जापानमा ९४.५ प्रतिशत व्यक्तिले महसुस गरे मूल्यवृद्धिको असर
टोकियो । बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४.५ प्रतिशतले एक वर्ष अघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन् । त्यसैगरीे ६२.८ प्रतिशतले मूल्य वृद्धि भएको तर यसलाई आफूले व्यवस्थापन गर्न सकेको बताएका छन् । फेब्रुअरी ३ देखि मार्च १ सम्म गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा २० वर्ष वा सोभन्दा बढी उमेरका एक हजार ९८१ उत्तरदातालाई सहभागी गराइएको थियो । त्यसको ५६ प्रतिशत उत्तरदाताले लगातार तेस्रो त्रैमासिकसम्म महङ्गीको महशुस गरेको बताएका छन् ५० प्रतिशतभन्दा बढीले अत्यधिक मूल्य बढेको बताएका छन् । पछिल्ला तीन सर्वेक्षणमा सहभागीमध्ये आधाले आफ्नो आम्दानी उस्तै रहेको बताएका छन् भने मानिसहरुको सङ्ख्यामा क्रमिक वृद्धिले खर्चको लागत बढेको बताएका छन् । हरेक तीन महिनामा गरिने सर्वेक्षणमा अधिकांश उत्तरदाताले खाना, त्यसपछि दैनिक उपभोग्य वस्तु र विद्युतीय उपकरणमा खर्च बढेको देखाएको छ । रासस/सिन्ह्वा
शिवशिखर सहकारीको करिब तीन दर्जन कम्पनीमा लगानी, सम्पत्ति बेचेर बचत फिर्ता गरिँदै
काठमाडौं । शिबशिखर बहुउद्धेश्यिय सहकारीका सञ्चालक केदार शर्माले सहकारीका बचतकर्ताको बचत विभिन्न कम्पनीमा लगाएको भेटिएको छ । शिवशिखर सहकारीका पूर्व अध्यक्ष समेत रहेका शर्माले सहकारीको रकम करिब तीन दर्जन कम्पनीमा लगानी गरेको भेटिएको हो । सहकारी विभागले विभिन्न नियकाहरुको सहयोगमा अनुसन्धान गर्दा सहकारीको १० अर्ब बचतमध्ये १ अर्ब ९० करोड रुपैयाँ सहकारीका सदस्य र बाँकी ८ अर्ब बढी रकम सो सहकारीका सिस्टर कम्पनीहरुमा लगानी गरेको भेटिएको सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बताए । अब सहकारीका बचतकर्ताको रकम फिर्ता गर्नका लागि उनको ती सिस्टर कम्पनीहरुको सम्पत्ति बिक्री गरिने उनको भनाइ छ । ‘शर्माले सहकारीका बचतकर्ताको रकम शिखर अर्गनाइजेसनका कम्पनीहरुमा लगानी गरेको देखियो, यो सहकारीमा १० अर्ब बचत छ, सोमध्ये १ अर्ब ९० सदस्यमा ऋण लगानी र ८ अर्ब बढी रकम विभिन्न सिस्टर कम्पनीहरुमा लगानी गरेको देखियो, ती सबै कम्पनीहरुको सम्पत्ति र बैंक खाता रोक्का गर्न प्रक्रिया अगाडि बढाएका छौं,’ घिमिरेले भने । उनले बचतकर्तालाई ढुक्क हुन पनि आग्रह गरेका छन् । ‘यो सहकारीलाई विभिन्न समयमा सजग गराउन खोज्दा पनि सम्पर्कमा नआएकोलेसबै सम्पत्ति रोक्का गर्ने प्रक्रिया अगाडि बढाएका हौं,’ उनले भने,’ उनकी श्रीमति गिता शर्माले सम्पति बेचेर बिक्री गरेर बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गर्नुभएको छ, आफ्नो श्रीमान (केदार शर्मा)लाई पनि १० दिनभित्र उपस्थित गराउने भन्नु भएको छ, घिमिरेले भने, ‘१० दिनभित्र पनि आउनु भएन भने हामी थप प्रक्रिया अगाडि बढाउँछौं ।’ शर्मा सहित अन्य सञ्चालकहरु अहिले फरार छन् । विभागले गत फागुनमा निर्णय गर्दै सो सहकारी संस्थाका सञ्चालक समितिसदस्यहरु, निवर्तमान अध्यक्ष केदारनाथ शर्मा, निजकी श्रीमती गीता शर्मा र व्यवस्थापक लिलानाथ गौतमका सम्बन्धमा सहकारी ऐन २०७४ को दफा १२९ बमोजिम अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरालाई पत्र पठाएको थियो । रजिष्ट्रार घिमिरेका अनुसार केदारनाथ शर्माको श्रीमती गीता शर्मा विभागमा उपस्थित भई संस्थाको समस्या समाधानका लागि आफ्नो एकलौटी तथा संयुक्त नाममा दर्ता भएका कम्पनीहरु, सो कम्पनीमा लगानी भएको शेयर र उल्लेखित कम्पनीहरुको नाममा रहेको चल अचल सम्पत्तीहरु समेतबाट बचतकर्ताहरुको बचत तथा शेयर रकम तिर्ने बुझाउने प्रयोजनका लागि दिन मन्जुर छु भनी कागज गरेको र केदारनाथ शर्मालाई १० दिनभित्र विभागमा उपस्थित गराई बचतकर्ताहरुको बचत तथा शेयर रकम फिर्ता गराउने कार्यमा सहयोग गर्छु भनेर कागज गरेकोले बचकर्ताले बचत फिर्ता पाउनेमा विश्वास व्यक्त गरे । संस्थाका बचतकर्ताको बचत फिर्ता सम्बन्धमा केदारनाथ शर्मा लगायत संस्थाका संचालकहरु विभागमा सम्पर्क गर्न आएपछी केन्द्रीय अनुसन्धान ब्यूरो तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय र थप छलफल गरी प्रभावकारी रुपमा बचत फिर्ता गराउने सम्बन्धमा थप कारवाही अगाडि बढाउने पनि उनले बताए । उनले यस प्रक्रियाबाट आफ्नो बचतको सुरक्षाप्रति चिन्तित सम्पूर्ण सदस्यहरुमा विचलित नभई समस्या समाधानका लागि सहयोग गर्न आग्र गरे । शर्मा विराट नगरमा रहेको तुलसी सहकारीका अध्यक्ष पनि हुन् । सो सहकारी पनि विभागको क्षेत्राधिकारभित्र पर्ने भएकोले सो सहकारीका बचतकर्ताले पनि बचत फिर्ता पाउनेछन् ।
भौतिक मन्त्रालयको बजेट ५४ अर्बले कटौति
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौति भएको बताएका छन् । आईतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौति भएको छ, चालु आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भएपनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको छ,’ उनले भने । उनले आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको बताए । ‘ओभरल आर्थिक संकट त छँदैछ, राजश्व संकलन कमजोर छ, अर्थतन्त्रमा खराब सूचकांकहरु छन्, त्यसको मारमा बजेट परेको छ, बजेट मारमा पर्नु भनेको हाम्रा प्रोजेक्टहरु, योजना, कार्यक्रम मारमा पर्नु हो,’ उनले भने । मन्त्री ज्वालाले मन्त्रालयले आगामी आर्थिक वर्षमा आवश्यक काम गर्न नसक्ने पनि बताए ।
सरकारको साथ खोज्दै सामुदायिक प्राकृतिक चिकित्सालय
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा अवस्थित नेपालकै पहिलो सामुदायिक प्राकृतिक चिकित्सालयमा हालसम्म ४० हजारभन्दा बढीले सेवा लिइसकेका छन् । प्राकृतिक उपचारमार्फत् स्वदेशी र विदेशी बिरामीलाई सेवा दिँदै आएको चिकित्सालयले थप विकास र सेवा बिस्तारमा भने यतिबेला केन्द्र सरकारको साथ खोजेको छ । व्यवस्थापक हरि सापकोटा चिकित्सालयले सीमित स्रोत, साधन र जनशक्तिबाट पनि न्यूनतम शुल्कमै हालसम्म सेवा दिन सकेको भए पनि यसलाई दीर्घकालसम्म टिकाइ राख्नका लागि केन्द्र सरकारको सहयोग आवश्यक रहेको बताए । ‘प्राकृतिक चिकित्सालयको विकासका लागि केन्द्र सरकारले नीतिगत तहबाटै निर्णय गरी आवश्यक बजेट बिनियोजन गरिदिने हो भने विपन्न नागरिकलाई पनि सहुलियत दरमै उपचार गराउन सकिन्थ्यो’, उनले भने, ‘यसका लागि सरकारले ध्यान दिनु आवश्यक छ ।’ वि.सं.२०६४ मा महायज्ञमार्फत सङ्कलित रकमबाट स्थापना गरिएको प्राकृतिक चिकित्सालयमा सेवा लिन देशका ७७ जिल्लाबाट मात्रै नभइ भारत, क्यानडा, अमेरिका, फ्रान्स, वेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, न्यूजिल्याण्ड, जापान, नर्वे, इजरायललगायतका देशबाट उपचारका लागि बिरामी आउने गरेका छन् । ‘चिकित्सालय गैर नाफामूलक संस्था हो, आर्थिकरुपमा विपन्न, द्वन्द्वपीडित, एकलमहिला, विकलाङ्गसमेतले उपचारमा पहुँच राख्न सक्ने गरी यसको परिकल्पना गरिएका छौँ’, व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर क्षेत्रीले बताए । यसका लागि सरकारले नै नीतिगत तहबाटै सम्बोधन आवश्यक रहेको उनको भनाइ छ । तत्कालीन समयमा ५२ शय्याबाट सुरु गरिएको संस्थामा हाल तीन सय शय्याको क्षमता छ । ‘अन्य उपचार पद्धतिबाट निको नभएका बिरामीले पनि यहाँ उपचारपछि पुनःजीवन पाएका उदाहरण छन्’, उनले भने, ‘सर्जरी बाहेकका रोग निको पार्न सकिने प्राकृतिक चिकित्सालाई दिगोरूपमा टिकाउन सरकारले नीतिगत सहजताका साथै बजेट विनियोजन गर्नुपर्छ ।’ उनका अनुसार छिमेकी मुलुक भारतका २२ प्रान्तमा नेचुरोपेथी मेडिकल कलेज र व्यवस्थित अस्पताल सञ्चालनमा भएको भन्दै उनले यस चिकित्सालयलाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने अवधारण अघि सारिएको बताए । ‘अहिलेको आवश्यकता प्राकृतिक चिकित्सा र योग अस्पतालको विकास हो’, उनले भने, ‘यसका लागि सरकारको साथ चाहिन्छ ।’ चिकित्सालयमा बिरामीका लागि उपचार, आवास र खाना गरी दैनिक रु एक हजार एक सय शुल्क तोकिएको छ । कूल ५० जना जनशक्ति रहेको चिकित्सालयमा मासिक १५ लाख रुपैयाँ खर्च रहेको व्यवस्थापक सापकोटाको भनाइ छ । प्राकृतिक चिकित्सा उपचार विधिले शरीरमा नकारात्मक असर नपर्ने चिकित्सालयका निर्देशक डा.विनोद पौडेलले बताए । ‘मानव शरीर पञ्चतत्वले बनेको हुन्छ । प्राकृतिक चिकित्सा र योगले नै शरीरलाई स्वस्थ र सवल राख्न सक्छ’, उनले भने, ‘आहार नै औषधि र औषधि नै आहार यसको मूल सिद्दान्त हो ।’ प्राकृतिक चिकित्सा र योगमा प्रतिरक्षात्मक, उपचारात्मक र निधानात्मक तीन वटै आयाममा उपचार गरिने र यसले जटिल, दीर्घ रोग हुने बाटो नै बन्द गर्ने डा. पौडेलको भनाइ छ । निकट भविष्यमा नै निम्न, मध्यम र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने केन्द्र बनाउने योजना रहेको उनले सुनाए । चिकित्सालयलाई शिक्षण अस्पताल र विश्वविद्यालयका रुपमा विकास गर्दै ज्येष्ठ नागरिक आरोग्य आश्रम र देशैभर जीवनशैली सुधार प्राकृतिक चिकित्सा र योगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याउने योजना रहेको उनको भनाइ छ । चिकित्सालयमा आकाश चिकित्सा, वायु चिकित्सा, सूर्यकिरण चिकित्सा, जल चिकित्सा, माटो चिकित्सा, योग चिकित्सा, जडीबुटी चिकित्सा, आहार चिकित्सा, मनोचिकित्सा, मर्म चिकित्सा, मालिस चिकित्सा, गौमूत्र चिकित्सालगायतका विधिबाट उपचार गराइन्छ । चिकित्सालयमा कोरोनाको महामारीको समयमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमितलाई सेवा दिइएको थियो । रासस
नमस्ते पेको सीइओमा प्रवीणराज पोखरेल, २७ वर्षको अनुभव
काठमाडौं । नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत(सीइओ) प्रवीणराज पोखरेलले नियुक्त भएका छन् । कम्पनीको वैशाख १५ गते सञ्चालक समितिले पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको हो । पोखरेलले वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रियापछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी भएको बताए । पोखरेल धेरै अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरुमा कम्पनीहरूमा २७ वर्षभन्दा बढीको उत्कृष्ट ट्र्याक रेकर्ड भएका व्यक्ति हुन् । यसअघि पोखरेल एफवान सफ्ट इन्टरनेशनल र एमएननेपालका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ । उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेका छन् ।
नर्भिक आइभिएफको चमत्कार, ५२ वर्षेले जन्माइन जुम्ल्याह सन्तान
काठमाडौं । महिनावारी सुकेको ५ वर्षपछि काठमाण्डौकी एक महिला आइभिएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छिन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन् । बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिएको थियो । शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् । सामान्यतः बढ्दो उमेर समूहका महिलामा गर्भाधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रुपमा हेर्ने गरिन्छ । डा. शर्माकाअनुसार ती महिलाको महिनावारी समेत सुकिसके र पाठेघरमा समेत मासु पलाएको थियो, जसको दुरबिनबाट गरिने शल्यक्रियामार्फत पाठेघरको मासु झिकेर आइभिएफ प्रविधिबाट उपचार गरिएको थियो । यसअघि पनि ५५ बर्षे महिलाले नर्भिकमै आइभिएफ प्रविधिमार्फत सन्तान प्राप्त गरेकी थिइन् । सामान्यतः नेपालको सन्दर्भमा सन्तान जन्माउनका लागि ३० बर्षको उमेर समूहलाई उत्तम मानिने गरिए पनि विभिन्न कारण बढी उमेर समूह भएका महिलाले सन्तानको रहर गरे उमेरलाई मात्र बाधक मान्न नसकिने नर्भिक अस्पतालले जनाएको छ । अस्पतालका विज्ञहरुकाअनुसार पछिल्लो ६ महिनामा नर्भिकमा आइभिएफ गरेकामध्ये गर्भाधारण गर्न सफल ६१ जना महिला ४६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् । त्यसैले सन्तान प्राप्तिको चाहनामा उमेरलाई मात्र बाधक मान्न आवश्यक छैन ।
आसियाना बासमति चामल नेपाली बजारमा
काठमाडौं । आसियाना बासमति चामल नेपाली बजारका लागि कारोबार सुरु गरेको छ । आसियाना बासमती राइस चामलको नेपालका लागि आधिकारिक बिक्रेता रानी सति इन्टरनेशनलले कारोबार सुरु गरेको एक वर्ष पुगेको छ । उक्त अवसरमा काठमाडौंमा व्यापार शुरु भएको एकवर्ष पुगेको अवसरमा कम्पनीले बार्षिक उत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । डिलर भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिआरयम फुडस्का अध्यक्ष्य मिस्टर प्रतिप जर्ज तथा मिस इको इनरनेशनल रक्षा उप्रेती विशेष अतिथिका रुपमा उपस्थित रहेका छन् । कार्यक्रममा जिआरयम फुडस्का प्रवन्ध निर्देशक मिस्टर यनसिल जर्जले नेपालमा विश्वस्तिरीय चामलनै उपलव्ध गराउने र थप व्यापार विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरे तथा कार्यक्रममा रानी साथी इनटरनेशनलका अध्यक्ष मिस्टर ओम प्रकाश बन्सालले आसियाना बासमती राइसको बारेमा जानकारी दिएका थिए । नेपाल समेत भारत तथा विश्वका धेरै देशहरुमा बिक्री वितरण भएको आसियाना बासमती चामल काठमाडौ लगायत पुरै देश भरि बिक्री विस्तार गर्ने योजना रहेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखेर उत्पादन भएको उक्त उत्पादन नेपाली ग्राहकहरु माझ १ बर्षको अवधिमै निकै नै रुचाइएको मूलायम तथा बास्नादार चामलको ब्राण्डमा परेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रममा देशैभर छरिएर रहनु भएको ३० भन्दा बढी आसियाना चामलका डिलरहरुलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । नेपालभरबाट उत्कृष्ट व्यापार गर्ने डिलरलाई कम्पनीले उपहार स्वरुप विभिन्न उपहार उपलब्ध गराएको थियो ।
शिखर अर्गनाइजेसनको सबै कम्पनीकाे सम्पति रोक्का गरिने, अध्यक्ष केदार शर्मा फरार
काठमाडौं । सहकारी विभागले शिखर अर्गनाइजेसन अन्तर्गत रहेका सबै कम्पनीका चल/अचल सम्पत्ति रोक्का गर्ने प्रकृिया अगाडि बढाएको छ । शिखर अर्गनाइजेशन अन्तर्गत रहेकाे शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकरर्ताको रकम फिर्ता नगरेपछि सरकारले शिव शिखर सहकारीको सबै सिस्टर कम्पनीहरुको चल/अचल सम्पत्ति रोक्का गर्ने प्रकृिया अगाडि बढाएको हो । सहकारी विभागले अब बचतकर्तालाई ढुक्क हुन पनि आग्रह गरेको छ । सहकारीसम्बन्धि विभिन्न गुनासो आएको र सञ्चालक नै फरार रहेकोल यो निर्णय लिनु परेको विभागका रजिस्ट्रार नमराज घिमिरेले बताए । ‘यो सहकारीलाई विभिन्न समयमा सजग गराउन खोज्दा पनि सम्पर्कमा नआएकोले अब सबै सम्पत्ति रोक्का गर्ने प्रकृिया अगाडी बढाएका हाैं,’ उनले भने,’उनकी श्रीमती गिता शर्माले सम्पति बेचेर बिक्री गरेर बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्दता गर्नुभएकाे छ,’ उनले भने । शिखर अर्गनाइजेसनका अध्यक्ष केदारनाथ शर्मा लगायत सञ्चालक फरार छन् । शर्माले सहकारीका बचतकर्ताको रकम शिखर अर्गनाइजेसनका कम्पनीहरुमा लगानी गरेका छन् । यस सहकारीमा १० अर्ब बचत छ । सोमध्ये १ अर्ब ९० सदस्यमा ऋण लगानी र ८ अर्ब ६० करोड सो सहकारीका विभिन्न सिस्टर कम्पनीहरुमा लगानी गरेको देखिएको बताए । शिव शिखर अर्गनाइजेशनको सम्पत्तिको लगत चेक गर्दा कुल साढे १० अर्ब सम्पत्ति रहेको र ४ अर्ब ४६ अर्ब बैंकबाट ऋण लिएको देखिएको छ । विभागले शर्मालाई १० दिनभित्र उपस्थित हुन ताकेता गरेको छ ।