एकैदिन तोलामा ८ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसाहीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुन १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १४ सय ४० रुपैयाँमा कारोबार भएको छ ।
अब बैंकहरुले आफ्नै तरिकाले ब्याज निर्धारण गर्न पाउने
काठमाडौं । वाणिज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स संघ (एनबीए)ले बैंकहरुले स्वतन्त्र रुपले आफै ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको छ । बिहीबार बसेको संघको बैठकले अब बैंकहरुले स्वतन्त्र रुपले ब्याज निर्धारण गर्न पाउन सक्ने निर्णय गरेको हो । संघले लामो सयमदेखि गर्दै आएको ब्याज कार्टेलिङलाई खारेज गरेको गर्दै यस्तो निर्णय गरेको हो । बैंकरहरुले साउन १ गतेदेखि लागू हुने ब्याज सम्बन्धित संस्थाले नै निर्धारण गर्नेछन् । संघका सदस्य तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अब सम्बन्धित संस्थाले ब्याज निर्धारण गर्न पाउने बताए । उनका अनुसार बैंकहरुले नेपाल राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याज निर्धारण गर्न स्वतन्त्र हुनेछन् । अहिले साधारण मुद्दती निक्षेपको ब्याज दर ९.९९ प्रतिशत छ। अब बैंकहरुले चाहेमा यसको १० प्रतिशतका दरले घटाउन वा बढाउन सक्नेछन् । बैंकर्स संघको यो निर्णयसँगै लामो समयदेखि ब्याजदरमा हुँदै आएको कार्टेलिङको अन्त्य भएको छ ।
नबिल बैंकको ३९ औँ वार्षिकोत्सव, प्रविधिको प्रयोग र सरल बैंकिङ सेवामा एक कदम अघि
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंकले ३९औँ वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंकले ३९ वर्षको यात्रा पूरा गरेको छ । बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ । ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखेर बैंकले आफ्नो पृथक चिनारी बनाएको छ । ३९ औं वार्षिकोत्सवको अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए । त्यस्तै बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे । कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैंक अब्बल हुन सकेको उनको भनाई छ । बैंक स्थापना काल देखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि राखिएकोले पनि ग्राहकको मन जित्दै विश्वासिलो बैंकका रूपमा रहन सफल भएको प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाई छ। दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए । एक कदम अघि नबिल बैंक सरल र ग्राहक मैत्री सेवा दिने क्रममा नबिल बैंकले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएको छ । सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङको सुरु गरेको थियो । नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम सर्भिसको सुरुवात गरेको थियो । त्यस्तै गरी सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङको सुरु गरी मोबाइलबाट बैंकिङ सुविधा लिने प्रविधि भित्राइएको थियो । नबिल बैंकले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो । सन् २०१६ सालमा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो । नबिलले पछिल्लो पटक सन् २०२२ सालमा एन बैंकको सुरुवात गरेर नेपालमा पहिलो पटक नियो बैंकिङको सुरु गरेको थियो ।
‘नाडा अटो शो’ भदौ २६ गतेदेखि सुरु हुने
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । नाडा अटो शो भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । नाडाले प्रदर्शनीका लागि बुकिङसमेत खोलेको छ । हरेक वर्षको दसैँ अगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा आयोजना भएको थिएन । २०२२ मा सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका हुन पूर्ण रूपमा भएको थिएन । गत वर्ष नाडाले ईभी एक्सपो २०२२ आयोजना गरेको थियो । आउँदो नाडा अटो शोमा चार पांग्रे, दुई पांगे्र सवारीसाधनका साथै स्पेयर पाट्र्स, टायरटयूब, ब्याट्री लगायतका स्टल रहनेछन् । प्रदर्शनीमा बैंक, बिमालगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्था समेतको सहभागिता रहने छ ।
आजदेखि काठमाडौं–सियान उडान गर्दै तिब्बत एयरलाइन्स
फाइल फाेटाे काठमाडौं । बिहीबारदेखि काठमाडौं–सियान सिधा उडान सुरु हुने भएको छ । कोरोना महामारीपछि चिनियाँ वायुसेवा कम्पनी तिब्बत एयरलाइन्सले चीनको सियानबाट काठमाडौंमा उडान गर्न लागेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले सातामा दुई उडान गर्ने गरी अनुमति दिएको हो । तिब्बत एयरलाइन्सको कोभिड अर्थात तीन वर्ष अगाडी काठमाडौं छेन्दु चार्टर्ड उडान गर्दै आएकोमा बिहीबारदेखि नियमित उडान सुरु गर्न लागेको हो । हाल नेपालमा चीनको छेन्दु–तियान्फुबाट एयर चाइना र सिचुवान, ग्वाङझाउबाट चाइना साउर्दन, कुन्मिङबाट चाइना इस्टर्न तथा हङकङबाट क्याथे प्यासिफिकले उडान गर्दै आइरहेका छन् । त्यस्तै, काठमाडौंबाट हिमालय एयरलायन्सले बेइजिङ उडान गर्दै आइरहेको छ । तिब्बत एयरलायन्स थपिएसँगै काठमाडौंबाट चीनमा सिधा उडान गर्ने वायुसेवाको संख्या ७ पुगेको छ ।
सामाजिक सुरक्षा कोषमा सरकारको योगदान ९.३७ प्रतिशत हुने, श्रमिकबीच नयाँ विभेदको शुरुवात
काठमाडौं । सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट ९.३७ प्रतिशत योगदान रहने भएको छ । तर यस्तो सुविधा सबैले नपाउने सामाजिक सुरक्षा कोषले जनाएको छ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको लागि स्थानीय सरकारले ९.३७ प्रतिशत योगदान गर्न लागिएको कोषले जनाएको छ । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिका बीच सम्झौतासहित यसको शुरुवात भएको छ । सहमति पत्रमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हस्ताक्षर गरेका छन् । याे सुविधाबाट औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिक, स्वरोजगारमा रहेका स्वरोजगारमा रहेका श्रमिकलाई बञ्चित गरिएकाे छ । यस्ताे सुविधाबाट औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिक, स्वरोजगारमा रहेका स्वरोजगारमा रहेका श्रमिकलाई बञ्चित गरिएकाे छ । एक्काइसौं शताब्दीमा श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुबीच विभेद हुने गरी संघीय सरकार र स्थानीय सरकारसँग सम्झौता गर्ने र फरक फरक सुविधाका कार्यक्रम सञ्चालन गर्न थालेपछि कोषको आलोचना शुरु भएको छ । यसअघि पनि सामाजिक सुरक्षा कोषमा सरकारको योगदान नभएको भन्दै विषय विज्ञहरुले आलोचना गर्दै आएका छन् । कोषले २०७९ मंसिर २५ मा स्वीकृत अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७८ बमोजिम अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा हुनेछ । विद्यमान व्यवस्था अनुसार श्रमिकले मासिक न्यूनतम एक हजार नौ सय बाह्र रुपैयाँ कोष जम्मा गर्नुपर्नेछ । यसरी कोषमा सहभागी योगदानकर्ताले कोषबाट सञ्चालित विभिन्न योजनाहरुमा सहभागी हुने पाउने सामाजिक सुरक्षा कोषले जनाएको छ । यसैगरी कार्यविधिमा स्वरोजगारमा रहेका व्यक्तिहरुले भने सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशतदेखि सो को तीन गुणासम्म कोषमा जम्मा गर्न सक्नेछन् । उनीहरुले हाल न्यूनतम दुई हजार नौ सय नौ रुपैयाँ पैंतिस पैसा वा त्यसको यसको तीन गुणासम्म कोषमा योगदान गरी गर्न पाउने छन् । स्वरोजगारमा रहेका योगदान कर्ताले पनि पालिकाको सहयोग नपाउने सामाजिक सुरक्षा कोषले जनाएको छ । अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धि कोष र पालिका बीचको सम्झौताले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुनेगरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ । कार्यक्रममा फेदीखोला गाउँपालिकाले हाल निर्माण क्षेत्रमा कार्यरत ७१४ जना श्रमिकहरुलाई कोषमा आबद्ध गर्ने र कोषले कार्यविधि बमोजिमका सुविधाहरु प्रदान गर्ने सहमति भएको छ । सो कार्यक्रममा मन्त्रालयका सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवल प्रसाद भण्डारीले कोषलाई सामाजिक सुरक्षा कार्यक्रमको बिस्तार गरी आम नागरिक सम्म पुर्याउने गरी अगाडी बढ्न निर्देशन दिनु हुँदै अनौपचारिक क्षेत्रको कार्यक्रमको बिस्तारका लागि सबै ७५३ वटा पालिकाहरुलाई आह्वान गरेका छन् । फेदीखोला गाउँपालिकाबाट प्रारम्भ भएको अनौपचारिक क्षेत्रको सामाजिक सुरक्षा योजनामा भाग लिन स्थानीय सरकारका रुपमा रहेका सम्पूणर् पालिकाहरुलाई सामाजिक सुरक्षा कोषले अपिल गरेको छ । यसअघि कोषले औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना र वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरु कार्यान्वयनमा ल्याएको थियो । कोषले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन गरेको हो । कोषमा नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंकको नयाँ शाखा स्वयम्भू र बालकुमारीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
सङ्खुवासभामा ४१ मेगावाटको जलविद्युत आयोजना बनाउँदै एसजी ग्रुप, ८ अर्ब लगानी
काठमाडौं । एसजी ग्रुपअन्तर्गतको गुराँस हाइड्रो प्रालिले ४१.०६ मेगावाटको जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ । सङ्खुवासभा जिल्लाको सङ्खुवा खोलामा संरचना रहनेगरी जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो । आयोजना निर्माणको लागि गुराँस हाइड्रो प्रालिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए)को प्रक्रिया अघि बढाएको छ । पीपीए सम्झौता लगत्तै आयोजना निर्माणको काम थाल्ने तयारीमा रहेको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । कम्पनीले ७ अर्ब ९७ करोड ५८ लाखको लगानीमा आयोजना निर्माण गर्न लागेको उनले बताए । आयोजनाका अधिकांश संरचना सिलीचोङ गाउँपालिकाभित्र हुने छन् । यसअघि नेपाल सरकार आफैले यस आयोजनाको काम अगाडि बढाउने भनेर अध्ययन गरेको थियो । सरकारले आयोजना निर्माणको काम अघि नबढाएपछि सरकारको बास्केटबाट एसजी ग्रुपले आयोजना किनेको हो । विद्युत आयोजना निर्माणको लागि जग्गा खरिद र केही स्थानीयलाई मुआब्जा वितरण लगायतको गृहकार्य भइरहेको घिमिरेले बताए । कम्पनीले काम सुरू गरेको साढे तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । उक्त आयोजनाको डिजाइनमा सुरुङ पनि समेटिएको छ । करीब चार हजार दुई सय मिटरको सुरूङ निर्माण गर्नुपर्ने देखिएको घिमिरेले बताए । आयोजनाको हेड बक्स भने संखुवासभाको बुधबारेभन्दा केही तल हुनेछ । हेड बक्सबाट आएको पानी अरुण नदिमा झर्ने छ । पीपीए नहुँदा आयोजनाको फाइनान्सियल क्लोजर रोकिएको घिमिरेले बताए । एसजी ग्रुपको ठूलो आयोजना सङ्खुवा जलविद्युत क्षेत्रमा एसजी ग्रुपको सङ्खुवा नै सबैभन्दा ठूलो आयोजनाको हो । एसजी ग्रुपले यसअघि बझाङमा जलविद्युत आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । यस ग्रुप अन्तर्गत तीनवटा जलविद्युत आयोजना सुदूरपश्चिम प्रदेशमा सञ्चालित छन् । रन अफ द रिभर (आरओआर) डिजाइनका ती तीनवटै आयोजनाबाट ६४.४९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । एसजी ग्रुपले निर्माण गरेको बुङ्गल हाइड्रोबाट १०.७० मेगावाट, कलंगा हाइड्रोबाट १५.३३ मेगावाट र सानिगड हाइड्रोबाट ३८.४६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।