विकासन्युज

भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता

नेपालगञ्ज । नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक जसो कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ । भारतबाट आएका व्यक्तिलाई नेपालगञ्ज नाकामा परीक्षण गरी सङ्क्रमण पष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ । सुरुमा कोरोना माहामारी फैलिदा नेपालगञ्जस्थित जमुनाह नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो । हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत छन् । गत चैत ३ गतेदेखि आइतबारसम्म नाकामा परीक्षण गर्दा एक सय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नाकामा एन्टिजेन परीक्षण गरी कोरोना पुष्टि भएकालाई नाकामै परामर्शका साथै औषधि समेत दिइन्छ । तर नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ । कोरोना महामारी सुरु भएपछि हालसम्म नाकामा एक लाख १५ हजार वटा नमूना परीक्षण भइसकेको छ । ‘सबैले परीक्षण गर्न मान्दैनन, नाका हुँदै नेपाल भित्रिने सबैलाई अनुगमन गर्ने अवस्था पनि छैन’, हेल्थ डेस्कका प्रमुख गिता गिरी शाहीले भने । उनका अनुसार भारतका पञ्जाव, दिल्ली, लखनउबाट आउने यात्रुमा बढी कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै कोरोना सङ्क्रमण पुष्टि भएकाहरुमा कुन भेरियन्ट हो भन्ने पत्ता नलागेको बताए । कोरोना सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा स्थानीय तहको रोहबरमा होम आइसोलेसनमा व्यवस्थापन गरिरहेको उनको भनाइ छ । रासस

स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंक बिच सम्झौता भएको छ । स्मार्टच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंक बिच यसिटि युपिआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको हाे । उक्त सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् । कम्पनीका अनुसार विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । मुक्तिनाथ विकास बैंक बिच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने जनाएकाे छ । हाल ५ बाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनि र १५० भन्दा बढी सहकारीहरूले यसिटि युपिआइ डेबिट कार्ड आफ्नो ग्राहकहरुलाई प्रदान गरिरहेका छन्। यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहक महानुभावहरूले यसिटि युपिआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् ।

चेक बाउन्सकै उजुरी दैनिक ३५ वटा; डलर सटही, चिठ्ठा र रोजगारीका क्षेत्रमा बढी समस्या

काठमाडौं । काठमाडौंमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमार्डौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा उनले पछिल्लो समय काठमाडौंभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी बढेको बताएका हुन् । ‘काठमाडौंमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकामा आउने गरेको छ, मासिक झण्डै एक हजारभन्दा बढी उजुरी आउँछन्, आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ’, उनले भने । डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको सङ्ख्यासमेत बढेको उनको भनाइ छ । काठमाडौं प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गरे । उनले काठमाडौंको ठमेल, चितवनको सौराहा र कास्कीको बैदाम क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्न विगतमा सरकारले योजना बनाएको भन्दै यस क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताए । काठमाडौं महानगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समाजमा हुने अपराध न्यूनीकरण गर्दै शान्त वडा निर्माणका लागि महानगरपालिकाले काम गरिरहेको बताए । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न व्यावसायिक आचारसंहिता बनाएर लागू गर्नुपर्ने बताए । प्रहरीवृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रलाई समृद्ध बनाउन यस क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने बताए ।  कार्यक्रमका सहभागीले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रको व्यवसायलाई व्यवस्थित गर्नुेपर्नेमा जोड दिएका थिए । रासस

साधारण खर्च असाधारण रुपमा कटौती गर्न सभापति लामिछानेको सुझाव

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले अर्थमन्त्रीले पेस गरेको सिद्धान्त तथा प्राथमिकताले समाधान नदिने भन्दै आफ्नो सुझाव राखेका छन् । असाधारण समय भएको र स्रोतको सिमितता भएकाले साधारण खर्चमा असाधारण खर्च कटौती गर्दै सम्बन्धित व्यक्तिलाई जवाफदेही बनाउन सुझाव दिएका छन् । ‘असाधारण खर्च छ, स्रोतको सिमितता छ, यसपाली असाधारण रुपमा साधारण खर्च कटौती गरौं, बजेटमा गर्छौं भनेका कुरा गरेरै छाड्ने यदि हुन सकेन भने कसका कारण हुन सकेन, सचिव, विभागीय प्रमुख, मन्त्री प्रधानमन्त्री र सांसदलाई जवाफदेही बनाऔं’, सभापति लामिछानेले भने । काम होइन नतिजाको आधारमा कार्यसम्पादन मूल्यांकन गर्ने र सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको व्यापक प्रयोगलाई बढाउन उनले सुझाव दिएका छन् । यसो गर्दा भ्रष्टाचार पनि कम हुने उनको भनाइ छ । विदेशी लगानी भित्र्याउन छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्नपर्ने अवस्था भएको, प्रकृया झन्झटिलो भएको, भन्दै लामिछानेले यसलाई सुदृढ गर्नुपर्ने बताए । उनले फरक तरिकाले काम गर्न नसकिए फरक नतिजा आउन नसक्ने भन्दै अहिलेको समस्याबाट मुलुकलाई पार लगाउन अर्थमन्त्रीले सिद्धान्त र प्राथमिकतामा भएको फरक संसदलाई विस्तृत व्याख्यासहित बताउन उनले आग्रह गरेका छन् ।

सिटिजन्स बैंकका ग्राहकलाई अन्नपुर्ण केवलमा छुट हुने

काठमाडौं । सिटिजन्स बैंक र अन्नपुर्ण केवल कारबीच समझदारी भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र पोखराको अन्नपुर्ण केवल कारबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले अन्नपुर्ण केवल कारमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । साथै, पोखरा स्थित सिटिजन्स बैंकका शाखामा नयाँ खाता खोल्ने ग्राहकका लागि अन्नपुर्ण केवल कारको टिकट निशुल्क उपलब्ध हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बजेटका सिद्धान्त तथा प्राथमिकता विगतका जस्तै कर्मकाण्डीले भरिएको छ – सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएको बजेटका सिद्धान्त तथा प्राथमिकता विधेयक २०८० ‘गरिनेछ’ भन्ने शब्दावली राखेर विगतको जस्तै कर्मकाण्डी भएको बताएका छन् । लामिछानेले आजा संसदमा आफ्नो भनाइ राख्नै विगतका केही वाक्य र शब्दहरुको हेरफेर गरेर नियमित कर्मकाण्डी दस्ताबेजको रुपमा आएको उनले बताएका छन् । अहिले अर्थतन्त्र असाधारण अवस्थामा भएको तर, सरकारको प्रक्षेपण गर्ने क्षमता निकै कमजोर देखिएको उनले बताएका छन् । ‘आठ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनिएकोमा दुई प्रतिशत पनि नहुने देखियो, देशको अर्थतन्त्र कता गइरहेको छ भन्ने प्रक्षेपण गर्ने हाम्रो क्षमता समेत कमजोर देखिएको छ’, सभापति लामिछानेले बताए । यस्तो असाधारण अवस्थामा रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन विगतकै जस्तो कर्मकाण्डी योजनाले के होला भन्ने प्रश्न लामिछानेले संसदमा गरेका छन् । ‘संधै एउटै कुरा गर्ने नतिजा अलग गर्ने हाम्रो बानी हो की, जनतालाई झुक्याउने खेल हो ?’, लामिछानेले भने । असफल नीति र प्रकृयालाई निरन्तरता दिने की नयाँ र सिर्जनात्मक प्रकृया अगाडि बढाउने भनेर लामिछानेले अर्थमन्त्रीलाई प्रश्न गरेका छन् । ‘वर्षेनी गरिनेछ भनिने तर, पुरा नगरिने बजेटले जनताको विश्वास कसरी बढाउँछ ?’, सभापति लामिछानेले भने । उनले नेपालको अर्थतन्त्रमा देखिएको समस्या धेरै आन्तरिक कारणले धेरै बाह्य कारणले भएको बताएका छन् । राजनीतिक वेथिति, विसंगती र संगठित राजनीतिक भ्रष्टाचारको कारण मुख्य भएको उनले बताएका छन् । समयमा काम नहुनु, काम भएकाले पनि अपेक्षित परिणाम नदिनु, करछली नरोकिनु जस्ता कुराहरु सरकारको असक्षमता र बेइमानीको कारण भएको लामिछानेले बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले गर्यो कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई उत्कृष्ठ बैंक सेवा पुरस्कार प्रदान गरेको छ । बैंकको ५८ औं वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आ.व. २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहका बीच बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरे । कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ बैंक पुरस्कार आ.व. २०७८/०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आ.व. २०७७/०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद ५० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत आ.व. २०७८/०७९ मा अन्य ३३ जना र आ.व. २०७७/०७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद २० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा शाखा कार्यालयहरुमध्ये सर्वप्रथम हुने आ.व. २०७८/०७९ मा शाखा कार्यालय बिराटनगर र आ.व. २०७७/०७८ शाखा कार्यालय सुर्यविनायकलाई प्रति शाखा नगद ५० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरियो । त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने आ.व. २०७८/०७९ मा १७ वटा शाखा र आ.व. २०७७/०७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद १० हजार देखि ३० हजार रुपैयाँसम्म र प्रमाणपत्र प्रदान गरियो । साथै, कार्यक्रममा कर्मचारीहरुलाई बरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो । सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा कर्मचारीहरुले दक्षतापूर्ण रुपले कार्य गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र दुर्गा कुमारी कँडेल, रा.वा. बैंक कर्मचारी संघ नेपालका बरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ,रावा बैंकका अध्यक्ष इश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका उपाध्यक्ष जितेन्द्र राई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

राजधानीमा ३ हजार मेगावाट विजुली खपत हुने, ८ वटा उच्च क्षमताका सबस्टेसन बन्दै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ वटा सबस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा ४००, २०० र १३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन छन् । भविष्यमा बृद्धि हुन सक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरुमा चरणवद्ध रुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षण भइरहेको छ । काठमाडौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मुलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सबस्टेसन निर्माणाधीन छन् । टेकु र चाँगुनारायण सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाभित्रको विद्युत्को बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सबस्टेसन आयोजनाहरु जतिसक्म्दो छिट्टो सम्पन्न गर्ने गरी काम भइरहेको बताए । कार्यकारी घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सबस्टेसनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सबस्टेसनहरुको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए । ‘यस वर्षको जाडोमा काठमाडौं उपत्यकामा विद्युत्को माग त्यति बढेन, यसले गर्दा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज भयो, आगामी वर्षको जाडोलाई ध्यान दिई त्यसभन्दा अगाडिनै सबस्टेसनको निर्माण सक्नुपर्छ,’ निर्देशक दिंदै कार्यकारी निर्देशक घिसिङले भने-‘टेकु र फुटुङ सबस्टेसन निर्माण सम्पन्न भएपछि काठमाडौंको विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा धेरै सहज हुन्छ ।’ टेकुस्थिति ६६/११ केभी सबस्टेसनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन निर्माण भइरहेका छन् । दुवै सबस्टेसनमा ४५/४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु राखिने छ । बालाजु-चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिने छ । टेकु सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ९ वटा नयाँ फिडर निकालिने छ, जसले काठमाडौंको केन्द्र भागको विद्युत् आपूर्तिलाई सहज बनाउने छ । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका स्वस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजनाहरु सञ्चालित छन् । प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूणर् ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूणर् मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु रहने छन् । सुख्खाबन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ । चोभारमा सबस्टेसन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याइने छ । लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिने छ । ललितपुर क्षेत्रमा स्यूचाटार-पाटन-वानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ । स्थानीयको अवरोधका कारण लप्सीफेदीभच ४०० र २२०/१३२/११ केभी सबस्टेसन निर्माण सुरु हुन सकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेसन निर्माण गर्न लागिएको हो । लप्सीफेदीबाट चाँगुनारायण सबस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ ।