सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्ने भ्रम हो : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।’ रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै उनले यसैमा उनी अडिन्छन् भन्ने आफूलाई नलागेको बताए । सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भने, ‘रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।’ सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने बताए । उनले भने, ‘सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।’ आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए । सो क्रममा उनले महाविर पुन आफूसँग सल्लाहानै गरेर माइतीघरमण्डलामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए । प्रधानमन्त्री दाहालले भने, ‘भेटमा मैले बजेटमा तपाईको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिँड्ने समयमा उनले माइतीघरमण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भने । हाँसीहाँसी ।’ बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेर आफूले भनेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले थपे, ‘यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहामा नै उनी बसेको भन्ने बुझेको छु ।’ पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए । पूर्वलडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए । आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको बताए । उनले भने, ‘तत्कालीन राजा र तीनका समर्थक भन्ने छ त्यो गम्भीर विषय हो ।’ अर्को एक प्रश्नमा खेलकुद क्षेत्रको बिकासमा सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो । सरकारले कृषि उत्पादन, रोजगारी र युवा लक्षित कार्यक्रमलाई बजेटमा जोड दिने पनि बताए । सो अवसरमा दाहालले प्रेस सेन्टर चितवनले प्रकाशन गरेको क्यालेन्डरको लोकार्पण गरेका थिए । रासस
ब्याजदर उच्च हुँदा सीआईटीको नाफा पौने १ अर्ब, ब्याज आम्दानी १०६ प्रतिशत बढ्यो
काठमाडौं । नगरिक लगानी कोष (सीआईटी)ले चालू आर्थिक वर्षका् तेस्रो त्रैमासमा खुद नाफा २४.१४ प्रतिशत बढेर ७७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएका कारण कोषको नाफा बढेको हो । बैंक तथा वित्तीय संस्थाबाट आउने ब्याजबाट कोषले उल्लेख्य नाफा वृद्धि गर्न सफल भएको हो । चैत मसान्तसम्म कोषको ब्याज आम्दानी १०६.७ प्रतिशत बढेर ३० करोड ५० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कोषले १४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कोषले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप लगायतका क्षेत्रमा २ खर्ब ४२ अर्ब ४४ करोड १७ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोही अवधिमा कोषले २ खर्ब १२ करोड २९ लाख रुपैयाँ लगानी गरेको थियो । जुन गत वर्षको तुलनामा २१.१४ प्रतिशत बढी हो । यस्तै कोषको सेवा शुल्क तथा कमिसन आम्दानी ५ प्रतिशत बढेर ९३ करोड ५० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा ८८ करोड २५ लाख सेवा शुल्क तथा कमिसन आम्दानी गरेको थियो । साथै विविध आम्दानी १ करोड ६८ लाख रुपैयाँ गरेको छ । ९ महिनाको अवधिमा कोषको व्यवस्थापन खर्च १६ करोड ४८ लाख रुपैयाँ र खर्च व्यवस्था ५ करोड ४७ लाख रुपैयाँ गरी कूल खर्च २१ करोड ९६ लाख रुपैयाँ गरेको छ । तेस्रो त्रैमासमा कोषको कूल आम्दानी बढेर १ अर्ब २५ करोड ६९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कोषले १ अर्ब ३ करोड ७ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । समिक्षा अवधिमा कोषको चुक्ता पूँजी ३० प्रतिशत बढेर ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १८.५३ प्रतिशत घटेर १६ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ । कोषको स्थिर सम्पत्ति पनि वृद्धि भएर ३ अर्ब १५ करोड १९ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कोषको रिटर्न अप इक्विटी ८.१८ प्रतिशतबाट बढेर ९.६७ प्रतिशत पुगेको छ । कोषको प्रतिसेयर आम्दानी ३ रुपैयाँ घटेर २४.४० रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २०१.८७ रुपैयाँ रहेको छ ।
बैंकको ऋण तिर्न शिवश्री हाइड्रोपावरले हकप्रद बिक्री गर्ने
काठमाडौं । शिवश्री हाइड्रोपावरले बैंकको ऋण तिर्न हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अनुपात हकप्रद सेयर जारी गर्नेछ । अर्थात् १०० प्रतिशत हकप्रद जारी गर्नेछ । कम्पनीले जारी गर्ने हकप्रद सेयर विद्युत नियमन आयोगबाट स्वीकृति भइ आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् बिक्र खुला गर्नेछ ।
नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुह्वेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । आइतबार गुह्वेश्वरी फाइनान्स कम्पनीको ६.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सको ६.५ प्रतिशत बोनस वापतको ६ लाख १७ हजार ७६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज १ हजार ११५ रुपैयाँ !
काठमाडौं । नेपाल स्टक एकचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । दुबै लघुवित्तको सर्वसाधारणलाई बिक्री गरेको आईपीओ र संस्थापक लगानकर्ताहरुको सेयर सूचीकृत भएको नेप्सले जनाएको छ । आत्मनिर्भर लघुवित्तको ६ लाख २३ हजार ३८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई बिक्री गरेको २ लाख ३ हजार ३८० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ३७१.८२ रुपैयाँदेखि १ हजार ११५.४६ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही आधारमा मंगलबारदेखि लघुवित्तको सेयर कारोबार खुल्नेछ । लघुवित्तलाई नेप्सले एएनएलबी कारोबार संकेत प्रदान गरेको छ । यस्तै, बिपीडब्लु लघुवित्तको ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई बिक्री गरेको ९७ हजार कित्ता र संस्थापक सेयरधनीहरुको २ लाख ३ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८६.७८ रुपैयाँदेखि २६०.३४ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोहि आधारमा मंगलबारदेखि लघुवित्तको सेयर कारोबार खुल्नेछ । लघुवित्तलाई नेप्सले बिपीडब्लु कारोबार संकेत प्रदान गरेको छ ।
प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन् । अधिकारीले आफूहरुको माग सम्बोधन नभए आइतबार बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो । लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली (मनिराम) र ६ वटा किसान सङ्गठन सञ्जालका सदस्यबीच आइतबार छलफल भएको थियो । आइतबार बिहान सङ्घर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई उनको निवास बालुवाटारमा भेटेका थिए । भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र सङ्घर्ष समितिका मागहरुको अध्ययन गरी छलफल अगाडि बढाउनेबारे आइतबार सरकारी प्रतिनिधि तोक्ने बताए । प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुको सङ्घर्षको कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिए ।
कम्युटरमा कित्ता नम्बर नभेटिएपछि कार्यालयमै बेहोस, यसरी ठगिए एउटै गाउँका ५९ जना सुकुम्वासी
फाइल तस्बिर झापा । जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर नगरपालिका–५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । आरोपीले पीडितसँग लाखौँ रकम असुलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार जग्गाको नक्क्ली धनीपुर्जा बनाएर दिएको आरोप लागेका मेचीनगर–६ का ७५ वर्षीय भूपध्वज दाहाललाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपी सोही वडाका ७३ वर्षीय ज्ञानबहादुर गिरी केही दिनअघि नै पक्राउ परेका थिए । वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका मेची डाँडाका सुकुम्वासी परिवारसँग जग्गाको धनीपुर्जा थिएन । धनीपुर्जा बनाएर घरमै ल्याइदिने भन्दै स्थानीय तीन जनाले १० हजारदेखि ७० हजार रुपैयाँसम्म रकम असुली गरेको पीडितको भनाइ छ । आरोपीमध्ये फरार एक जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । ६ महिनाअघि जग्गाधनीको फोटो टाँसिएको र रातो मसीले सही गरिएको सरकारी छापसहितको जग्गा धनीपुर्जा पाउँदा स्थानीय सुकुम्वासी दङ्ग थिए । तर, उनीहरूको यो खुसी लामो समय टिकेन । डेढ महिनाअघि केही जग्गाधनीले मेचीनगर–६ को वडा कार्यालयमा एकीकृत सम्पत्ति कर तिर्न जाँदा सो धनीपुर्जा नक्कली भएको खुलासा भएको थियो । वडामा जाँदा मात्रै सुकुम्वासीले धनीपुर्जाको नाममा ठगिएको पत्तो पाएका थिए । रकम असुलेर नक्कली धनीपुर्जा दिने व्यक्ति विरुद्ध पीडितले जिल्ला प्रशासन कार्यालय झापामा किटानी उजुरी दिएका छन् भने जिल्ला प्रशासनले घटनाको अनुसन्धान गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ । ऐलानी तीन धुर जग्गामा बसोबास गर्दै आउनुभएकी मेचीनगर–६ की सरस्वती बरालले वडा कार्यालयमा तिरो बुझाउन जाँदा त्यहाँका कर्मचारीहरूले धनीपुर्जा नक्कली भएको जानकारी गराएको बताए । ‘गाउँकै भूपध्वज दाहाल र ज्ञानबहादुर गिरीले ‘५० हजार रुपैयाँ दिनू, धनीपुर्जा बनाएर ल्याइदिन्छु’ भनेपछि ३५ हजार रुपैयाँ बुझाएको थिएँ, वडामा तिरो बुझाउन जाँदा पो धनीपुर्जा नक्कली हो भनिदिए, मेरो पैसा पनि गयो, धनीपुर्जा पनि कीर्ते पर्यो,’ ठगीको शिकार भएकी सरस्वती बरालले भनिन् । वडा कार्यालयका कर्मचारीले कम्युटरमा धनीपुर्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि पीडित बराल वडा कार्यालयमै केही बेर बेहोस भएकी थिइन् । सो बस्तीका ५९ जनाले वडा कार्यालयमा गएर धनीपुर्र्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि गाउँमा बाँडिएका सबै धनीपुर्र्जा कीर्ते भएको प्रमाणित भएको थियो । हाल सो गाउँका पीडितको रुवाबासी छ । कतिले चर्को ब्याजमा ऋण काढेर धनीपुर्जाका लागि रकम बुझाएका थिए । धनीपुर्जा बनाइदिन्छु भनेर रकम असुली गर्ने विरुद्ध पीडितले गत चैत १७ गते वडा कार्यालयमा उजुरी दिएका थिए । वडाले पीडितको रकम फिर्ता गराउनका लागि गरेको प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयलाई पीडितले गुहारेका हुन् । अब यो मुद्दा प्रशासनको न्यायिक कठघरामा पुगेको छ । गिरी र दाहालका परिवारले पीडितलाई आधा रकम फिर्ता गरिदिने भन्दै वैशाख १० गते गाउँमै छलफल चलाएर घटनालाई सामसुम पार्न खोजेका थिए । छलफलमा सहमति भएअनुसारको म्यादभित्र रकम फिर्ता भएन । पीडित अहिले न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धाइरहेका छन् । सोही ठाउँकी अर्की पीडित मीना खनालले ६५ हजार रुपैयाँ दिएपछि आरोपीहरूले ६ धुरको धनीपुर्जा बनाएर ल्याइदिएको बताए । रकम असुली र धनीपुर्जा लेनदेनमा वृद्ध व्यक्ति प्रत्यक्षरूपमा जोडिएता पनि कुनै ठूलो गिरोह यस धन्धामा संलग्न हुनसक्ने पीडितले आशङ्का गरेका छन् । नेकपा (एमाले) मेचीनगरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी कीर्ते धनीपुर्र्जा बनाएर सुकुम्वासीसँग रकम असुलिएको घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालले ठगिएको भन्दै उजुरी दिन आउने पीडित बढिरहेको बताए । पक्राउ परेका आरोपीविरुद्ध कीर्ते जालसाझी मुद्दाअन्तर्गत कानूनी कारबाही हुने उनले बताए ।
डा. भण्डारी भने- आगलागीबाट हुने घटना कम गर्न सके मात्रै आमाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आज स्वदेश फर्किएका छन् । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते भएका भण्डारी भारतको मुम्बईमा अढाइ महिना उपचार गरेर आइतबार साँझ नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्किएका हुन् । स्वदेश फर्केसँगै डा.भण्डारीले एक विज्ञप्ति जारी गरी आफ्नो उपचारमा सघाउनु हुने र स्वास्थ्य लाभ गर्ने सबैलाई धन्यवाद दिएका छन् । डा.भण्डारीले पछिल्लो समय नेपालमा आगलागीको घटनाबाट वर्षेनी सयाँै व्यक्तिले अकालमा ज्यान गुमाउनु परेको बताउँदै यस्ता घटनालाई कम गर्न आफूले निरन्तर पैरवी गर्ने बताए । ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हरेक वर्ष २०७९ सालमा आगलागीको घटनाबाट ११० जनाले ज्यान गुमाउँदा मेरो आमाको ज्यान गुमेकाले अब त्यस्ता घटना हुन नदिन दक्ष जनशक्तिसहित सुविधा सम्पन्न अस्पताल निर्माणमा सरकारले ध्यान दिनुपर्छ, कमसेकम प्रत्येक प्रदेशमा एक÷एकवटा वर्न अस्पताल निर्माण गर्नुपर्छ,’ डा.भण्डारीले भने । सांसद भण्डारीले ‘आगामी दिनमा कुनै नेपालीले आगोमा जल्न नपरोस्, आगालागीमा परेको कुनै नेपालीले मर्न नपरोस्’ आफ्नो आगामी अभियान हुने बताए । उनले खाना पकाउने ग्यासलगायत हुने आगलागीका घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न जनचेतनामूलक अभियान तथा अभ्यासलाई तीव्रता दिनुपर्र्ने बताए । आगामी दिनमा आगलागीबाट हुने घटना कम गर्न नीति निर्माणका तहमा वा अन्य कुनै पनि ढङ्गले योगदान गर्न सके आफ्नो आमाप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ । गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा.भण्डारी र उनकी आमा हरिकला भण्डारी आगलागीको घटनामा परी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो भने डा.भण्डारीलाई सोही दिन नै थप उपचारका लागि भारत लगिएको थियो ।