विकासन्युज

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले आइतबार राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेको उक्त विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । राष्ट्रपति पौडेलले गैरसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।

आसाममा १६ करोडको लागु औषध बरामद

आसाम । आसाम प्रहरीले शनिबार १६ करोड रुपैयाँ बारबरको लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा दुई जना कारोबारीसहित उक्त परिमाणको लागुओषध बरामाद भएको हो । गोप्य सूचनाका आधारमा काछार जिल्ला प्रहरीको टोलीले शनिबार राति सिलचरको कातागष्टल क्षेत्रमा अप्रेसन गरी करिब २.२ केजी हेरोइन बरामद गरेको जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक सुब्रत सेनले बताएका छन् । उनले भने, ‘हामीले २.२ किलोग्राम हेरोइनसहितको एक सय ४३ साबुनका बट्टा बरामद गरेका छौँ । सोको अभियोगमा दुईजना अभियुक्तलाई पक्राउ गरेका छौँ । बरामद लागुऔषधको बजार मूल्य करिब १६ करोड रुपैयाँ अनुमान गरिएको छ । हाम्रो अनुसन्धान जारी छ ।’ साथै केन्द्रीय राजधानीमा पनि प्रहरीले लागुऔषध ओसारपसारका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ । रासस

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा १५ प्रतिशत छुट हुने भएको छ । एनआईसी एशिया बैंकका ग्राहकलाई बसुन्धारामा अवस्थित काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरे । उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले यो फाइदा उपभोग गर्न सक्नेछन् । जसअन्तर्गत स्पेशल डेन्टल सर्भिसमा ७ प्रतिशत, अपरेशन तथा जेनरल डेन्टल सर्भिसमा १० र ल्याब, बेड (जेनरल वार्ड) तथा होल बडी चेकअपमा १५ प्रतिशत छुट हुने दुबै पक्षबीच समझदारी भएको छ । डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरु समक्ष पु¥याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको हो भने भविष्यमा समेत बैंकले यसैगरी डिजिटल भुक्तानीलाई बढावा दिनका लागि यस खालका सहकार्यलाई बढाउदै लैजाने लक्ष्य लिएको छ । मुलुकमा भुक्तानीको माध्यम उत्साहजनक रुपमा नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच यस खालका साझेदारीले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।

आध्यात्मिक सीएको सेयर बजार यात्रा, ‘ध्यानले धन र जोखिम लिने क्षमता बढाउँछ’

एलपी भानु शर्मा अध्यात्म गुरु हुनुहुन्छ । शिक्षाले चार्टर्ड एकाउन्टेन्ट बन्नु भएका शर्माले पुँजी बजारसँगै शिक्षण पेशामा लामो समय बिताउनु भयो । पछिल्लो समय अध्यात्मिक जागरण फैलाउने संस्था जीवन विज्ञानमार्फत आध्यात्मिक शिक्षा फैलाउने क्रममा उहाँलाई धेरैले चिनेका छन् । योगाभ्यास, प्राणायाम र ध्यानमा मानिसहरुलाई अभ्यस्त गराउने जीवन विज्ञानको जागरण अभियान विश्वभर ४० भन्दा बढी देशमा फैलिएको र ३० लाखभन्दा बढी मानिसहरु यसमा अभ्यस्त भैसकेका छन् । प्रभु क्यापिटल लिमिटेडका अध्यक्ष समेत रहनु भएका शर्मासँग विकासन्युजका लागि सीआर भण्डारीले पुँजी बजार र अध्यात्म शिक्षाबारे कुराकानी गरेका छन् । मर्चेन्ट बैंकलाई पूँजी बजारको अंगका रुपमा लिइन्छ । तपाईं प्रभु क्यापिटलको अध्यक्ष हुनुहुन्छ । आध्यात्मिक चिन्तनमा लागेको ब्यक्ति कसरी पूँजी बजारमा जोडिनु भयो ? म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट हुँ । वित्तीय क्षेत्रमा मैले लामो समय काम गरेको अनुभव छ । यो क्षेत्रमा रुची पनि छ । मान्छेको जीवनमा २ वटा कुरा आवश्यक पर्छ । मोटरमा ब्रेक र एक्सलेटर दुवै हुन्छ । एक्सलेटर मात्रै छ तर ब्रेक छैन वा ब्रेक मात्रै छ र एक्सलेटर छैन भने त्यो काम लाग्दैन । मान्छे पनि गतिशिल र शान्त दुवै हुन सक्नु पर्छ । एक्सलेटरमा गतिशिलता हुन्छ । अर्थतन्त्रका विभिन्न पाटाहरु गतिशिल हुन् । र, अध्यात्म शान्त, स्थीर रहने कला हो । यी दुवै अनिवार्य आवश्यक पर्छ । पूँजी बजारमा उतारचढाव हुन्छ । त्यो उतारचढावको बीमा हुँदैन । जो ब्यक्ति उतारचढावको मज्जा लिएर नाफा मात्रै गर्छु भनेर बजारमा प्रवेश गरेको हुन्छ, उसले दुःख पाउनु र मानसिक पीडा भोग्नु स्वभाविक हो । किनभने बजार उसको शैलीमा चल्दैन । हामी पनि प्रभु क्यापिटलमा संलग्न भएर बजारका लागि महत्वपूर्ण योगदान गर्दै आएका छौं । केवल धन कमाउने उद्देश्यले मात्रै नभइ मान्छेको जीवन परिवर्तन गर्न योगदान गर्न सकिन्छ भन्ने इच्छा वा सोच हो । आध्यात्मिक चेत शान्त र स्थीर हुन्छ भन्नुभयो, पूँजी बजार बारम्बार उथलपुथल हुने क्षेत्र हो । बजारमा उथलपुथल भएको बेला एउटा लगानीकर्ता कसरी शान्त रहन सक्छ ? आजको आजै सन्तुलन गर्न सकिँदैन । स्थीरता र शान्तको अभ्यास गर्नुपर्छ । यसलाई ध्यान भनिन्छ । जीवन विज्ञानमा गरिने सबै ध्यान शान्तिको अभ्यास हो । अभ्यास गरेर शान्तिको केन्द्र पत्ता लगायो भने उथलपुथलबाट प्रभावित हुँदैन । पूँजी बजारमा मात्रै नभएर हरेक क्षेत्रमा उथलपुथल भइरहेको हुन्छ । यदि सवारी चलयाएर कतै जानु हुन्छ भने कुनै ठाउँमा दुर्घटना हुनसक्छ । बाटोमा हिँड्दा कतै लड्न सकिन्छ । खाना खाँदाखेरी ढुंगा पर्न सक्छ । त्यसैले जोखिम जहाँ त्यही छ । गतिशिलता जीवनका हरेक अंगमा छ । गतिशिलताको एउटा नियम हुन्छ, त्यो हो जोखिम । अध्यात्मले ब्यक्तिलाई जब शान्त बनाउन सिकाउँछ तब ब्यक्तिको जोखिम लिने क्षमता पनि बढ्दै जान्छ । जो ब्यक्ति शान्त छ उसले बढी जोखिम लिन सक्छ । उदाहरणको रुपमा बिलगेट्सलाई लिन सकिन्छ । यदि ती ब्यक्ति शान्त हुँदैनथे भने यति धेरै काम गर्न सक्ने थिएनन् । जो ब्यक्ति धेरै काम गर्न सक्छ, उसको केन्द्र बिन्दुमा स्थीरता छ । तर, हामी गतिशिल मात्रै हुन खोज्छौं, स्थीर हुन खोज्दैनौं । यदि ब्यक्तिको भित्र मन शान्ति छ भने सन्तुलन आफै आउँछ । ब्यक्तिभित्रको शान्तिले कति जोखिम लिने र कति जोखिम नलिने भनेर टुंंगो लगाउन सक्छ । उतारचढावमा पनि धेरै प्रभावित नभइकन आफ्नो आधार रेखामा बस्नुपर्छ । मलाई यत्ति भए ठिक छ भनेर आधार रेखा निर्धारण गर्नु पर्ने हुन्छ । सन्तुलित हुने प्रयास गर्नु पर्दैन । अध्यात्मले ब्यक्ति भित्रको सन्तुलनलाई जागृत गरिदिन्छ । सन्तुलतको केन्द्र ब्यक्ति भित्र नै हुन्छ । पुँजी बजारमा लागेका मान्छेको ध्यान पैसामा केन्द्रीत हुन्छ । पैसा र अध्यात्म बीचको सम्बन्धलाई कसरी जोड्नुहुन्छ ? यी एक अर्काका परिपूरक छन् । मान्छेले बिना धन दैनिक जीवन यापन गर्न सक्दैन । यदि धन नै छैन भने के खाने ? अध्यात्म नगरेको मान्छे जहिल्यै पनि तनाव, हतार, आत्तिएको र असुरक्षाको गहिरो पीडामा रहन्छ । ध्यानले धन आर्जन गर्ने क्षमता बढाउँछ तर धनले ध्यान बढाउँदैन । त्यसकारण ब्यक्तिले ध्यान आर्जन गर्ने क्षमता बढाउँदा मात्रै धन आर्जन गर्न सिक्नुपर्छ । ध्यान र धन दुईटैलाई सँगसँगै लिनु पर्छ । पूँजी बजारमा दैनिक उतार चढाव हुँदा लगानीकर्ताहरु तनावमा हुन्छन् । लगानीकर्ताहरु शान्त जीवनमा बस्नका लागि आधात्मिक क्षेत्रबाट कस्तो सुझाव दिनु हुन्छ ? घाटा होस् या नाफा स्वस्थ शरीर चाहिन्छ । नाफा र घाटाले शरीरलाई असर गर्न थाल्यो भने धेरै समय टिक्न सकिँदैन । त्यो मान्छेले दीर्घकालसम्म काम गर्न सक्दैन । संसारिक जीवनमा उथलपुथलले कम प्रभाव पर्न सक्ने बन्नुपर्छ । पहिला आफ्नो स्वास्थ्यको रक्षा गर्नुपर्छ । स्वास्थ्यको रक्षा पैसा वा पूँजी बजारले गर्दैन । घाटा नाफा जेसुकै भएपनि हरेक दिन योगाभ्यास वा व्यायाम गर्नुपर्छ । स्वस्थ शरीर भएर मात्रै काम गर्न सकिन्छ । शरीरलाई स्वस्थ अरु कसैले पनि गर्दैन । धन आर्जन गर्नु पर्छ तर, स्वास्थ्यलाई बिगारेर वा गुमाएर होइन । जीवन विज्ञानले प्रत्येक दिन निश्चित तालिका र विधि दिन्छ । त्यो तालिका र विधिमा ब्यक्तिको स्वास्थ्य आफै राम्रो हुन्छ । व्यायाम गर्ने मान्छेको जीवनमा अनुशासन पनि हुन्छ । दीर्घकाल टिक्नका लागि अनुशासन आवश्यक पर्छ । स्थायी भएर काम गर्नु छ, अस्थायी होइन । रातारात केही पनि हुँदैन । जसरी शरीरको स्वास्थ्यका लागि योगाभ्यास गर्नु हुन्छ, त्यसैगरी मनको स्वास्थका लागि प्राणायाम गर्नुपर्छ । स्वास प्रस्वासका बिधिलाई प्राणायाम भनिन्छ । र, जीवन विज्ञानका प्राणायमका विधिहरु आधुनिक मनुष्यलाई लक्षित गरेर निर्माण गरिएका छन् । ५ मिनेट प्राणायाम गर्नुभयो भने तुरुन्तै आफ्नो तनाव फाल्न सकिन्छ । अध्यात्म मरेपछि स्वर्ग जाने होइन, जीवनलाई स्वर्ग बनाउने विज्ञान हो । परिवारलाई पनि स्वर्ग बनाउँछ । मान्छेलाई शान्ति र स्थीरता चाहिन्छ । यसको लागि ध्यान गर्नुपर्छ । योगाभ्यास, प्राणायाम र ध्यान हरेक दिन गर्नु भयो भने संसारमा सबैभन्दा ठूलो बीमा खरिद गरे सरह नै हुन्छ । बीमाले स्वास्थ र औषधि दिन सक्छ । धनले औषधि मात्रै दिन्छ । तर, स्वस्थ शरीर व्यायामले मात्रै दिन्छ । स्वस्थ शरीर दिने क्षमता ब्रम्हाण्डमा कसैको पनि छैन । ब्यक्तिको मनलाई शान्ति पनि कसैले गर्न सक्दैन । मनले खोजेको कुरा पैसाले किन्न सक्नुहुन्छ । तर, भएको कुरालाई उपभोग गर्न मन शान्त चाहिन्छ । जस्तो घरमा मिष्ठान्न भोजन पकाएको छ । तर, कोही मान्छे बिरामी छ भने मिष्ठान्नको फाइदा लिन सकिँदैन । योगाभ्यास, प्राणायाम र ध्यानलाई दैनिक जीवनको अंग बनाउनु पर्छ । यसलाई खाना खाए जस्तै बनाउनु पर्छ । यसलाई खाना भन्दा पनि बढी महत्व दिनुपर्छ । एक दिन खाना खानु भएन भने केही फरक पर्दैन, बरु व्रत नै हुन्छ । शरीर राम्रो हुन्छ । तर, एक दिन पनि योगाभ्यास, प्राणायाम र ध्यान गर्नु भएन भने समस्या आउँछ । त्यो समस्या बुढेशकालमा झनै देखिन्छ । तनावले मानिसहरुमा हानिकारक हर्माेनहरु उत्पादन हुन्छ । सेयर बजार दैनिक उथलपुथल हुँदा लगानीकर्ताले नचाहेर पनि तनाव लिएका हुन्छन् । लगानीकर्ताले यो कठिन जीवनबाट कसरी शान्त जीवन बनाउने ? यदि कोही मान्छे मोटरसाइकल चलाउँदै छ भने हेलमेट लगाउँदा दुर्घटना हुने सम्भावना कम हुन्छ । हेलमेट नलगाएर मोटर चलाएको छ भने दुर्घटना हुँदा असर बढी हुन्छ । जसरी हेलमेटले सुरक्षा गर्छ, त्यसैगरी आध्यात्मले भित्री सुरक्षा दिन्छ । आध्यात्मको पाठ सिकेको छ भने मान्छे ढुक्क हुन्छ । आफ्नो बलमा भरोसा धेरै गर्न सकिन्छ । जुन दिन आत्मबलमा भरोसा गरिन्छ, त्यो बेला बजार घटेपनि केही छैन, फेरी उठिहाल्छु भन्ने मान्यता राख्छ । मान्छेमा गहिरो आत्मविश्सास जन्मन्छ । जीवन विज्ञानको कार्यक्रमहरुले मान्छेको आत्मविश्वास जगाएर शान्त र स्वस्थ बनाउँछ । तनावको बेलामा कर्केश्वर हर्माेन जन्मिन्छ । जुन हर्माेनले सबै कुराहरु बिगार्छ । योगाभ्यास, प्राणायाम र ध्यान गर्नुभयो भने खराब तत्वहरु उत्पादन हुँदैनन् । शरीरमा नकारात्मक असरलाई हटाउन, मनलाई शान्त बनाउन योगाभ्यास, प्राणायाम र ध्यान गर्याे भने सकारात्मक हर्माेन उत्पादन हुन्छन् । तनावमा भएका लगानीकर्ताहरुले जीवन विज्ञानका योगाभ्यास, प्राणायाम र ध्यान गर्नुपर्छ । धेरै जना लगानीकर्ता, उद्योगपति जीवन विज्ञानमा आएर योगाभ्यास, प्राणायाम र ध्यान गरिरहनु भएको छ । जीवन विज्ञान मार्फत २० लाख मान्छेले फाइदा लिएका छन् । जीवन विज्ञानले ३० हजारभन्दा बढीलाई डिप्रेशनबाट जोगाएका छौं । नियमित रुपमा जीवन विज्ञानका कार्य गर्नु हुन्छ भने जीवनमा डिप्रेशन आउने कुरा शुन्य हुन्छ । जस्तो कम्प्युटरमा पहिला नै एन्टि भाइरस राख्यो भने कम्प्युटर ह्याक हुने सम्भावना न्यून हुन्छ । त्यसैले डिप्रेशनमा जानु भन्दा अघि नै योगाभ्यास, प्राणायाम र ध्यान गर्नु पर्छ । पूँजी बजारमा आज लगानी गरेर भोलि नै नाफा खोजिन्छ । तर, आध्यात्मले त्यस्तो भन्दैन । तपाईंले प्रवाह गर्नु भएको विचारसँग मेल खाँदैनन् नी ? पूँजी बजार, फलाम बजार, इट्टा बजार, आइटी बजार लगायत सबै बजार बिगार्ने भनेको लोभीपापीले हो । जसको मनमा अत्याधिक लोभ छ, उसले बजारलाई बिगार्छ । जो दीर्घकालिन रुपमा बजारमा प्रवेश गरेको छ, उसले बजारलाई पनि मद्दत हुने गरी काम गरेको हुन्छ । रातारात कमाउन खोज्ने मान्छेको हृदयभित्र धेरै लोभ हुँदा लोभले खान्छ । त्यो लोभ मनबाट उत्पन्न भएको हो । लोभ र पाप मनमा छ भने त्यसले कसैलाई पनि हित गर्दैन । त्यसैले दिगो काम गर्न चाहनु हुन्छ भने मनमा रहेको पापलाई फाल्नु पर्छ । लामो दौडको घोडा जस्तै बन्नुपर्छ । आजको भोलि कमाउन खोज्ने वा मनमा लोभपाप भएका ब्यक्तिलाई एक÷दुई वर्ष पछि फलफूल बोकेर अस्पतालमा भेट्न जानु पर्छ । आध्यात्मले दीगो काम गर्न सिकाउँछ । दीगो जीवन यापन गर्न सिकाउँछ । मर्चेन्ट बैंकरलाई उकास्नका लागि नियामक निकायले के गर्नुपर्छ ? नियामक निकायले अध्ययन र अनुसन्धानमा खर्च गर्नुपर्छ । एउटा स्थीर बजारले लाखौं ब्यक्तिको आम्दानी र रोजगारी सिर्जना गर्छ । बजार कल्पवृक्ष हो । बजार कामधेन हो । थीर बजार निर्माण गर्नका लागि अध्ययनशील ब्यक्ति चाहिन्छ । नियामक निकायले अध्ययन र अनुसन्धानमा लगानी गर्न जरुरी छ । मानव संशाधनको विकासमा लगानी गर्नुपर्छ । एउटा टिममा भिजन बनाएर काम गर्नुपर्छ । पूँजी बजारमा सूचना, सरोकारवालाहरुको जानकारी र शिक्षाको एकदमै ठूलो अभाव छ । लगानीकर्ता र बजारमा रहेका खेलाडीहरुको शिक्षालाई महत्वपूर्ण मानिन्छ । त्यो शिक्षामा नियामक निकायले आध्यात्मिक शिक्षामा जोड्नु पर्छ । पूँजी बजार विकास नहुनुमा राम्रा संस्थाहरु बजारमा नआउनु हो । राम्रा संस्थालाई बजारमा आउन प्रेरित गर्नु पर्छ । र, बजारमा आउने व्यवस्था मर्चेन्ट बैंकरहरुले गर्छन् । संस्थाहरुको भ्यालू डिस्कोभरी गर्ने कामका लागि मर्चेन्ट बैंकलाई तालिम दिनुपर्छ । लुकेर बसेका राम्रा संस्थाहरु आए भने बजारमा स्थीरता र दीगोपना आउँछ । नियामक निकायहरुमाथि आम जनताको धेरै ठूलो भरोसा हुन्छ । यदि सेबोनमाथि आम जनताको भरोसा रहेन भने कसैले पनि लगानी गर्दैन । त्यसकराण यी संस्थाहरु आफैं आध्यात्मिक बन्दै जानुपर्छ । ताकी लगानीकर्ताको यी संथाहरुमा विश्वास बढोस् । संस्थाहरु पनि आध्यात्मिक बन्नुपर्छ । यदि संस्थाहरु लोभ र पापमा छैनन भने लगानीकर्ताहरुको विश्वास पनि बढ्छ । नियामकको बारेमा एउटा पनि नराम्रो कुरा आयो भने त्यसले पुरै बजारलाई असर गर्छ ।

उद्योग विकासको अवधारणा ल्याउन आवश्यक छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले उद्योग विकासको अवधारणा ल्याउन आवश्यक रहेको बताएका छन् । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सो बताएका हुन् । भारतले दिएको तीन लाख टन गहुँ आयात गर्न दिएकाले मैदा उद्योगको सञ्चालनमा सहजिकरण हुने अध्यक्ष अग्रवालले बताएका छन् । बजेटमा सरकारले निजी क्षेत्रको धेरैकुरा सम्बोधन गरेको भएपनि कच्चापदार्थहरुको सम्बोधन नभएको बताए । अति आवश्यक वस्तुमा १३ प्रतिशत कर लगाउँदा मैदा उद्योगलाई भार बनाएको उनको भनाइ छ । नेपालमा ८ लाख टन गहुँ आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले गहुँको उत्पादन बढाउन सम्बन्धित पक्षको ध्यान जान आवश्यक रहेको समेत बताए ।

अब विद्युत निर्यातको समस्या समाधान हुन्छ : अर्थमन्त्री

काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने बताएका हुन् । उनले विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताए । विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा उनले जोड दिए। उनले विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताए । उनले भने, ‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो। अब दिर्घकालमा विद्युत निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडी बढेको छ। त्यसैगरी विद्युत निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौँ भने त्यसबाट पनि व्यापार घाटा घट्ने भयो। एकातिर आयात प्रतिस्थापन गरेर अर्को निर्यात बढाएर। यो चाहीँ ठूलो उपलब्धि हुन्छ। त्यस अर्थमा यो भ्रमण उपलब्धिमुलक रह्यो। दुई वटा ठुला महत्वपूर्ण आयोजनामा लगानी आउँदैछ त्यो पनि राम्रो कुरा हो।’ मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमुलक रहेको भएको बताए ।

बेगनास बराह क्षेत्रमा मन्दिर निर्माण सुरु

कास्की । कास्कीको लेखनाथस्थित बेगनास ताल पारी रहेको प्राचीन बराह क्षेत्रमा गण्डकी प्रदेश सरकारको सहयोगमा मन्दिर निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको पर्यटन तथा उद्योग कार्यालयले बेगनासताल बराह क्षेत्र पर्यटकीय पूर्वाधार निर्माण योजनाअन्तर्गत बेगनासताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण सुरु गरिएको हो । योजनाका लागि ५५ लाख ७६ हजार नौ सय १७ रुपैयाँ लागत लाग्ने प्रदेशअन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । मन्दिर निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ भने बाँकी रकम जनश्रमदानबाट जुटाइने पर्यटकीय पूर्वाधार निर्माण समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार बेगनासताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको हो । ‘बराह क्षेत्रमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेकाले यस क्षेत्रको पुरातात्विकरुपमा पनि उत्तिकै महत्व छ’, अध्यक्ष अधिकारीले भने । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकले यस क्षेत्रको सम्भाव्यतासम्बन्धी अध्ययन गरेका थिए । बेगनासतालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रसम्म पुर्‍याउने लक्ष्यका साथ मन्दिरलगायत संरचना निर्माण गर्न लागिएको उनको भनाइ थियो । प्राचीनकालदेखि अत्यन्त आस्था विश्वासका साथ पूजाआजा गरिँदै आएको यस तीर्थस्थलमा डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका दिन पारेर ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीय सबैलाई राम्रो होस् भन्ने कामनासहित पूजाआजा गर्दै आएका छन् । मनले चिताएको पुग्ने जनविश्वासका साथ यस क्षेत्रमा विभिन्न महत्वपूर्ण तिथि एवम् पर्वमा दर्शनार्थी आउने गरेका जानकारी दिँदै अध्यक्ष अधिकारीले तीर्थस्थल र आसपासको क्षेत्रको विकासका लागि विसं २०७५ मङ्सिर २२ देखि २९ गतेसम्म महायज्ञ समेत गरिएको जानकारी दिए । मन्दिर निर्माणका सन्दर्भमा आज यहाँ आयोजित एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री दीपेन्द्रबहादुर थापाले बेगनासातालको गरिमा र महत्वलाई अझै बढाउन मन्दिर निर्माण गर्न लागिएको बताए । बेगनासतालसहित यस क्षेत्रको पर्यटकीय विकासका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने उनले बताए । पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका धार्मिक पर्यटकीय क्षेत्रको संरक्षणमा वडाले सहयोग गर्ने विश्वास व्यक्त गरे । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ क्षेत्रका धार्मिक एवम् पर्यटकीय गन्तव्यको संरक्षण एवम् प्रवर्द्धनमा सबैको सहयोग जरुरी भएको बताए । कार्यक्रममा इलाका प्रशासन कार्यालय सिसुवाका प्रमुख कमल भण्डारी, अर्थ मन्त्रालयका उपसचिव वसन्तराज तिवारी, उद्योग तथा पर्यटन कार्यलय कास्कीका प्रमुख शेषकान्त पौडेललगायतले बेगनास बराहलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । रासस

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता, टिभिसि प्रसारण गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि टिभिसि प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका छन् । सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टिभिसि नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गर्नेछ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात दुबै संस्थाको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पूग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता लगायतको कार्यक्रमलाई टेलिभिजन मार्फत नागरिकमा पु¥याउन सहयोग पूग्ने बताए । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले दुबै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने बताए । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, कम्पनी सचिव हेमराज खरेल, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।