विकासन्युज

पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान

काठमाडौं । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँभm सो स्थानामा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन् । संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए ।

माछापुच्छ्रे बैंकले धितोमा राखिएको कार बेच्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको लाजिम्पाट शाखा कार्यालयबाट ऋणी सजिना श्रेष्ठलाई कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंक धनी भएको ऋणी श्रेष्ठको नाममा दर्ता कायम बा १४ च ७५२७ नम्बरको मारुती सुजुकी कम्पनीको कार बिक्रीमा राखिएको हो । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले २१ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

हकप्रद सेयर प्रस्ताव पारित गर्न अरुण भ्यालीले बोलायो सधारणसभा

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितीको जेठ २१ गते बसेको बैठकले असार ७ गते काठमाडौंमा बिहान ११ बजे विशेष सभा बोलाएको हो । कम्पनीको सभालेलिखु खोला जलविद्युत आयोजनामा लगानी गर्न र काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, हकप्रद सेयर वितरण पश्चात् अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्टारको कार्यालयमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ जेठ ३० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

शिकारीले हानेको गोली लागेर सहकारीको मृत्यु

काठमाडौं । कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते भएका थिए । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो र उपचारकै क्रममा २१ गते सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए । गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो । सहकारीको आइतबार पोष्टमार्टम गरी अन्त्येष्टि सुर्खेतको गिरीघाटमा गरिएको छ । मृतक सहकारी कक्षा–१० मा पढ्दै थिइन् । घटना के ? कसरी ? घटेको हो भन्ने बारेमा बुझ्न प्रहरी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । गोली लागेको भन्ने खबर आएको र आफूहरू त्यसतर्फ जाँदै गरेको कालिकोट जिल्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

वर्गीकरण पश्चात् कित्ताकाट खुला

फाइल फोटो काठमाडौं । जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ । जलेश्वर नगरपालिकाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश साह सोनारले जलेश्वर नगर क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरण’ गरिएको जानकारी दिए । भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१)ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्ले सो काम सम्पन्न गरेको हो । नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रको जग्गालाई कृषि क्षेत्रतर्फ तीन हजार १३५.८९ हेक्टर, व्यावसायिक क्षेत्रतर्फ ७५.३४ हेक्टर, सांस्कृतिक क्षेत्रतर्फ ८.४७ हेक्टर, नदीजन्य/पोखरी क्षेत्रतर्फ १०६.२७ हेक्टर, औद्योगिक क्षेत्रतर्फ १७.२६ हेक्टर, सार्वजनिक क्षेत्रतर्फ १७६.११ हेक्टर र आवासीय क्षेत्रतर्फ ९०३.३५ हेक्टर जग्गा वर्गीकरण गरेको हो । नगरपालिकाले वर्गीकरण गरेको जग्गा जम्मा ६२ हजार कित्ता रहेको र आइतबारदेखि सबै जग्गाको कित्ताकाट खुला भएको उनले बताए । जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा प्रशासकीय अधिकृत मित्रलाल ढकाल, इन्जिनियर पवन कुमार झा, अमिन रामजीवन साह र नापी अधिकृत ज्ञानकुमार यादवले जग्गा वर्गीकरणका बारेमा जानकारी दिए । जग्गा कित्ताकाट खुला भएसँगै जलेश्वर नगरवासीले आजदेखि जग्गासम्बन्धी काम गर्न पाउने भएका छन् ।

डेढ लाख कित्ता भएको सेयर प्रमाणपत्र हरायो

काठमाडौं । एक जना लगानीकर्ताको झण्डै डेढ कित्ता सेयर भएको प्रमाणपत्र हराएको छ । आदर्शनगर विरगंजस्थित लगानीकर्ता राजेश कुमार खण्डेलवालको १ लाख ३२ हजार २४७ कित्ता सेयर संख्या भएको प्रमाणपत्र हराएको सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । साविक महालक्ष्मी फाइनान्स (हाल महालक्ष्मी विकास बैंक)को १००००७० र १००००७१ सेयर प्रमाणपत्र नम्बर रहेको क्यापिटलले जनाएको छ । यस्तै, गौरव खेतान अग्रवालको १ हजार १८९ कित्ता सेयर, बिहारी लाल अग्रवालको ६० कित्ता र आकाश कुमार टिवडेवालको ६० कित्ता सेयर भएको सेयर प्रमाणपत्र हराएको हो । प्रमाणपत्रहरु हराएको हुँदा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराई पाँऊ भनी निवेदन पेश गरेको हुँदा सो माथि कसैको हकदावी लाग्ने भए ३५ दिनभित्र निवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ । अन्यथा उक्त सो सेयरहरु आवश्यक प्रकृया पूरा गरि निवेदनमा माग भए बमोजिम सम्बन्धितसेयरधनीहरुले उपलब्ध गराएको हितग्राही खातामा जम्मा गरिनेछ । महालक्ष्मी विकास बैंकको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

रावा इनर्जिको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । रावा इनर्जि डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बााँडफाँट गर्दा बाँकी रहेको १ लाख ९२ हजार ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । जसमध्ये १५ हजार ४७ कित्ता कर्मचारी, ३७ लाख ६१६ कित्ता सामूहिक लगानी कोष र ६ लाख ४३ हजार ६६७ कित्ता सेयरमा सर्वसाधारण लगनीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आज जेठ २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १ कित्ता सेयर बराबर ०.७५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोडको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६० लाख कित्ता सेयरको साधारण सभाबाट निर्णय भएबमोजिम सेयर अनुपात १ः०.७५ को १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैशाख २७ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बैशाख २६ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल, लक्ष्मी बैंकको इलाम शाखा र कम्पनीको कालोपुलमा रहेको कार्यालयबाट कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँदछ ।