विकासन्युज

ईभीको उदयसँगै डिजेलबाट चल्ने गाडीको व्यापारमा धक्का

काठमाडौं । नेपालमा इलेक्ट्रिक भेइकल (ईभी) सवारीको लोकप्रियता बढ्नुको साथै प्रयोगकर्ताको संख्या बढ्दो छ । पछिल्लो समय सडकमा विभिन्न कम्पनीका ईभी सवारीको उपस्थिति बाक्लो हुँदै गएको देखिन्छ । ईभीमा मान्छेको आकर्षण बढेसँगै सरकारले पनि यसलाई प्रोत्साहन गर्ने नीति लिएको छ । यसका लागि सरकारले ईभी गाडीको आयातमा भन्सार छुट तथा विभिन्न सेवा तथा सुविधाहरू दिइरहेको छ । सरकारले ईभी सवारीको क्षेत्रमा सन् २०२५ सम्म प्राइभेटमा २० प्रतिशत र सार्वजनिक यातायातमा २५  प्रतिशत र २०३० सम्ममा सबै निजी यात्रुवाहक सवारीको बिक्री ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यस्तै, चार पाँग्रे सार्वजनिक यात्रुवाहक विद्युतीय सवारीको बिक्री ६० प्रतिशतले वृद्धि गर्ने योजना छ । पछिल्लो समय ईभी सवारीको खरिदबिक्री बढेसँगै त्यसको असर पेट्रोल र डिजेलबाट चल्ने गाडीमा देखिन थालेको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीको बिक्रीमा पनि कमी आएसँगै यसको व्यवसायमा समेत असर गरेको छ । ईभीका गाडीले डिजेलबाट चल्ने गाडीको व्यापारमा धक्का दिन थालेपछि डिलरहरूलाई व्यवसाय धान्न पनि मुस्किल परेको व्यवसायीहरु बताउँछन् । इन्जिनका गाडी बिक्रीमा कमी आएसँगै डिलरहरुलाई समेत समस्या भएको हो । अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को तथ्याङक अनुसार विद्युतीय गाडीको आयातमा वार्षिक वृद्धि दर ४३ प्रतिशतले बढेको छ भने दुई पाँग्रे ईभीका सवारीमा ६३ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९/२० मा ५७५, २०२०/२१ मा २१८, २०२१/२२ मा १५४० र २०२२/२३ मा २४१६ वटा ईभी गाडी आयात भएको नाडाको तथ्यांकमा उल्लेख छ । ईभीका सवारीको आयात र बिक्रीमा वृद्धि भएसँगै इन्जिनका गाडी बेच्ने डिलरलाई गाडी बेच्न समस्या सिर्जना भएको व्यवसायीहरुको भनाइ छ । आर्थिक मन्दी, बैंकिङ ब्याजमा वृद्धि, पेट्रोल तथा डिजेलको मूल्य उच्च भएको कारणले पनि इन्जिनका गाडीमा मान्छेको आकर्षण घटेको हो । नाडाका अध्यक्ष ध्रुब थापाले पेट्रोलियम इन्जिन गाडीको माग र बिक्रीमा कमी आएको बताएका छन् । उनका अनुसार पेट्रोलबाट चल्ने गाडीको बिक्री अहिले २५ प्रतिशत भन्दा बढी घटेको छ । ‘लामो समयको प्रतिबन्धपछि इन्जिनवाला गाडीको आयात हुन थालेको २ महिना भयो, पेट्रोल र डिजेलबाट चल्ने गाडीको अहिले पहिलाको भन्दा २५ प्रतिशत भन्दा कम छ, इन्जिन वाला गाडी मुस्किलले बिक्री भइरहेको छ’ उनले भने । ईभी गाडी प्रयोगकर्ता गर्नेको संख्या बढेका कारण पेट्रोल तथा डिजेलबाट चल्ने गाडीको व्यवसायमा दबाब परेको उनले बताए । साथै, बैंक तथा वित्तीय संस्थाले गाडीमा फाइनान्स कम गरेको कारण बिक्रीमा कमी आएको अध्यक्ष थापाको भनाइ छ । विद्युतीय गाडीमा प्रयोगकर्ताहरुहरुको आकर्षण बढी देखिएपनि यसलाई वैकल्पिक साधनको रुपमा अगाडि सारेको उनले बताए । ‘मान्छेले ईभीका सवारीलाई नै अहिले पहिलो प्राथमिकता दिएका छैनन्, यसलाई मान्छेले सेकेन्ड विकल्पको रूपमा लिइरहेका छन्, किन भने यसबाट लामो यात्रा तय गर्न सकिँदैन, जसका कारण प्रयोगकर्ताको पहिलो रोजाइमा इन्जिनवाला गाडी नै पर्छ तर, अहिले गाडी किन्नेको संख्या कम भएको महसुस गरेका छौं’, उनले भने । यस्तै, आर्थिक मन्दी र व्यपार व्यवसाय चलायमान नहुँदा पनि प्रयोगकर्ताहरुको प्राथमिकतामा सवारी साधन खरिदको विषय नपरेको उनको अध्यक्ष थापाको बुझाई छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बिक्री हुन छाडेपछि भने डिलर व्यवसायीहरुलाई समस्या परेको थापाले बताए । खरिद बिक्रीको अवस्था हेर्दा नेपाली बजारमा इभीको दुई तथा चार पाङग्रे सावारीको वृद्धि राम्रो हुँदै गएको थापाको भनाइ छ । यस्तै, सिप्रदी ट्रेडिङका (सीईओ) राजनबाबु श्रेष्ठले पनि पछिल्लो समयमा पेट्रोलियम इन्जिनका सवारी साधनको बिक्रीमा कमी हुँदै गएको छ । ‘हामीले हाम्रा डिलरहरूलाई धेरै सेवा सुविधाहरू दिइरहेका छौं, त्यसले गर्दा अहिले नै डिलरहरू बन्द गर्नुपर्ने अवस्था छैन, ईभीका गाडी बिक्री भइरहेको छ तर, इन्जिन गाडी चाहिँ बिक्री भएको छैन’, उनले भने । ईभी गाडीको खरिद बिक्रीले गर्दा डिलरहरूलाई व्यवसाय निरन्तर सञ्चालन गर्न ठूलो भूमिका खेलेको श्रेष्ठको भनाइ छ । आर्थिक मन्दीको अवस्थामा पनि ईभी गाडी सम्बन्धी सोधपुछ गर्ने काम प्रयोगकर्ताहरुबाट राम्रो भएको उनले बताए । उनका अनुसार प्रयोगकर्ताहरु इभी गाडीलाई लक्षित गरेर डिलरसम्म आइपुग्नेको संख्या धेरै रहेको छ । बिक्री हुनै छाड्यो कमर्सियल भेइकल अहिले कमर्सियल भेइकल बिक्री हुनै छाडेको व्यवसायीहरू बताउँछन् । कमर्सियल भेइकलको स्टक भएर पनि विभिन्न कम्पनीका आधिकारिक बिक्रेता कम्पनीले गाडी बिक्री गर्न सकिरहेका छैनन् । नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार अहिले सबै भन्दा नाजुक अवस्था कमर्सियल भेइकलको रहेको बताए । ‘दुई तथा चार पाँग्रे (कार) तथा ईभीको बिक्री राम्रो नै छ, तर कमर्सियल भेइकलको बिक्रीको अवस्था ठप्प जस्तै छ’, उनले भने । थापाका अनुसार पहिलाको तुलनामा कमर्सियल भेइकलको बिक्री २० प्रतिशत मात्र छ । यसैगरी सिप्रदीका सीइीओ राजनबाबु श्रेष्ठले पनि कमर्सियल भेइकलको व्यवसाय नाजुक रहेको बताए । व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको बिक्री नभएको कुरा उल्लेख गर्दै श्रेष्ठले अटो उद्योग धराशायी स्थितिमा रहेको पनि बताए ।

सिम्रिक एयरको उडानमा लागेको प्रतिबन्ध हट्यो, सिलिङ उडान गर्न नपाउने

फाइल फाेटाे काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले सिम्रिक एयरमाथि लगाएको उडान प्रतिबन्ध हटाएको छ । क्यानले शुक्रबार दिउँसो संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर सिम्रिकका सबै उडानमा प्रतिबन्ध लगाएको थियो । शुक्रबार साँझदेखि उडानमा प्रतिबन्ध लगाएको प्राधिकरणले सोमबारदेखि उडान सुचारुको अनुमति दिएको हो । प्राधिकरणले सिम्रिक एयरसँग रहेका ४ वटा हेलिकप्टरको परीक्षण गरेपछि २ वटा हेलिकप्टरलाई उडान अनुमति दिएको सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार सिलिङ उडान बाहेक (डोरीमा सामग्री झण्डाएर गर्ने कार्गाे उडान) अन्य उडानको अनुमति दिईएको हो । प्राधिकरणले गरेको परीक्षणमा सिम्रिकसँग रहेका ४ हेलिकप्टरमध्ये २ वटा मात्र उडान योग्य रहेको पाइएको छ । एउटा जहाज लामो समयदेखि बिग्रिएको थियो भने एउटा जहाज शुक्रबार संखुवासभामा दुर्घटनामा परेको थियो । प्राधिकरणले शुक्रबारको दुर्घटनाका विषयमा सोमबार हेलिकप्टरका प्रशिक्षक पाइटल सुरेन्द्र पौडेलसँग दुर्घटनाको विषयमा कुराकानी गर्ने जनाएको छ । शुक्रबार कार्गाे उडान अवतरण गरेर उडान गर्ने क्रममा रित्तो क्यारियर अड्कीएर दुर्घटना भएको अनुमान गरिएको छ । शुक्रबार माथिल्लो अरुणको सामान पु¥याएर फर्किदा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परि ४ जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो । घाइतेको अवस्था अहिले सामान्य रहेको प्राधिकरणले जनाएको छ ।

काठमाडौं माहानगरले सुरु गर्यो अव्यवस्थित तार हटाउन

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य शुरु गरेको छ । सोमबार बिहान माईतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन शुरु भएको हो । महानगरपालिकाले नेपाल टेलिकम, वल्र्ड लिंक, बोर्ड लिंक लगायतका सम्बन्धित निकायहरुसँगको समन्वयमा तार व्यवस्थापन गर्न शुरु गरेको छ । तार व्यवस्थापन कार्यको शुभारम्भपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा काठमाडौं महानगरपालिकाका महागरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरुसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन शुरु गरिएको र यो अभियान काठमाडौंभरका अव्यवस्थित तार नहटाएसम्म जारी रहने उल्लेख गरे । उनले अव्यवस्थित तारका कारण कतिपय दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि यसले महत्वपूर्ण भुमिका खैल्ने बताए । उनले भने, ‘सबैको समन्वयमा हामीले काम शुरु गरेका हौँ । अव्यवस्थित तार हटाइएको हो । यो अभियान सबैतिर हुनेछ । भित्रि बस्ती र बाहिरि बस्ती सबैमा हामीले अव्यवस्थित तार हटाउनेछौँ ।’ त्यस्तै तार व्यवस्थापनका लागि नेपाल टेलिकमबाट प्रतिनिधित्व गर्नुभएका पोखराज जोशीले नेपाल टेलिकमले आफ्नो तार सबै फाइबरबाट चलाइसकेको र तार पहिचान गरेर मात्रै काट्न आग्रह गरेको बताए । उनले तार व्यवस्थापनको कार्य समन्वयमा नै शुरु भएको बताए । उनले भने, ‘टेलिकमको तार हामीले काठमाडौंमा सबै फाइबरबाट चलाइसकेका छौँ । यहाँ टेलिकमको तार चिनिन्छ, राष्ट्रको सम्पती बचाउनुपर्छ, हामीले एनटिसी लेखेका छौँ, चिनिन्छ । हामीले अव्यवस्थित राखेका छैनौँ ।’ त्यस्तै तरा व्यवस्थापनका लगि बोर्डलिंकबाट प्रतिनिधित्व गरेका यादव तिमल्सिनाले मानवीय त्रुटीका कारण समस्या आइरहेको अवस्थालाई मध्यनजर गरी तार व्यवस्थापन शुरु गरिएको बताए । उनले असरल्ल देखिएका तारहरुको व्यवस्थापनले नै सुन्दर काठमाडौं हुन मद्दत पुग्ने बताए । उनले भने, ‘हामी यसको व्यवस्थापनमा लागिपरेका छौँ, फिल्डमा विभिन्न समस्या आउँछ, त्यसपछि काम गर्दै जाँदा मानवीय त्रुटीका कारण यो असरल्ल देखिएको हो, व्यवस्थापन गरेर जाँदा राम्रो होला । तार अव्यवस्थित बनाउने कुरामा पनि बेथिति बढेको रहेछ ।’ काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आईतबार बसेको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ गते भित्र तार व्यवस्थापन नगरे तार काटिदिने सूचना सार्वजनिक गरेको थियो ।

२०% बजेट बढाउन प्रधानमन्त्रीको निर्देशन, नयाँ बजेट १८२२ अर्बको हुनसक्ने

काठमाडौं । अर्थ मन्त्रालयले २० प्रतिशत बजेटको सिलिङ बढाउन लविङ सुरु गरेको छ । योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि पठाएको सिलिङमा थप २० प्रतिशत वृद्धि गर्न मन्त्रालयले आग्रह गरेको हो । यसअघि आयोगले १६ खर्ब ८८ अर्बको सिलिङ पठाएको थियो । पछि आयोगले पुनः १० प्रतिशत घटाएर १५ खर्ब १९ अर्बभित्र रहेर बजेट तर्जुमा गर्न सिलिङ तोकेको हो । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याईएको थियो । सरकारले अर्ध वार्षिक समिक्षा मार्फत २ खर्ब ४४ अर्बले घटाएर १५ खर्ब बराबरको बजेट कायम गरेको छ । विकासे मन्त्रालयकै बजेट कटौती हुँदा समस्या थपिन भन्दै मन्त्रालयले २० प्रतिशत सिलिङ बनाउन आयोगलाई आग्रह गरेको मन्त्रालय स्रोतले बतायो ।प्रधानमन्त्रीको निर्देशन अनुसार बजेट निर्माण भएमा करिव १८ खर्ब २२ अर्ब रुपैयाँको बजेट बन्नेछ । अर्थ मन्त्रालयमा बजेट माग्न आउनेको भिड लाग्ने गरेको र विकासे मन्त्रालयकै बजेट चालू आवको तुलनामा ठूलो संख्यामा कटौती भएपछि बजेटको सिलिङ बढाउन आग्रह गरिएको मन्त्रालयले जनाएको हो । चालू आवका लागि ल्याईएको बजेटभन्दा पनि कम बजेटको सिलिङ आएपछि अर्थले अधिकांश मन्त्रालयको बजेट सिलिङ घटाएर पठाएको हो । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा ठूलो रकम कटौती भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बजेटको सिलिङ बढाउन दबाब दिएको अधिकारीहरुले बताएका छन् । योजना आयोगका सदस्य रामकुमार फुँयालले प्रधानमन्त्रीले बजेटको सिलिङ बढाउन निर्देशन दिएको बताएका छन् । उनले एक सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्रीले बजेटको सिलिङ बढाउन निर्देशन दिएको र सोही अनुसार आयोगले काम गरेको बताएका थिए । यता अर्थ मन्त्रालयका अधिकारीहरु भने मौखिक रुपमा बजेटको सिलिङ बढाउन योजना आयोगलाई अनुरोध गरिएको बताउँछन् । ‘हामीलाई आयोगले १० प्रतिशत बजेट कटौती गरी नयाँ बजेटको सिलिङ दिईएको थियो, त्यति रकमले अपुग हुने देखिएपछि बजेट महाशाखाले मौखिक रुपमा बढाउन अनुरोध गरेको हो’, ती कर्मचारीले भने । राष्ट्रिय योजना आयोगले सबै मन्त्रालयको बजेटको सिलिङ घटाएर पठाएको छ । आयोगले विकासे मन्त्रालयका रुपमा रहेका भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, खानेपानी मन्त्रालय लगायत सबै मन्त्रालयको बजेटको सिलिङ घटाएर पठाएको हो । चालू आर्थिक वर्षमा एक खर्ब ६७ अर्ब बराबरको बजेट पाएको भौतिक मन्त्रालयलाई आयोगले आगामी आवका लागि एक खर्ब १३ अर्बको सिलिङ दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चालू आवको भन्दा ५४ अर्ब रुपैयाँले बजेटको सिलिङ घटेर आएको बताए । चालू आवको भन्दा पनि कम बजेटको सिलिङ हामीलाई आएको छ, थप बजेट माग्नुपर्ने अवस्थामा घटेर आउँदा योजना अधुरा नै हुन्छन की भन्ने हाम्रो अनुमान हो, उनले भने, ‘थोरै बजेटमा काम गर्न चुनौती छ, योजना अनुसारको काम गर्नसक्ने अवस्था नै भएन, कम बजेट हुँदा नयाँ आयोजना थपिदैन् ।’ बजेट कटौती हुँदा आगामी वर्ष नयाँ विकासका कार्यक्रम र योजनाहरु समेत बजेटमा समावेश गर्न मुस्किल पर्ने देखिएको उनको भनाई छ । उनले भएकै निर्माणलाई प्राथमिकता दिँदै नयाँ कुनै पनि आयोजना नथपिने बताए । भौतिक पूर्वाधारका लागि मात्रै १० प्रतिशत बजेटको सिलिङ बढाउन अर्थले राष्ट्रिय योजना आयोगलाई अनुरोध गरेको छ । आयोगका सदस्य फुँयालले सबै मन्त्रालयबाट बजेटको सिलिङ बढाउन दबाब आएको बताए ।

भैरहवामा अवतरण गर्न नपाएपछि काठमाडौं फर्कियो यतीकाे जहाज

काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नपाएपछि यती एयरको जहाज काठमाडौं नै फर्किएको छ । काठमाडौंबाट भैरहवाको उडान भरेको यती एयरको जहाज आधा घण्टाभन्दा बढी समय आकाशमै होल्ड गरेर पुनः काठमाडौं फर्किएको हो । सोमबार बिहान श्री एयरलाइन्सको जहाज विमानस्थलको रनवेमा रोकिएका कारण यती एयरको जहाजले अवतरण गर्न नपाएको हो । भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै भैरहवा नै फर्केर गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको थियो। जसका कारण यतीको जहाजले अवतरण गर्न पाएन।

काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्कियो

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडानका क्रममा जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा नै फर्किएको हो । सोमबार बिहान चालक दलका सदस्यसहित ८१ जना यात्रु रहेको जहाज काठमाडौंका लागि उडान भरेको थियो। उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज ९:४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो। करिब २० मिनेट आकाशमा उडेपछि चालक दलका सदस्यहरूले जहाजकाे इन्डिकेटरले विमानमा खराबी देखाएको भन्दै भैरहवा नै फर्काएका थिए । तर, जहाजमा के खराबी आयो भन्ने अहिलेसम्म पत्ता नलागेको भैरहवा विमानस्थल कार्यालयले जनाएको छ । जहाज अहिले रनवेमै रहेका कारण विमानस्थल क्लोज गरिएको छ । ‘जहाज पावर छैन्, जहाज तान्नलाई ट्याक्टर आइरहेको छ, यात्रुलाई जहाजबाट ओरालिएको छैन’, विमानस्थल स्रोतले भन्यो ।

यूनिटेक हाइड्रोपावर सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, ३६ करोड ६७ लाखको सेयर जारी हुँदै

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धको जिम्मेवारी पाएको छ । यूनिटेक हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरिने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । आईतबार यूनिटेक र लक्ष्मी क्यापिटलबीच सेयर निष्काशन तथा बिक्री प्रबन्धकबारे सम्झौतामा हस्ताक्षर भएको छ । लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावर कोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणा गरिरहेको छ । उक्त परियोजना निर्माणको काम ९० प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको यूनिटेकले जनाएको छ ।

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु

म्याग्दी । म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ । बेनी अस्पतालका निमित्त प्रमुख डा अञ्जु थापाले आइतबारदेखि फिजियोथेरापी सेवा सञ्चालन भएको जानकारी दिए । फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार हुन्छ । अस्पतालको निर्माणाधीन भवनको भुई तलामा छुट्टै कोठामा फिजियोथेरापी कक्ष स्थापना भएको छ । चार शय्या राखिएको छ । अस्पतालमा दैनिक पाँचदेखि १५ जनासम्म फिजियोथेरापी गर्नुपर्ने बिरामी आउने गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी सेवाका लागि आवश्यक उपकरण खरिद गरिएको थियो । फिजियोथेरापीका उपकरण खरिद गर्न प्रदेश सरकारले आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अस्पताल व्यवस्थापन समितिले फिजियोथेरापिष्ट चिकित्सक कान्तिलक्ष्मी देवी कटुवाललाई नियुक्त गरेको छ । पछिल्लो समय बिरामीको सङ्ख्या बढेसँगै फिजियोथेरापी सेवा विस्तार गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । फिजियोथेरापी सेवा लिन यसअघि म्याग्दीका बासिन्दा पोखरा, बागलुङ, काठमाडौं जाने गरेका थिए । बेनीमै सेवा पाउने भएपछि जिल्ला बाहिर जाँदा हुने समय र रकमको बचत भएको छ । म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने बेनी अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवा विस्तार गरेको छ । साउन यता फिजियोथेरापीका अलावा ज्येष्ठ नागरिक उपचार कक्ष जेरियाट्रिक वार्ड, अत्याधुनिक एक्सरे, सामाजिक सुरक्षा एकाइको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग उपचार सेवा सुरु गर्ने तयारी गरेको छ । अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ । मिर्गौला रोगसम्बन्धी समस्या भएका १९ जनाले डायलाइसिस सेवा लिएका छन् । सामाजिक सेवा एकाइमार्फत लक्षित समुदायको सहुलियत र निःशुल्क उपचार सेवा दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको एक करोड ५० लाख रुपैयाँ मूल्य बराबरको डिजिटल एक्सरे मेसिन प्रयोगमा ल्याएको अस्पताल परिसरमा अक्सिजन प्लान्ट सञ्चालनमा छ । पचास शय्या क्षमताको अस्पतालले १५ शय्याकै संरचना र पूर्वाधारबाट ७६ शय्याको सेवा दिएको छ । रासस