
काठमाडौं । बैंकिङ विज्ञ बीएन घर्तीले बैंकिङ क्षेत्रको आफ्नो अनुभवलाई समेटेर पुस्तक प्रकाशन गरेका छन् ।
‘बैंकिङ अनुशासन, दिगो बिकासका लागि’ शीर्षकको पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्दछ भन्ने विषय विभिन्न समयमा सन्दर्भसहित उल्लेख गरिएको छ ।
घर्तीको पुस्तकबारे पूर्व बैंकर सशिन जोशीले भनेका छन्, ‘बीएन घर्तीद्वारा लेखिएको ‘बैंकिङ अनुशासन’ शीर्षकको पुस्तक नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना हो ।’
जोशीले एनआइसी एसिया र नबिल बैंकमा समेत गरेर १६ वर्ष बैंकको सीईओ भएर काम गरेका छन् ।
आफूले १६ वर्षमा देखे भोगेको कतिपय सन्दर्भसमेत पुस्तकमा पढ्न पाइएको जोशीले बताए । जोशीले भने, ‘विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरुका लागिमात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरुका लागि पनि ‘बैंकिङ अनुशासन’ एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुनेछ भन्ने मलाई लागेको छ ।’
घर्तीको पुस्तक अंश–
‘बैंकको टलक्क टल्किने अफिस देखेपछि ग्राहक जुत्ता खोलेर मात्रै भित्र पस्थे’
२०५४ सालमा एनबी बैंकले जनकपुरमा शाखा खोल्यो । जनकपुरमा प्राइभेट बैंकहरुमध्येको यो पहिलो शाखा थियो । चिटिक्क परेको र टलक्क टल्किने अफिस थियो । कर्मचारी टाइसुटमा सजिएर कार्यालयमा आउथे । कारोवारका लागि कम्प्युटराइज्ड प्रणालीको व्यवस्था थियो । कर्मचारीले छिटो र छरितो सेवा प्रदान गर्दथे ।
म पनि ती कर्मचारी मध्येको एक थिँए । आक्कल झुक्कल मात्र ग्राहक आउथे । आए पनि कार्यालय भित्र पस्न गाह्रो मान्थे । जुत्ता चप्पल खोलेर मात्र कार्यालय भित्र पस्दथे । चप्पल खोल्न पर्दैैन भनेर सम्झाउँदा पनि कतिपयले मान्दैनथे ।
अर्कोतिर, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक हस्तलिखित लेखा प्रणालीका साथ संचालित थिए । त्यसैले, सेवा सम्पादन गर्नका लागि घण्टौं लाग्दथ्यो । नगद काउन्टर र विप्रेषण शाखामा त भिडभाडले गर्दा पाइला राख्न पनि मुस्किल हुन्थ्यो । एउटा डिमाण्ड ड्राफ्ट बनाउन करिब ३ घण्टा कुर्नु पर्दथ्यो । त्यसैले, ग्राहकहरु बिहान १०/११ बजेतिर रकम जम्मा गरी निवेदन दिन्थे । दिउसो २ बजेपछि गएर ड्राफ्ट लिएर फर्कन्थे ।
एनबी बैंकले बढीमा १५ मिनेटमा सबै काम सकेर ड्राफ्ट दिन सक्दथ्यो । नेपालमा आधुनिक बैकिङ्गको सुरुवात भएको १२ वर्ष भइसकेको थियो । तर, जनकपुरबासीले २०५४ सालमा मात्र पहिलो पटक प्रविधियुक्त बैकिङ सेवाको स्वाद चाख्न पाएका थिए ।
आधुनिक बैकिङ सेवा सञ्चालन गरेर मात्र पुगेन । मानिसहरुलाई उक्त सेवा लिन प्रेरित गर्नु थियो । हामी ग्राहकको घरघरमा जान थाल्यौं । धेरै मानिसहरु हामीलाई अविश्वास प्रकट गर्दथे । ‘कारोवार गर्नु पर्दैन, मात्र बैंक हेर्न आउनुस, शाखा प्रबन्धकसँग बसेर चिया पिउँंला’ भन्थ्यौं ।
त्यसपछि भने बिस्तारै केहि व्यक्तिहरु आउन थाले । किनकि, त्यति बेला बैंकको शाखा प्रबन्धकसँग सम्बन्ध हुनुलाई गौरवकोरूपमा लिइन्थ्यो । उनीहरु आइसकेपछि हामीले कारोबार छिटो छरितो रुपमा सम्पन्न भएको देखाउथ्यौं । त्यस्ले उनीहरुमा केही प्रभाव पार्दथ्यो । त्यसपछि, कारोवार गर्न सुरू गर्थे ।
बिस्तारै—बिस्तारै हामीले मार्केटिङ्ग क्रियाकलाप पनि बढाउदै लग्यौं । ग्राहकको भिड्भाड् पनि बढ्दै जान थाल्यो । नभन्दै, १ बर्ष मै निक्षेप मात्रै करिव रु ३० करोड पुग्यो । ०५४/५५ साल तिर त्यति निक्षेपलाई पनि उल्लेख्य मानिन्थ्यो । २०५४ साल आषाढमा कृषि बिकास बैंकको समेत गरी बाणिज्य बैंकहरुको निक्षेप जम्मा ८१ अर्व रुपैंयाँ थियो । कर्जा जम्मा ५८ अर्व रुपैंयाँ थियो ।