विकासन्युज

विदेशमा रहेका नेपालीले आजसम्म थ्रीस्टारको आईपीओ खरिद गर्न पाउने, स्थानीयलाई समय थप

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज बैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने आयोजना प्रभावित स्थानीयलाई आवेदन दिने समय थप गरिएको छ । कम्पनीले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । स्थानीय वासिन्दालले अब जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानीय वासिन्दालाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, कम्पनीले सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ७३ हजार ८७५ कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा स्थानीयले ४ लाख ९२ हजार ५ सय कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ७३ हजार ८७५ कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीया लगानीकर्ताले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

२ हजार कित्ता खरिद गर्न मिल्ने सिटि होटलको आईपीओ बिक्री खुला

काठमाडौं । सिटि होटलले आज बैशाख २५ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषलाई, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता कर्मचारीलाई र बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले बैशाख २८ गतेसम्म आवेदन दिन पाउनेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा जेठ ८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट कम्पनीको सेयर खरिद गर्न सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष मिन बहादुर बोहराले गर्ने भएका छन् । यसअघि संघको अध्यक्ष रहेका प्रकाशराज शर्माले लक्ष्मी लघुवित्तको सीईओबाट अवकाश पाएपछि उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने भएका हुन् । संघको विधान अनुसार अध्यक्ष पद रिक्त रहेको अवस्थामा उपाध्यक्षले निजको कार्य गर्ने व्यवस्था छ । सोही बमोजिम लघुवित्त बैंकर्स संघको अबको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने छन् । सीईओको कार्यकाल सकिएपछि शर्माको अध्यक्ष पद पनि स्वतः समाप्त भएको थियो । संघको विधान अनुसार अध्यक्षको अनुपस्थितमा उपाध्यक्षले स्वतः नेतृत्व गर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम धौलागिरी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने छन् । सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा सहायक स्तरबाट बैंकिङ्ग करियर सुरु गरेका बोहरासँग विभिन्न लघुवित्त तथा विकास बैंकको सीईओ बनेर भूमिका निर्वाह गरेको अनुभव छ । साविकको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रमुख पदमा रहेर उनले काम गरेका थिए । बोहराले साविक नेपाल एग्रो लघुवित्त, कालिका लघुवित्त र धौलागिरी लघुवित्तको सीईओको भूमिका निर्वाह गरिसकेका छन् । एक वर्षमा तीन वटा लघुवित्तको सीईओ बन्ने अवसर बोहराले प्राप्त गरेका थिए । एक दर्जन संस्थाको मर्जरमा उनले भूमिका समेत निर्वाह गरेका छन् ।

सिद्धार्थ बैंकले ल्यायो ‘पे एण्ड सेभ खाता’, शुन्य मौज्दातमै खोल्न सकिने

काठमाडौं । सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत १०० भन्दा बढीको विद्युतिय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागी आजैबाट स–सानो बचत गर्दै जान अभिप्रेरित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि नि:शुल्क डेबिकार्ड र बैंकस्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ । साथै, ग्राहकहरुलाई यस खातामा सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराईएको बैंकले जनाएको छ । यस क्यासब्याक योजना अन्तर्गत अभिभावकहरुले डेबिट कार्ड मार्फत पहिलो पटक पिओएस् वा अनलाईनबाट न्युनतम एक हजारको कारोबार गर्दा ५५ प्रतिशतसम्म  क्यासब्याक पाउन सक्नेछन् । बैंकको अनुसार यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरुको खातामा जम्मा हुनेछ । सिद्धार्थ बैंककोे १९५ शाखा कार्यालयहरुबाट सहजै यो बचत खाता खोल्न सकिने बैंकले जनाएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने बताएका हुन् । उनले यहि महिनाभित्र मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक रहेको बताएका हुन् । यही महिना भनेको अब एक साता मात्रै बाँकी छ । राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाको तयारीमा जुटेको उनले बताए । गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमा भएकाले धेरै अपेक्षा राख्न नहुने बताए । पछिल्लो समय राष्ट्र बैंकप्रतिको अपेक्षा प्रत्येक दिन बढिरहेकाले आवश्यक भारी मात्रै बोक्न सक्ने उनको भनाइ छ । मौद्रिक नीतिको क्षेत्रभित्र बसेर राष्ट्र बैंकले काम गर्ने उनले बताए ।

मौद्रिक नीतिको आफ्नै सीमा छ, सरकारले धेरै अपेक्षा नगरे हुन्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमा भएकाले धेरै अपेक्षा राख्न नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा बोल्दै उनले यस्तो बताएका हुन् । सरकार मन्त्री तथा प्रधानमन्त्रीहरुले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अर्थतन्त्र सहज गर्नु पर्ने बताउँदै आएका बेलामा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । पछिल्लो समय राष्ट्र बैंकप्रतिको अपेक्षा प्रत्येक दिन दिनै बढिरहेको बताउँदै उनले भने, ‘राष्ट्र बैंकले आवश्यक भारी मात्रै बोक्न सक्छ, एउटा तलाउमा कमिलाको पातको सहाराले किनारसम्म पुगेको उदाहरण दिँदैन त्यस्तै, राष्ट्र बैंकले पनि धेरै भारी बोक्न सक्दैन, त्यसकारण मौद्रिक नीतिको क्षेत्रभित्र बसेर राष्ट्र बैंकले काम गर्छ ।’ गभर्नर अधिकारीले पछिल्लो समय तरलता सहज भएकाले बैंकहरुले लिने सुविधा पनि शुन्यमा झरेको बताएका छन् । उनका अनुसार बैंकहरुले राष्ट्र बैंकबाट लिने कर्जा (एसएलएफ) र ओभर नाइट सुविधा शून्य रहेको छ । ‘बैंक तथा वित्तीय संस्थाले लिने एसएलएफ र ओभर नाइट सुविधा शुन्य छ, एसएलएफ डेढ महिनादेखि लिएको छैन भने ओभरनाइट सुविधा पनि शुन्यमा झरिसकेको छ, गत भदौमा वित्तीय संस्थाहरुले २९९ अर्ब रुपैयाँ लिएका थिए तर, आजको दिनमा लिएका छैनन्, अहिले तरलता अभाव धेरै सहज भइसकेको छ,’ उनले भने । साथै, निक्षेपकर्ताको रकम सुरक्षा गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले हस्तक्षेप गर्ने उनले बताए । राष्ट्र बैंकले निक्षेपकर्ता र कर्जा लिने ग्राहक दुवैलाई जोगउने गरी काम गर्ने उनको भनाइ छ । ‘बैंकहरु चुनौति सामाना गर्नका लागि जन्मिएको हो, त्यहि जोखिम सामाना गरेर नै आम्दानी गर्ने हो, नेपाली बैंकिङ्ग क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा जस्तो समस्या छैन, निक्षेपको सुरक्षा गर्ने जिम्मा सिस्टमको हो, यदि कुनै संस्थाले निक्षेप जोगाउन सकेन भने राष्ट्र बैंकले हस्तक्षेप गर्छ,’ उनले भने यस्तै, उनले आफ्ना अफ्ठ्याराहरुलाई देखाएर सिस्टमलाई गलत देखाउन नहुने बताएका छन् । सबैले आफ्नो जोखिम आफै कभर गर्न सक्नुपर्ने बताउँदै उनले भने, ‘कसैको व्यवसायीक स्वार्थका लागि राष्ट्र बैंकले काम गर्दैन ।’

कस्तो हुन्छ आगामी आवको बजेट ? यस्ता छन् सरकारका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले  अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याइने बताएका छन् । आईतबार प्रतिनिधि सभामा विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । उनले आगामी बजेटले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक मान्दै नीतिगत स्थिति, व्यवसायमैत्री नीतिको व्यवस्था गरिने बताए । ‘गैरआवासीयको लगानी परिचालन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा आउन अवसर दिइने छ, दिगो विकास सहकारी क्षेत्रको लगानी, अर्थतन्त्रको आधार निर्माण गर्नेतर्फ बजेट केन्द्रित हुनेछ,’ उनले भने । उनले वित्त नीति र मौद्रिक नीतिबीच तारतम्य गरिने, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै उत्पादन तथा उत्पादकत्व बढाइने गरी बजेट ल्याइने उल्लेख गरे । उनले स्टार्टअपलाई प्रोत्साहन गरिनुका साथै लघु तथा घरेलु तथा साना उद्यम सञ्चालनका लागि कार्यक्रम सञ्चालनमा ल्याउने बताए । ‘निर्यात बढाउन नगद अनुदानको व्यवस्था गरेर धनी र गरीब बीचको खाडल घटाइने गरी बजेट ल्याइने छ,’ उनले भने । [pdf id=407946]

संसारमा नै पहिलोपटक गर्भमा रहेको बच्चाको मस्तिस्क सल्यक्रिया सफल

काठमाडौं । चिकित्सकहरुले एउटा चमात्कारिक काम गर्न सफल भएका छन् । यो चिकित्सा इतिहासमा एउटा दुर्लव सकारात्मक घट्ना पनि बनेको छ । अहिले सात हप्ताकी भएकी डेनवर कोलमैनलाई अहिले थाहा छैन की उनी कति ठूलो चमात्कारका साथ यो दुनियाँमा आएकी हुन् । जब यी बच्ची आफ्नी आमाको गर्भमा थिइन उही समयमा यीनको दिमागको अप्रेसन गरिएको थियो । बोस्टनको नजिकै रहने परिवारले चिकित्सा इतिहासको यो अनुभवमा आफूलाई सहभागी गराएर इतिहास रच्ने काम गरेको छ । बोस्टन चिल्ड्रेन हस्पिटलका विशेषज्ञ डा. डैरेन ओर्बाकले यी बच्चीको मस्तिस्कको एक नलीमा रगत जम्ने समस्या देखिएको बताएका छन् । चिकित्सा विज्ञानमा यसलाई भेन अफ गेलेन मालफर्मेसन भनिन्छ । यस्तो अवस्थामा मस्तिस्कबाट मुटुसम्म सही ढंगले रगत पुर्याउने नसाको विकास हुन सक्दैन । यस्तो समस्याले मुटुमा दबाब सिर्जना हुन्छ । डा ओर्बाकका अनुसार डेनभरको मस्तिस्कमा १४ एमएमको फराकिलो क्षेत्रमा रगत जम्मा हुन लागेको थियो जसले प्रायः बच्चाहरुलाई हृदयघात वा मस्तिस्कघातसम्मको अवस्थामा पुर्याउने काम गर्छ । त्यस्ता बच्चा लामो समयसम्म बाँच्न पनि सक्दैनन् । डा. ओर्बाकका अनुसार केन्याटा कोलम्यानको ३०औं गर्भावस्थामा नियमित भिडियो एक्सरेको प्रकृयामा सो समस्या पत्ता लागेको थियो । चिकित्सकहरुले कोल्म्यानको गर्भावस्थाको ३४ औं हप्तामा एउटा क्लिनिकल प्रयास स्वरुप सर्जरीको योजना बनाए । आमालाई होसमा नै राख्नेगरी स्पाइनल एनेस्थेटिक दिइयो र उनलाई हेडफोनमा संगित सुन्न लगाइयो । पेटमा भएको बच्चा चलिरहने हुँदा सुई प्रवेश गराएर लगाउने विषय निकै चुनौतिपूर्ण थियो । डा. ओबार्कका अनुसार गर्भको बच्चा नचलोस र उसलाई नदुखोस भन्नका लागि इन्जेक्सन लगाइयो । अप्रेसन प्रकृयामा १० जना चिकित्सकको समूह सहभागी भएका थिए । भिडियो एक्सरेको सहायताले लामो सुईको प्रयोग गरियो । बच्चा पूर्ण रुपमा विकसित भइसकेको थिएन, जसले गर्दा रगतको प्रवाह निकै धेरै भइरहेको थियो । चिकित्सक समूहका अनुसार सुईको सहायताले रगत जमेको चारैतर्फ क्याथेटर पुर्याउने काम गरियो । जसले गर्दा रगतले भरिएको ठाउँ वरिपरी प्लेटिनम कोइलहरु राख्न सकियोस भन्ने उद्देश्य राखिएको थियो । यो प्रकृयामा चिकित्सकको केही सदस्यले बच्चामा भइरहेको रक्तप्रवाहलाई निगरानी गरिरहेका थिए । क्वाइललाई रगत निस्किएको नसामा पुर्याएर छिद्रलाई ब्लक गर्ने काम भयो । २० मिनेटको समयमा अप्रेसनको काम सम्पन्न भयो तर पुरै प्रकृया सम्पन्न गर्नको लागि दुई घण्टा समय लाग्यो । यो अप्रेसन सफल भएको दुई दिनपछाडि डेनेवर जन्मिइन् । डेनेवर १.९ किलोग्राम तौल सहित कुनै समस्या बिना जन्मेकी थिइन् । अहिले आमा र छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो भएको डा. ओबार्कले बताएका छन् । एजेन्सीको सहयोगमा/तस्बिर सिएनएन