विकासन्युज

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका असनका केशव तुलाधर रहेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरिएको हो । पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ । तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

अब मजदुरी गर्न भारत जाँदैनन् बझाङका किसान, आलु बेचेर जीविकोपार्जन

बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनले तरकारी खेती रोजेका हुन् । बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन । छोड्नुपर्ने अवस्था पनि छैन । पाँच कट्टामा बीउ रोपेका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उनको रोजाइ तरकारी खेती नै भएको छ । ‘दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो । गत साता ३४ हजारको आलु बिक्री गरे । अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ’, बोहराले भने । उनी यस वर्ष मात्र लामो समयसम्म घरमा बसेका हुन् । वर्षमा झण्डै आठ महिना समय बोहराको भारतमै मजदुरी गरेर वित्थ्यो । उसबाटै उनको परिवारको खर्च चल्थ्यो । बोहराले भने, ‘एक वर्षयता मजदुरी गर्न भारत गएको छैन । आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु । अब मजदुरी गर्न भारत जाँदैन ।’ कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताए। ‘हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन । कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ । यसरी व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो । सुरूआतमै फाइदा भयो ।’ बोहराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ । हालसम्म २७ हजारको आलु बिक्री गरिसकेको उले सुनाए । किशोरावस्थामै पुरुष विद्यालय छोडेर भारतमा मजदुरी गर्न जाने गरेका छन् । रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा थिए । रमादेवीले भनिन्, ‘अब गाउँमै तरकारी खेतीमै मिहेनत गर्न लगाउँछु । यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ । पढाइ पनि गर्छ, भारत पठाउँदिन ।’ राजमार्ग नजिकका कृषक तरकारी खेतीतर्फ मनमती बोहरा ७१ वर्षकी भईन् । उनलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन । ‘एकपटक श्रीमान्ले बाली फेर्नुप¥यो भनेर आलु र टमाटर लगाउनुभएको थियो तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन ।’ त्यसपछि कहिल्यै आलु नलगाएको उनले बताइन् । यसपटक भने एकै गह्राबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताइन्। ‘हाम्रो सबै बारी गरेर तीन क्विन्टल बराबर मकै फल्थ्यो । आफूले खाने, वस्तुभाउलाई खुवाउनमै बराबर हुन्थ्यो । यसपटक भने नसोचेकै आलु उत्पादन भयो । आलु निकाल्न, सुकाउन घरमा सबैलाई दौडधुप भइरहेको छ ।’ उनले भनिन्। धवलसिंह बोहरा अहिले दोस्रो चरणमा आलु बजारीकरण गर्नका लागि तयारी गरिरहेका छन् । ‘पहिलो चरणमा लिएको आलु कैलालीसम्म पुग्यो’, उनले भने, ‘फेरि आलु निकालेर सुकाइरहेका छौँ । अब दोस्रो साता ट्रकमा नै तराईसम्म लिने तयारी भइरहेको छ ।’ धवलसिंहको परिवारमा अहिले पाँच जना छन् । पाँचै जना आलुकै पछाडि लागिरहेका छन् । दुई वर्ष अगाडिदेखि नै नेपाल आएका धवलसिंहलाई यसपटक भने व्यावसायिक सफलता मिलेको छ । ‘वर्षभरि काम गर्दा रु एक हजार पनि गाउँमा नकमाउने हामी अहिले निर्धक्क छौँ । समयअनुसारको व्यवसायबाट लाभ लिन सकिने रहेछ भन्ने सिकाइ पनि भयो ।’ उनले भने । यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताए। ‘कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बीउदेखि बजारसम्मको काम गरिरहेका छौँ’, विष्टले भने, ‘काम गर्ने कृषकका लागि हामी रात दिन नभनी सहयोग गर्छौं ।’ आनन्दपुरमा पनि आफूले गरेको मेहेनतअनुसार सिचाई, मलको अभाव हुँदासमेत निकै राम्रो फलेको उनले बताए । ‘कृषकले इमानदारिताका साथ काम गरेमा उहाँहरूको भविष्य कृषिमै सुनिश्चित हुन्छ ।’ उनले भने । जिल्लामा विभिन्न प्रकारका हाइब्रिड खाले तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उनले बताए । उनले भने, ‘हामीले चैते धानको पनि सफल परीक्षण गरिसकेका छौँ । ड्राइगन खेती भरखर सुरू गरेका छौँ । नतिजा सफलोन्मुखतिरै देखिएको छ ।’ नेपालमा मजदुरी गर्न पनि पाइन्न आनन्दपुरकै सीताराम तीन वर्ष अगाडि सडकमा ग्याविन जाली भर्ने काम गर्थे । तीन महिनासम्म लगातार सडकमा काम गरेको ज्याला एक वर्षसम्म पनि नपाएपछि उनी पिथौरागढ हानिए । ठेकेदारले भोलि भोलि भन्दै हैरानी पारेपछि परिवार पाल्नै समस्या भयो । विस्तारै ठेकेदारले फोन नउठाउने, अफ गर्ने भएपछि साउनको महिना सीताराम पिथौरा गए । काम गर्ने अवसर हुँदाहुँदै पनि मजदुर ठगिने हुँदा नेपालमा बस्ने समस्या हुने गरेको उनले बताए । उनले भने, ‘हामी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मान्छे । काम गराएर पैसा नदिएपछि त गाउँघरमा कसरी बस्नु’ काम गरेको पैसा समयमै पाउनुको सट्टा उल्टै ‘दश ढोग, अठार सलाम’ गर्नुपर्ने उनले बताए । ‘पिथौरागढमा भने काम गरेपछि जुन बेला पनि पैसा पाउँछ’, उनले भने, ‘पिथौरामा सानो ठूलो काम गरेपछि उसैबेला पैसा पाइन्छ । पैसाको खाँचो पनि हुँदैन । काम भने शक्तिअनुसारकै हुन्छ ।’ भारतकै पैसाले फेरिएको आनन्दपुर आनन्दपुरमा ३५ परिवार छन् । ती परिवारका सदस्य अधिकांश भारतको पिथौरागढमै छन् । सानो तिनो काम गर्न सक्ने सबै पुरूष चार महिनाबाहेकका आठ महिना मजदुरीका लागि जाने गर्छन् । पिथौरागढमा उनीहरू भारी बोक्ने, गाडी उतार्ने, भर्ने, सामान ओसारपसार गर्नेलगायतका काम गर्नुहुन्छ । धनसिंह बोहराले भने, ‘पिथौरागढमा जति काम ग¥यो, त्योअनुसारको पैसा आउँछ । तीन चार महिनामै कमाएको पैसाले पनि वर्षभरि घर खर्च चल्छ । यहाँ त खाली बस्नुपर्छ, नुन, तेल किन्ने पैसा पनि कमाउन सकिँदैन ।’ काम गरे कमाउन सकिने भन्दै बाजे बराजुको पालादेखि पिथौरागढमा हाम्रो रोजीरोटीस्थल बनेको उनले बताए । पिथौरागढमा कमाएको पैसाले अहिले आनन्दपुर नै फेरिएको छ । ‘पहिले सबैका घरहरू स–साना खरले छाएका थिए । अहिले भने गाउँको रूप नै फेरिएको छ । धेरैले पक्की घर बनाइसकेका छन् । कतिपयका निर्माणाधीन अवस्थामा छन् । घरहरू छरिएका नभएको भए टाढाबाट विछट्टै सुन्दर देखिन्थ्यो होला ।’ अहिले आनन्दपुरमा कमजोर हुनेले पनि राम्रो घर बनाइसकेको उनले बताए। पिथौरागढ आनन्दपुरवासीको रोजाइमा पर्नुको कारण नजिकको विदेशी सहर भएकाले हो । आनन्दपुरबाट बिहान गए साँझ पिथौरागढ पुग्न सकिने, सधैँ गएको ठाउँ पनि हुँदा काम गर्न सजिलो हुँदा सबैको मजदुरको छनोटमा परेको उनले बताए । रासस

६ करोड लगानीमा खुल्यो लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट, ५५ जनालाई रोजगारी

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बिहीवारदेखि नेपालीहरुलाई भियतनामी परिकार चखाउने उद्देश्यसहित भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको हो । रेष्टुरेण्टका सञ्चालक नविन सारुले नेपालमा विगत १२ वर्षदेखि भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै आएको बताए । उनले नेपालमा पनि भियतनामी खाना खाने मानिसहरु बिस्तारै वृद्धि हुँदै गएको बताए । उनले काठमाडौं उपत्यकाको तीन स्थानमा भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै ५५ जनालाई रोजगारी दिइरहेको बताए । सञ्चालक सारुले नेपाली र विदेशी पाहुनालाई एउटै सत्कार दिने उद्देश्यले रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए । उनले शुरुमा रेष्टुरेण्ट खोल्दा ११ लाख लगानीमा शुरु गरिएको रेष्टुरेण्टमा करिब ६ करोड लगानी लागेको बताए । उनले काठमाडौं उपत्यकाको तीन ठाउँ ललितपुरको झम्सिखेल,बौद्ध र लाजिम्पाटमा सञ्चालन रहेको बताए । उनले रेष्टुरेण्टमा करिव १०० जना भन्दा बढीलाई एकै पटक सेवा दिन सकिने बताए ।

निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी नेपाल माइक्रोले शुरु गर्यो कारोबार [फोटोफिचर]

काठमाडौं । निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले बिहीबार अर्थात असार २८ गतेदेखि कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले बिहीबार चितवनको भरतपुरमा आयोजित एक समारोहबीच कम्पनीको उद्घाटन गरी आफ्नो व्यवसायिक कारोबार औपचारिक रुपमा शुरु गरेको हो । उक्त कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् । यससँगै इन्स्योरेन्सले बिहीबारबाट देशभर निर्जीवन लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्न पाउने छ । कम्पनीले केन्द्रिय कार्यालय भने चितवनको भरतपुर(१ मा छ । कारोबार सञ्चालन गरेपश्चात नेपाल माइक्रो इन्स्योरेन्स निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी हुनेछ । तर, लघु बीमाकाे क्षेत्रमा भने नेपाल माइक्रो इन्स्योरेन्स दोस्राे कम्पनी हाे । नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीले घर, सम्पत्ति तथा व्यवसाय र इन्जिनियरिङ्गको अधिकतम ५०/५० लाख रुपैयाँसम्मको लघुबीमा गर्न पाउने छ । हाल कम्पनीले सम्पत्ति बीमा पोलिसी बिक्रीका लागि नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएको छ । नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष आशिष श्रेष्ठ र सञ्चालकमा लतिका गोल्यान, सिद्धान्त झुनझुनवाला र प्रविना दाहाल छन् । त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल राज गिरी र महाप्रबन्धकको जिम्मेवारीमा प्रबिना नेपाल छन् । त्यसैगरी, कम्पनीको विभागीय प्रमुखमा तीन जना छन् । जसमध्ये प्रशासन विभाग प्रमुखमा अमृत लामिछाने, सूचना प्रविधि विभागको प्रमुखमा सुशान थापा र मार्केटिङ हेडमा अमृत अधिकारी छन् । आइटी प्रमुख थापा कम्पनीको सूचना अधिकारी समेत हुन् । बिहीबारदेखि कारोबार सुरु गर्दै नेपाल माइक्रो इन्स्योरेन्स, सीईओ भन्छन् : ठूला कम्पनीले गर्न नसकेको बिजनेस गर्छौं

नेकोन एयरलाई ऋण चुक्ता गर्न ५ बैंकको ताकेता

काठमाडौं । नेकोन एयर लिमिटेडका सञ्चालक दिपमणी राजभण्डारी र रबिन्द्र श्रेष्ठलाई विभिन्न बैंकबाट लिएको ऋण चुक्ता गर्न ताकेता गरिएको छ । ऋण असुली न्यायाधिकरणले बैंकबाट लिएको कर्जा ७ दिनभित्र चुक्ता गर्न नेकोन एयरका सञ्चालकहरुलाई ताकेता गरेको हो । नेकोन एयरका सञ्चालक रहेका दिपमणि राजभण्डारी र रबिन्द्र श्रेष्ठले बैंकहरुबाट लिएको कर्जाको साँवा र ब्याजसहित ७ दिनभित्र चुक्ता गर्न भनेको हो । नेकोन एयरको नामबाट राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकबाट कर्जा लिएका थिए । तर, लामो समयसम्म पनि कर्जा असुल नगरेपछि चुक्ता गर्न ऋण असुली न्यायाधिकरणले ताकेता गरेको हो । नेकोन एयरका सञ्चालक दिपमणि राजभण्डारी र रबिन्द्र श्रेष्ठले साविक नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक (हाल एनआईसि एसिया बैंक)बाट ७७ लाख ३७ हजार ५३७ रुपैयाँ कर्जा लिएका थिए । सो ऋणको १३.५ प्रतिशत ब्याजसहित साँवा रकम चुक्ता गर्नु पर्नेछ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकबाट ९६ लाख ६३ हजार २९३ रुपैयाँ ऋण लिएका थिए । जसको १४ प्रतिशतब्याजसहित साँवा तिर्न ऋण असुली न्यायाधिकरणले ताकेता गरेको हो । यस्तै, नेपाल एसबिआई बैंकको ४ करोड ५८ लाख ७० हजार ४२५ रुपैयाँ कर्जा छ । सो कर्जाको १४ प्रतिशत ब्याजसहित साँवा रकम तिर्नु पर्नेछ । यस्तै, नबिल बैंकको १३ करोड २९ लाख ८ हजार रुपैयाँ कर्जा चुक्ता गर्नु पर्नेछ । यस्तै, साविक नेपाल क्रेडिट एण्ड कमर्श बैंक (कुमारी बैंक) को १ करोड ४४ लाख ७० हजार ९६९ रुपैयाँ चुक्ता गर्न भनेको हो । जसको ब्याज १५.१७ प्रतिशत रहेको छ ।

‘सुर्तीजन्य पदार्थबाट उठने करको रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छ ’

  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सुर्तीजन्य पदार्थमा लाग्ने कर स्वरुपको झण्डै  छ अर्ब स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने माग गरेका हुन् । अहिले मन्त्रालयले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने  चार अर्ब मात्र प्राप्त गरेको उनको भनाइ छ । उनले करबाट प्राप्त रकमबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप्न सकिने बताए । उनले भने, ‘मन्त्रालयसँग एक चौथाइ दरबन्दी पनि छैन, म २२ वर्षअघि यस मन्त्रालयमा आउँदा ३३ हजार कर्मचारीको सङ्ख्या अहिले ३१ हजारमा सीमित छ ।’ उनले स्वास्थ्य सेवाको विस्तार गर्न स्वास्थ्यका भौतिक पूर्वाधारसँगै स्वास्थ्यको जनशक्तिको आवश्यकता उत्तिकै भएको जनाउँदै दरबन्दी थप्न आवश्यक भएको औँल्याए।  ‘वडास्तरसम्म स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने व्यवस्था हुँदै गर्दा स्वास्थ्य उपकरणसँगै स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि पनि रु छ अर्ब रकम यस मन्त्रालयले प्राप्त गर्नुपर्दछ’, उनले भने । मन्त्री बस्नेतले जथाभावी कर्मचारी नियुक्ति हुँदा अहिले समस्या देखिएको बताए । उनले भद्रगोल कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा दिएको सात बुँदे निर्देशन कडाइका साथ लागू गर्नेप्रतिबद्धता व्यक्त गरे । ‘सबै चिकित्सकलाई राजधानी चाहिएको छ’, उनले भने, ‘कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशनलाई कडाइका साथ कदम चालेन भने मन्त्रालय सुधार्नसक्ने अवस्था छैन ।’ उनले बेथिति हटाउनका लागि जोखिमका साथ कदम उठाएको जनाउँदै सदनको समेत सहयोगका लागि अपिल गरे । उनले भने, ‘९५ करोड एकमुष्ठ ल्याएर फाजिलका कर्मचारीलाई तलब दिइयो, अर्को वर्ष यही अवस्था छाड्ने हो भने  डेढ अर्ब रकम आवश्यक हुन्छ, राज्यले धान्न सक्ने अवस्था छैन ।’  बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा उनले ‘भिभिआइपी’को उपचारसमेत देशभित्रै गर्ने व्यवस्थाका लागि विशेषज्ञ चिकित्सकको समूह बनाउने तयारीबारे जानकारी दिए । उनले भने, ‘सातै प्रदेशस्तर र सङ्घीयस्तरमा सबै विधाका विशेषज्ञ चिकित्सकको टोली बनाउने र भिभिआइपी कसैलाई पनि उपचार गर्नुपर्ने स्थितिमा सबैभन्दा पहिलो त्यो मेडिकल टोलीले उपचार गर्ने निर्णय गरेका छौँ, त्यो टोलीको सुझावका आधारमा मात्र देशबाहिर उपचार गर्न सिफारिस गरिनेछ ।’ यस्तै उनले चिकित्सा शिक्षा विधेयकका कारण नर्सिङ्, प्यारामेडिक्स र चिकित्सकको उत्पादन कमजोर बन्दै गएको जनाउँदै नयाँ नीति निर्माण गर्नेबारे आवश्यकता औँल्याए । सदनमा उनले सङ्घीयस्तरका अस्पतालमा १० प्रतिशत निःशुल्क शय्याको लागू गरेको विषयमा समेत जानकारी गराएका थिए ।

बैंकिङ विज्ञ बीएन घर्तीको पुस्तक : म्यानेजरसँग बसेर चिया पिउँंला भन्दै ग्राहक बोलाउथ्यौं

काठमाडौं । बैंकिङ विज्ञ बीएन घर्तीले बैंकिङ क्षेत्रको आफ्नो अनुभवलाई समेटेर पुस्तक प्रकाशन गरेका छन् । ‘बैंकिङ अनुशासन, दिगो बिकासका लागि’ शीर्षकको पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्दछ भन्ने विषय विभिन्न समयमा सन्दर्भसहित उल्लेख गरिएको छ । घर्तीको पुस्तकबारे पूर्व बैंकर सशिन जोशीले भनेका छन्, ‘बीएन घर्तीद्वारा लेखिएको ‘बैंकिङ अनुशासन’ शीर्षकको पुस्तक नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना हो ।’ जोशीले एनआइसी एसिया र नबिल बैंकमा समेत गरेर १६ वर्ष बैंकको सीईओ भएर काम गरेका छन् । आफूले १६ वर्षमा देखे भोगेको कतिपय सन्दर्भसमेत पुस्तकमा पढ्न पाइएको जोशीले बताए । जोशीले भने, ‘विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरुका लागिमात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरुका लागि पनि ‘बैंकिङ अनुशासन’ एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुनेछ भन्ने मलाई लागेको छ ।’ घर्तीको पुस्तक अंश– ‘बैंकको टलक्क टल्किने अफिस देखेपछि ग्राहक जुत्ता खोलेर मात्रै भित्र पस्थे’ २०५४ सालमा एनबी बैंकले जनकपुरमा शाखा खोल्यो । जनकपुरमा प्राइभेट बैंकहरुमध्येको यो पहिलो शाखा थियो । चिटिक्क परेको र टलक्क टल्किने अफिस थियो । कर्मचारी टाइसुटमा सजिएर कार्यालयमा आउथे । कारोवारका लागि कम्प्युटराइज्ड प्रणालीको व्यवस्था थियो । कर्मचारीले छिटो र छरितो सेवा प्रदान गर्दथे । म पनि ती कर्मचारी मध्येको एक थिँए । आक्कल झुक्कल मात्र ग्राहक आउथे । आए पनि कार्यालय भित्र पस्न गाह्रो मान्थे । जुत्ता चप्पल खोलेर मात्र कार्यालय भित्र पस्दथे । चप्पल खोल्न पर्दैैन भनेर सम्झाउँदा पनि कतिपयले मान्दैनथे । अर्कोतिर, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक हस्तलिखित लेखा प्रणालीका साथ संचालित थिए । त्यसैले, सेवा सम्पादन गर्नका लागि घण्टौं लाग्दथ्यो । नगद काउन्टर र विप्रेषण शाखामा त भिडभाडले गर्दा पाइला राख्न पनि मुस्किल हुन्थ्यो । एउटा डिमाण्ड ड्राफ्ट बनाउन करिब ३ घण्टा कुर्नु पर्दथ्यो । त्यसैले, ग्राहकहरु बिहान १०/११ बजेतिर रकम जम्मा गरी निवेदन दिन्थे । दिउसो २ बजेपछि गएर ड्राफ्ट लिएर फर्कन्थे । एनबी बैंकले बढीमा १५ मिनेटमा सबै काम सकेर ड्राफ्ट दिन सक्दथ्यो । नेपालमा आधुनिक बैकिङ्गको सुरुवात भएको १२ वर्ष भइसकेको थियो । तर, जनकपुरबासीले २०५४ सालमा मात्र पहिलो पटक प्रविधियुक्त बैकिङ सेवाको स्वाद चाख्न पाएका थिए । आधुनिक बैकिङ सेवा सञ्चालन गरेर मात्र पुगेन । मानिसहरुलाई उक्त सेवा लिन प्रेरित गर्नु थियो । हामी ग्राहकको घरघरमा जान थाल्यौं । धेरै मानिसहरु हामीलाई अविश्वास प्रकट गर्दथे । ‘कारोवार गर्नु पर्दैन, मात्र बैंक हेर्न आउनुस, शाखा प्रबन्धकसँग बसेर चिया पिउँंला’ भन्थ्यौं । त्यसपछि भने बिस्तारै केहि व्यक्तिहरु आउन थाले । किनकि, त्यति बेला बैंकको शाखा प्रबन्धकसँग सम्बन्ध हुनुलाई गौरवकोरूपमा लिइन्थ्यो । उनीहरु आइसकेपछि हामीले कारोबार छिटो छरितो रुपमा सम्पन्न भएको देखाउथ्यौं । त्यस्ले उनीहरुमा केही प्रभाव पार्दथ्यो । त्यसपछि, कारोवार गर्न सुरू गर्थे । बिस्तारै—बिस्तारै हामीले मार्केटिङ्ग क्रियाकलाप पनि बढाउदै लग्यौं । ग्राहकको भिड्भाड् पनि बढ्दै जान थाल्यो । नभन्दै, १ बर्ष मै निक्षेप मात्रै करिव रु ३० करोड पुग्यो । ०५४/५५ साल तिर त्यति निक्षेपलाई पनि उल्लेख्य मानिन्थ्यो । २०५४ साल आषाढमा कृषि बिकास बैंकको समेत गरी बाणिज्य बैंकहरुको निक्षेप जम्मा ८१ अर्व रुपैंयाँ थियो । कर्जा जम्मा ५८ अर्व रुपैंयाँ थियो ।

वित्तीय क्षेत्रका कर्मचारी सुरक्षा माग्न पुगे जिल्ला प्रशासन, माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । नेपाल वित्तीय क्षेत्र कर्मचारी संघले सुरक्षाको माग राख्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पुगेका हुन्स । उनीहरुले प्रशासनललाई ध्यानआकर्षण पत्र बुझाएका छन् । काठमाडौंमा संघका वरिष्ठ उपाध्यक्ष  परशुराम खनालको नेतृत्वमा गएको टोलीले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ध्यानआकर्षण पत्र बुझाएको हो । संघले आफु नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत प्रत्यक्ष २० हजार भन्दा बढी कर्मचारीहरुलाई संगठित गर्दै अप्रत्यक्ष रुपमा यस क्षेत्रका करिब ३ लाख भन्दा बढी कर्मचारीहरुको हित संरक्षणको लागि क्रियाशिल रहेको बताउँदै ती सबै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने माग राखेको हो । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमाथि आक्रमण गर्ने र ति संस्थाको सम्पतिमा क्षति पु¥याउने व्यक्तिीहरु सक्रिय भएको बताउँदै ती व्यक्तीलाई कानुनी दायरामा ल्याउन संघले माग राखेको छ । राज्यले अत्यावश्यक सेवा अन्तरगत वर्गिकरण गरेको बैंक तथा वित्तीय संस्थाहरु तथा त्यहाँ कार्यरत कर्मचारीहरु माथि निरन्तर भइरहेको आक्रमणको कारण वर्तमान समयमा कर्मचारीहरुले त्रासपूर्ण वातावरणमा कार्य गरिरहनु परेको उल्लेख गर्दै संघले कानून विपरीतको अराजक घटनाहरु हुन नदिन र कर्मचारीहरुको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्न सरकार समक्ष माग राखेको हो । आफ्नो मागलाई वेवास्ता गरी पुनः यस प्रकारका घटनाहरु दोहोरिएमा सम्पूर्ण बैंक, बीमा तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु कार्यालयको काम छाडेर दबाबमूलक विरोधका कार्यक्रमहरुका साथ सडकमा आउन बाध्य हुने समेत ध्यानआकर्षण पत्रमा उल्लेख छ ।