विकासन्युज

दासढुङ्गामा बस खस्दा १९ यात्रु घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । बस  अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए । घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

रेडियो नेपालले माग्यो ३८ जना कर्मचारी , साउन २५ सम्म आवेदन खुला

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । रेडियो नेपालले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले ३८ जना कर्मचारी माग गरेको छ ।  रेडियो नेपालले आज सूचना जारी गर्दै विभिन्न पदमा ३८ जना कर्मचारी माग गरेको हो । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक नागरिकले आवेदन दिन सक्ने रेडियो नेपालले जनाएको छ । रेडियो नेपालले उपनिर्देशक (इन्जिनियरिङ), मुख्य प्रशासकीय अधिकृत, वरिष्ठ प्रशासकीय अधिकृत, इन्जिनियर, वरिष्ठ कार्यक्रम अधिकृत, प्रकासकीय अधिकृत, लेखा अधिकृत, गायनरवाद्य संयोजक, सम्पादक (नेपाली) संवाददाता, सहसमाचार वाचक (लिम्बू), सहसमाचार वाचक ९मगर०, सहायक लेखापाल र कार्यक्रम सहायक एक-एक जना कर्मचारी माग गरेको छ । त्यसैगरी, रेडियो नेपालले प्रधान सहायक प्रशासन र लेखापाल प्रशासनरआर्थिक प्रशासन, सहसमाचार वाचक (भोजपुरी) २-२ जना, वरिष्ठ प्राविधिक सहायक (इन्जिनियरिङरप्राविधिक) मा ७ जना र प्राविधिक सहायकमा ८ जना कर्मचारी माग गरेको छ । आवेदन फाराम अनलाइनमार्फत भर्न सकिनेछ । आवेदन साउन १८ सम्म दिन सकिनेछ । तर, दोब्बर दस्तुर तिरेर साउन २५ सम्म आवेदन दिन सकिने लोकसेवा आयोगले जनाएको छ ।

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

रामपुर । रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई एक लाख नगदसहित पुरस्कृत गरेको हो । दक्षिण कोरियामा यही असार १६ र १७ गते सम्पन्न उक्त प्रतियोगितामा समालले पुरुषतर्फको ६० किलोमुनीको तौल समुहमा स्वर्ण पदक जित्नेका थिए । नगरपालिकाको नगरसभा तथा १३औं अधिवेशनका अवसरमा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सो अवसरमा नगरपालिकाका कर्मचारी तथा विभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेय, लेखा प्रमुख सीता न्यौपाने, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक लक्ष्मण देवकोटा र अगुवा कृषक जनार्दन पन्त रहेका छन् ।

बाजेको कुटाइबाट नातीको मृत्यु

बैतडी । बैतडीमा बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार कुटाइबाट गम्भीर घाइते रेशमको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज बिहान मृत्यु भएको हो । बाजे गणेशकै कुटाइबाट आठ वर्षीय नाति रिजन साउद गम्भीर घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा आइसियुमा राखेर उपचार हुँदैछ । बिहीबार रेशम र रिजनकी आमा र हजुरआमा घाँस काट्न गएका बेला बाजे गणेशले दुवै जनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने गणेशलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए । रिजन र रेशमका बुबा कामको सिलसिलामा धनगढीमा छन् । कुटपिटको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पहिराेले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा क्षति

म्याग्दी ।  म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा पहिराले क्षति पु-याएको छ । बिहीबार मरेनीस्थित विद्युत्गृह माथिको भिरबाट खसेको पहिराले विद्युत्गृहमा क्षति भएको हो । विद्युत्गृहको उपकरण पहिराले पुरिएर क्षति भएको वडाध्यक्ष अकप्रसाद विकले बताए । उनका अनुसार कतिपय उपकरण पहिराले दरमखोलाको बगरसम्म नै पुर्याएको छ । मुख्य पाइप लाइनमा समेत क्षति भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि सिङ्गो वडा नं २ का बासिन्दा बिजुलीबाट बञ्चित भएका छन् । घरेलु उद्योग बन्द भएका स्थानीय भक्त सिङ्किजा पुनले जानकारी दिए । परियोजनाबाट उत्पादन भएको बिजुलीबाट वडा नं २ का लुलाङ, लमसुङ र खोरियाका करिब चार सय परिवार लाभान्वित भएका थिए । दुई वर्षअघि बाढीले परियोजनाको नहर, बाँध र विद्युत्गृह बगाएपछि गत वर्ष मात्रै मर्मत गरेर यस परियोजनाको विद्युत्गृह नै स्थानान्तरण गरेर परियोजनालाई पुनः सञ्चालनमा ल्याइएको थियो । लाखौँ खर्च गरेर मर्मत गरी सञ्चालनमा ल्याएको परियोजनाको विद्युत्गृह एक वर्षमै पहिराले क्षति पुर्याएको छ । स्थानीयवासीले परियोजनाको मर्मत सुधारसँगै केन्द्रीय विद्युतीकरणको पहुँच विस्तारमा ध्यान दिन माग गरेका छन् । परियोजना पुनःनिर्माणका लागि दुई वर्षअघि गाउँपालिकाले रु १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु १० लाख खर्च भएको थियो । विसं २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु ८५ लाख ९७ हजार, जनश्रमदान रु ३३ लाख, गाउँपालिकाको रु ५० लाख र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी परियोजना निर्माण गरिएको थियो । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्युत्गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरेर पुनःनिर्माण गरिएको थियो । रासस

राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर खोज्दै

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रधान कार्यालयका लागि घर भाडामा लिने भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको स्थान रामशाह पथदेखि ५ सय मिटरसम्मको दूरी अर्थात् अनामनगर हनुमानस्थान, पुतलीसडक, थापाथली क्षेत्रमा घरभाडामा लिने जनाएको छ । इच्छुक घरधनी, संस्था तथा कम्पनीले १५ दिनभित्र सिलबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ । कम्पनीका अनुसार २ हजार ५ सयदेखि ५ हजार वर्गफिट क्षेत्र खालि ठाउँ हुनु पर्नेछ । यस्तै, घरसम्म जाने २० फिटे मोटरबाटो, सवारीसाधन पार्किङ, पानी, ढल र बिजुलीको प्रयाप्त सुविधा पुगेको हुनु पर्नेछ । मासिक रुपमा भाडा रकम भुक्तानी गरिने र भाडा भुक्तानी गर्दा नियमानुसार अग्रिम करकट्टी गरी भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले १ सय प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ । कम्पनीले हाल कायम चक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिको असार २० गते बसेको बैठकले साउन ५ गते काठमाडौंमा बिहान १० बजे विशेष साधारणसभा डाकेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । साथै, संस्थामा रणनीतिक संस्थापक (विदेशी तथा स्वदेशी) लगानीकर्ता भित्र्याउने छ । विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार २७ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

प्रभु महालक्ष्मी लाइफको आजदेखि एकीकृत कारोबार सुरु, चुक्ता पूँजी साढे ४ अर्ब पुग्यो

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्ज भई आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई इन्स्योरेन्सले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट आज असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । दुवै कम्पनी सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् प्रभुको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् महालक्ष्मी लाइफको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । दुवै इन्स्योरेन्स कम्पनीलाई मर्ज भई एकीकृत कारोबार गर्नका लागि नयामक निकाय नेपाल बीमा प्राधिकरणले अन्तिम स्वीकृति दिइसकेको छ । मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभास अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराईले निरन्तरता पाउने छन् । हाल प्रभु लाइफको चुक्ता पूँजी २ अर्ब १९ करोड (बोनसपछि)रुपैयाँ छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्सको पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । प्रभु लाइफको जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ छ भने महालक्ष्मीको २७ करोड ४० लाख रुपैयाँ छ । समान हैसियतमा मर्ज भएसँगै मर्जरपछि बन्ने कम्पनीको जगेडा कोषमा ८७ करोड १२ लाख रुपैयाँ सञ्चित हुने छ । प्रभुको जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड र महालक्ष्मीको ३ अर्ब ८ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ । समीक्षा अवधिमा प्रभुले ७ अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मीले ५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।