विकासन्युज

नबिल ढुक्क बचत खातामा १० लाखसम्म को बीमा, व्याज ७.४० प्रतिशत

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ। यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमा बापत एक लाख रुपैयाँ, दुर्घटना बीमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्। त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ। नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ । दैनिक रूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैंकको विश्वास व्यक्त गरेको छ ।

तनहुँ जलविद्युत् आयोजना : धमाधम टावर जडान गरिँदै

तनहुँ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रसारण लाइन निर्माणका लागि ९४ टावर जडान गरिनेछ । त्यसमध्ये आठ टावरको जग संरक्षण सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण र छ स्थानमा जग्गा हाल्ने काम भइरहेको उनले बताए । त्यस्तै शून्य दशमवलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ । प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता २३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ । आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन ९प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्य भइरहेका छन् । पाँच सय ३८ दशमलव पाँच मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२ दशमलव पाँच मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२ को वारपार गरी ब्रेक थु्र कङ्क्रिट लाइनिङको काम भइरहेको छ । प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कार्य गरिरहेको छ । विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्याङ्क निर्माण कार्य जारी रहेको छ । एक हजार ४५६ मिटर मुख्य सुरुङमध्ये सात सय ९० मिटर खन्ने कार्य सम्पन्न भएको छ । आयोजनाको कूल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । ठेक्का लिएर काम नगर्नेलाई कारबाही तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भएको छ । सम्झौताअनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारबाही गर्ने तयारी गरिएको हो । ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । उनले भने, ‘समयमा काम सम्पन्न नगर्ने, अलपत्र पार्ने तथा गुणस्तरीय काम नगर्ने कम्पनीलाई धरौटी जफत गर्ने तयारीमा लागेका छौँ । त्यस्ता निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यलयमा सिफारिस गर्नेजस्ता प्रक्रिया पनि अगाडि बढाएका छौँ ।’ उनले एक पटक काम सञ्चालन गर्न आग्रह गर्ने र आलटाल गरे नियमानुसार कारबाही गरिने जानकारी दिए । विभिन्न बहानामा काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न लागिएको उनको भनाइ छ । बन्दीपुरमा कुसुम कन्स्ट्रक्सन, कस्यप निर्माण सेवा, धर्म एण्ड कस्यप जेभी र खड्गदेवी कन्स्ट्रक्सनले निर्माणसम्बन्धी कामलाई अलपत्र पारेको गाउँपालिकाका इन्जिनियर सन्तोष थापाले जानकारी दिए । यी निर्माण कम्पनीले क्रमशः बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित चिस्यान केन्द्र, डुम्रे बन्दीपुर सडक, मुकुन्देश्वरी पदमार्ग मिनिग्रेटवाल, बन्दीपुर बाहुनभञ्ज्याङ धरमपानी सडक, वडा नम्बर २ को कार्यालय भवन ठेक्का लिएर अलपत्र पारेको इन्जिनियर थापाले जानकारी दिए । उनका अनुसार ती कम्पनीलाई समयमै काम सम्पन्न गर्न पटक–पटक आग्रह गर्दा पनि काम गरेका छैनन् । बन्दीपुर–१ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले काम अलपत्र पार्नेमध्येको कस्यप कन्ट्रक्सनका प्रोपाइटरसँग भेटघाट र छलफल भएको बताए । डुम्रे–बन्दीपुर मार्गको काम अब छिट्टै सुरू गर्ने प्रतिबद्धता उक्त कम्पनीको तर्फबाट भएको र लिखित सहमति भएको बताउँदै उनले भने, ‘अब अन्य ठेकेदार कम्पनीलाई पनि सम्पर्कमा ल्याउने प्रयास गरेका छौँ । काम नगर्ने ठेकेदार कम्पनीलाई, धरौटी जफत, ठेक्का सम्झौता रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गर्ने गाउँपालिकाले निर्णय गरिसकेको छ ।’ रासस

मुगु हिउँ पहिरो अपडेट : हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

काठमाडौं । च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ । हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्थीले बताए । स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टर सहित उद्धारकर्मी पठाएको हो । मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते सङ्कलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्ला जिल्ला पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीय अवैध बाटो भएर पाटनतर्फ प्रस्थान गरेका जनाइएको छ । पाटनमा जाँदै गर्दा च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो आउँदा तारासिंह सार्की ९४००, पुन्न सार्की ९३५० र वीर बोहरा ९३५० बेपत्ता भएको जनाइएको छ । रासस

प्रुडेन्सियल इन्स्योरेन्सको २२.४० प्रतिशत बढ्यो दाबी भुक्तानी, १० करोड कमायो नाफा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा ११.७० प्रतिशत घटेर १० करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १२.७८ प्रतिशत घटेर ३१ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २२.४० प्रतिशत बढेर २१ करोड ६९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । ९ महिनामा कम्पनीको कूल बीमा शुल्क आर्जन १ अर्ब ४ करोड ५१ रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १०.५५ प्रतिशत बढेर १ अर्ब २२ करोड रुपैयाँ, जगेडा कोष १६ प्रतिशत घटेर २६ करोड ५३ लाख रुपैयाँ, बीमा कोष ११ प्रतिशत बढेर ७२ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.९२ रुपैयाँ र प्रति सेयर नेट्वर्थ १८३.२७ रुपैयाँ रहेको छ ।

आइएमई जनरल इन्स्योरेन्सको नाफा १७ करोड, ईपीएस १२.८० रुपैयाँ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १७ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ८१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १३ प्रतिशत बढेर ५९ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १५ प्रतिशत बढेर २५ करोड ३९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । ९ महिनामा कम्पनीको कूल बीमा शुल्क आर्जन १ अर्ब ४२ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५६ प्रतिशत बढेर १ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष २४ प्रतिशत घटेर २४ करोड ७१ लाख रुपैयाँ, बीमा कोष १४ प्रतिशत बढेर ६३ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८० पैसा र प्रति सेयर नेट्वर्थ १४८ रुपैयाँ ७५ पैसा रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीले डाक्यो ३१ औं र प्रथम वार्षिक साधारण सभा, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)ले आफ्नो ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३१ ग्ते बिहान ११ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो । कम्पनीको सभाले राष्ट्रिय बीमा कम्पनी (साविको राष्ट्रिय बीमा संस्थान)को आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्ष २०७०/७१, आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा र नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ । साथै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गर्नेछ । कम्पनीको सभाले सञ्चालकहरुको आर्थिक वर्ष २०७२/७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन गरी सोलाई निरन्तरता गर्ने र सर्वसाधारण सेयरधनीहरुमध्येबाट एक जना सञ्चालक चयनको लागि निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनको लागि जेठ १६ गतेदेखि जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १५ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउने छन् ।

आइएमई जनरल इन्स्योरेन्सको सेवा बन्द हुने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको सेवा बन्द हुने भएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले सेवा बन्द हुने भएको हो । दुवै कम्पनीबची मर्जर प्रक्रिया सम्पन्न भई बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्ने छन् । एकीकृत कारोवार गर्ने प्रयोजनार्थ दुबै संस्थाको तथ्यांक एकीकरण गर्नुपर्ने भएकाले कम्पनीको विधुतीय माध्यमबाट प्रदान गरिने सेवा बैशाख २६ गते २ बजेदेखि बन्द रहने छ । साथै, बैशाख २७ गते विहान कार्यालय समयदेखि पुनः सेवा सुचारु हुने कम्पनीले जनाएको छ । यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गर्ने भएका हुन् । मर्जरपछि कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।

‘टुकुचा खोला नै हो, खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति ठहर गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले गत माघ १८ गते सुनाएको फैसलाको आज सार्वजनिक गरिएको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएको हुँदा राज्यले हस्तक्षेप गर्न नपाउने उल्लेख छ । ‘टुकुचा (इच्छुमती) खोला र बागमतीको सहायक नदी रहेको र यति लामो बहाव रहेको अवस्थामा यस खोलालाई खोल्सा वा ढल हो भनी विद्वान कानून व्यवसायीहरूले लिएको जिकिर मनासिव देखिँदैन,’ फैसलामा भनिएको छ । जग्गाधनी दर्ता प्रमाण पुर्जाबाट निवेदनमा उल्लिखित जग्गा निवेदकको हकको भन्ने देखिएको र सो स्रेस्ता बदर नभई यथावत कायम रहेको अवस्थामा निवेदकको सहमति वा क्षतिपूर्ति नदिई सो जग्गामा रहेको संरचनामा असर पर्ने गरी कुनै कार्य नगर्न÷नगराउन फैसलामा भनिएको छ । काठमाडौँ महानगरपालिकाले गत भदौ ३० मा टुकुचा खोला उत्खनन गर्न थालेपछि काठमाडौँ महानगरपालिका–१ का विश्वप्रकाश साखले निजी सम्पत्तिमा हस्तक्षेप भएको उल्लेख गर्दै रोक्न आदेश माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । खोलामा भूमिगत संरचना निर्माण गरिएपछि खोलामाथिको जमिन व्यक्तिका नाउँमा दर्ता भएको देखिएको उच्च अदालतले टुकुचा खोलालाई खुलारूपमा प्राकृतिक स्वरूपमा ल्याउन आवश्यक छ वा छैन र ल्याउन आवश्यक भएमा त्यहाँ बनेका पुरातात्विक महत्त्वको गुम्बजको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञसहितको छलफल आवश्यक भएको फैसलामा उल्लेख छ ।