विकासन्युज

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

काठमाडौं । पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ । उक्त संस्थाद्वारा आज आयोजित ‘वैदेशिक रोजगारमा जाने श्रमिक र प्रवासी महिला श्रमिकको स्वास्थ्य तथा एचआइभीबाट प्रभावितका सन्र्दभमा नेपालको विद्यमान कानुन,  नीति, कार्यक्रम तथा तिनमा गर्नुपर्ने सुधारसम्बन्धी’ अन्तक्र्रिया कार्यक्रमका सहभागीले अभिमुखीकरण कार्यक्रम गरिनुपर्नेमा जोड दिएका हुन्  । कार्यक्रममा संस्थाका संस्थापकअध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य अवस्था तथा उनीहरुका लागि सम्बन्धित मुलुकको विद्यमान कानुनी व्यवस्थाबारे सचेतना गराउन जरुरी रहेको बताए । गन्तव्य मुलुकको कार्यप्रकृति, स्वास्थ्यमा देखापर्ने समस्या र समाधानका उपायका बारेमा अवगत हुनुपर्ने भएकाले रोजगारपूर्व श्रमिकलाई अभिमुखीकरण तालिम खाँचो पर्ने उनको भनाइ थियो । पत्रकार सुनिल न्यौपानेले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि नेपालमा भइरहेका व्यवस्था, त्यहाँ गर्नुपर्ने काम, रणनीतिक योजनालगायत विषयमा चर्चा गरेका थिए । कार्यक्रममा वैदेशिक रोजगारीमा पुगेका श्रमिकमा देखापर्नसक्ने मानसिक अवस्थाको जाँच गराउनुपर्ने, सुरक्षित आप्रवासीसम्बन्धी कार्यविधि ठाउँअनुसार फरक–फरक हुनुपर्ने, स्वदेश फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग समन्वयन गरी व्यवस्था मिलाउनु पर्नेलगायत विषयमा छलफल भएको थियो । त्यस्तै नेपालमा एचआइभी एड्स सङ्क्रमणको सबैभन्दा जोखिमा दोस्रो वर्ग अर्थात् प्रवासी श्रमिक वा तिनका श्रीमती हुने भएकाले सोसम्बन्धी रणनीतिक योजना प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने, पोषणयुक्त खानाको अभावले श्रमिक महिलाको प्रजनन् स्वास्थ्यमा देखापर्ने समस्या, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको मृत्यु हुनाको कारण तथा गन्तव्य मुलुकमा सामाजिक सुरक्षासम्बन्धी भएका व्यवस्थाबारे कार्यक्रममा समावेश हुनुपर्नेलगायत विषयमाथि छलफल भएको थियो । रासस

जनकपुर र महोत्तरीमा मिटरब्याजीविरुद्ध पाँच हजारले दिए उजुरी

महेन्द्रनगर धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ । उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि बढाइएको थियो । जेठ ७ गतेसम्म पनि उजुरी आउने क्रम नरोकिएकाले पुनः जेठ १४ गतेसम्म समय थपिएको थियो । जिल्लामा दुई हजार छ सय ११ वटा उजुरी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । यसैगरी महोत्तरी जिल्लामा दुई हजार तीन सय ३६ उजुरी प्राप्त भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितबाट निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएपछि पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित निवेदन दिएका थिए । निवेदन फारम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले निःशुल्क भरिदिने प्रबन्ध मिलाइएको थियो । प्रदेशको आठवटै जिल्ला प्रशासन कार्यालयमा दैनिक सयौँको सङ्ख्याका मिटरब्याज पीडितले उजुरी दर्ता गराएका थिए । रासस

तनहुँमा ९ रोपनी क्षेत्रफलमा ड्रागन खेती

तनहुँ । यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लागेका छन् । करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताए । ‘गत वर्ष भारतको हैदरावादबाट प्रतिबिरुवा एक सय रुपैयाँका दरले दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएकी थिए । यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ’, उनले भने । कृषक गौलीले खेतीका लागि सुरुमा करिब ७० लाख रुपैयाँ लगानी गरेको बताए । उनले भने, ‘फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु ।’ फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिए । एउटा पोलमा करिब दश हजार रुपैयाँका दरले खर्च भएको उनको भनाइ थियो । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै कृषक गौलीले बिक्री भने गर्न नपाएको बताए । उक्त फार्मको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष हिमाल श्रेष्ठले अवलोकन गरेका थिए । नगरप्रमुख न्यौपानेले व्यावसायिक कृषि पेसालाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । यस वर्ष लपक्कै फूल फुलेका छन् । कृषक गौलीले भने, ‘फूल फुलेअनुसार फल लाग्ने हो भने राम्रै उत्पादन हुन्छ भन्ने विश्वास लिएको छु’, ‘केही दिनअघि आएको हावाहुरीले ड्रागनका बोट भाँचेकाले त्यसलाई पुनः बिरुवामा परिणत गर्ने योजना बनाएको छु ।’ फुल्न लागेको समयमा हावाहुरी आउँदा केही फूल झरेर क्षति भएको उनले बताए । सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएका हुन् । उनले व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएका छन् । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गरिने गौलीले जानकारी दिए ।

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

मनाङ । विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन् ।  यहाँ आउने क्रममा भने पर्यटकले सास्ती खेप्नुपरेको छ । मनाङको मेरुदण्ड डुम्रे–बेँसीसहर–चामे सडकखण्डको विस्तार गर्दा पदमार्गकै ट्र्याकमा हुँदा भने समस्या भएको छ । मनाङको यात्रा गर्दा सडक मार्ग र पदमार्ग एउटै हुँदा पदयात्रीले धुलोको सास्ती भोग्नुपर्ने अवस्था छ । मनाङका जनप्रतिनिधि र स्थानीयले सडकमार्ग विस्तारसँगै पदमार्गको वैकल्पिक योजना निर्माण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले सडक र पदमार्ग एउटै हुँदा पर्यटकले सास्ती खेप्नुपरेकाले यसको वैकल्पिक पदमार्ग निर्माण गर्नुपर्ने बताए । ’सडक र पदमार्गको ट्र्याक एउटै हुँदा पदयात्रीले समस्या भोग्नुपरेको छ, यस्ता समस्या समाधानका लागि प्रदेश सरकारसमक्ष आवाज उठाएका छौँ, वैकल्पिक पदमार्ग निर्माणको योजना तय गर्न प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा छलफलमा ल्याउने छौँ’, प्रदेशसभा सदस्य गुरुङले भने । वैकल्पिक पदमार्ग निर्माण गर्नसके पदयात्रीले धुलो र सवारीसाधनको सास्ती खेप्नुपर्ने समस्या हट्ने उनको भनाइ छ । मनाङमा वार्षिक ३५ देखि ४० हजार बाह्य पर्यटक भित्रिने र त्यसमाथि पदमार्गकै माध्यम अपनाउने भएकाले यसको वैकल्पिक योजना बनाउन आवश्यक रहेको उनले बताए । ’मनाङ पर्यटकको ‘हब’ भएकाले सहज बनाउने कार्यमा पनि जोड दिनुपर्छ’, उनले भने, ’विकास निर्माण पनि हुनुपर्छ, राष्ट्रकै राजस्व वृद्धिमा सहयोग पुर्याउने क्षेत्रको संरक्षणमा सरकारलाई ध्यानाकर्षण गराउनु हाम्रो कर्तव्य हो ।’ देशकै गहनाका रुपमा रहेका हिमाल र अन्नपूर्ण पदमार्गमा पर्यटकको आकर्षण सदा उस्तै बनाउनु सबैको जिम्मेवारी भएकाले सचेत हुनुपर्ने उनको भनाइ छ । अन्नपूर्ण पदमार्ग विश्वकै दसौँ स्थानमा पर्दछ । यस पदमार्गलाई जोखिमयुक्तसमेत मानिन्छ । साहसिक पर्यटक भने यस मार्गको यात्रामा रमाउने गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख लेखनाथ गौतमले सरकारले जोखिमयुक्त मनाङ भ्रमणमा आउने पर्यटकले अनिवार्यरुपमा पथ प्रदर्शक ल्याउनुपर्ने प्रावधानले सूचना प्राप्त गर्न सहज भएको बताए । ’जोखिमयुक्त पदमार्गमा यात्रा गर्दा पर्यटक एक्लै यात्रामा जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजी कार्य गर्न समस्या भएपछि नेपाल सरकारले ‘गाइड’ बिना यात्रामा जान रोक लगाएको छ, अहिले गाइड लिएर मात्रै पर्यटक आउने वा यात्रा गर्ने गरेका छन्’, उनले भने, ’यो प्रावधानले हामीलाई पनि सहज भएको छ ।’ पर्यटक वृद्धि हुँदा मनाङको आयस्तरसमेत वृद्धि हुने गरेको छ । पर्यटक हिमाल तथा पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पदमार्गमार्फत पर्यटक मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन् । यहाँ भित्रिने पर्यटकलाई सहज बनाउन र आकर्षित गरिरहन वैकल्पिक पदमार्ग बनाउनसकेमा पर्यटकले अझ सुरक्षित तवरबाट मनाङको यात्रा गर्न पाउनेछन् । रासस

मनसुनको सँघारमा किन गर्मी बढ्यो ?

काठमाडौं । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको बताइने । ‘देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय ९प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय० भएकाले अझै केही दिन वर्षा हुदैन’, उनले भनिन् । उक्त मौसमी प्रणालीका कारण केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन् । उनका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ । ‘तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाडौँ उपत्यकामा पनि क्रमिकरुपमा तापक्रम बढिरहेको छ’, उनले भनिन् । मनसुनी वायु सक्रिय नरहे पनि देशका पहाडी भेगमा भने अबको तीन दिन छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् । तराई क्षेत्रमा मौसम सफा रहने हुनाले गर्मी बढ्ने उनको भनाइ थियो । आज काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ । पछिल्लो केही दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ । देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो सातामात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको मौसमविद् मानन्धरले जानकारी दिइन् । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको सम्बन्धित जिल्लाबाट समाचार सम्प्रेषण भएका छन् । तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको समाचारमा उल्लेख छ । रासस

दक्षिण अफ्रिकामा जागिर लगाइदिन्छु भन्ने प्रलोभन नपर्न विभागका आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो । विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन ।’ मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले एक सय ५० भन्दाबढी व्यक्तिबाट लाखौँ रुपैयाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यो गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको तथा पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले राससलाई जानकारी दिए । उनका अनुसार दक्षिण अफ्रिकाले दक्ष जनशक्तिका लागि बाहिरी देशबाट श्रमिक ल्याउँदैन । दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यकपर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लैजाने कानुनी व्यवस्था छ । ती पदका लागि जाँदा पनि नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने हुन्छ । कुनै पनि देश जानका लागि सम्बन्धित देशको भिसा आवश्यकपर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती देश हेर्ने विदेशमा रहेको नेपाली नियोगमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने निर्देशक तथा सूचना अधिकारी सुवेदीले बताए । रासस

करिडोरले फेरियो कालापानीको मुहार

पर्वत । कुनैबेला मकै, घिउ, चामल, महलगायत स्थानीय उत्पादनको भारी बोकेर पाँच दिन हिँडेपछि बुटवल पुगिन्थ्यो । आफूले लगेको वस्तुसँग नुन, चिनी, चियापत्ती जस्ता वस्तु साटेर फेरि पाँच दिनको पैदल यात्रा गरेर फर्किंनुपथ्र्यो । उतिबेला निकै दुःख थियो । सडक, बिजुली भन्ने कुरा कल्पनासमेत गरिएको थिएन । चार दशकअघिका दुःख, पीडा सम्झिँदै छन् दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नं २ बर्राचौरका ८३ वर्षीय इन्द्रप्रसाद पराजुली । ‘नुन बोक्न जाँदा कतिपय बाटोमै बित्ने गर्थे भने कति भिरबाट लडेर अङ्गभङ्गसमेत हुने गर्दथे’, उनले विगत सम्झिँदै सुनाए, ‘म पनि बीसौँ पटक नुनको भारी बोक्न आफन्तसँग गएको थिए, अहिलेको यो परिवर्तन देख्दा र ती कहाली लाग्दा दिन उमेर सम्झेर अचम्म लाग्ने गर्दछ ।’ कुनैबेला विकासले पिछडिएर जिल्लाकै कालापानी भनेर परिचित दक्षिण पर्वतका तीन पालिकाको अवस्थामा भने अहिले आकाश जमिनको फरक परिसकेको छ । उत्तर दक्षिण जोड्ने सवैभन्दा छोटो मार्ग कालीगण्डकी करिडोर विस्तारपछि कालापानीको परिचय फेरिएर सुगम क्षेत्र बन्न पुगेको छ । विसं २०६५ देखि सुरु भएको यो सडक विस्तारले लगभग पूर्णता पाएको छ । अहिले भने बिहान हिँड्यो भने बुटवल, पाल्पा, पोखरा जहाँ गए पनि बेलुका गाउँ फर्केर आई पुगिन्छ । ‘निकै सहज भएको छ’, पराजुलीले भने, ‘हामी बूढाबूढी त अहिलेको यो सडक र बिजुली देख्दा आश्चर्यचकित भएका छौँ ।’ विहादी–१ का बृद्ध गगनबहादुर क्षेत्रीले कालीगण्डकी करिडोर खुलेपछि यस क्षेत्रको मुहार नै परिवर्तन भएको बताए । उनले विगतमा हप्तौँ दिन लागेर भारी बोक्नुपर्ने, खच्चरमा सामान बोक्नुपर्ने, डोकोमा बिरामी बोकेर अस्पताल पुर्याउनुपर्ने जस्ता समस्या हटेर गएको बताए । विगतको अवस्था हेर्दा अहिले स्वर्गजस्तै लाग्ने गरेको उनको अनुभव छ । करिडोर खुलेपछि आसपासमा पक्की घर निर्माण भएका छन् भने बाच्छा, कर्नास, बरौचौर, रानीपानी, फलेवासलगायतका ठाउँमा बजारसमेत विस्तार भएका छन् । ‘पहिले लत्ताकपडा, खाद्यान्न, नुन, मट्टितेल, चिनीलगायत घरायसी सामान चाहिए पैदलै हिँडेर बटौली जानपथ्र्यो, अहिले भने जे खोज्यो त्यही दैलोमै ल्याएर गाडिले झार्दिन्छ’, बाच्छा स्थानीय भीमबहादुर खड्काले भने, ‘अहिले धेरै सुविधा भएको छ ।’ कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने ५३ किलोमिटरमध्ये हालसम्म २० किलोमिटर कालोपत्र भइसकेको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत छ । स्याङ्जाको मिर्मिदेखि पर्वतको सेतीवेणीसम्मको १० किलोमिटर सडक भौगोलिक अवस्थाका कारण दु्रतगतिमा निर्माण हुन नसके पनि अन्य खण्डमा भने धमाधम काम भइरहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । करिडोरका अधिकांश ठाउँमा स्तरोन्नति भई कालोपत्र हुने चरणमा रहेको छ भने बाँकी काम ट्र्याक खुलेर फाउन्डेशनको काम भइरहेको छ । कालीगण्डकी करिडोर आयोजना गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डका आयोजना प्रमुख शङ्कर पौडेलका अनुसार रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किमी सडकमा अझै तीन किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । बर्राचौरस्थित खबरको भीर र पाङराङदेखि फलेवासको ढिकसम्मको सडक कालोपत्र गर्न बाँकी रहेको हो । आयोजनाका अनुसार सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर तयारी अवस्थामा रहेको छ भने खबरको भिरमा ढलानको काम भइरहेको छ । यस्तै पाङराङको कर्नास खोलादेखि फलेवास ढिकसम्मको सडकमा एक किलोमिटरबाहेकको काम पनि कालोपत्रको अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ । कुर्घाको भिरदेखि फलेवासको ढिकबीचको सडकमा काम गर्न केही समस्या भए पनि जेठभित्रमा कर्नास खोलादेखि कुर्घा भिरसम्मको भागमा समेत कालोपत्र गर्ने तयारी भइरहेको आयोजना प्रमुख पौडेलले जानकारी दिए । आयोजनाका अनुसार छिटो काम सक्न धेरै निर्माण कम्पनीलाई खण्डखण्डमा काम गर्न बोलपत्र आह्वान गरिएको हो । सेतीबेणीदेखि पर्वतको रानीपानीसम्म सात किलोमिटर सडकमा प्यासिफिक जलजला जेभीले कालोपत्रको काम सुरु गरिसकेको र केही दिनमा पूरा हुने आयोजनाले जनाएको छ । यो खण्डमा ६५ प्रतिशतभन्दा बढी सकिएको छ । रानीपानीदेखि फलेवास ढिकसम्मको २२ किलोमिटर सडकखण्डमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम गरिरहेका छन् । सो खण्डको रानीपानीदेखि खबरको भिरसम्म छ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जेभीले गरेको छ । खबरको भिरदेखि फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वर्डवाइड ओमबुद्ध जेभीले स्तरोन्नति र कालोपत्र गर्ने काम गरिरहेको छ । सेतीवेणीदेखि फलेवास सडक खण्ड यसै आर्थिक वर्षमा नै कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ । फलेवासदेखि अर्मादीसम्मको भागमा भने सोचेअनुसार प्रगति भएको छैन । ढिकदेखि मोदीवेणीसम्मको भागमा ट्र्याक खोलेर केही स्तरोन्नतिका काम भए पनि अन्य फाउन्डेशनको काम हुन नसकेको आयोजनाले जनाएको छ । करिडोरको मिर्मी, मोदीवेणी र सेतीवेणीमा मोटरेबल पुलको काम सकिएको छ भने फलेवास र कुर्घाबीचको लमाए खोलामा पुल निर्माणको काम भइरहेको छ । सरकारले आगामी आव २०८०/८१ को बजेटमा समेत यो करिडोरलाई प्राथमिकतामा राखेकाले बजेटको समस्या नहुने आयोजनाले जनाएको छ । रासस

व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छन् । नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताए । ‘कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी भविश्य दिने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ’, उनले भने । पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उनले जोड दिए । महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गर्नुभयो । “कांग्रेसभित्रको गुठ भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ’, महामन्त्री थापाले भने । महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताए । कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उनको भनाइ थियो । उनले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए । कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्था गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उनको भनाइ थियो ।