लक्ष्मी सनराइज बैंकको पहिलो बैठकः अध्यक्षमा रमण नेपाल र सीईओमा अजय शाह नियुक्त
काठमाडौं । लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल चयन भएका छन् । लक्ष्मी र सनराइज बैंक मर्ज भई एकीकृत कारोबार पश्चात् बनेको लक्ष्मी सनराइज बैंकको पहिलाे बैठकले अध्यक्षमा नेपाल चयन गरेको हो ।अध्यक्ष नेपाल साविक लक्ष्मी बैंकको अध्यक्ष समेत थिए । साथै, लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अजय बहादुर शाहलाई नियुक्त भएका छन् । शाह साविकको लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्ने सहमति भएको थियो । लक्ष्मी बैंकबाट हालका अध्यक्ष नेपाल, सञ्चालकहरु डा.मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बनेका हुन् । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बनेका छन् । मर्जरपश्चात् बन्ने सञ्चालक समितिमा साविक सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड सिफारिस भएका थिए । तर, शुक्रबार बसेको लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको बैठकमा दुगड उपस्थित नभएको अध्यक्ष रमण नेपालले जानकारी दिए । दुगडले साविक लक्ष्मी बैंकबाट ३ अर्ब रुपैयाँ बराबरको कर्जा लिएका कारण सञ्चालक समितिमा उपस्थित नभएका हुन् । कर्जा चुक्ता गरेपछि मात्रै दुगड बैंकको सञ्चालक समितिको बैठकमा उपस्थित हुन पाउने छन् । हाललाई दुगडको सञ्चालक पद रिक्त राखिएको छ । उनले कर्जा चुक्ता गरेपछि मात्रै सञ्चालक समितिको बैठकमा उपस्थित हुन पाउने छन् । पहिलो साधारणसभा सम्पन्नपछि सञ्चालक समिति ५ सदस्यीय हुनेछ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने बैंकले बताएको छ । लक्ष्मी बैंक र सनराइज बैंकले आजदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गरेका हुन् । साविक लक्ष्मी बैंकको केन्द्रिय कार्यालयमा एकीकृत कारोबार सुरु गरेको बैंकले जनाएको छ । लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सनराइज बैंकको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् लक्ष्मी बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । लक्ष्मी सनराइज बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । यस्तै, जगेडा कोष १४ अर्ब ११ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । यस्तै, बैंकको निक्षेप २ खर्ब ८७ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ भने शाखा सञ्जाल २८४ वटा पुगेका छन् ।
चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा
काठमाडौं । दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको गोदावरी नगरपालिस्थित अत्तरिया सबस्टेसनमा अन्त्य हुने १३२ केभी डबल सर्किट प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइनको लम्बाइ एक सय ३१ किलोमिटर छ । नेपाल विद्युत प्राधिकरणले दार्चुलामा निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाले बनाएको प्रसारण लाइनको पहिलो सर्किट २०७३ बाट सञ्चालनमा थियो । कोरियाली एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा डबल सर्किटलाई हुने गरी प्रसारण लाइनका टावर संरचनाहरु बनाएको थियो ।तर, आयोजनाले एउटा मात्र सर्किट निर्माण गरी सञ्चालनमा ल्याएको थियो । नेपाल सरकारको करिब ६० करोड रुपैयाँ लगानीमा दोस्रो सर्किट निर्माण गरी लाइन सञ्चालनमा ल्याइएको हो । त्यस क्षेत्रमा निर्माण भएका र निर्माण हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि एउटा सर्किटले मात्र नधान्ने भएपछि अर्को सर्किट थपिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चमेलिया जलविद्युत् आयोजनाले प्रसारण लाइन पूर्वाधार निर्माण गरिदिएपछि सुदूरपश्चिमका दार्चुला र बझाङ जिल्लास्थित खोलानालाहरुमा जलविद्युत आयोजना निर्माणका लागि ढोका खुलेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अब त्यस क्षेत्रमा उत्पादित २५० मेगावाटसम्म विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ, साथैै, त्यहाँ उत्पादित विद्युत् स्थानीय रुपमा आपूर्ति हुँदा बाँके जिल्लाको कोहलपुर पश्चिम क्षेत्रमा भोल्टेज सुधार हुने छ ।’ चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनमा अहिले प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाहरुको करिब ११० मेगावाट विद्युत् जोडिएको छ । निजी क्षेत्रका आयोजनाहरुको ५० मेगावाट विद्युत् जोडिने क्रममा छ । सुदूरपश्चिमका प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा १३२/३३ केभी सबस्टेसन सञ्चालित छ । बलाँच सबस्टेसनबाट आएको विद्युत स्याउले सबस्टेसनबाट डडेल्धुरा, दार्जुला,डोटी, वैतडी र अछाममा आपूर्ति गरिएको छ । त्यस क्षेत्रमा करिब ६ मेगावाट विद्युत् खपत हुन्छ । स्याउले सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्ति गरी बाँकी रहेको विद्युत् अत्तरिया सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । कोहलपुरबाट पश्चिम क्षेत्रको विद्युत् माग जाडो र गर्मीमा क्रमश : करिब ८० र २०० मेगावाट हुन्छ । चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको आयोजना आर्थिक वर्ष २०७४/७५बाट सुरु गरिएको थियो । कोभिड–१९ महामारी र विगतमा मुआब्जा तथा क्षतिपूर्ति लिइसकेका डडेलधुरा तथा दार्चुला जिल्लाका केही स्थानीयले दोस्रो सर्किटको तार तान्न अवरोध गर्दा काममा केही ढिलाइ भएको आयोजना प्रमुख अनिल अधिकारीले बताए ।
भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन अनुरोध
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशअन्तर्गत तराई क्षेत्रका थोरै स्थानमा हवाहुरीको सम्भावना रहेको छ । आज दिउँसो देशभर बदली रहनुका साथै सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा भारी वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रका साथै दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भन्दै सम्भावित जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायी धर्नामा
काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने पनि बताए । अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरुले पनि निर्माण व्यवसायीहरुले गरेका कामकाे भुक्तानी कुनैपनि किसिमबाट गर्ने प्रतिवद्धता जनाएपनि असार मसान्तसम्म भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नु परेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचिमा राखेको, मजदुरलाई पारिश्रमीक दिन नसकेको लगायतका समस्या झेल्नुपरिरहेको उनले बताए । उनले निर्माण व्यवसायीहरुसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिन भन्न सरकारले नपाइने बताए । लामो समयदेखि निर्माणको काम ठप्प भइरहेको र यसको प्रमुख कारण सरकारले काम गर्ने वातावरण बनाउन नसकेको उनको आरोप छ । विरोध कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष रामजी पन्तले निर्माण सम्बन्धी सम्झौता सरकारले गर्ने र व्यवसायीहरुलाई बजारबाट ऋण उठाएर निर्माण गर्न लगाउने तर सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा परेको बताए । उनले भुक्तानी दिन नसक्ने अर्थमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने माग गरे । व्यवसायीहरुले माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर, मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर, निर्माण कार्यको म्याद थप गर, व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराउ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
अभियान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा २ जना मनोनित
काठमाडौं । अभियान लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । लघुवित्तको तेस्रो वार्षिक साधारण सभा बिहीबार पनौती स्थित ताम्राकार पार्टी भेन्यूमा संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको वर्तमान अवस्था र विद्यमान समस्या बारे जानकारी गराएका थिए । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्यो । साथै सभाले सञ्चालक समितिले सर्वसाधारण सेयरधनीको तर्फबाट उमेश दाहाल र नारायण प्रसाद प्रसाइलाई सञ्चालकमा मनोनित गरेको निर्णय अनुमोदन गर्यो । सभामा पछिल्लो समय लघुवित्त माथि थपिएको चुनौतिका विषयमा छलफल चलेको थियो । आ.व. २०७८/०७९ मा संस्थाको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । चालू आवमा नै सर्वसाधारणमा सेयर जारी गरेको संस्थाको चुक्ता पूँजी २५ करोड रहेको छ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आ.व. २०७८/०७९ सम्ममा देशभर २१ जिल्लाका ६० वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।
नेपाल–भारत सीमावर्ती नाकाबाट २० लाखसहित एक जना पक्राउ
काठमाडौं । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको २० लाख रुपैयाँसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्षमण थापाका अनुसार बाँकेको जयसपुरका कुरेशी मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गर्दा रहकसहित पक्राउ परेका हुन् । कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा रकम बरामद गरिएको हो । मोटरसाइकल चालक भारततर्फ भागेका थिए । रकमसहित कुरेशीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सीमा सुरक्षा गुल्म जमुनाहले जनाएको छ । रासस
मर्जरले वित्तीय संस्थाका कर्मचारीबीच विवाद बढ्दै, नियामक र सञ्चालकको बेवास्ता
काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु चालू आर्थिक वर्षको क्लोजिङमा व्यस्त छन् । आर्थिक वर्ष अन्त्यसँगै बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु वित्तीय हिसाबको चटारोमा लागेका हुन् । तर, आर्थिक वर्ष अन्त्यसँगै कर्मचारीहरुमा विवाद उत्पन्न हुन थालेको छ । पछिल्लो समय वित्तीय संस्थाहरु धमाधम मर्जर तथा एक्विजिशनमा गएका छन् । चालू आर्थिक वर्षमा दर्जनौं बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु मर्जरमा गएका छन् । मर्जरमा गएका संस्थाहरुमा विकृति पनि भित्रिएको जानकारहरु बताउँछन् । मर्जरमा गएका संस्थाहरु बाह्य रुपमा स्वस्थ देखिएपनि आन्तरिक रुपमा भने कर्मचारीबीच ठूलो खाडल खडा भएको बैंकमा कार्यरत कर्मचारीहरु नै बताउँछन् । सूर्याज्योती इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारी मर्जरमा जाँदा सञ्चालकहरुको मन मिलेपनि कर्मचारीहरुमा भने ठूलो विवाद उत्पन्न भएको बताउँछिन् । उनले व्यवस्थापक समूह र सञ्चालक समितिको दबावले काम गर्ने वातावरण नहुँदा जागिर छोड्ने सम्मको तनाव भएको बताइन्। ‘सञ्चालकहरुको मन मिल्यो तर, कर्मचारीहरुको मन मिल्न सकेन,’ उनले आफ्नो संस्थामा भइरहेको बेथितिबारे सुनउँदै भनिन्, ‘विभिन्न झण्झट हुँदा काम गर्न नसकेर जागिर छोड्ने स्थितीमा पुगेको छु ।’ नियामकले संस्थाहरुलाई मर्जरका लागि दबाव दिएर कर्मचारीलाई पीडा भएको उनको दुखेसो छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक कर्मचारीका अनुसार मर्जरपछि संस्थामा ठूलो समस्या आएको छ । मर्जर हुनुअघि साविकको संस्थाले पुरानो हिसाब मिलान गर्न नसकेको उनको भनाइ छ । बैंकभित्र भएका समस्याका बारेमा गुनासो गर्दा राष्ट्र बैंकले साहुहरुको भाषा बोल्ने गरेको उनले गुनासो गरे । ‘सन् २०२० मा मर्ज भएको बैंकले सन् २०२३ सम्म पनि हिसाबहरु पास गरेका छैनन्, दुईवटा संस्था छुट्टाछट्टै हुँदा कर्मचारीको सुविधा पनि संस्थाको नियमअनुसार पाइरहेका थियौं तर, सेवा सुविधाका विषयमा राष्ट्र बैंकलाई श्रम ऐन लागू गर्न आग्रह गर्दा पनि तपाईंहरु बैंकको कर्मचारी हो, बैंक बचाउनुस् भनेर व्यवस्थापक र साहुजीहरुको भाषा बोल्ने गरेको छ,’ उनले भने । साथै, उनले बैंकका कर्मचारीले लिने घरकर्जामा आम्दानी कर लगाउने गरेको गुनासाे गरे । उनका अनुसार बैंकमा जागिर गर्ने कर्मचारीको घर बनाउने सोच हुन्छ । सोही अनुसार कर्मचारीहरुलाई घरकर्जाको सुविधा दिएको भएपनि कर्जामा आम्दानी कर लगाउँदा समस्या भएको उनको भनाइ छ । ‘अर्काे बैंकबाट लिएको भए १० प्रतिशत ब्याजमा कर्जा लिनु पर्थ्याे, आफ्नै बैंकमा ५ प्रतिशत छ, ५ प्रतिशत आम्दानी हो भनेर कर लगाउने गरिएको छ, त्यो व्यवस्थालाई पनि समयमा सुधार गर्नु पर्याे,’ उनले भने । मर्जरमा गएका संस्थाहरुका कर्मचारीबीच एक अर्कामा अपनत्व वा स्वामित्व महसुस हुने गरी काम गर्न नपाएको उनले गुनासो गरे । ‘मर्जरमा जुन संस्थाले नेतृत्व गरेर आएको छ, त्यो संस्थाको कर्मचारीले गर्ने व्यवहार एकदमै खराब छ । साविक बैंकको नीति अनुसार काम गर्दा पनि विपरित काम गरिस् भनेर हेप्ने गरेका छन्,’ उनले भने । राष्ट्रिय बीमा संस्थानका अर्जुन पराजुली नेपाल बीमा प्राधिकरणले राष्ट्र बैंकको नीति कपि पेस्ट गर्दा समस्या भएकाे बताउँछन् । उनका अनुसार कम्पनी स्थापना गर्ने र केही वर्षपछि मर्जरमा जाने गलत परम्परा बसालेको उनको भनाइ छ । साथै, मर्जरपछि सफल कार्यान्वयन नहुने गरेको उनले बताए । ग्रामिण विकास लघुवित्तका कर्मचारी रामशंकर बस्नेत कोरोनाले थला पारेको लघुवित्त संस्थालाई पछिल्लो समय चौतर्फी हमला भएको बताउँछन् । उनका अनुसार लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्ने, अभद्र व्यवहार गर्ने, काम गर्न नदिने वातावरण बनेको छ । तर, नियामक यस विरुद्ध चुइक्क नबालेको उनले गुनासो गरे । ‘कुनै एउटा बैंकको शाखामा ताल्चा लगाउँदा सबै क्षेत्रको ध्यानाकर्षण हुन्छ । तर, हाम्रा साथीहरुले दैनिक रुपमा पिटाइ खानु भएको छ । लघुवित्तमा तालाबन्दी हुँदा पनि कसैको ध्यान जाँदैन । यदि यो अराजकता रोक्न नसक्ने हो भने लघुवित्त संस्था बन्द गराए हुन्छ । र, कर्मचारीको ग्यारेन्टी पनि गरियोस् । हामी स्थलगत रुपमा काम गर्ने अवस्था छैन । जसको कारण कर्जा उठ्न सकेको छैन, दिनप्रतिदिन भखा नाघेको अवस्था छ,’ बस्नेतले भने । बस्नेतले लघुवित्त संस्था र वाणिज्य बैंकलाई हेर्ने नजरमा परिवर्तन हुनु पर्ने बताए । एउटै प्रकृतिको काम गर्ने वाणिज्य बैंक र लघुवित्त संस्थामा ठूलो विभेद श्रृजना भएको उनको भनाइ छ । ‘लघुवित्त संस्था र वाणिज्य बैंकलाई हेर्ने दृष्टिकोणमा एकरुपता ल्याउनु पर्छ । लघुवित्त संस्थाले पनि ३० प्रतिशत कर्पाेरेट ट्याक्स तिर्नुपर्छ । यदि हेर्ने दृष्टिकोण परिवर्तन हुँदैन भने वाणिज्य बैंक र लघुवित्तमा लगाउने कर पनि फरक हुनु पर्छ । हामी लघुवित्तकर्मी सदस्यहरुको घरघरमा जान्छौं । तर, वाणिज्य बैंकका ग्राहकहरु कार्यालयमा जानु पर्छ । त्यो असमानता पनि हटाउनु पर्छ,’ उनले भने । उनले लघुवित्तमा बचत गर्ने वातावरण श्रृजना गर्न आग्रह गरे । साथै, बैंकको सहायक लघुवित्तले मात्रै बैंकबाट कर्जा पाउने गरेको बस्नेतले बताए । सहायक कम्पनी खोलिएका कारण सहायक कम्पनी नभएका कारण बैंकबाट कर्जा पाउन सकिएको छैन । साथै अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । यसमा राष्ट्र बैंक पनि जिम्मेवार हुन जरुरी छ । मर्जरले मात्रै समस्या समाधान हुने देखिँदैन ।
जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने, स्थानीय उत्पादनको निर्यात
वीरगन्ज । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गरेका थिए। ‘ट्रयाक हस्तान्तरण गरिसकेको छ, अब जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन गर्न लागेका छौँ’, महाप्रबन्धक झाले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । हाललाई कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक सेवा प्रदान गरिने उनले बताए । कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । ‘जग्गा मुआब्जालगायत कारण बिजलपुरा भङ्गहाबाट बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ’, नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्रकुमार साहले भने, ‘कतिपय ठाउँमा सडक छ, तर नक्सामा छैन, तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् । यही कारणले बिजलपुराबाट बर्दिबाससम्म रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।’ मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म पनि रेल चल्ने साहले भने। रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । विसं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । नेपालमा रेल सञ्चालनका लागि भारतीय जनशक्ति र भारतमै इन्धन भर्नुपर्ने बाध्यताबाट मुक्त गरी नेपाली रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाल रेल्वे कम्पनीले विभिन्न योजना अघि बढाएको महाप्रबन्धक झाले बताएका छन् । तत्काल स्थायी कर्मचारीको संगठन संरचना निर्माण, वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण तथा जयनगर कुर्था खण्डमा कार्गो रेल सेवा सञ्चालनको तयारी सुरु गरिएको महाप्रबन्धक झाले बताए । नेपाल रेल्वे कम्पनीको आफ्नो वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने र अहिले रेलको वासिङ गराउन मात्र भारतीय कम्पनीलाई ठूलो मात्रा वार्षिक रकम खर्च गर्दै आएको छ । ‘नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युँल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ’, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए, ‘जसका कारण हामीले वासिङमा मात्र धेरै रकम खर्चिँदै आएका छौँ । ‘भारतमा फ्युँल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य छौँ’, उनको भनाइ छ । ‘नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर, वर्कसप र फ्युँल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु १०–१२ करोडभन्दा बढी रकम बचत हुनसक्छ’, महाप्रबन्धक झाले भने, ‘त्यसका लागि हामीले योजना बनाएर अघि बढेको छौँ, नेपालमै वासिङ सेन्टर र फ्युँल सेन्टर निर्माण गर्ने योजना तयार पारेका छौँ ।’ नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ । ‘हामीले तत्काल स्थायी प्रकृतिको कर्मचारी माग गरेका छौँ, आएपछि उहाँहरूलाई तालिम दिएर दक्ष बनाइने योजना अघि बढाएका छौँ’, उनले भने, ‘स्थायी कर्मचारीको संगठन संरचना र दरबन्दीको सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत नेपाल रेल्वे कम्पनीको फायल विगत दुई महिनादेखि अर्थ मन्त्रालयमा अड्किएको छ, जसका कारण काम अघि बढाउन समस्या भइरहेको छ ।’ जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवासँगै कार्गो रेल सेवा सञ्चालन गर्ने तयारीमा जुटेको उनको भनाइ छ । रेल चल्न थालेसँगै जनकपुरसहित मधेस प्रदेशको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बु साहको भनाइ छ । जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन-हल्ट रहेका छन् । जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् । भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । रासस