विकासन्युज

तनहुँका किसान पशुपालनमा आकर्षित : मासु, अण्डा र दूधमा आत्मनिर्भर

तनहुँ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उनको भनाइ थियो । उनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८.५४ लिटर उपलब्धता छ त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा. श्रेष्ठले जानकारी दिए । यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ । दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो । केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी सङ्कलन केन्द्रसमेत खोलिएका छन् ।सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका-४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ । उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए। उनका अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ । ‘दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । दूध सङ्कलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ’, सिक्देलले भने, ‘दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।’ दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन्। दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन् । पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिए । उनका अनुसार फार्ममा ३० वटा गाई छन् । ‘फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्’, पौडलले भने, ‘फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।’ दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उनले बताए । रासस

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

बैतडी । वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्णरुपमा बन्द भएका छन् । पहिरो पन्छाउनका लागि डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आइईएमआइएस सफ्टवेयर नलिने १५ विद्यालय कारबाहीमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई कारबाही गरिएको हो । महानगरपालिकाअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले बुधबार सूचना प्रकाशित गरी आइईएमआइएस नलिएका र लिएर पनि अद्यावधिक नगर्ने पशुपति शिक्षा मन्दिर, पपुलर इङ्लिस बोर्डिङ स्कुल, पिसजोन एकेडेमी, शान्ति निकेतन इङ्लिस प्राइमेरी स्कुल, ज्ञान निकेतन इङ्लिस बोर्डिङ स्कुल, बाबा इङ्लिस बोर्डिङ स्कुल, स्माइल एकेडेमी, श्री नरसिंह पब्लिक इङ्लिस बोर्डिङ स्कुल, वीरगञ्ज पब्लिक सेकेन्ड्ररी स्कुल, नारायणी एकेडेमी, कुमुदिनी एकेडेमी, हंसराज इङ्लिस बोर्डिङ्ग स्कुल, दिव्यप्रकाश एकेडेमी, सुफाह आइडिएल एकेडेमी र सावित्री नेशनल स्कुललाई कारबाहीस्वरुप जरिवाना गरिएको जनाएको छ । आइईएमआइएस लिएर पनि अद्यावधिक नगर्ने विद्यालयलाई पाँच हजार र नलिएका विद्यालयलाई १० हजारका दरले जरिवाना गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए । पहिलो चरणमा जरिवाना मात्र गरिएको र आइईएमआइएस लिन र अद्यावधिक गर्न अटेर गरे थप कारबाही गरिने उनले बताए । यस्तै आइईएमआइएस अद्यावधिक गर्दा गलत तथ्याङ्क प्रविष्ट गर्ने विद्यालयलाई १५ हजार जरिवाना गर्ने तयारी गरिएको प्रमुख कर्णको भनाइ छ । कारबाही गरिएका विद्यालयले यही असार ३१ गतेभित्र नियम बमोजिम जरिवाना बुझाएको रसिद र अद्यावधिक गरेको आइईएमआइएसको रसिदसहित शैक्षिक प्रशासन महाशाखामा उपस्थित हुन निर्देशन दिएको उनले बताए । रासस

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

हुम्ला । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । रासस

असार ३० गतेसम्म सबै राजनीतिक कार्यक्रम स्थगित

काठमाडौं । असार ३० गतेसम्म सबै राजनीतिक कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सरकारी, राजनीतिक, कूटनीतिक छलफल र बैठक असार ३० गतेसम्मका लागि स्थगित गरेका छन् । बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।

हिमालय एयरलाइन्सले सुरु गर्यो इन्टरनेट बुकिङइञ्जिन

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङइञ्जिन सेवा सुरु गरेको छ । एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन् । यो सुविधा प्रयोग गर्ने यात्रुलाई विभिन्न गन्तव्यसँग जोड्न सहज हुने कम्पनीको अपेक्षा छ । आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट यो सेवाको प्रारम्भिक चरणमा ग्राहकले मोबाइलबाट टिकट खरिदका लागि इसेवावालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस सेवा निकट भविष्यमा उपलब्ध गराइने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवा उपभोग गर्न सकिनेछ । एयरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवा बुकिङ, संयुक्त सेवा चयन गर्नेजस्ता अन्य विभिन्न सेवा पनि ल्याएको छ । साथै यात्रुले विमानस्थलमा समय बचत गर्न अनलाइन चेक इन पनि गर्न सक्नेछन् । एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सेवा सुरुआतका साथै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रयासरत रहेको बताए । उनले भने, ’हामी ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ । त्यसैले अनलाइन टिकटका लागि सरल, छिटोछरितो र अधिक सुविधाको आनन्द प्रयोगकर्तालाई हुनेगरीे इन्टरनेट बुकिङइञ्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ ।’ नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकलाई सहजरुपमा टिकट बुकिङ अनुभव प्रदान गर्नेछ ।

इक्यान निर्वाचन–२०८० मा विष्णुहरि पाण्डे समूह कार्ययोजना सहित प्रस्तुत

काठमाडौं । शनिबार हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन–२०८० का लागि विष्णुहरि पाण्डे समूहले आफूलाई आगामी दुई वर्षे कार्ययोजना सहित प्रस्तुत गरेको छ । पाण्डे समूहले बिहीबार काठमाडौंस्थित होटर मेरियटमा उम्मेदवार परिचय कार्यक्रमको आयोजना गरेर आफ्नो चुनावी कार्ययोजना प्रस्तुत गरेको हो । ‘यु से वी डु’ र ‘सही व्यक्ति सही स्थान, सुदृढ र समृद्ध इक्यान’ मुख्य नारामा प्रस्तुत गरिएको कार्ययोजना तत्कालीन, प्राथमिक र दीर्घकालिन महत्वका योजनाहरु प्रस्तु गरिएको छ । पाण्डे समूहले प्रस्तुत गरेको कार्ययोजनालाई कार्यक्रममा उपस्थिति जनाएका पूर्व पदाधिकारी, सल्लाहकार तथा अन्य वक्ताहरुले प्रविधिमैत्री भएको र इक्यानको लागि आवश्यक भएको बताएका थिए । अधिकांश पदाधिकारी तथा शाखाको समर्थन पाण्डे समूहलाई ४६७ जना मतदाता रहेको इक्यान निर्वाचन–२०८० मा पदाधिकारी तथा सदस्य निर्वाचनको लागि चारवटा समूहले भिन्ना भिन्नै प्यानल बनाएर उम्मेदवारी प्रस्तुत गरेका छन् । बिहीबार पाण्डे समूहले आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई हेर्दा अधिकांश पूर्व पदाधिकारी तथा शाखाको समर्थन सोही समूहलाई भएको देखिन्छ । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष तथा पूर्वपदाधिकारी र चितवन, झापा, पोखरा र रुपन्देहीका शाखा अध्यक्षहरुले पाण्डेको समूहलाई समर्थन जनाएका थिए । त्यस्तै, इक्यानका पूर्व अध्यक्ष राजु गुरुङले राजनैतिक रुपमा पनि सबै विचारको नेतृत्व पाण्डे समूहले गरेकाले सो समूहको नेतृत्वले विजयी गर्ने बताएका थिए । ४६७ जना मतदाता मध्ये पाण्डे समूहले बिहीबार आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा तीन सय भन्दा धेरैको सहभागिता रहेको थियो । जसमा इक्यानका वर्तमान अध्यक्ष प्रकाश पाण्डे समेत अतिथिको रुपमा सहभागी भएर शुभकामना दिएका थिए । यस्तो छ, विष्णुहरि पाण्डे समूहका उम्मेदवारहरुको सूची अध्यक्ष : विष्णुहरि पाण्डे उपाध्यक्ष : लक्ष्मण पौडेल, भुवन बहादुर क्षेत्री र प्रकाश श्रेष्ठ महासचिव : बासुदेव दाहाल सचिव : शिबप्रसाद त्रिपाठी र फिलिपकुमार क्षेत्री कोशाध्यक्ष : बिनोदकुमार सुवेदी सह–कोशाध्यक्ष : हेमराज सिग्देल सदस्यहरु : आशिश रायमाझी, सुरज सिलवाल, मन्जित ढकाल, सत्येन्द्र झा, शशीप्रसाद भट्टराई, साधना पुडासैनी, शिबप्रसाद अर्याल, सान्ताकुमार शर्मा, श्रीराम गिरी ।

महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ । महानगर अन्तर्गतको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी शैक्षिक सत्र २०८०–८१ का लागि छात्रवृत्तिका आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म आवेदन खुला गरेको हो । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने उक्त सूचनामा उल्लेख गरिएको छ । रासस