राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको रिलायबल लाइफले गरिदियो बीमा
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेलाडीहरुलाई सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको जेठ १६ गते मंगलबार रिलायबल म्यादी जीवन बीमा गरिदिएको हो । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई यस किसिमको सहयोगले अझ बढी प्रोत्साहान गर्ने र यस्तो कार्यमा सहभागी हुँदा गर्व महशुस भएको बताए । कम्पनीले ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरिसकेको छ ।
‘आइएमई पे’ सुरक्षित विद्युतीय वालेट भएको प्रमाणित
काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम भएकाे पुष्टि भएकाे छ । आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो । सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरण गरेको छ । आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।
नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुल्ला हृदयका साथ नेपालमा लगानीका गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् । ‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ, लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको समेत स्पष्ट पारे । भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलाहरूमा सीमित नभएको बताए । ‘हामीसँग साझा इतिहास छ । गहिरो सांस्कृतिक आत्मीयता, र बलियो मित्रता छ,’ उनले भने, ‘यो साझेदारी र मित्रता होइन, यो एक परिवार हो, हामी भारतबाट नेपाल र नेपालबाट भारतमा धेरै व्यापार र लगानी प्रवाह भएको देख्न चाहन्छौं, म विश्वस्त छु कि हामी दुवै देशका बालबालिकाको साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्न सक्छौँ ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी मैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासहरुले अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय रहेको बताए । उनले नेपालमा रहेका भारतीय कम्पनीहरुले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त पेश गर्दै यो सफलताको उदाहरण नै नेपालमा लगानी गर्न प्रयाप्त आधार रहेको बताए । ढकालले नेपालका उर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने जानकारी दिए । उनले नेपाल उद्योग वाणिज्य महासंघले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आवश्यकता अनुसार सहजीकरण गर्ने र नेपालको निजी क्षेत्रले साझेदारी समेत गर्न सक्ने बताए । भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले भारत र नेपालबीचको भौगोलिक निकटताको लाभ उठाउन र पारस्परिक विकासको लागि एक अर्काको बजारहरूका अवसर ट्याप गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जस्तो ठुलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट रहेको बताए ।
कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढ्यो
काठमाडौं । कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरु बढ्न थालेका हुन् । चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भएपनि बीच सडकमै टिकटक बनाउनेहरुका कारण जोखिम बढाएको हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रुपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भएपनि आवश्यक शतर्कता अपनाउन नसक्दा समस्या भएको हो । कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढंगले टिकटक बनाई भाइरल बन्न चाहनेहरुको क्रियाकलापका कारण सवारी आवागमनमा नै समस्या पर्ने गरेको चालकहरु बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार पुलमा सवारी पास गर्न समेत समस्या हुने गरी टिकटक बनाउनेहरुले भरिने बताए । उनले भने, ‘सवारी साधन साइडमा राखेर राजमार्गकोबीच सडकमा नै बसेर टिकटक र सेल्फि खिच्ने गर्छन् । शनिवार र बिदाको दिन त यहाँ धेरै भीडभाड हुन्छ । त्यस्तोमा त सवारी साधन पास हुन समेत समस्या हुन्छ । यसले दुर्घटनाको जोखिम बढाउँछ । यसलाई व्यवस्थित बनाउँदा सबैलाई फाइदा पुग्ने थियो ।’ पछिल्लो समय कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या प्रतिदिन बढ्न थालेको छ । २०५० सालमा जापानिज कम्पनीले निर्माण गरेको सो पुलको तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले उद्घाटन गरेका थिए । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएको छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बार ५०० मिटर र १० मिटर चौडाई रहेको छ । पछिल्लो समय कर्णाली नदीमा ¥याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या समेत बढ्दो छ ।
बिजनेशमा आइएमईपछि नेशनल लाइफ आक्रामक, सिटिजन र सानिमा रिलायन्सबीच प्रतिस्पर्धा
काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएको आइएमई लाइफ इन्स्योरेन्स बिजनेशमा आक्रामक देखिएको छ । गत बैशाखसम्मको तथ्यांकअनुसार बीमाशुल्क संकलनमा आइएमई लाइफ अन्य कम्पनीको तुलनामा आक्रामक देखिएको हो । आइएमई लाइफले एक वर्षको अवधिमा २७.२१ प्रतिशत बढी बीमाशुल्क संकलन गरेको छ । गत आवको बैशाखमा २ अर्ब ५६ करोड ७५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको बैशाखसम्ममा ३ अर्ब २६ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार प्रतिशतको आधारमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा आईएमई लाइफपछि नेशनल लाइफ रहेको छ । समीक्षा अवधिमा नेशनल लाइफले १२.८५ प्रतिशतले आफ्नो बिजनेश वृद्धि गरेको छ । २०७९ बैशाखसम्ममा १० अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको कम्पनीले २०८० को सोही अवधिमा १२ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, दोहोरो अंकको प्रतिशतले बिजनेश वृद्धि गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा १०.६९ प्रतिशतले प्रिमियम बढाएर एक अर्ब ३१ करोड २० रुपैयाँ संकलन गरेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी रकमको प्रिमियम संकलन गर्नेमा भने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले २९ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन २०७९ बैशाखको तुलनामा ४.५७ प्रतिशतले बढी हो । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बिजनेसमा नेपाल लाइफलाई पछ्याइरहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले ४.९० प्रतिशतले बिजनेश बढाएर १४ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । बिजनेश बढाउनेमध्ये सिटिजन लाइफ र हालै मर्ज भई बनेको सानिमा रिलायन्स लाइफबीच कडा प्रतिस्पर्धा देखिएको छ । समीक्षा अवधिमा सिटिजन लाइफले ४ अर्ब ४२ करोड र सानिमा रिलायन्सले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जुन गत आवको तुलनामा क्रमशः ३.३९ र ३.०६ प्रतिशतले बढी हो । साविकको सानिमा लाइफ र साविकको रिलायन्स लाइफ मर्ज भइ सानिमा रिलायन्स लाइफ बनेका हुन् । प्राधिकरणको तथ्यांक अनुसार सबै कम्पनी अर्ब क्लबमा प्रवेश गरेका छन् । समीक्षा अवधिमा अधिकांश कम्पनीको व्यवसाय बढेको छ भने ५ वटा कम्पनीको भने घटेको छ । हिमालयन लाइफ, सूर्यज्योति लाइफ, मेट लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफको बीमाशुल्क भने गत वर्षको तुलनामा घटेको छ । कुन कुनको बढ्यो/घट्यो ?
निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १० प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका छन् । शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण मागेका छन् । अस्पताल सञ्चालनको स्वीकृति लिँदा गरेको सम्झौता अनुरुप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन दिए । उनले भने, ‘जसले सम्झौता अनुसार सेवा दिएको छैन, कानूनी परिधिभित्र रहेर हामी कारबाही शुरु गर्छौं ।’ मन्त्री, सांसद वा नेताहले सिफारिस गर्दा बेड पाउने, नभए नपाउने अवस्थाको अन्त्य गर्ने समेत उनले बताए । ‘मन्त्रीको सिफारिस भए पनि एउटै, सर्वसाधारणको भए पनि एउटै । सिफारिस पनि चाहिएन । खाली छ भने लाने, छैन भने लानु परेन’, वेडको विवरण वेबसाइटमा राख्ने भन्दै स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘वेबसाइटमा राखिएको कुरा झुटा सावित भयो भने त्यो हस्पिटललाई हामी कारबाही गर्छौं ।’ उनले अनुगमनका क्रममा अस्पताल प्रशासन, चिकित्सक, बहिरंग सेवामा भर्ना भएका बिरामी, आकस्मिक सेवामा भर्ना भएका बिरामीहरुलाई भेटी अस्पतालले दिएको सेवाको सम्बन्धमा जानकारी लिएका थिए । उनले अस्पताल अनुगमनको काम जारी राख्ने बताए ।
ठेकेदार सम्पर्कविहीन हुँदा आन्तरिक राजस्व कार्यालय भवन अधुरै
डुम्रे । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । सङ्घीय सरकारको पाँच करोड २१ लाख रुपैयाँ मा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक/भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो । अठार महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी २०७८ असोज २२ गते सो सम्झौता भएको हो । विसं २०७९ चैतमा भवन निर्माण सक्नुपर्ने थियो । ठेकेदार सम्पर्कविहीन भएपछि भवन निर्माणको काम अधेरै रहेको कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले जानकारी दिए । निर्माणको काम रोकिएपछि ठेकेदारलाई पटक–पटक सम्पर्क गर्दा सम्पर्कसमेत हुन नसकेको उनले बताए । ‘निर्माणको समय सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ, तर ठेकेदार हालसम्म सम्पर्कमा नै आएका छैनन, म्याद थप गरिएको पनि दुई महिना बितिसकेको छ, अझै सम्पर्कमा आएका छैनन्’, उनले भने । ठेकेदारलाई हालसम्म तीनपटक पत्राचार गरिएको छ । ‘फोन सम्पर्क भएको छैन, पत्र इमेलमार्फत पठाएका छौँ, अब पनि सम्पर्कमा आएन भने कानुनी उपचार खोज्छौँ’, पराजुलीले भने, ‘समयमा काम सम्पन्न नगर्ने र सम्पर्कमा आएन भने कालोसूचीमा राख्न वा कम्पनी खारेजको मागसहित पत्रचार गर्ने तयारीमा छौँ ।’ समयमा भवन निर्माण भएको खण्डमा सेवाग्राहीलाई सेवा प्रवाहमा सहज हुने प्रमुख पराजुलीले बताए । कर सेवा प्रवाह गर्दा सेवाग्राहीलाई लामो समय उभिएर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । कार्यालयको भवन निर्माण सम्पन्न भएको खण्डमा सेवाग्राहीलाई सहजरूपमा सेवा प्रवाह तथा सेवाग्राहीलाई बस्ने व्यवस्था गर्न सकिने उनले बताए ।
दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज, १३ जनालाई रोजगारी
हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ । दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्पादन बढाउन लागिपरेका हुन् । उद्योगमा दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन भइरहेको छ । दैनिक दुई हजार लिटर दूधको छुर्पी, पनिर, घ्यू, बटर, दही उत्पादन गर्दै आएको उद्योगले जनाएको छ । यस उद्योगबाट दैनिक १३ केजी छुर्पी, ७० केजी बटर, मागअनुसार घ्यू, एक सय लिटर दही, दुई सय लिटर दूधको पनिर उत्पादन गर्ने गरिएको दुग्ध प्रशोधन उद्योगका प्रमुख अनिश पोख्रेलले जानकारी दिए । बिहानै गाउँ वरिपरिका किसान दूधका साना र ठूला क्यान बोकेर सहकारीमा दूध बिक्री गर्न आउँछन् । अहिले यो उनीहरुको दैनिकी नै बनेको छ । सहकारी संस्थामा बिहान झिसमिसेदेखि नै कर्मचारी काममा व्यस्त देखिन्छन् । कोही दूध जोखेर खरिद गर्ने स्थानमा हुन्छन् भने कोही दुग्ध प्रशोधन उद्योगमा काम गरिरहेका हुन्छन् । यहाँ पुग्दा सबैलाई बिहानैदेखि कामको निकै चटारो भएको देख्न सकिन्छ । उद्योगमा दही, घ्यू, पनिर, छुर्पी उत्पादनका लागि दूध प्रशोधन गर्ने काम भइरहने सहकारीका व्यवस्थापक शशी लम्सालले बताए । यहाँबाट प्रशोधन गरिएको दूधजन्य उत्पादनको बिक्रीमा समस्या नरहेको उनले बताए । आर्थिक वर्ष २०७७र७८ मा ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाई’ हेटौँडाको ५० प्रतिशत अनुदान सहयोगमा दुग्ध प्रशोधन उद्योग स्थापनाका लागि काम सुरु गरिएको थियो । सहकारीलाई नै उद्योगका रूपमा सञ्चालन गर्ने गरी विसं २०७८ माघ २७ गते उद्योग दर्ता गरी विसं २०७९ पुस १३ गतेबाट भवन निर्माणलगायत काम सकेर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । भवन निर्माण र उद्योगमा व्यवस्थापनका लागि एकाइबाट एक करोड रुपैयाँ सहयोग लिएर काम थालिएको भन्दै थप डेढ करोड रुपैयाँ लगानी गरेर दूध प्रशोधनका लागि आवश्यक सामाग्रीको व्यवस्था गरिएको दुग्ध सहकारीका अध्यक्ष अर्जुन दाहालले जानकारी दिए । ’एक हजार लिटर क्षमताको दुग्ध प्रशोधन उद्योग तथा भवनका लागि अनुदान लिएर काम थालिएको हो’, उनले भने । सुरुआती दिनमा यस सहकारीले दूध चिस्याउने काम गरेर बिक्री गर्दै आएको थियो भने हाल दुग्धजन्य पदार्थ उत्पादन गरेर गाउँबाट नै उत्पादन गरी सहरसम्म बिक्री गरिरहेको अध्यक्ष दाहालले बताए । उद्योग स्थापनाले यहाँका युवालाई रोजगारी दिनुका साथै स्थानीय उत्पादनलाई ठूला सहरमा बिक्री गर्ने वातावरणसमेत बनेको उनको भनाइ थियो । उद्योगमा उत्पादन भएका सामग्री हेटौँडा, काठमाडौँ, पोखरालगायत सहरमा बिक्री गर्ने गरिएको अध्यक्ष दाहालले जानकारी दिए । उनका अनुसार दैनिक यस क्षेत्रका चार सय ५१ किसानले सहकारीमा दूध बिक्री गर्दै आएका छन् । ’सहकारीमा तीन सय ४८ जना शेयर सदस्य छन् । यहाँ दूध प्रशोधन तथा दूध खरिद बिक्रीलगायत क्षेत्रमा गरी १३ जनाले रोजगारीसमेत पाएका छन्’, उनले भने । जिल्लामा रहेका दुग्ध सहकारी संस्थामध्ये मनकामना उत्कृष्ट संस्थाका रूपमा पुरस्कृत भएको अध्यक्ष दाहालको भनाइ थियो । सहकारी संस्थालाई उद्योगका रुपमा अगाडि बढाउन मनकामना दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान रकम उपलब्ध गराइएको विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौँडाका आयोजना समन्वय प्रमुख डा विदुरप्रसाद गौतमले बताए । सहकारीमा किसान तथा बैंककोसमेत लगानी भएकाले प्रत्यक्षरुपमा सबैलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उद्योग स्थापनाका लागि सहयोग गरिएको उनले बताए । “किसानको दूध बिक्री भएन भन्ने समस्या पनि हट्ने र सहकारीलाई पनि उत्पादन गर्ने उद्योगका रुपमा विकास गर्न सकिने भएकाले आर्थिक सहयोग गरेका हौँ”, उनले भने । पहिले दूध बिक्री नहुने समस्याका कारण ‘मिल्क होलिडे’को मार भोगेका यहाँका किसान उद्योग स्थापनापछि दूध बिक्री नहुने समस्या हटेको बताउँछन् । रासस