
काठमाडौं । लगानी बोर्डले नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग समझदारी गरेको छ ।
बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो ।
समझदारी पत्रमा बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीकातर्फबाट म्यानेजिङ डाइरेक्टर बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् ।
२४ महिना भित्रै विस्तृत अध्ययन सकेर प्रतिवेदन बुझाउने समझदारी भएको बोर्डका सहसचिव अमृत लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा रासायनिक मल कारखाना खोल्न ७१४ मिलियन अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान छ ।
जर्मन कम्पनीको अध्ययन गर्न २०७८ चैतमा प्रस्ताव गरेको थियो । जर्मन कम्पनीले प्राकृतिक ग्याँस, विद्युत अथवा मिश्रित हाइब्रिड मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक ७ लाख टन रासायनिक मल उत्पादन गर्ने प्रंस्ताव गरेको छ ।