
काठमाडौं । अर्थ मन्त्रालयले २० प्रतिशत बजेटको सिलिङ बढाउन लविङ सुरु गरेको छ । योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि पठाएको सिलिङमा थप २० प्रतिशत वृद्धि गर्न मन्त्रालयले आग्रह गरेको हो ।
यसअघि आयोगले १६ खर्ब ८८ अर्बको सिलिङ पठाएको थियो । पछि आयोगले पुनः १० प्रतिशत घटाएर १५ खर्ब १९ अर्बभित्र रहेर बजेट तर्जुमा गर्न सिलिङ तोकेको हो ।
चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याईएको थियो । सरकारले अर्ध वार्षिक समिक्षा मार्फत २ खर्ब ४४ अर्बले घटाएर १५ खर्ब बराबरको बजेट कायम गरेको छ ।
विकासे मन्त्रालयकै बजेट कटौती हुँदा समस्या थपिन भन्दै मन्त्रालयले २० प्रतिशत सिलिङ बनाउन आयोगलाई आग्रह गरेको मन्त्रालय स्रोतले बतायो ।प्रधानमन्त्रीको निर्देशन अनुसार बजेट निर्माण भएमा करिव १८ खर्ब २२ अर्ब रुपैयाँको बजेट बन्नेछ ।
अर्थ मन्त्रालयमा बजेट माग्न आउनेको भिड लाग्ने गरेको र विकासे मन्त्रालयकै बजेट चालू आवको तुलनामा ठूलो संख्यामा कटौती भएपछि बजेटको सिलिङ बढाउन आग्रह गरिएको मन्त्रालयले जनाएको हो ।
चालू आवका लागि ल्याईएको बजेटभन्दा पनि कम बजेटको सिलिङ आएपछि अर्थले अधिकांश मन्त्रालयको बजेट सिलिङ घटाएर पठाएको हो ।
चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा ठूलो रकम कटौती भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बजेटको सिलिङ बढाउन दबाब दिएको अधिकारीहरुले बताएका छन् ।
योजना आयोगका सदस्य रामकुमार फुँयालले प्रधानमन्त्रीले बजेटको सिलिङ बढाउन निर्देशन दिएको बताएका छन् । उनले एक सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्रीले बजेटको सिलिङ बढाउन निर्देशन दिएको र सोही अनुसार आयोगले काम गरेको बताएका थिए ।
यता अर्थ मन्त्रालयका अधिकारीहरु भने मौखिक रुपमा बजेटको सिलिङ बढाउन योजना आयोगलाई अनुरोध गरिएको बताउँछन् । ‘हामीलाई आयोगले १० प्रतिशत बजेट कटौती गरी नयाँ बजेटको सिलिङ दिईएको थियो, त्यति रकमले अपुग हुने देखिएपछि बजेट महाशाखाले मौखिक रुपमा बढाउन अनुरोध गरेको हो’, ती कर्मचारीले भने ।
राष्ट्रिय योजना आयोगले सबै मन्त्रालयको बजेटको सिलिङ घटाएर पठाएको छ । आयोगले विकासे मन्त्रालयका रुपमा रहेका भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, खानेपानी मन्त्रालय लगायत सबै मन्त्रालयको बजेटको सिलिङ घटाएर पठाएको हो ।
चालू आर्थिक वर्षमा एक खर्ब ६७ अर्ब बराबरको बजेट पाएको भौतिक मन्त्रालयलाई आयोगले आगामी आवका लागि एक खर्ब १३ अर्बको सिलिङ दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चालू आवको भन्दा ५४ अर्ब रुपैयाँले बजेटको सिलिङ घटेर आएको बताए ।
चालू आवको भन्दा पनि कम बजेटको सिलिङ हामीलाई आएको छ, थप बजेट माग्नुपर्ने अवस्थामा घटेर आउँदा योजना अधुरा नै हुन्छन की भन्ने हाम्रो अनुमान हो, उनले भने, ‘थोरै बजेटमा काम गर्न चुनौती छ, योजना अनुसारको काम गर्नसक्ने अवस्था नै भएन, कम बजेट हुँदा नयाँ आयोजना थपिदैन् ।’
बजेट कटौती हुँदा आगामी वर्ष नयाँ विकासका कार्यक्रम र योजनाहरु समेत बजेटमा समावेश गर्न मुस्किल पर्ने देखिएको उनको भनाई छ । उनले भएकै निर्माणलाई प्राथमिकता दिँदै नयाँ कुनै पनि आयोजना नथपिने बताए ।
भौतिक पूर्वाधारका लागि मात्रै १० प्रतिशत बजेटको सिलिङ बढाउन अर्थले राष्ट्रिय योजना आयोगलाई अनुरोध गरेको छ । आयोगका सदस्य फुँयालले सबै मन्त्रालयबाट बजेटको सिलिङ बढाउन दबाब आएको बताए ।