विकासन्युज

होटल व्यवसायलाई उद्योग सरहको मान्यता हुनुपर्ने

काठमाडौं । होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने होटल तथा पर्यटन व्यवसाय सङ्घ वीरगञ्जले सरकारसँग आग्रह गरेको छ । सङ्घका अध्यक्ष हरि पन्त नेतृत्वको होल तथा पर्यटन व्यवसायीको टोलीले सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो । मुलुकको आर्थिक विकासमा होटल तथा पर्यटन व्यवसाय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै होटल तथा पर्यटन व्यवसायीले यस क्षेत्रको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग गरेका छन् । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल तथा पर्यटन व्यवसाय भएकोले यसको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग आफूले मन्त्रीसमक्ष गरेको सङ्घका अध्यक्ष पन्तले जानकारी दिए । होटल तथा पर्यटन व्यवसायले उद्योग सरहको मान्यता प्राप्त गरेपछि सहुलियत र सुविधाहरू पनि पाउने भएकाले यसबाट होटल तथा पर्यटन व्यवसायलाई तङ्ग्रिन र विकास गर्नमा मद्दत मिल्ने अध्यक्ष पन्तको भनाइ छ । होटललाई उद्योग सरह मान्यता दिएको खण्डमा व्यवसायीले राज्यबाट विभिन्न सुविधा प्राप्त गर्ने भएको हुनाले व्यवसायीलाई प्रोत्साहन मिल्ने उनले बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले छिट्टै नीतिगत र प्रक्रियागत अड्चनलाई सच्याएर होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योग सरह मान्यता दिलाउनेमा प्रतिबद्ध रहेको बताए ।

सरकारले प्रदान गर्ने सम्मान र पुरस्कारमा २ प्रतिशत मजदुरलाई समावेश गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई)को अवसरमा जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ । ‘राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु, मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ । सन्देशमा अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उल्लेख छ । नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको सन्देशमा छ । ‘नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदुरको हकहित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु, नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामू छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु,’ उनले भने । ८ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदुरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन् । उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए ।

वैशाख २७ गतेबाट एकीकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गते बुधबारबाट एकीकृत कारोबार गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् ।ढकाल र श्रेष्ठ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो ।

नबिल बैंकले तेह्रथुमको छथरमा दियो उद्यमशीलता विकास तालिम

काठमाडौं । नबिल बैंकले कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार बैंकले ५७ जनालाई एक साता लामो तालिम प्रदान गरेकाे हाे । नबिल दिगो बैंकिङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आवद्धता जनाएको हो । बैंकले स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन यो तालिम सहयोगी हुने अपेक्षा राखेको बताएको छ । कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत नबिल बैंकका तर्फबाट कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति रहेको थियो ।

सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन काउन्टर गेटा आँखा अस्पतालमा

काठमाडौं । सिद्धार्थ बैंकले कैलाली स्थित गेटा आँखा अस्पतालमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारदेखि नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले गोदावरी नगरपालिका, कैलाली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । उक्त एक्स्टेन्सन् काउन्टर विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९५ (५ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

हाइफ्युचरको ब्राण्ड एम्बेसडरमा पारस खड्का

काठमाडौं । हाइफ्युचरको ब्राण्ड एम्बेसडरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन् । ब्राण्ड एम्बेसडरको रूपमा खड्काले हाइफ्युचरको वायरलेस इअरबड, हेडफोन, पोर्टेबल स्पीकर, र स्मार्टवाचहरूसहितको अभिनव रेंजको स्मार्ट वियरेबल र अडियो उत्पादनहरूलाई प्रमोट गर्नेछन् । इलेक्ट्रोनिक ग्याजेटहरूको अग्रणी आयातक टेक स्टूडियो हाइफ्यूचरका उत्पादनहरूको नेपालमा आधिकारिक वितरक हो ।

पहिरोले थुनिएको अरुण अझै खुलेन, ड्याम भत्किए ठूलो क्षति हुनेसक्ने

काठमाडौं । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’ को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । टनेलमा पहिरो खसि अरुण नदी थुनिएको लामो समय बितिसक्दा पनि अझै पूर्ण रूपमा पानी नखोली सकेको मकालु गाउँपालिका वडा नं। ५ बालसुधा आधारभूत विद्यालयका शिक्षक राजु अधिकारीले बताए । अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिए झरी रहेको छ । टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ । लामो समयसम्म पानी जम्मा भएपनि बाँध पक्की भएकाले तत्काल बाँध नफुटेको अधिकारीले जानकारी दिए । उनका अनुसार सो ठाउँमा अहिले वर्ष भइरहेको छ । ‘टनेल थुनिएर ड्याम पानीले भरिएर बाहिर गएको करिब डेढ घण्टा भएको छ, यदि ड्याम भत्कियो भने आयोजनामा पनि निकै ठूलो नोक्सानी हुनेछ,’ उनले भने । आयोजना कर्मचारीहरुले बाँध केही भाग बलास्ट गरेर फुटाउने योजना बनाएको पनि अधिकारीले जानकारी दिए । पहिरोका कारण आयोजनामा ठूलो क्षति पुगेको उनी बताउँछन् ।