काठमाडौं । भारतीय आयल कर्पाेरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचि अनुसार डिजेल तथा पेट्रोलको मूल्य बढेको छ भने हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आएको हो ।
नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७.४० पैसाले घटेर आएको छ ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर ४९ रुपैयाँले घटेर आएको निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।
भारतबाट मूल्य बढेर आएसँगै नेपालमा पनि बढ्छ वा यथावत रहन्छ भन्ने चासो बढेको छ । प्रवक्ता कार्कीका अनुसार भारतीय आयल कर्पाेरेशनले डिजेल तथा पेट्रोलको मूल्य थोरै बढाएर पठाएको भन्दै निगम व्यवस्थापनले तत्काल मूल्य समायोजनको तयारी गरेको छैन ।
पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आएकाे भन्दै नेपालमा हालको मूल्य यथावत राख्ने तयारी भइरहेकाे भनाइ छ ।
नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ । सो अनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो । हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ ।
भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचि अनसार १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँभन्दा बढी नाफामा जानेछ । पछिल्लो समय भारतीय आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगम नाफामा गएको छ ।
ठूलो रकम नोक्सानीमा गएको भन्दै निगमले आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा मात्रै नेपालमा मूल्य समायोजन गर्ने गरेको छ । आईओसीबाट मूल्य घटेर आउँदा निगमले मूल्य समायोजन (नघटाउँदा) उपभोक्ता मारमा परेका छन् ।