काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूसँग लिने १० हजार सेवा शुल्कका बारेमा सरकारले छानबिन गर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकहरूसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरू जान पाउनुपर्ने मान्यताका साथ सरकारले काम गरिरहेको बताए ।
‘पछिल्लो समय धेरै देशमा नेपाली कामदार जान नपाउने व्यवस्था गरिएको छ, अब सरकारले दौत्य सम्बन्ध भएका देशमा श्रम सम्झौता गरी श्रमिकहरू जान पाउनुपर्ने मान्यताअनुसार काम गर्न लागेको छ,’ उनले भने ।
उनले घरेलु कामदारका विषयमा धेरै कुराहरू उठेको भन्दै वैदेशिक रोजगारीमा जाने घरेलु कामदारलाई कसरी सुरक्षित बनाउने विषयमा सरकार गम्भीर रहेको बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या समाधान गर्ने बाटोमा सरकार लागेको बताए ।
नेपालबाट अब बिना सीपको श्रम शक्ति नपठाउने अठोट सरकारले लिनुपर्ने अवस्था आएको मन्त्री भण्डारीले बताए । विदेशमा नेपालबाट पठाउने श्रमिकलाई केही न केही सीप सिकाएर मात्रै पठाउन आवश्यक रहेको उनको भनाइ थियो ।
मन्त्री भण्डारीले दक्ष र सीप भएका नेपाली श्रमिक वैदेशिक रोजगारीमा पठाउने विषयमा सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने स्पष्ट पारे । सरकारले कुनै पनि देशसँग हुने श्रम सम्झौताको विषयमा कानून, प्रणाली र सामाजिक सुरक्षालाई मध्यनजर राख्नुपर्ने उनको भनाइ थियो ।