गर्मी बढेसँगै चितवनका ६ पालिकाका विद्यालय बन्द
चितवन । जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चितवनमा आजको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ । सबै पालिकाले स्थानीय बिदा र वर्षे बिदाबाट कटौती हुने गरी पाँच दिन विद्यालय बन्द गरेका छन् । चार वटा पालिकाले आजदेखि जेठ २४ गतेसम्म विद्यालय बन्द गरेका हुन् । जेठ १९ गते स्थानीय बिदा र २१ गतेदेखि २४ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी विद्यालय बन्द गरिएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ । रत्ननगर, खैरहनी, राप्ती र माडीले यसरी बिदा गरेका हुन् । भरतपुर महानगरपालिका र कालिका नगरपालिकाले जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरेका हुन् । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको ती पालिकाका शिक्षा शाखाद्वारा जारी सूचनामा उल्लेख छ । खैरहनी नगरपालिकाले नियमित सञ्चालन भइरहेका परीक्षालाई भने यथावत सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिनुभयो । गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकाले विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ ।
बडवाइजर बियर उत्पादकको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान
नवलपरासी । नेपालको लागि बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासीस्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेको छ । प्राइभेट इन्फास्टकचर डेभलपमेन्ट ग्रुप कम्पनी इन्फ्राको एशिया र सरल उर्जा नेपालको संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरेको हो । उक्त ५०० किलोवाटको सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट आवर स्वच्छ उर्जा उत्पादन गर्नेछ । यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना भएको बताइएको छ । त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना रहेको दुवै कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । ‘राज ब्रुअरीले सोलारबाट उत्पादन भएको उर्जाले आफ्नो कारखाना संचालन गरी अतिरिक्त उर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुनेछ, राज ब्रुअरीको सोलार रूफटप स्थापनाले बिजुली कटौतीको समयमा डिजेल खपत कम गर्न र सुख्खा मौसममा विद्युत कटौतीको प्रभावलाई कम गर्न मद्दत गर्नेछ,’ विज्ञप्तीमा भनिएको छ । समारोहमा बोल्दै राज ब्रुअरीका प्रबन्ध निर्देशक राज बहादुर शाहले ब्रुअरीको उर्जा आवश्यकताहरू पूरा गर्न सोलार रूफटप स्थापना गरी कार्बन फुटप्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसार तर्फको प्रयास भएको बताए । त्यसैगरी, सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले यो प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण भएको बताएका छन् । सिम्पल इनर्जीले आगामी दिनहरुमा महिलाहरुलाई सोलार रुफटप सेटअप गर्न प्रशिक्षण दिई राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा योगदान पुर्याउने पनि उनले जानकारी दिए । यस्तै, जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका समूह कार्यकारी निर्देशक शशिन जोशीले ब्रुअरीका लागि सोलार उर्जा स्थापना गर्न पाउँदा खुसी भएको र यसरी नै ग्रुप अन्तर्गतका अरु कम्पनीहरुमा पनि सोलार उर्जा प्रयोग गर्ने योजना रहेको बताए । नेपालको स्थापित विद्युत उत्पादन क्षमता लगभग २७ सय मेगावाट रहेको छ, जसमा ९६ प्रतिशत जलविद्युत हो ।
हाम्रो गाडीबाट निस्कने ब्याट्रीको व्यवस्थापन गर्न हामी सक्षम छौं : बिवाइडी
काठमाडौं । विद्युतिय गाडी उत्पादक कम्पनी बिवाइडीले ब्याट्री व्यवस्थापना कम्पनी निरन्तर लागि परेको बताएको छ । कम्पनीको नेपालको लागि एक मात्र आधिकारीक वितरक साइमेक्स इंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । विद्युतीय साधनको ब्याट्री व्यवस्थापना सबैभन्दा चुनौती पूर्ण मान्ने गरिन्छ । सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कयौं तरिका रहेको बताउँदै कम्पनी भन्छ,’पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रिसाइकलको लागि बाहिर पठाउने विषयमा हामीले सम्पूर्ण तयारी गरेर बसेका छौं ।’ ‘यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने हाम्रो विश्वास छ,’ विज्ञप्तीमा लेखिएको छ । कम्पनीले आफ्नो हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम रहेको बताउँदै सम्पूर्ण ग्राहकलाई ढुक्क भएर आफ्नो उत्पादनको प्रयोग गर्न आग्रह गरेको छ ।
विवाह बन्धनमा बाँधिइन् रास्वपाकी सांसद सोविता गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छिन् । उनी व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी हुन् । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता र गृहेन्द्रले ७ जेठमा विवाह गरेका हुन् । व्यवसायी घिमिरे हिमालयन बिल्डर्स र ग्रिस्मा ब्रोडकास्टिङमा आवद्ध छन् ।
एसवाई बजार फुटसल प्रतियोगितामा जय बहुमुखी क्याम्पस बन्यो विजेता
काठमाडौं । एसवाई बजार कम्पनीले आयोजना गरेको इन्टरकलेज फुटसल टुर्नामेन्टमा जय बहुमुखी क्याम्पस विजयी भएको छ । जेठ १८ र १९ गते ललितपुरको राष्ट्रिय खेलकुद केन्द्र च्यासलमा सम्पन्न प्रतियोगितामा सो क्याम्पस विजयी भएको हो । प्रतियोगिताको दोस्रो विजेता पाटन बहुमुखी क्याम्पस र तेस्रो विजेता विनायक सिद्ध कलेज भएको छ । सो फुटसल प्रतियोगितामा ३२ भन्दा बढी निजी तथा सरकारी कलेजका विद्यार्थीहरू सहभागी रहेको एसवाई बजारका निर्देशक बिमलराज गोसाईले बताए । प्रतियाेगतामा प्रथम हुने टिमले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र, पदक र ट्रफी पुरस्कार प्रदान गरिएकाे थियाे । कम्पनीले सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता ५/५ हजार रूपैयाँ नगर सहित पुरस्कृत पनि गरेको छ ।
रियलमी नार्जी एन ५५ र एन ५३ सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । रियलमीले नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जी एन ५५ र नार्जी एन ५३ सार्वजनिक गरेको छ। कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँ पुस्ताको मन जित्ने कम्पनीकाे दावी छ । फाेन सार्वजनिक कार्यक्रममा रियलमीका कन्ट्री हेड मुनिष गिरीले नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको बताइन् । नर्जी एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल अल राउन्डर भएकाे उनले बताइन् । ‘यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ, अर्कोतर्फ, रियलमी नाज एन ५५ ले नेक्स्ट जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ, अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ,’ उनले भनिन् । यि दुवै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्ध हुनेछन् उनले बताइन् । ४ं६४ जीबी स्टोरेज क्षमता भएको नार्जी ५३ मोडलको मूल्य १५ हजार ९९९ रुपैयाँ र ६ं१२८ भेरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको छ । त्यसैगरी, ४ं६४ जीबी स्टोरेजसहितको नार्डो एन ५५ को मूल्य २० हजार,४९९ रुपैयाँ र ६ं१२८ भेरियन्टको मूल्य २४ हजार ४९९ रुपैयाँ रहेको छ ।
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता
काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको उक्त प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीसमेतले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । गत बुधबार अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई गत बुधबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थिए । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा नेपालमा के हुन्छ ?
काठमाडौं । भारतीय आयल कर्पाेरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचि अनुसार डिजेल तथा पेट्रोलको मूल्य बढेको छ भने हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आएको हो । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७.४० पैसाले घटेर आएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर ४९ रुपैयाँले घटेर आएको निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । भारतबाट मूल्य बढेर आएसँगै नेपालमा पनि बढ्छ वा यथावत रहन्छ भन्ने चासो बढेको छ । प्रवक्ता कार्कीका अनुसार भारतीय आयल कर्पाेरेशनले डिजेल तथा पेट्रोलको मूल्य थोरै बढाएर पठाएको भन्दै निगम व्यवस्थापनले तत्काल मूल्य समायोजनको तयारी गरेको छैन । पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आएकाे भन्दै नेपालमा हालको मूल्य यथावत राख्ने तयारी भइरहेकाे भनाइ छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ । सो अनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो । हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचि अनसार १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँभन्दा बढी नाफामा जानेछ । पछिल्लो समय भारतीय आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगम नाफामा गएको छ । ठूलो रकम नोक्सानीमा गएको भन्दै निगमले आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा मात्रै नेपालमा मूल्य समायोजन गर्ने गरेको छ । आईओसीबाट मूल्य घटेर आउँदा निगमले मूल्य समायोजन (नघटाउँदा) उपभोक्ता मारमा परेका छन् ।