काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । नेपाल वित्तीय क्षेत्र कर्मचारी संघले सुरक्षाको माग राख्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पुगेका हुन्स । उनीहरुले प्रशासनललाई ध्यानआकर्षण पत्र बुझाएका छन् । काठमाडौंमा संघका वरिष्ठ उपाध्यक्ष परशुराम खनालको नेतृत्वमा गएको टोलीले बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ध्यानआकर्षण पत्र बुझाएको हो ।
संघले आफु नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत प्रत्यक्ष २० हजार भन्दा बढी कर्मचारीहरुलाई संगठित गर्दै अप्रत्यक्ष रुपमा यस क्षेत्रका करिब ३ लाख भन्दा बढी कर्मचारीहरुको हित संरक्षणको लागि क्रियाशिल रहेको बताउँदै ती सबै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने माग राखेको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीमाथि आक्रमण गर्ने र ति संस्थाको सम्पतिमा क्षति पु¥याउने व्यक्तिीहरु सक्रिय भएको बताउँदै ती व्यक्तीलाई कानुनी दायरामा ल्याउन संघले माग राखेको छ ।
राज्यले अत्यावश्यक सेवा अन्तरगत वर्गिकरण गरेको बैंक तथा वित्तीय संस्थाहरु तथा त्यहाँ कार्यरत कर्मचारीहरु माथि निरन्तर भइरहेको आक्रमणको कारण वर्तमान समयमा कर्मचारीहरुले त्रासपूर्ण वातावरणमा कार्य गरिरहनु परेको उल्लेख गर्दै संघले कानून विपरीतको अराजक घटनाहरु हुन नदिन र कर्मचारीहरुको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्न सरकार समक्ष माग राखेको हो ।
आफ्नो मागलाई वेवास्ता गरी पुनः यस प्रकारका घटनाहरु दोहोरिएमा सम्पूर्ण बैंक, बीमा तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु कार्यालयको काम छाडेर दबाबमूलक विरोधका कार्यक्रमहरुका साथ सडकमा आउन बाध्य हुने समेत ध्यानआकर्षण पत्रमा उल्लेख छ ।