विकासन्युज

प्रधानमन्त्रीको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा

कञ्चनपुर । विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो । यसपाली भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा डेढ दशकअघि प्रस्ताव भएको सुक्खा बन्दरगाह भारतले आगामी तीन वर्षमा बनाइ दिने सहमतिपत्र (ओएमयू) मा हस्ताक्षर भएको छ । त्यस्तै, डडेल्धुराको शीर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने विषय पनि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा सम्झौता नै भएपछि यसबाट सुदूरपश्चिमका बासिन्दालाई आशातित बनाएको छ । विकासका दृष्टिले सम्भावना बोकेर पनि पछि परेको सुदूरपश्चिम प्रदेशको कायापलट हुन सुक्खा बन्दरगाह सञ्चालन, कञ्चनपुरलाई नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको विषय पर्याप्त हुनेछन् । घोषणा भएका विकास निर्माणका योजना कार्यान्वयनले महत्व पाउने विषयमा यहाँ शसङ्कित हुने अवस्था भने छ । महाकालीसन्धि अनुसार महकाली नदीबाट भारतले सिँचाइका लागि उपलब्ध गराउनुपर्ने पानी सन्धिको साढे दुई दशक वितिसक्दा पनि पाउन सकेको छैन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा पानी ल्याउन कार्यालयले माथिल्लो निकायमार्फत पहल गरेपनि सफल हुन नसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियिर डिभिजनल इन्जिनियर शम्भु पण्डितले बताए । उनका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा यस विषय भारतीय पक्ष समक्ष पुगेपछि यहाँ एनएचपिसीको टोली आएर समन्वय गरेको थियो । इन्जिनियर पण्डितले भने, ‘अहिले यस विषयमा अन्यौलता छ । आगामी असारमा पानी दिने विषयमा भारतीय पक्षसँग छलफल अघि बढाएर भारतीय पक्षले पनि सिँचाइको मूल नहर अवलोकन गरेको छ ।’ उनले गत असारको तेस्रो साता एक दिनका लागि पानी छोडिए पनि नियमित पानी आउन नसकेको बताए । ‘लामो समय आफ्नै लगानीमा निर्माणको प्रयास भएको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया केही समययता अघि बढेको थियो । त्यही बीच भारतीय पक्षले नै बनाउने विषयले चर्चा पायो । प्रधानमन्त्री दाहालको भारत भ्रमणका सुक्खा बन्दरगाह सुदूरपश्चिमका लागि सबैभन्दा महत्वको विषय बनेको थियो’, इन्जिनियर पण्डितले भने । प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह स्थलको निरीक्षण समेत गरेका थिए । उनको भ्रमणका क्रममा भारतले उक्त बन्दरगाह बनाइदिने विषयमा सम्झौता भएपछि स्थानीय हर्षित छन् । मन्त्रिपरिषद्बाट सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्क (ईआईए) स्वीकृत भइसकेको छ भने परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भारतमै बनिरहेको छ । सुदूरपश्चिमका नागरिकको रोजगारीको प्रमुख गन्तव्य अहिले पनि भारत हो । सदियौँदेखि यहाँबाट रोजगारीका लागि भारत जाने आउने क्रम चलेपनि सात पहाडी जिल्लाका नागरिकले भारत जान कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका बढी प्रयोग गर्छन् । नेपालसँग कनेक्टिभिटी बढाउन भारतीय प्रधानमन्त्री मोदीले शीर्ष र झुलाघाटमा पुल बनाउने घोषणा गरेपछि बैतडी, डडेल्धुरालगायत जिल्लाका नागरिक यातायातमा थप सहजता हुनेमा आशावादी देखिएका छन् । नेपाल–भारत यातायात सुविधालाई सहज बनाउने उद्देश्यले गत असोजदेखि दार्चुलाको महाकाली नगरपालिका–८, असिगडामा पुल निर्माण हुँदैछ । उक्त पुल निर्माणको तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्घाटन गरेका थिए । प्रतिनिधिसभाको निर्वाचनको प्रचारका क्रममा जोगबुढा पुगेका तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी कार्यक्रममा शीर्षमा पुल निर्माण गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको बताएका थिए । डडेल्धुराको परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले शीर्षमा पुल समयमै बन्नेमा आशावादी रहेको बताए । ‘प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मको चासो भएकाले शीर्षमा पुल बनेर स्थानीय लाभाविन्त हुनेमा ढुक्क छौँ’, उनले भने, ‘अहिले शीर्षबाट काठको डुङ्गामा जोखिम मोलेर स्थानीयले महाकाली तरिरहेका छन् ।’ नगर प्रमुख जोशीले शीर्षमा पुल बने डडेल्धुरासँगै अन्य पहाडी जिल्लाका नागरिकलाई पनि भारत आउन जान दूरीका हिसाबले नजिक पर्ने बताए । ‘लामो समयदेखि शीर्षबाट टनकपुर किनमेल गर्न जाने गरेको इतिहास छ’, उनले भने, ‘वारी परशुराम धाम र पारी भारतको पूर्णागिरी मन्दिर नजिकपर्ने भएकाले धार्मिक पर्यटनका हिसाबले पनि पुल बने दुवै पक्षलाई लाभ हुन्छ ।’ नगर प्रमुख जोशीले सुदूरपश्चिममा पाँच जिल्ला भारतसँग जोडिएको उल्लेख गर्दै डडेल्धुरा भने पुल वा झोलुङ्गे पुलबाट नजोडिएको बताए । ‘दार्चुलामा पनि झोलुङ्गे पुल सञ्चालनमा थियो । अहिले त्यहाँ पक्की पुल बन्दैछ भने बैतडीमा पनि झोलुङ्गे पुल छ’, उनले भने । उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले झुलाघाटमा मोटरेबल पुल बनाउने घोषणापछि बैतडीका स्थानीय हर्षित छन् । वर्षौ पुरानो जीर्ण बनेको झोलुङ्गे पुलबाट जोखिमपूर्ण आवतजावत गर्न बाध्य यस क्षेत्रका नागरिक मोटरेबल पुल बन्ने भएपछि खुसी भएका छन् । उनीहरुले उक्त योजना छिट्टै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । नाकामा मोटरेबल पुल निर्माण भएमा बैतडी मात्रै नभएर सुदूरपश्चिम क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउने र दुई देशको व्यापारिक सम्बन्ध पनि विस्तार हुने विश्वास लिइएको छ । झुलाघाटमा पुल बनाउने विषयमा विगतमा दलहरुले चुनावी एजेण्डा बनाउनुका साथै यहाँको निजी क्षेत्र पनि दबाब दिँदै आएका थिए । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सुदूरपश्चिम क्षेत्रलाई महत्वमा राखिएको विषय सकरात्मक रहेको बताए । ‘भारतीय प्रधानमन्त्रीले घोषणा गरेको शीर्ष र झुलाघाट बन्यो भने यातायात सुविधासँगै आर्थिक रुपले पनि सबल हुने अवस्था सृजना हुनेछ’, उनले भने । मल्लका अनुसार भारतले बनाइदिने भनेको सुक्खा बन्दरगाह निर्माण पछि सुदूरको आर्थिक समृद्धिको ग्राफ निकै माथि आउने छ । उनले विगतमा पनि भारतसँग धेरै विषयमा सन्धि र सम्झौता भए पनि कार्यान्वयनको पाटो त्यत्ति सकारात्मक नरहेको उल्लेख गरे । ‘दोधारा चादँनीलाई महाकालीसन्धि अनुसार दिनुपर्ने सिँचाइका लागि पानीलगायत विषयमा पनि भारतसँग सौहार्दपूर्ण वातावरणमा छलफल गर्नुपर्छ’, सङ्घका उपाध्यक्ष मल्लले भने । सरकारको सक्रियता र प्राथमिकतामा परे कञ्चनपुर त्रिदेशीय नाका बन्न धेरै समय नलाग्ने उनको भनाइ थियो । उनले भारतमा भएका सम्झौता र घोषणा अनुसार काम अघि बढाउन इमान्दारीपूर्वक सकारात्मक पहल हुनुपर्नेमा जोड दिए । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्तले प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सम्झौता र मिलेका आश्वासन पूरा हुनेमा विश्वस्त रहेको बताए । ‘शीर्ष र झुलाघाटमा पुल नहुँदा निकै कष्ट व्यहोर्नु परेको छ’, उनले भने, ‘भारतको समेत समान स्वार्थ जोडिएकाले अवश्य पनि कार्यान्वयन हुनेमा आशावादी छु ।’ विगतमा जस्तो आश्वासन दिने तर काम नगर्ने प्रवृति दोहो¥याउन नहुनेमा उनले जोड दिए । रासस

राष्ट्रपतिद्वारा ११ देशका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा डा राम स्वार्थ राय डेनमार्क र सुशीलकुमार लम्साल इजिप्ट रहेका छन् । त्यसैगरी उल्लेखित राजदूत क्रमशः पौडेललाई ब्रुनाई दारुसलाम, काफ्लेलाई गणतन्त्र चिलि, रेग्मीलाई क्रोएसिया, तुलाधारलाई गणतन्त्र काजखस्तान, रायलाई लितुआनिया र लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

५३ अंकले बढ्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजार ५३.०३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार आज २.८४ प्रतिशतले बढेर १९१९.३७ विन्दुमा बन्द भएको छ । सो क्रममा ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १५ करोड ८१ करोडको सेयर किनबेच भएको छ । यस्तै, आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्ने कम्पनी आइिजिआई इन्स्योरेन्स रहेको छ । आज आइजिआईको सेयर मूल्य ३७.०८ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, सकारात्मक सर्किट लेभलमा कारोबार हुनेहरु क्रमश: सामुदायिक लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड(१, सोल्टी होटल र तारागाउँ रिजेन्सी रहेको छ । आइतबार अर्थमन्त्रीले पुँजीगत लाभकर नै अन्तिम भएको विश्वास दिलाएपछि सेयर कारोबार उकालो लागेको जानकारहरु बताउँछन् ।

१० प्रतिशत शय्यामा निःशुल्क उपचार अनिवार्य गर्न मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई १० प्रतिशत शय्यामा बिमारीहरुको निःशुल्क उपचार गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले अस्पतालहरुलाई परिपत्र जारी गर्दै कुल शय्याको १० प्रतिशत निःशुल्क छुट्याउन भनेको हो । स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेबारिसे बिमारीको लागि कुल शय्याको १० प्रतिशतमा निःशुल्क उपचार अनिवार्य गराउनुपर्ने भनि उल्लेख भएको भन्दै मन्त्रालयले सो व्यवस्था कार्यान्वयन गराउन जेठ १९ गते मन्त्रीस्तरीय निर्णय गरेको जनाएको छ । नेपाल सरकारको निकायबाट जारी भएको गरीब परिचयपत्र र वडा कार्यालयको सिफारिसको आधारमा उक्त सेवा प्रदान गर्नुपर्ने मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयको परिपत्र

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को १० खेल सम्पन्न

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फर्म्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई ६९ रनले पराजित गरेको छ । उक्त खेलमा महालक्ष्मी विकास बैंकका सागर गुप्ता म्यान अफ द म्यान घोषित भए । दोस्रो खेलमा प्राइम कमर्सियल बैंकले सिटिजन्स बैंकलाई १४ रनले हराएको छ । उक्त खेलमा प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्यलाई म्यान अफ द म्यानको उपाधि दिइएको छ । तेस्रो खेल राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकबीच भएको थियो । उक्त खेलमा राष्ट्रिय वाणिज्य बैंकले एनएमबीलाई ६ विकेटले हरायो । यस खेलमा राष्ट्रिय वाणिज्य बैंकका विवेक श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए । चौथो खेल सनराइज बैंकले आइसिएफसी फाइनान्सलाई ४ विकेटले हराएको छ । उक्त खेलमा सनराइज बैंकका सुमन न्यौपानेलाई म्यान अफ द म्याच घोषणा गरिएको छ । पाँचौं खेलमा प्राइम बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई १०३ रनले हराएको छ । यस खेलमा प्राइमका विवेक दली म्यान अफ द म्यान घोषित भए । त्यसैगरी, छैटौं खेलमा एनआईसी एसिया बैंकले प्रभु बैंकलाई ३८ रनले हराएको छ । उक्त खेलमा एनआइसी एसियाका दिपन कार्कीलाई म्यान अफ द म्याच घोषित गरिएको छ । सातौं खेलमा हिमालयन बैंकलाई ३६ रनले हराउँदै आइसिएफसी फाइनान्स विजेता बन्यो । यस खेलमा म्यान अफ द म्याचको उपाधि सुरज तिमिल्सिनाले पाए । आठौं खेल एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकबीच भएकोमा राष्ट्रिय वाणिज्य बैंकले एनआइसी एसियालाई १८ रनले पराजित गरेको छ । यो खेलमा राष्ट्रिय वाणिज्य बैंकका सुशील देवकोटालाई म्यान अफ द म्याच घोषित गरिएको थियो । नवौं खेल लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकबीच भएको थियो । यो खेल कामना सेवाले ३८ रनले जितेको छ । यसमा कामना सेवाका छेतेन दोर्जी सेर्पा म्यान अफ द म्याच घोषित भए । गरिमा विकास बैंक र कुमारी बैंकबीचको १०औं खेलमा कुमारीले गरिमालाई ३ विकेटले हराएको थियो । यस खेलमा कुमारीका प्रतिज कर्माचार्यलाई म्यान अफ द म्याचको उपाधि दिइएको थियो । यो प्रतियोगितामा कुल ३१ खेल खेलिनेछ । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरेर खेलाइएको छ । प्रत्येक समूहका उत्कृष्ट दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिंग्समा चलिरहेको छ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भइरहेको छ ।

कर्मचारीको घेराउमा सीईओ श्रेष्ठ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु आन्दोलित बनेका छन् । आफूहरुले राखेका मागहरु सम्बोधन नभएको भन्दै बैंकमा कार्यरत कर्मचारीहरु आन्दोलित बनेका हुन् । बैंक कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले आफूहरुले राखेका मागको सम्बोधन नगरेपछि आन्दोलन गर्नु परेको बताए । आफूहरुले राखेका माग कार्यान्वयन गर्ने सम्झौता गरेको भएपनि विगत ६ महिनादेखि सम्बोधन नै हुन नसकेको उनको भनाइ छ । ‘प्रत्येक २/२ वर्षमा ट्रेड यूनियनहरुले मागहरु राख्न पाउँछन्, श्रम ऐनले दिएको अधिकार प्रयोग गरेर माग दावी गरिएको हो, ती मागहरु व्यवस्थापन समूह र संगठनबीच सम्झौता भएर सञ्चालक समितिले पास गरेको हो तर, ६ महिनादेखि कार्यान्वयन नभएकाले आन्दोलन गर्नु परेको हो,’ उनले भने । उनका अनुसार प्रशासनिक, व्यवस्थापकीय र आर्थिक गरी तीन वटा माग गरिएका छन् । आफूहरुले उठाएका मागहरु उच्च व्यवस्थापन तहले कार्यान्वयन गर्न नमाने पछि आन्दोलन गर्नु परेको उनले बताए । साथै मागहरु कार्यान्वयनका लागि कुनै छाँटकाट नै नदेखिएको उनको भनाइ छ । उनका अनुसार अन्य संगठन पनि आन्दोलन गर्ने तयारीमा रहेका छन् । ‘अहिले हामीले काम बन्द गरेका छैनौं, व्यवस्थापन समूहमा धर्ना मात्रै दिएको हो, ग्राहकहरुको सेवामा कुनै अवरोध गरेका छैनौं, व्यवस्थापन समूहमा पनि सीईओको कार्यालय घेराउ गरेको हो,’ उनले भने, ‘काममा कुनै बाधा नपुग्ने गरी सांकेतिक रुपमा आन्दोलन गरेको हो, बिहान १० देखि २ बजेसम्म सीईओ कार्यालय घेराउ गरेको हो ।’  यदि कर्मचारीहरुको माग पुरा नभए आन्दोलन चर्काउने बताइएको छ । राष्ट्रिय वाणिज्य बैंकमा तीनवटा कर्मचारी संंगठन सक्रिय रहेकोमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले आन्दोलन गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेकपा माओवादी केन्द्र निकट कर्मचारीको संस्था हो । सो संगठनमा १९ जनाको सचिवालय छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको आदेश १० दिनपछि मात्रै आउने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई जेठ ३१ गते आदेश गर्ने भएको छ । अदालतले थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे अर्को बुधबार आदेश गर्ने भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् ।

गलकोटमा असार नलाग्दै रोपाइँको चटारो

बलेवा । बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गलकोटको दुदिलाभाटी, नरेठाँटी र हरिचौरमा रोपाइँ सुरु भएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘खोलाको पानी चिसो हुने ठाउँमा जेठको पहिलो सातादेखि रोपाइँ सुरु भयो, केही फाँटमा भने जेठको अन्तिम सातादेखि रोपाइँ हुन्छ’, भण्डारीले भने, ‘गलकोटमा औसत रोपाइँ जेठमै हुन्छ ।’ कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको बताए । गलकोटमा भइरहेको रोपाइँ धेरै छिटो र बीउ कलिलो भएकाले उत्पादनमा क्षति हुने उनको धारणा छ । ‘यस वर्ष वर्षा पनि भइरहेकाले रोपाइँलाई सबैतिर सहज हुनेगरी बीउ तयार भएको छ’, उनले भने, ‘असारसम्ममा अधिकांश ठाउँमा रोपाइँ सकिसक्छ ।’ यसक्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाको पानीले यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्ने भएकाले रोपाइँ छिटो हुने गरेको हो । नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि कहिलेकाहीँ भने अलि छिट्टै मनसुन सक्रिय हुने गर्छ । कृषि ज्ञान केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकैबाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । बागलुङको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । असार लागेपछि रोपाइँ भएको क्षेत्रको विश्लेषण गरेर नियमित तथ्याङ्क निकाल्ने गरिएको छ । जिल्लाको कूल छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाइन्छ । ‘यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ’, प्रमुख भट्टराईले भने, ‘उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ, जिल्लाभर धानखेती हुने जमिनको तथ्याङ्कमा पनि घटबढ भइरहेको पाइन्छ, यसलाई हामी अध्यावधिक गर्ने चरणमा छौँ ।’ रासस