ऋण नलिइ मुलुक समृद्ध हुँदैन : अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिने प्रचलन संसारभर रहेकाले ऋण किन लिने भन्नेमा सरकार प्रष्ट रहेको बताए । ‘सरकार कस्तो ऋण लिने, किन ऋण लिने, के आधारमा ऋण लिने, कुन क्षेत्रमा ऋण प्रवाह गर्ने वा नगर्ने भन्नेमा गम्भीर छ,’ उनले भने, ‘ऋण लिने प्रचलन संसारभरि नै छ तर, त्यो ऋण किन लिने, त्यसमा हामी सुस्पष्ट हुनुपर्छ, ऋण लिएर लागनी गर्ने, लगानीबाट प्रतिफल ज्यादा लिने, त्यसले अर्थतन्त्रलाई फराकिलो बनाउँछ ।’ कुनै पनि ऋण नलिइकन मुलुक समृद्ध बनाउन सम्भव नभएको उल्लेख गर्दै उनले आफ्नो पूँजीले मात्रै देशको पूँजी विस्तार गर्न नसकिने बताए । ‘देशको पूँजी लगानीले समग्रमा अर्थतन्त्रलाई माथि उकास्न सकिँदैन तर, ऋण लिँदा अत्यन्त सचेत हुनुपर्छ, कस्तो ठाउँमा ऋण लिने, प्रतिफल र परिणाम आउने, बढीभन्दा बढी जनतालाई सहयोग पुग्ने हो कि होइन, सामाजिक आर्थिक प्रतिफल कति आउँछ, त्यसको यथार्थ मूल्याङ्कनका आधारमा ऋण लिनुपर्छ,’ उनले भने । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद जितेन्द्रनारायण देव, देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठले ऋणको सदुपयोग गर्ने तथा ऋण नलिएर आन्तरिक राजस्व वृद्धि गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
आजदेखि लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार, यस्तो बन्यो बैंक
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ । दुई बैंकबीच मर्ज भई आज असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । लक्ष्मी बैंकको केन्द्रिय कार्यालयमा लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठक बसेर एकीकृत कारोबार गर्ने बैंकका एक सञ्चालकले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ९ बजे लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठक आह्वान गरिएको छ । मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज बैंकको अध्यक्ष चयन हुने छन् । यस्तै, सञ्चालकहरु डा.मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । यसअघि सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड सञ्चालक बन्ने भनिएपनि उनको पद भने रिक्त राखिएको छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सनराइज बैंकको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् लक्ष्मी बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । लक्ष्मी बैंकका अध्यक्ष नेपाल र सनराइज बैंकका अध्यक्ष दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुग्नेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १४ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८७ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५९ अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २८४ वटा पुग्ने छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको कर्मचारी संख्या ३ हजार १७० जना पुग्नेछन् । हाल लक्ष्मीमा १ हजार ४२ जना र सनराइजमा १ हजार ५१७ जना कार्यरत छन् ।
आज सार्वजनिक बिदा
काठमाडौं । भानुु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले आज बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज असार २९ गते भानु जयन्तीका अवसरमा बिदा दिएको हो । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।
नेशनल हाइड्रोको हकप्रद सेयर बिक्री खुला, १० कित्ता हुनेले ५ कित्ता आवेदन दिन पाउने
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले आज असार २९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँको १०ः५ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ असार १ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ ३२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् लगानीकर्ताले आवेदन दिन सक्ने छन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कुथेली हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २६ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज असार २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख २१ हजार ८६८ कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । अब २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखि बाँकी १ लाख १ जार १५१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा
काठमाडौं । सिद्धार्थ बैंकले काठमाडाैंको मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सविधा दिनका लागि शाखा सञ्चालनमा ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुलपानीमा नयाँ शाखा खोलेपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९६ पुगेको छ । जसमा पाँच एक्स्टेन्सन् काउन्टरसमेत छन् ।
नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता
काठमाडौं । लगानी बोर्डले नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग समझदारी गरेको छ । बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो । समझदारी पत्रमा बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीकातर्फबाट म्यानेजिङ डाइरेक्टर बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् । २४ महिना भित्रै विस्तृत अध्ययन सकेर प्रतिवेदन बुझाउने समझदारी भएको बोर्डका सहसचिव अमृत लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालमा रासायनिक मल कारखाना खोल्न ७१४ मिलियन अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान छ । जर्मन कम्पनीको अध्ययन गर्न २०७८ चैतमा प्रस्ताव गरेको थियो । जर्मन कम्पनीले प्राकृतिक ग्याँस, विद्युत अथवा मिश्रित हाइब्रिड मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल उत्पादन गर्ने प्रंस्ताव गरेको छ ।
लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक,७ प्रतिशत भारतीय
बुटवल । लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए । एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेका र यस वाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना रहेका छन् । केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउंपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत,सशष्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने जेष्ठ नागरिक,अपांगता भएकालाई पनि टिकटमा छुट दिएको छ । टप स्टेशनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान शिवको वाहन नन्दी सहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाउं र संरचनाहरु रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटकहरु आएका प्रालिले जनाएको छ । २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन समुन्द्री सतहबाट करिब तीन हजार फिट उचाईमा रहेकाले त्यहाँको हावापानी गर्मी मौसममा शितल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ । टप स्टेशनमा एक अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्वीमिङ पुल सहितको पांचतारे होटेल बन्ने प्रकृयामा रहेको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयां पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाई लम्ब्याउन योगदान पुग्ने अध्यक्ष ढकालले बताए । लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको क्षतिपुर्ति दिन सक्ने भएकाले यस्ता ठूला परियोजना सफल बनाउन सबैको सहयोग हुनुपर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बताउंछन् । केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाले एक–एक प्रतिशत पाउने गरी सम्झौता भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । नेपालमा सञ्चालनमा रहेका ६ वटा मध्ये दोस्रो लामो लुम्बिनी केबलकारको टिकट दर नेपालीका लागि ७५० रुपैया र भारतीयका लागि ७५० भारु रहेको छ । केबलकारले प्रत्येक टिकट मुल्यको एक–एक प्रतिशत रकम दुई वटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाको दीर्घकालीनरुपमा विकासमा ठूलो योगदान पुग्ने तिनाउं गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।