसमिति सदस्य सरिक बोगटीको संयोजकत्वमा पर्यटन प्रवर्द्धन समिति, विनोद सग्तानीको संयोजकत्वमा उद्योग तथा लगानी प्रवर्द्धन समिति, सुवासविक्रम शाहको संयोजकत्वमा व्यापार तथा आर्थिक प्रवर्द्धन समिति गठन गरेको छ यस्तै, कार्यसमिति सदस्य किशोर भट्टराईको संयोजकत्वमा संस्कृति, खेलकुद शिक्षा तथा सामाजिक प्रवर्द्धन समिति गठन भएको छ । संघका अध्यक्ष अग्रवालका अनुसार विषयगत चार समितिले नेपाल र इटलीबीच आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारका क्षेत्रमा काम गर्ने छ । इटलीका लगानीकर्ता तथा पर्यटकलाई नेपालमा आमन्त्रण गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा सम्बन्ध विस्तार गरिने अध्यक्ष अग्रवालले बताए । इटलीका पर्यटन व्यवसायी तथा लगानीकर्तालाई नेपालको पर्यटकीय स्थल भ्रमण गराउने निर्णय बैठकले गरेको छ । बैठकले इटली र नेपालका अन्य बिभिन्न क्षेत्रका व्यवसायीबीच छलफल गराउने निर्णय पनि गरेको छ ।

लिसङ्खुपाखरका किवि खेती गर्ने किसानलाई अनुदानमा किवि टि-वार

सिन्धुपाल्चोक । लिसङ्खुपाखर गाउँपालिकाकाले किवि किसानलाई किवि टि–वार वितरण गरिएको छ । पालिकाको आर्थिक वर्ष २०७९/८० मा स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिका कृषि विकास शाखाद्वारा ५० प्रतिशत अनुदानमा २२ जना किवि खेती गर्ने किसानलाई किवि टि–वार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर बिष्टले जानकारी दिए । किविलाई थाङक्रोका रुपमा प्रयोग हुने किवी टि–वार हिजो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्टले किसानलाई हस्तान्तरण गरे । विष्टले पालिकाको किवि खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा किवि टि–वार वितरण गरिएको जानकारी दिए । गाउँपालिकाले किसानसँग प्रत्यक्ष जोडिएर किवी र आलुलाई विशेष प्राथमिकतामा राखेर लगानी गरेको उनको भनाइ छ । वडाअध्यक्ष भक्तलाल शाक्यले गाउँपालिकाले अनुदान दिएको सामग्रीलाई सही सदुपयोग गर्न आग्रह गरे । गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष नेपालका अनुसार लिसङ्खुपाखरमा एक सयभन्दा बढी किसान किवि खेतीमा संलग्न छन् । जसमध्ये निम्न आय भएका किसानलाई प्राथमिकतामा राखी तीन सय आठ किवि टि–वार वितरण गरिएको हो । उनका अनुसार फलामको टि–वार प्रतिगोटा ढुवानी समेत गरेर दुई हजार पाँच सय रुपैयाँमा गाउँपालिकाले खरिद गरेको हो । किसानले अब एक हजार दुई सय ५० मै पाउने छन् । अन्य किसानलाई पनि क्रमशः टि–वार वितरण गरिने कृषि शाखा प्रमुख नेपालले जानकारी दिए । रासस

एनएमबि बैंकको एपबाट सिधै ‘आइएमई पे’मा पैसा लोड गर्न मिल्ने

काठमाडौं । ‘आइएमई पे’ मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् । ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुविधा सुचारु गरिएको कम्पनीले जनाएकाे छ ।

महानगरले सिल गर्‍यो बालाजुको घरको सटरमा रहेको पेट्रोल पम्प

काठमाडौं । काठमाडौं महानगरले घरको सटरमा सञ्चालन भइरहेको पेट्रोल पम्प सिल गरेको छ । महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि सञ्चालनमा रहेको बालाजुको पेट्रोल पम्प सिल गरेको हो । महानगरपालिकाले गत फागुन १० गते बालाजु ठमेल सडकको दाँयातर्फ तहेको कोत : धुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरी आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगरानी राखेको थियो । महानगरले मापदण्ड विपरीत आयल नियम राखेको भन्दै बिहीबार महानगरपालिकाले कोत : धुक सिल गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बीमा वापत दियाे १० लाख 

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका एक ग्राहककाे परिवारलाई दाबी भुक्तानी वापत १० लाख उपलब्ध गराएको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले मृतकका श्रीमतिलाई हस्तानतरण गरेकाे हाे । निजले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेकाे कारण उनको परिवारले बीमा दाबी भुक्तानी वापत रकम प्रदान गरेकाे बैंकले जनाएकाे छ । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो । निजले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेकाे कारण उनको परिवारले बीमा दाबी भुक्तानी वापत रकम प्रदान गरेकाे बैंकले जनाएकाे छ । हाल मुक्तिनाथ विकास बैंकको परिवार लक्षित एक करोड १ लाखसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता संचालन गरिरहेकाे छ ।