म्यानपावरले श्रमिकसँग लिने १० हजार सेवा शुल्कका बारेमा सरकारले छानबिन गर्ने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूसँग लिने १० हजार सेवा शुल्कका बारेमा सरकारले छानबिन गर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकहरूसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरू जान पाउनुपर्ने मान्यताका साथ सरकारले काम गरिरहेको बताए । ‘पछिल्लो समय धेरै देशमा नेपाली कामदार जान नपाउने व्यवस्था गरिएको छ, अब सरकारले दौत्य सम्बन्ध भएका देशमा श्रम सम्झौता गरी श्रमिकहरू जान पाउनुपर्ने मान्यताअनुसार काम गर्न लागेको छ,’ उनले भने । उनले घरेलु कामदारका विषयमा धेरै कुराहरू उठेको भन्दै वैदेशिक रोजगारीमा जाने घरेलु कामदारलाई कसरी सुरक्षित बनाउने विषयमा सरकार गम्भीर रहेको बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या समाधान गर्ने बाटोमा सरकार लागेको बताए । नेपालबाट अब बिना सीपको श्रम शक्ति नपठाउने अठोट सरकारले लिनुपर्ने अवस्था आएको मन्त्री भण्डारीले बताए । विदेशमा नेपालबाट पठाउने श्रमिकलाई केही न केही सीप सिकाएर मात्रै पठाउन आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री भण्डारीले दक्ष र सीप भएका नेपाली श्रमिक वैदेशिक रोजगारीमा पठाउने विषयमा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने स्पष्ट पारे । सरकारले कुनै पनि देशसँग हुने श्रम सम्झौताको विषयमा कानून, प्रणाली र सामाजिक सुरक्षालाई मध्यनजर राख्नुपर्ने उनको भनाइ थियो ।
सबै पदमा महिलाको ५० प्रतिशत उम्मेदवारी हुनुपर्ने माग
काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायतका पार्टीमा आबद्ध महिला नेत्रीहरूले राज्यका तीनै तहका सबै पदमा महिलाको समानुपातिक (५० प्रतिशत) उम्मेदवारी हुनुपर्ने लगायतका माग गरी निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् । पूर्व सभामुख ओनसरी घर्ती, एमाले नेत्री विन्दा पाण्डे, एकीकृत समावजादीकी नेत्री रामकुमारी झाँक्री र नेपाल समाजवादी पार्टीकी नेत्री मानुषी यमी भट्टराईलगायतले आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट गरी ज्ञापनपत्र बुझाएका हुन् । एकीकृत निर्वाचन कानूनको मस्यौदा बन्दै गरेको सन्दर्भमा संविधानको धारा ३८ (४) समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिताको मौलिक हकअनुरूप कानून बन्नुपर्ने, निर्वाचनमा पार्टीहरूद्वारा राज्यका तीनै तहका सबै पदहरूमा महिलाहरूको समानुपातिक (५० प्रतिशत) उम्मेदवारी हुनुपर्ने महिला नेत्रीहरूको माग छ । सङ्घ र प्रदेशअन्तर्गत पालिका प्रमुख र उपप्रमुख दुवै र वडाअध्यक्षमा उम्मेदवार हुन पाउनुपर्ने र महिलालाई समानुपातिक सूचीमा, उप–पदहरूमा मात्रै सीमित गराइएको यथार्थलाई परिवर्तन गराउन अत्यावश्यक रहेको नेत्री मानुषी यमी भट्टराईले बताइन् ।
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध, यो सडकखण्ड प्रयोग नगर्न अनुरोध
फाइल फाेटाे काठमाडौं । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । पहिरोले एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ । अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् । अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।
मूल्यवृद्धि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनु पर्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक भइरहनु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन् । सो अवसरमा गभर्नर अधिकारीले परिसंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए । उनले परिसंघले अध्ययन गरेर नीतिगत सुझाव दिने गरेको भन्दै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताए । छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउँदै उनले हाल तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पूँजी कर्जाका विभिन्न प्रावधानहरूका कारणले कर्जा लिन नसकेको बताए । उनले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए । लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तिमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने उनले बताए । उनले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमुलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यकता पनि औल्याए ।
प्रभु बैंकका ग्राहकले कमलादीको स्काई वाकटावरबाट अवलोकन गर्न पाउने, वन्डर्स नेपालसँग गर्यो सम्झौता
काठमाडौं । प्रभु बैंक र वन्डर्स नेपाल प्रलिबीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता भएको छ । दुबै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना गर्नको लागि दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुरुप बैंकले वन्डर्स नेपालको परिसरमा एर्टीएम, क्युआर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ । यससँगै, ग्राहक तथा सवैसाधारणले वन्डर्स नेपालअन्तर्गत काठमाडौंको कमलादीस्थित स्काई वाकटावरमा गई आनन्दमय दृश्य अवलोकन गर्न सक्नेछन् । साथै, यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने बैंकको विश्वास छ ।
नक्कली नोटको कारोबार गर्ने मकवानपुरका प्रशान्त पक्राउ
काठमाडौं । नक्कली नोटको कारोबार गर्ने मकवानपुरका पासाङ भोम्जन (प्रशान्त) पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोट कारोबार गरिरहेका प्रशान्तलाई ललितपुरको ईमाडोलबाट नक्कली नोटहरु सहित पक्राउ गरेको हो । काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली नोटहरुको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरीको टोली खटिएको थियो । सो क्रममा उक्त टोलीले असार १५ गते करिब अपरान्ह ४ बजेको समयमा नक्कली कारोबार गरिरहेका मकवानपुरको मकवानपुरगढी गाउँ पालिका वडा नं. १मा स्थायी घर भएका प्रशान्तलाई पक्राउ गरेको हो । उनी हाल ललितपुरको ईमाडोलमा बस्दै आएका छन् । प्रशान्तलाई ५०० रुपैयाँ दरका १६० थान गरी कूल ८० हजार रुपैयाँ बराबरको नक्कली नोटहरु सहित पक्राउ गरिएको हो । यसबाटे थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर, ललितपुर पठाईएको समेत जानकारी गराएको छ ।
बेइमानीहरुका लागि रास्वपाको ढोका खुला छैन : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन् । आईतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी प्रवेश गर्नेहरु धेरै भएपनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए । केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताउँदै उनले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको बताए । ‘हाम्रो पार्टीमा निरन्तर विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम चलेको छ, हामीले लाइन लगाएर टिका लगाउँदै प्रवेश नगराएको मात्रै हो, त्यो गरेको भए झनै धेरै देखिन्थ्यो, केही स्वार्थ भएका साथीहरु चिहाउँदै हुनुहुन्छ, त्यो नदेखेको होइन, पार्टीले देखेको छ, तर चिन्ता गर्नुपर्दैन, पार्टी अर्काको कब्जामा मात्रै पर्ने भयो, हिजोको माओवादी, काँग्रेस एमाले जस्तै हुनेभयो भन्ने चिन्ता लिनुपर्दैन, यो पार्टीमा सहभागी हुन सबैलाई ढोका खुला छ तर इमान बोकेर आउने साथीहरुलाई मात्रै खुला हो, बेइमानी छातीमा बोकेर आउनेका लागि यो ढोका खुला छैन,’ उनले भने । सभापति लामिछानेले पार्टीमा स्वार्थहरु प्रवेश गरेर पार्टी कब्जा हुने हो की भन्ने चिन्ता नलिन शुभेच्छुकहरुलाई आग्रह गरे ।
ललिता निवासभित्र गाडी, भाटभटेनी र निर्माण सामग्रीका गोदाम, सातदिनभित्र हटाउन बालेनको निर्देशन
काठमाडौं । ललिता निवासभित्र विभिन्न कम्पनीहरुले सामान राख्ने गोदाम बनाएको भेटिएको छ । आइतबार महानगर प्रहरी ललिता निवास पुग्दा सो ठाउँमा विभिन्न कम्पनीहरुले निजी सामान राख्ने गोदाम बनाएर राखेको भेटिएको हो । काठमाडौं महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरी ललिता निवासमा पुग्दा उक्त ठाउँमा किया गाडीको गोदाम, भाटभटेनी सुपरमार्केट र समानान्तर निर्माण कम्पनी लगायतको सामान राखिएको गोदाम भेटिएको बताए । उनका अनुसार ललिता निवासभित्र विभिन्न व्यक्तीहरुले निजी अस्थायी संरचनाहरु बनाएका छन् । तिनै अस्थायी संरचनामा ती गोदामहरु रहेको उनको भनाइ छ । किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेस हो । जसको अध्यक्ष सुद्रिद शर्मा हुन् । यस्तै, भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङ हुन् । जसलाई प्रहरीले ललिता निवास प्रकरणमा मुछिएको भन्दै पक्राउ गरिसकेको छ । समानान्तर ग्रुप निर्माण क्षेत्रमा परिचित व्यवसायिक समूह हो । जसको अध्यक्ष अच्युत प्रसाद खरेल हुन् । सरकारी जग्गालाई व्यक्तीको नाममा सारेको भन्दै अहिले प्रहरीले विभिन्न व्यक्तीहरुमाथि अनुसन्धान गरिरहेको छ । जसमा ठूला राजनीतिक दलका परिचित नेताहरु र व्यवसायी पनि मुछिएका छन् । प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम पक्राउ गरेको थियो । प्रहरीले ७ जनालाई पक्राउ गरे पनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो । गत बुधबार जिल्ला अदालतमा प्रहरीले उनीहरूलाई म्याद थपका लागि लगेको थियो । बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई अदालतले एक साता हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । देशमा ललिता निवासले चर्चा पाइरहेको बेला काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकार भन्दै प्रहरीसहित आइतार निरीक्षणका लागि ललितानिवास पुगेको थियो । सो स्थलमा विभिन्न कम्पनीका गोदाम भेटिएपछि एक साताभित्र सो सामान तथा अस्थायी संरचना हटाउन महानगरले निर्देशन दिएको पाण्डेले बताए । पाण्डेले सरकारी जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएको बताउँदै एक साताभि ती संरचना र गोदाम नहटाए महानगर प्रहरी डोजर चलाउन बाध्य हुने धारणा राखे । ‘अहिले यो मुद्दा अदालतमा छ, यो बीचमा त्यो जगामा कुनै संरचना नबनोस्, बनेका पनि हटाउने हाम्रो चाहना हो, सरकारी जग्गा संरक्षण गर्नु हाम्रो दायित्व हो,’ उनले भने ।