एच मेडिकल एण्ड डाएगनोष्टिकका कर्मचारीले एसआईपी मार्फत लगानी गर्न सक्ने
काठमाडौं । एच मेडिकल एण्ड डाएगनोष्टिकका कर्मचारीले एसआईपी मार्फत लगानी गर्न सक्ने भएका छन् । एच मेडिकल एण्ड डाएगनोष्टिकका कर्मचारीले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत लगानी गर्न सक्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अर्न्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिकबीच एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा ‘कर्पोरेट पेरोल सिप’ मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस योजना अन्तर्गत, एच मेडिकल एण्ड डाएगनोष्टिकका विभिन्न तहका कर्मचारीले आफ्नो इच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागिता फण्डको व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत लगानी गर्न सक्नेछन् । उक्त सम्झौतामा एच मेडिकल एण्ड डाएगनोष्टिकका तर्फबाट कम्पनीका प्रमुख संचालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटलका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
बाँकेको मदरसा र सामुदायिक विद्यालयमा न शिक्षक नत विद्यार्थी
बाँके । बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित मदरसामा शिक्षक र विद्यार्थीको उपस्थिति न्यून छ । उक्त वडामा रहेको जयरामपूर्वाको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिन पनि हाजिर भएका छैनन् । चैत महिनामा त जयमती दुई दिन र रामजी एक दिन मात्रै हाजिर भएको प्रधानाध्यापक इब्राइम खानले बताए । मदरसामा नआए पनि दुबै जनाले गाउँपालिकाको राहतको तलब पाइरहेका छन् । उनीहरूलाई बारम्बार सम्पर्क गर्दा पनि मदरसा नआउने गरेको हाजिरी रेर्कडबाट प्रष्ट बुझ्न सकिने उनको भनाइ थियो । ‘हामीले धेरै पटक फोन गर्नाका साथै गाउँपालिकामा निवेदन दिए पनि उनीहरु मदरसामा आउनुहुँदैन,’ प्रधानाध्यापक खानले भने, ‘तर तलब भने उनीहरुले खाइरहनुभएको छ ।’ सोही गाउँपालिका–५ जमुनहामा रहेको मदरसा गौसुलवरा जामियाका शिक्षकले पनि वैशाख महिनामा हाजिरी गरेको देखिदैन । मदरसामा भेटिएका एक दुई शिक्षकसँग विद्यार्थीको बारेमा सोध्दा उनीहरुले आफ्नो विद्यालयमा कति विद्यार्थी पढ्छन् भन्ने जवाफ दिनै सक्नुभएन । एक शिक्षकको भनाइ अनुसार उक्त मदरसामा प्रधानाध्यापक मनलागेमात्र मदरसा आउने गरेको बुझिएको छ । वडा नं ४स्थित जमुनाहाकै श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि प्रध्यानाध्यपक स्कुल समयमा प्रायः भेटिन्नन । कुनै कक्षा कोठामा पनि शिक्षकको उपस्थिति देखिदैन । तीन शिक्षक र शिक्षिकाले त एकैपटक आएको र गएको हाजिरी गर्ने गरेको समेत भेटियो । केही कक्षामा विद्यार्थीको पनि हाजिरी नगरेको पाइयो । धेरैजसो शिक्षकले हप्ता दिनदेखि हाजिरी नै नगरेको पनि भेटिएको थियो । गाउँपालिकाकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले विद्यालयको छड्के अनुगमनका क्रममा विद्यालयमा यस्तो बेथिति भेटेको हो । गाउँपालिका–५ का वडाध्यक्षसमेत रहेका उनले अनुगमनका क्रममा सबै विद्यालय तथा मदरसामा केही न केही त्रुटि र समस्या देखिएको बताए । ‘पहिलो पटक हामीहरु यसरी छडके अनुमगनमा गएका हौँ । त्यसैले सबै विद्यालय र मदरसालाई मौखिक चेतावनी दिएर आएका छौँ,’ वडाध्यक्ष्य मौर्यले भने,’अर्कोपटक फेरि अनुमगनमा जानेछौंँ । यस्तै समस्या देखियो भने कारबाही गर्नेछौंँ ।’ गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई आसन्न शैक्षिक सत्रदेखि खारेज गरिने बताए । नरैनापुरमा सामुदायिक विद्यालय भन्दा मदरसाको सङ्ख्या धेरै छ । गाउँपालिकामा ३० मदरसा र २१ सामुदायिक विद्यालय छन् । रासस
आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरुको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन् । जडीबुटी, वनजङ्गल तथा शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सांसदहरुले ठेक्कापट्टामा रहेको समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए । सांसद मायाप्रसाद शर्माले विकास निर्माणमा देखिएको समस्या समाधानका लागि विशेष प्रबन्ध गर्नुपर्नेमा जोड दिए । सांसद दिलकुमारी थापा रावलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तीन प्रतिशतको हाराहारीमा रहने अवस्था आएको सन्दर्भमा ‘फराकिलो आर्थिक’ भन्ने विषय प्रष्ट नभएको बताए । दैनिक ठूलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेको सन्दर्भमा देशभित्रै रोजगारीको प्रबन्ध गर्न, निजी क्षेत्रको समस्या समाधानमा मनोबल बढाउन उनले सरकारको ध्यानाकर्षण गराए । सहकारीले निक्षेप लिएर भागेको, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण तिर्नुपर्दैन भनेर फैलाइएको अराजकता नियन्त्रणका लागि पनि उनले आग्रह गरे । सांसद कमला पन्तले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या स्वयम् अर्थमन्त्री र अर्थमन्त्रालयलाई नै थाहा भएकाले खास अर्थमा समाधानको उपाय अपनाउन आग्रह गरे । उनले भने, ‘बिरोलो बाँधेर श्राद्ध’ गर्नेतर्फ भन्दा पनि खास खास अर्थमा गर्न सकिने विषयलाई बजेटमा समावेश गरौँ । हाम्रोमा कार्यान्वयनमा समस्या छ । योजनामा होइन ।’ सांसद पन्तले एकीकृत बस्तीको विकासमा ध्यान दिन र मानव जङ्गली जनवारबीचको द्वन्द्व समाधान गर्ने योजना ल्याउन, महिलालाई आर्थिक विकासमा लाग्ने वातावरण बनाउन, ओरालो लागेको शेयर बजारलाई उकालो लगाउने योजना बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराए । सांसद पन्तले एक हजार र पाँच सयको नोट तत्काल प्रतिबन्ध लगाउन माग गरे । यस्तै साधारण खर्च घटाएर पूँजीगत खर्च बढाउन देखिएका समस्या समाधान गर्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकले सधैँ मौद्रिक नीतिको समीक्षामा नकारात्मक विवरण मात्रै समावेश गरेर प्रकाशित गर्ने गरेकामा आपत्ति प्रकट गरे । रासायनिक मल कारखाना स्थापना गर्ने प्रबन्ध बजेटमा गरिए त्यसले आम किसानको मनोबल बढाउने सांसद पन्तको भनाइ छ । सांसद सिंहदरबहादुर विश्वकर्माले ठूला भौतिक पूर्वाधार तथा ग्रामीण क्षेत्रको वृहत्तर विकास तथा विद्युत् खपत प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिए । नेपाललाई चलचित्र छायाङ्कनस्थलको विकास गर्ने गरी विशेष प्रबन्ध गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए । सांसद मृगेन्द्रकुमार सिंह यादवले जनसङ्ख्याको आधारमा बजेटको विनियोजन गर्नुपर्ने, समयमै कार्यान्वयनको प्रबन्ध गर्न, शिक्षा, स्वास्थ्य र कृषिमा उल्लेख्य मात्रामा खर्च गर्ने गरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद शेखरकुमार सिंहले जलविद्युत्मा मुलुकले ठूलो प्रगति गरेको भए पनि उद्योग धन्दामा लोडसेडिङ भइरहेको भन्दै समस्या समाधान गर्न आग्रह गरे । त्यसअघि बैठकको सुरुमा नै नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले आइतबारको बैठकमा एक सांसदले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गरेका थिए । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले आइतबारको उक्त अभिव्यिक्त सुनेर मात्रै आवश्यक निर्णय गर्ने जानकारी गराएका थिए । रासस
सर्वदलीय बैठक बस्दै
काठमाडौं । बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने उक्त सर्वदलीय बैँठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सैद्धान्तिक पक्ष तथा पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ । आगामी प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न कार्यसूची तयारी गरिने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १३ गते राति अन्त्य गरिएको थियो ।
धाराबाट पानी आएपछि ढोरपाटनवासी दङ्ग
ढोरपाटन । ‘गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।’ तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुपथ्र्यो । पानी भर्ने पालो कुर्दाकुर्दै अन्य घर धन्दा गर्न भ्याउथे । गाउँको बीचमा रहेको एउटा धारोबाट सिङ्गो टोलका स्थानीयले पानी भर्नुपर्ने बाध्यता थियो तर अहिले कसैले पनि पानी भर्न घण्टौँ कुर्नु पर्दैन । अहिल प्रत्येकको घर–घरमा धारा जडान भएका छन् । खोलेस्बाङ गाउँमा गोर्खा वेयलफेयर संस्थाले एक घर एक धारा निर्माण गरी दिएपछि स्थानीयको वर्षौंदेखिको समस्या समाधान भएको छ । वि।सं। २०७८ चैतदेखि सुरु भएको खोलेस्बाङ–श्रीबाङ खानेपानी आयोजना विसं २०७९ जेठमा सम्पन्न भएको थियो । खानेपानी आयोजना निर्माणका लागि वेयदफेयर संस्थाले ७८ लाख रुपैयाँ सहयोग गरेको थियो भने स्थानीयले ९९ सय दिन जनश्रमदान गरेका थिए । घर–घरमा धारो बनेपछि पहिले सुक्खा रहेका स्थानीयका करेसा बारी अहिले तरकारीले हरियाली भनेका छन् । पशुचौपायाले पेटभरी पानी पिउन पाएका छन् भने शौचालय पनि सफा भएका छन् । अहिले गाउँमा एक सय ३५ घरमा ‘एक घर एक धारा’ निर्माण भएका छन् भने सार्वजनिक ठाउँमा चार वटा थप नयाँ भारा निर्माण भएका छन् । स्थानीलाई पहिलेको जस्तो पानी सुक्छ भन्ने चिन्ता पनि छैन । आवश्यकताअनुसार पानीको प्रयोग गर्न सकिने श्यामकुमारी बताउँछिन् । पहिले खेतीयोग्य जमिन हुँदा पनि पानीका कारण तरकारी खेती गर्न नसकिएको भन्दै अहिले बाहिरबाट किनेर खानुपर्ने अवस्था नरहेको रसाइलीको भनाइ छ । अहिले पानी बोक्ने समय अन्य काम गर्ने गरेको उनले बताए । गाउँमा सिद्धविर मुहानबाट गाउँमा पानी ल्याएको हो । बरिक तीन किलोमिटर टाढाबाट पाइप लाइनमार्फत पानी झरालिएको छ । एक सय ३९ धाराका लागि ११ वटा ट्याङ्की निर्माण भएका छन् । पानीलाई व्यवस्थित गर्नका लागि मिटर जडान गरिएको खोलेस्बाङ–श्रीबाङ खानेपानी आयोजनाका सचिव लिलबहादुर पुनले जानकारी दिए । उनले गाउँमा स्वच्छ खानेपानी आएपछि आफूहरुको वर्षौंदेखिको समस्या समाधान भएको बताए । एक घर एक धाराले गाउँलेको मुहारमा खुसी छाएको सचिव पुनको भनाइ छ । ‘खोलेस्बाङमा खानेपानीको समस्या वर्षौंदेखिको हो, धेरै ठाउँमा खानेपानीको माग पनि भएको थियो, तर अघिल्लो वर्ष बल्ल समाधान भयो, दुर्गमको भएर होला सम्बन्धित निकायले पहिला कुनै ध्यान दिएनन्’, उनले भने, ‘अहिले गाउँपालिकाले पनि सहकार्य ग¥यो, वेयलफेयर संस्थाले ठूलो लगानी ग¥यो, गाउँलेले पनि धेरै श्रम गरे, सबै पक्षको साथ र सहयोगले गाउँमा पानी आयो, हामीहरु धेरै खुसी भएका छौँ, हाम्रा पुस्ताले जति खानेपानीका लागि दुःख पायौँ, नयाँ पुस्ताले त्यो समस्या भोग्नु पर्ने छैन्, अहिले हरेकको घरमा धारा बनेको छ, त्यसलाई संरक्षण गरेर प्रयोग गर्नुपर्छ ।’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले सिङ्गो समुदायसहित विद्यार्थी र स्वास्थ्य संस्थामा आउने बिरामीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकोमा अब त्यो समस्या समाधान भएको बताए । पालिका भरका अधिकांश घरमा ‘एक घर एक धारा’ निर्माण भइसकेको भन्दै केही बस्तीमा अहिले आयोजना सञ्चालनमा रहेको अध्यक्ष बुढा मगरको भनाइ छ । अबको केही समयमा तमानखोला गाउँपालिकाका कुनै पनि बस्तीमा खानेपानीको समस्या नहुने उनी बताउँछिन् । ‘हामीहरु निर्वाचित भएर आएको पहिलो कार्यकालदेखि नै खानेपानीको समस्या समाधान गर्न थालेका हौँ, अहिलेसम्म आउँदा ९० प्रतिशत नागरिकले सहजरुपमा खानेपानी पाएका छन्, अहिले पनि धेरै ठाउँमा योजना सञ्चालन भइरहेका छन्’, अध्यक्ष बुढा मगरले भने, ‘धेरै ठाउँमा पालिकाकै लगानीमा खानेपानी आयोजना सम्पन्न भएका छन्, केही गाउँमा सञ्चालन भएका आयोजनामा विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेका छौँ ।’ रासस
अमरेशकुमार बने संसदमा नांगै
काठमाडौं । स्वतन्त्र सांसद अमेश कुमार सिंहले संसद बैठकमा कपडा खोलेर अर्धनग्न बनेका छन् । आज सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्नको लागि समय माग गर्दा नपाएपछि उनले विरोध स्वरुप सर्ट र भेस्ट खोलेर अर्धनग्न भएर विरोध जनाएका हुन् ।
बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नपाली बजारमा सुनको मूल्य हिजोको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुन तोलाको १ लाख १० हजार ९ सय रुपैयाँमा करोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज नेपाली बजारमा चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
संसदमा टोपबहादुर रायमाझीलाई केपी शर्मा ओलीको झड्केलो भनेपछि…
काठमाडौं । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको झड्केलो छोरो भनेर एक सांसदले संसदमा बोलेपछि त्यसको विरोध भएको छ । आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली काँग्रेसका नेता तथा सांसद रमेशजंग रायमाझीले भुटानी शरणार्थीको नाममा नेपालीलाई बेच्न काम भएको भन्दै आरोपित व्यक्तिहरुको आलोचना गर्ने क्रममा टोप बहादुर रायमाझीलाई केपी ओलीको झड्केलो छोरोको संख्या दिएका थिए । राष्ट्रिय सभाको सोमबारको बैठकमा शुरुमै नेकपा एमालेले नियमापत्ति जनाएको छ । आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली काँग्रेसका नेता तथा सांसद रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाएको हो आईतवार राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको झड्केलो छोरो भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो । बैठकमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । उनले यस्ता शब्दहरुले संसद र सांसद स्वयंको पनि गरिमा घट्ने बताए । उनले भने, ‘माननीय रमेशजंग रायमाझीले जुन खालको अभिव्यक्ति दिनुभएको छ, हिजो आफ्ना अभिव्यक्ति राख्ने क्रममा छ । त्यसमा नेकपा एमालेको नियमापत्ति छ । हामीले हिजो नियमापत्ति जनाउने सोचेपनि पहिलो दिनको बैठक भएकाले गरेनौँ । उहाँले हिजो पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमाले पार्टी सचिव टोपबहादुर रायमाझीलाई जड्खेलो छोरो भन्नुभएको छ, यो शब्दप्रति हाम्रो नियमापत्ति छ । संविधानको धारा २६९ ले समान विचार भएका र सिद्धान्त भएकाहरुको बीचमा संगठन निर्माण गर्न सकिने भनिएको छ, संविधानको धारा ११७ मा मौलिक हकको व्यवस्था गरिएको छ । त्यसमा व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई हनन गरिने छैन भन्नेकुरा गरिएको छ । जड्खेलो छोरोको शब्द जुन राखियो, यो शब्दले हाम्रो सम्पूणर् गरिमा सांसदको गरिमा घट्छ की बढ्छ ? हिजो उहाँले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’ नियमापत्तिसँगै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडियो सुनेर नियम बिरुद्धमा रहेको भए मंगलवारको बैठकमा जानकारी गराउने प्रतिवद्धता जनाएका छन् ।