१ लाख ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरुलाई १ लाख ७५ हजार रुपैयाँ बराबरको घुस रकमसहित पक्राउ गरेको थियो । आरोपीद्वयलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । रासस (*सम्पादन गरिएकाे)
सिद्धार्थ क्यापिटलले सुरु गर्यो स्वचालित रुपमा एसआईपीको भुक्तानी सेवा
काठमाडौं । सिद्धार्थ क्यापिटलले स्वचालित रुपमा एसआईपीको भुक्तानी सेवा सुरु गरेकाे छ । सिद्धार्थ क्यापिटलले एनसीएचएलसँगको सहकार्यमा सिद्धार्थ क्यापिटलको ब्यबस्थित लगानी योजना (एसआईपी) मा गरिने भुक्तानी स्वचालित रुपमा रुपमा हुने व्यवस्थाको सुरुवात गरेको हाे। सम्झौता अनुसार लगानीकर्ताहरुले सिद्धार्थको एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक रुपमा लगानी गर्ने रकम एक पटक अनलाइन इ-मेनटेड गरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्ने छन् । क्यापिटलका अनुसार सिद्धार्थ क्यापिटलको खुला मुखी योजना सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम अन्तर्गत एसआईपीमा मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । इ-मेनटेडको प्रयोगले सिद्धार्थ एसआईपीमा आबद्ध हुने ग्राहकलाई मासिक र त्रैमासिक रकम भुक्तानी समय सम्झीने झन्झटबाट मुक्त गर्ने अपेक्षा गरिएको क्यापिटलले जानेको छ । एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्विच अन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको इ-मेनटेड मार्फत कुनैपनि किसिमको सेड्युल पेमेन्टलाई एक पल्टको सेटअपको आधारमा स्वचालित गर्न सकिनेछ ।
सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट हुने भएका छन् । बैंकका गा्रहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरु संग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले निजगढ, बारामा अवस्थित निजगड बर्गर हाउस एण्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एण्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशत सम्मको विशेष छुट पाउने छन । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८५ वटा शाखा, १४१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ९० हजार भन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
त्रिवेणी ग्रुपका इलेक्ट्रिक सामग्री एसवाई बजारमा पाइने
काठमाडौं । इकमर्स प्लेटफर्म एसवाई बजार र त्रिवेणी ग्रुपबीच सम्झौता भएको छ । त्रिवेणी ग्रुपका विभिन्न इलेक्ट्रिक ब्राण्डका सामाग्री एसवाई बजारमा उपलब्ध गर्ने/गरिने दुई पक्षबीच सम्झौता भएको हो । त्रिवेणी समूहसँग सम्झौता भएसँगै अब अनलाइन सपिङ सेन्टर एसवाई बजारमा सामसुङका सबै प्रकारका इलेक्ट्रिक ब्राण्ड, प्यानासोनिक, स्यामसुई, सानसुई र यसुधाका इलेक्ट्रिक सामाग्री पाइने छन् । उक्त इलेक्ट्रिक सामाग्री सर्वसाधारणका लागि सर्वसुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ त्रिवेणी ग्रुपसँग सम्झौता भएको एसवाई बजारका प्रवन्ध निर्देशक बिमलराज गोसाईंले बताए । सो सामग्री अन्य ठाउँको भन्दा कम मूल्यमा उपलब्ध हुने उनकाे भनाइ छ । एसवाई बजारको यस लिङ्कमा गएर सामान अर्डर गर्न सकिनेछ ।
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताएका छन् । पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सम्बन्ध सुदृढीकरण, व्यापार र लगानी प्रवद्र्धन तथा आर्थिक विकासमा वृहत छलफल भएको बताए। ‘आर्थिक विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर नेपाल सरकार अगाडि बढिराखेको सन्दर्भमा चीनले गरिरहेको आर्थिक सहयोगलाई अझ वृद्धि गर्नका लागि अनुरोध गरेका छौँ’, उनले भने, ‘चीनका उपप्रधानमन्त्री ह लि फङ तथा पार्टीका सिचुवान सचिव वाङ सिवहुइले पनि सकारात्मक ढङ्गले सोचिने विश्वास दिलाउनुभएको छ ।’ भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचारविमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । चिनियाँ अधिकारीसँगको भेटका सन्दर्भमा उनले भने, “चीनले नेपालको विकास प्रक्रियामा महत्वपूर्ण साझेदारको भूमिका खेल्दै आएको छ ।’ ‘भूकम्प, कोरोना महामारीलगागत नेपाललाई अप्ठयारो परेको समयमा चीनले महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ, त्यसका लागि हार्दिक आभार प्रकट गरेको छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने। व्यापार र पर्यटन प्रवद्र्धन गर्न चिनियाँ पक्षसँग विशेष अनुरोध गरिएको जानकारी दिँदै उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनका सम्बन्धमा पनि छलफल भएको बताए। ‘चिनियाँ पक्षबाट बिआरआईअन्तर्गतका परियोजनाबाट नेपालले लाभ लिनका लागि के कस्तो तयारी गरेको छ भनी जिज्ञासा राखेको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले सो परियोजनाको सन्दर्भमा नेपालको योजना र ‘स्टेप’का बारेमा प्रष्ट पारेका छौँ ।’ नेपालले बिआरआईअन्तर्गतका परियोजना कार्यान्वयनमा लैजान सन् २०१७ मा हस्ताक्षर गरेको थियो । कार्यान्वयन योजनालाई अन्तिम रुप दिन दुई पक्षकाबीचमा मस्यौदा आदानप्रदान भएको छ । ‘मस्यौदालाई अन्तिम रुप दिइसकेपछि ठोस् परियोजना र ढाँचाका बारेमा छलफल गरेर टुङ्गो लगाउँछौँ र बिआरआइबाट पनि हामी लाभान्वित हुने आशा राखेको कुरा हामीले भनेका छौँ’, उनले भने । छेन्दु–पोखरा उडान गर्न सिचुवान एयरलाइन्स सकारात्मक भ्रमणका क्रममा सिचुवान एयरलाइन्सका पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुबाट नेपालका नयाँ विमानस्थलमा उडान गर्न एयरलाइन्सले सकारात्मक जवाफ दिएको बताए। उनले छेन्दु–काठमाडौँ रुटमा दैनिक उडान सङ्ख्या थप गर्न र पोखरा तथा भैरहवा विमानस्थलमा व्यावसायिक उडान गर्न आग्रह गरिएको जानकारी दिए। ‘छेन्दु–काठमाडौँ दैनिक उडान गर्न अनुरोध गरेको छौँ । त्यसमा उहाँहरुले सकारात्मक वचन दिनुभएको छ । छेन्दु–पोखरा र छेन्दु–भैरहवा व्यावसायिक उडानका निम्ति आग्रह गरेको छौँ । त्यसमा उहाँहरुले पोखरामा अलिबढी सकारात्मक ढङ्गले सोचेको जानकारी गराउनुभएको छ । हामीले छेन्दुबाट भैरहवामा पनि सिधा उडानका लागि जोड दिएका छौँ’, उपप्रधानमन्त्री श्रेष्ठले भने । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएकाले नेपालमा लगानी गर्न आग्रह गरेका थिए । छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा नेपाल–चीन सम्बन्धबारे मन्तव्य दिनुभएको थियो । उनले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका थिए। उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो । प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा चीनकै पुरानो र बिनाबाँध छेन्दुलाई सिञ्चित गर्ने गरी निर्माण गरिएको दुजियाङ सिँचाइ प्रणालीको अवलोकनसमेत गरेको थियो । उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत मङ्गलबार चीन प्रस्थान गरेका थिए । उनलाई विमानस्थलमा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतले स्वागत गरे ।
७ बैंकबाट साढे ५ अर्ब ऋण लिएका केदार शर्माका कम्पनी धमाधम बन्द हुँदै, यी ६ कम्पनी कालोसूचीमा
काठमाडौं । सहकारीको रकम हिनामिना गरेर अहिले प्रहरीको नियन्त्रणमा रहेका केदार शर्माको लगानी रहेका विभिन्न कम्पनीहरु एकपछि अर्को गरी बन्द हुन थालेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका शर्मा प्रहरीको नियन्त्रणमा हुँदा उनले लगानी गरेका कम्पनीहरु अहिले संकटमा पर्न थालेका हुन् । उनले दुई सहकारी संस्थाको कूल १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेर विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ । उनीसहित उनकी श्रीमती गिता शर्मा पनि अहिले प्रहरीको नियन्त्रणमा भएपछि उनले लगानी गरेका कम्पनीहरु बन्द हुन थालेका हुन् । शर्माको लगानी रहेका विभिन्न कम्पनीहरुमा सहकारीको रकम प्रयोग भएको सीआईबीको अनुसन्धानले देखाएको छ । त्योसँगै उनले ती कम्पनीहरुमा लगानीका लागि विभिन्न बैंकबाट ऋण लिएका छन् । उनी पक्राउ परेसँगै ती बैंकहरु पनि अहिले तनावमा छन् । ऋणी नै प्रहरीको हिरासतमा भएपछि लगानी डुब्ने चिन्तामा बैंकर छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको स्रोतको दाबी छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयन बैंकबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रे बैंकबाट ६८ करोड, प्रभु बैंकबाट ४० करोड, नबिल बैंकबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको छ । अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने । उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् । उनले लिएको ऋण नतिरेकै कारण उनका कम्पनीहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार केदार शर्माको एकल स्वामित्वमा रहेका ६ वटा कम्पनीहरु अहिले कालोसूचीमा छन् । ती कम्पनी कालोसूचीमा परेर बन्द पनि हुन थालेका छन् । उनले १० करोड लगानी गरेर खोलेको शिखर दीप एग्रो अहिले कालोसूचीमा छ । जसमा पनि शर्माको एकल लगानी छ । यस्तै, उनले १० करोड रुपैयाँ पुँजीमा स्थापना गरेको नटराज एग्रो पनि कालोसूचीम छ । १० करोड लगानीमै खुलेको नटराज फुड इन्डष्ट्रि, १५ करोड लगानीको गार्डेन मार्ट, ५ करोड लगानीको तुलसी मोटर पम्प र ८ करोड लगानीको शिवशिखर एग्रो पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा छ । यी सबै कम्पनीमा शर्माको एकल लगानी छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदार शर्मा, उनकी श्रीमती गीता शर्मा र सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले लगानी गरेको एउटा टेलिभिजन बन्द नै भइसकेको छ । सो कम्पनीमा काम गर्ने कर्मचारीले लामो समयदेखि तलब नै नपाएको गुनासो गरिरहेका छन् । सीआईबीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापा शर्माले सहकारीमार्फत् लगानी गरेका कतिपय कम्पनीहरु बन्द भएको र कतिपयमा थप अनुसन्धान गरेर बन्द गर्ने प्रक्रियामा रहेको बताउँछन् । उनले अनुसन्धानका लागि कम्पनी बन्द गर्नु परेको बताए । उनको लगानी रहेका सबै कम्पनीको खाता तथा कारोबार पनि अहिले बन्द छ । ‘शर्मासँग अन्य सेयरधनीहरु पनि हुनुहुन्छ, शर्माले शिखर अर्गनाइजेसन र सहकारीबाट ती कम्पनीमा लगानी गरेको भेटिएमा हामी कम्पनी नै सिल गर्छौं, कतिपय बन्द भइसकेका छन्, अझै पनि अनुसन्धान गरिरहेका छौं, जुन कम्पनीमा उनको लगानी सहकारीबाट गएको छ, ती कम्पनीहरु बन्द हुन्छन्,’ थापाले भने ।
इसेवाबाट लाइफ इन्स्योरेन्स नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने
काठमाडौं । इसेवा मार्फत लाइफ इन्स्योरेन्स नविकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने भएको छ । अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो । यस अफरमा बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले ५० हजार रुपैयाँ जित्न सक्नेछन् । यो योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक क्यासब्याक बिजेताको घोषणा हरेक हप्त्ताको अन्त्यमा इसेवाको फेशबुक पेज तथा ब्लग मार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा इसेवाको फेशबुक पेज मार्फत प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । यस योजनामा सहभागी हुन इसेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड भएको हुनुपर्नेछ । यस योजनामा कुनैपनि जीवन बीमा कम्पनीको इसेवा मार्फत नविकरण गर्न सकिनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
एसईई नतिजा यसै साताभित्र आउने
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसईई परीक्षाको नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ ।